अक्सर कविताका नदी बगाएर
मेरो जिन्दगीलाई घृणा गर्दै
कवि घृणित जिन्दगीको कविता लेख्छ ।
थाहा छैन मलाई
मेरो जिन्दगी कति पटक मरिसक्यो ?
मलाई औला ठड्याइ“
गलहत्याउने तिम्रो नालायक समाज
पुरुषवादी चिन्तनले थलिएको तिम्रो परम्परा
मेरो टाउको बेचेर
वैदेशिक अनुदान थापी
मै माथि शासन थोपर्छौ किन ?
मलाई गाउन देऊ जिन्दगीको गीत
मलाई लेख्न देऊ खुल्ला आकाशको कविता
पिँजडाभित्रको पक्षीजस्तो
म कुँजिन चाहन्न
म चँुडाउने छु तिम्रो पिँजडा
र उड्नेछु माथि माथि आकाशमा
बादलका मुस्लासँग प्रतिवाद गर्दै ।
जिन्दगी तिमीले दिइएको दाइजो हैन
मलाई दास नठान
म दासत्व स्वीकारेर
मौन बस्न सक्तिनँ
समय फुत्किसक्यो तिम्रो हातबाट
सायद, अहंकार ढल्यो तिम्रो मस्तिष्कबाट
म स्वतन्त्रताको बर्की ओढेर
समानताको ढोल बजाउँदैछु
मुक्तिको मादल नजिकै राख
म मुक्तिको मादल बजाउने छु ।
म चुनौती दिँदैछु
ओ, एकल पुरुष !
सृष्टि गरेर देखाऊ
तिमीसँग गर्भाशय छ त ?
प्रतिक्रिया दिनुहोस !