तालिवानले पढ्न नदिएकी अदिबालाई अस्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार
फाइनल लिस्टमा २ नेपाली विद्यार्थी
अस्ट्रेलिया : अफगानिस्तानकी छात्रा अदिबा इरफान जब सर्वोकृष्ट भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार ग्रहण गर्दै थिइन्, मनमा भविष्यका अनगिन्ती ढोकाहरू खुल्दै थिए। खुसी र उत्साहबीचको त्यो क्षणले सम्पूर्ण संघर्ष र सपना पूरा गर्ने विशाल विश्वास र आशा जगाएको थियो। तर, यहाँसम्म आइपुग्न अनगिन्ती चुनौती चिर्दाको क्षण सम्झँदा अदिबा निकै भावुक भइन्।
एकातिर, ‘न्युरो सर्जन र शोधकर्ता बन्ने’ अठोटसँगै दृढता। अर्कोतिर तालिवानले शिक्षामा लगाएको प्रतिबन्धको पीडादायी सम्झनाले उनको मनमा द्वन्द्व उत्पन्न गरेको थियो। सफल र सुन्दर भविष्यको आकांक्षा र असम्भव जस्तो लाग्ने संघर्षका बीच अदिबाको यात्रा केबल पुरस्कारको जितभन्दा बढी थियो, हिम्मत र विश्वासको विजय।
तालिवानको आदेशमा ‘हाउस अरेस्ट’ अर्थात् घरभित्रै बस्नुपर्ने बाध्यात्मक अवस्था र महिलालाई शिक्षामा लगाइएका कडा प्रतिबन्ध चिरेर देखेका सपना पूरा गर्न आमाले दिएको साथ समर्थन र आफूले भोगेको कठोर संघर्षको कथा सुनाउँदा, त्यहाँ उपस्थित धेरैका आँखा रसाएका थिए।
भिक्टोरिया राज्यका क्षमतावान् विद्यार्थीअगाडिको मञ्चमा उभिएर अदिबा बिदेसिनुका कारण सुनाउँदै थिइन, ‘पढ्नै नपाएपछि मैले आमालाई मेरो किड्नी बेचेर भए पनि अमेरिकाको युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जाम दिन्छु भनें। आमा मान्नुभएन। बरु भन्नुभयो तिमी भर्खरकी छौै। मेरो किड्नी बेच्छु। तिम्रो जीवन धेरै लामो छ। किड्नी कसरी बेच्ने ? ’
अदिबाले पुरस्कार समारोहलाई स्तब्ध तुल्याउँदै आमा र आफूबीचको पढ्ने र पढाउने चाहनासहित योजनाको थप रहस्य खोल्दै भनिन्, ‘आमाले म तिमीलाई मेरो जीवनको मूल्य दिनेछु। पढाइका लागि संघर्ष गर्नेछु भन्नुभयो। त्यो रात हामी धेरै समयसम्म सँगै बसेर रोयौं। भाग्यले मलाई मेलबर्न ल्यायो र यहाँसम्म पुग्न सकें।’
शिक्षा प्राप्तिका लागि एउटी अफगानी छात्रा र उनकी आमाको संघर्षको यस्तो कष्टकर तथा मर्मस्पर्शी तथ्य सुन्नेबित्तिकै सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विश्वविद्यालयका प्र्रोफेसर र भिक्टोरिया राज्यका अर्थमन्त्रीसमेत जुरुक्क उठेर अदिबा, उनकी आमा एवं धेरै अफगानी महिलाप्रति सम्मानसँगै सहानुभूति व्यक्त गरे। कठोर सामाजिक र राजनीतिक बन्धनमा बाँधिएका अफगानी महिलासँगै विश्वभरका युवतीहरूका लागि उनी प्रेरणादायी उदाहरण बनेकी छिन्।
उनी कमजोर आर्थिक अवस्थाकी छात्रा हुन्। तालिवानले अध्ययनमा प्रतिबन्ध लगाएपछि पढ्ने चाहना अधुरै रहने चिन्ताले बिदेसिएकी हुन्। यहाँ आएपछि यो वर्ष अन्तर्राष्ट्रिय वर्षको विद्यार्थी अंग्रेजी भाषा प्रशिक्षण र भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल भएकी छन्। न्युरो सर्जन र शोधकर्ता बन्ने उनको यात्रा सहज थिएन। पढ्न पाउने मौलिक हकमाथिको प्रतिबन्ध, विस्थापनको पीडा र असम्भव देखिने अवरोधबीच उनले आफ्नो जीवनलाई पुनः कोरिन्।
अत्यासलाग्दो बन्धनबाट निस्केकी उनले अस्ट्रेलियामा बसेर पनि घरमै नजरबन्दको अवस्थामा रहेका धेरै अफगानी छात्रा तथा महिलालाई शिक्षाप्रति प्रेरित गर्दै आएकी छन्। आफ्नो मुलुकका शासकले महिलाप्रति अपनाएको कठोर तथा निर्दयी व्यवहारले कापीकिताब समातेर विद्यालय जानुपर्ने बालिकालाई घरको ओछ्यानमै थुनिएका बेला अदिबा स्वतन्त्रताको एउटा सानो झिल्को समातेर अन्धकार चिर्न अघि बढ्न चाहने हजारौं आफगानी युवतीमध्ये एक हुन्।
