विराटनगरका संकटमोचक बनेका बसिरको ‘क्लास’

विराटनगरका संकटमोचक बनेका बसिरको ‘क्लास’

काठमाडौं : नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबिचको खेल रोमाञ्चक बन्यो। खेलको पासा कहिले कर्णालीको पक्षमा कहिले विराटनगरको पक्षमा हुँदै दोस्रो इनिङ्सको १५ ओभरसम्मको खेल सकिएको थियो। 

१५ ओभरसम्म खेल जारी रहँदा कर्णालीको पक्षमा माहोल थियो। सहज जित निकाल्ने आंकलन सबैको थियो। तर त्यहाँबाट, विराटनगरको जितको यात्राको लागि हिरोको भूमिकामा देखा परे स्पिन अलराउन्डर बसिर अहमद। 

१५ ओभरको खेल सकिँदा विराटनगरले ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। क्रिजमा बसिर अहमद र नारायण जोशीको जोडी थियो। 

प्रायः खेलमा विदेशी खेलाडी ‘म्याच विनर’को रुपमा आए भन्ने सञ्चार माध्यमको प्रश्नबिच यी दुई नेपाली खेलाडीले पूर्ण विराम लगाउने सोच बनाए।  ५ विकेटको क्षतिपछि विराटनगरको ब्याटिङमा अब जिताउने कोही छैन। अब कसले हान्ला र भन्ने थियो। १६१ को विजयी लक्ष्य पाएको विराटनगरको डगआउटले पनि सायदै आश गरेको थियो यी दुई खेलाडीको खेल जिताउने साझेदारी। 

१६ औं ओभरको खेल सुरु भयो। क्रिजमा बसिर अहमद थिए। उनले छक्का हानिदिए। बलिङमा मार्क वाट थिए। जसले अघिल्लो खेलमा कर्णालीका लागि शतकीय पारी खेलेका थिए। उनलाई १६ औं ओभरमा बसिरले २ र नारायणले १ गरि ३ वटा वाउन्ड्री लगाइदिए। त्यसपछि खेल रोमाञ्चक बन्यो। 

१६.२ ओभर यो खेलको एक महत्वपूर्ण हिस्सा बन्यो। १७ औं ओभरको बल फाल्न कर्णाली याक्सका कप्तान सोमपाल कामी आए। उनले फालेको बल नो बल भयो। सोही बलमा नारयण जोशी क्याच भए तर आउट भएनन्। नो बल हुँदा नारायण र बसिरको जोडी टुटेन। १७ औं ओभरमा पनि २ वटा बाउन्ड्री लाग्यो।  १७ ओभरको खेल सकिँदा विराटनगर किंग्सले ५ विकेटको क्षतीमा १२६ रन बनायो। 
१८ औं ओभरमा नन्दन यादवको बलिङ स्पेल थियो। १७.४ मा उनले खेलको रुप मोड्ने बसिर र नारायणको जोडी तोडे। यी दुईले छैटौं विकेटको लागि ६९ रनको साझेदारी गरे। त्यसपछि आएका प्रतिश जिसी सस्तैमा पेभेलियन फर्किए। नारायणसँगको साझेदारी टुटेपछि जितको जिम्मेवारी बसिरको एकल काँधमा थियो। 

उनको प्रशंसा कप्तान सन्दीप लामिछाने पनि गरे। खेल सकिएपछि, विराटनगरको टिमसँग उनले भने, ‘यस्तो खास खेलहरूमा एक जनाले जिममेवारी लिनुपर्छ। ह्याट्अफ टु बसिर उसले जसरी खेल्यो। उनी अघिल्लो वर्ष र यसअघिको खेलमा पनि नेपाली खेलाडीले टिमको जितमा हिस्सा बन्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हुन्।’ उनको यो भनाइलाई बसिरले खेलबाटै प्रष्ट्याइदिएका थिए। 