अहिले आफ्नो भविष्य मात्र होइन, धेरै बालिकाहरूको भविष्यका लागि पिंक एजुकेसन फाउन्डेसनमार्फत शिक्षाको उज्यालो ज्योति बाल्दै छन्। उनको यस्तो प्रयास र प्रभाव कक्षाकोठामा मात्र सीमित छैन। सोझै अफगान बालिकाहरूको जीवनमा नयाँ आशा बोकेर
उभिएको छ।
‘भिक्टोरियामा अंग्रेजी भाषा कोर्स गर्न चाहने सबैलाई म भन्छु भाषा सिकाइ केबल शैक्षिक सफलता होइन। जीवनको सफलताको पनि आधार हो,’ उनले भनिन, ‘हर्थोर्न मेलबर्नमा अध्ययनले मलाई आत्मविश्वास दियो र भविष्यतर्फको ढोका खोलिदियो।’
हर्थोर्न मेलबर्नमा जनरल र एकेडेमिक अंग्रेजी अध्ययन गर्दै गरेकी अदिबा अन्तर्राष्ट्रिय वर्षको विद्यार्थी र अंग्रेजी भाषा प्रशिक्षण पुरस्कारकी विजेता मात्र होइनन्, विश्वभरका युवतीहरूका लागि प्रेरणादायी उदाहरण बनिसकेकी छिन्। उनमा नेतृत्वबारेको सोच पनि अत्यन्त गहिरो छ। भन्छिन्, ‘नेतृत्व भनेको अवरोध तोड्नु, नयाँ बाटो खोल्नु र अरूलाई अनुकरण गर्न प्रेरित गर्नु हो।’
अफगानिस्तानमा सन् २०२२ डिसेम्बरदेखि नै महिला विद्यार्थीलाई विश्वविद्यालय तथा उच्चशिक्षामा प्रवेश र अध्ययन गर्नबाट प्रतिबन्धित लगाइएको छ। बीचमा मेडिकल हेल्थ इन्ड्रस्टिजमा छुट दिइएको थियो। एम्नेस्टी इन्टर नेसनलका अनुुसार सन् २०२४ अन्त्यमा त्यसमा पनि महिलामाथि अंकुश लागाइएको थियो। अफगानिस्तान विश्वकै यस्तो राष्ट्र हो, जहाँ महिला र बालिकाहरू प्राथमिक तहपछि कुनै पनि औपचारिक हाइस्कुल र विश्वविद्यालयमा पढ्न पाउँदैनन्।
त्यहाँ करिब २२ लाख बालिका तथा किशोरीहरू उच्च शिक्षाबाट वञ्चित छन्। यदि, स्थिति यस्तै रह्यो भने सन् २०३० सम्म ४ करोडभन्दा बढी बालिका तथा महिलाले औपचारिक शिक्षा पाउने अवस्था गुमाउन सक्छन्।
महिला शिक्षक, कर्मचारी र किशोरी विद्यार्थीको रोजगारी, स्वास्थ्य र सामाजिक गतिविधिमा पनि व्यापक असर परेको छ। शिक्षण सेवा संकटमा परेको र योग्य महिला शिक्षकको संख्या न्यून हुँदै गएको छ।
मानवअधिकार संगठनहरू र अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले शिक्षामा लगाइँदैै आएको प्रतिबन्धका कारण अफगानिस्तानका महिला, स्वास्थ्य, जनसंख्या, मानव विकास, समावेशिता सबै प्रभावित हुने चेतावनी दिँदै आएका छन्। जसले गर्दा अहिले पनि अदिबा इरफानजस्त सयौं छात्राहरूले देश छाडेर विदेशमा अध्ययन गर्न आउनुपर्ने अवस्था अन्त्य हुन सकेको छैन।
फाइनल लिस्टमा २ नेपाली विद्यार्थी
सरकारले अस्ट्रेलियाको भिक्टोरिया राज्यललाई शैक्षिक केन्द्र बनाउने विभिन्न रणनीति अपनाउँदै आएको छ। त्यसका लागि ‘स्टडी मेलबर्न’ले राज्यका सबै विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूमध्येबाट ७ जनालाई मात्र विजेता घोषण गर्दै पुरस्कृत गरेको छ। जसमा अदिबासहित ५ जना छात्राहरू पुरस्कृत भएका हुन्।
पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेहरूमा २ जना नेपाली विद्यायर्थी पनि छन्। डिकिन विश्वविद्यालयमा स्कुल अफ आईटीमा विद्यावारिधि (पीएचडी) अध्ययनरत धिरज न्यौपाने स्टुडेन्ट अफ दि एयर (रिजनल) र दी मेलबर्न युनिर्भसिटीका अनिमेश घिमिरे फाइन लिस्टमा परेका छन्। प्रत्येक वर्ष विभिन्न मुलुकबाट सयौं विद्यार्थीहरू भिक्टोरियामा अध्ययन गर्न आउने गर्छ।
प्रतिक्रिया दिनुहोस !