१९ औं ओभरको खेल सकियो। विराटनगरको स्कोर बोर्डमा १५१ थियो। ७ विकेटको क्षतिमा विराटनगर थियो। क्रिजमा कप्तान सन्दीप लामीछाने र बसिर अहमद थिए। अन्तिम १ ओभरमा जितका लागि १० रन चाहिएको थियो। १९.१ मा २ रन, दोस्रो बलमा १, तेस्रो बलमा २ रन गर्दै ५ रन जोडिइसकेको थियो। चौथो बलमा १ रन लिँदै १९.५ मा सन्दीपले क्रिज बसिरलाई सुम्पिए। बलिङमा नेपालका उदयीमान डेथ ओभर स्पेशलिष्ट नन्दन यादव थिए। उनलाई १९.५ ओभरमा छक्का प्रहार गर्दै बसिरले विराटनगरको जितको विगुल बजाए।

विदेशी खेलाडी भन्दा नेपाली खेलाडीले खेल जिताउने इनिङ्स खेल्दा बसिर भन्छन्, ‘हरेक खेलमा विदेशी खेलाडी खेलिरहेको छ। तर जुन खेलमा नेपाली खेलाडीले राम्रो खेल्छ त्यही खेलमा जित हुन्छ।’ खेल जितेपछिको पत्रकार सम्मेलनमा उनले भने। यसको अर्थ निकै गहन छ। विदेशी खेलाडीको कोशिसमा नेपाली खेलाडीको साथ नमिल्दा प्राय टिमहरुले हार बेहोरिरहेका छन्। 

आफूमा विश्वास थियो, टिमलाई जिताउँछु भन्ने : बसिर

खेलको नायक बनेका बसिरले ६२ रनको अर्धशतिक अविजित पारी खेले। उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। खेलपछि उनी पत्रकार सम्मेलनमा आफ्नो प्लेअर अफ दी म्याचको ट्रफी सहित पुगे। 
उनले भने,‘आफूमा विश्वास हुनुपर्छ। क्रिजमा जाँदा मलाई आफूमा खेल जिताउन सक्छु भन्ने विश्वास थियो।’ मैदानमा जति दमदार प्रदर्शन देखाउन उनी मन पराउँछन्, त्यति नै कम बोल्न। मैदान छिर्दा उनको मनमा टिमका लागि विजयी रन प्रहार गर्छु भन्ने थिएन। ‘मेरो दिमागमा आज यस्तो प्रदर्शन गर्छु भन्ने थिएन। पूरै खेलें भने जित हुन्छ भन्ने थियो।’ उनले थपे‘५ विकेट सस्तैमा गुमाउँदा टिमको अवस्था नाजुक थियो। आफूमाथि विश्वास थियो। एकछिन समय लिन्छु, त्यसै बेला एउटा साझेदारी बन्यो।’ 

उनले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जिताएपछि घुँडा टेकेर मैदानमा बसे र माथि हेर्दै एक सेलिब्रेसन गरे। यसमा बसिर भन्छन्, ‘टिमलाई जिताएँ। भित्रदेखि नै अल्लाहलाई धन्यवाद भन्दै थिएँ।’

बसिर र नारायणको ६९ रनको साझेदारी विराटनगरको चौथो जितको कारण थियो। यी दुईको बिचमा मैदानभित्र टिमलाई जिताउने भन्ने कुरा भएको बसिरले खेलपछि बताए। ‘हामीसँग विकेट थिएन। मैले उसलाई भनिरहेको थिएँ कि, आफूमाथि विश्वास राख हामी दुई जनाले सकेर जाने भन्ने कुरा भएको थियो।’
बसिरले खेल मात्रै जिताएनन्। आफ्नो नाममा यो सिजनको एक अर्धशतक पनि बनाए। सोही सम्हालिएको पारी र अर्धशतकले बसिर आफैं पनि खुसी छन्, भन्छन्, ‘मलाई एकदम खुसी लागिरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.