झापामा इँटा उद्योगीको ठगी, मूल्य दोब्बर, भ्याट भने आधामात्रै !

झापामा इँटा उद्योगीको ठगी, मूल्य दोब्बर, भ्याट भने आधामात्रै !

झापा : उपभोक्ताको ढाड सक्ने गरी मूल्यवृद्धि गरेको चिम्नी इँटा उद्योगीहरूले मूल्य अभिवृद्धि कर (भ्याट) छलिरहेको तथ्य फेला परेको छ। इँटा उद्योगीहरूको सिन्डिकेटले आफूखुसी इँटाको मूल्य बढाए पनि राज्यलाई भने भ्याट छलिरहेको तथ्य फेला परेको हो।

उद्योगीले प्रथम श्रेणीको इँटाको मूल्य प्रतिगोटा १९ रुपैयाँ बजारमा बिक्री गर्दै आइरहेको अवस्थामा राज्यलाई भने प्रतिगोटा १०.६१ देखि १२ रुपैयाँमात्र भ्याट बुझाउने गरेको उद्योगीहरूले काटेको बिलमै प्रस्ट देखिन्छ।

उद्योगीहरूले बजारमा एउटै दररेटमा इँटा बिक्री गरे पनि राजस्व छल्दा चाहिँ भ्याट बिलमा फरक–फरक दररेट लेख्ने गरेको पाइएको छ। त्यतिमात्र नभई उद्योगीहरूले अनिवार्य भ्याटसहित भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) बिल काटेर इँटा बिक्री गर्नुपर्ने हो। तर, उद्योगीहरूले कानुनको समेत धज्जी उडाउँदै भ्याट वा पान नम्बरसमेत उल्लेख नभएको चलान बिल काटिरहेको छ।

कचनकबल गाउँपालिका–५ पाठामारीस्थित सेलेमा इँटा उद्योग (एसबीआई)ले चलान बिल काटेर इँटा बेचिरहेको फेला परेको छ। भ्याट वा पान नम्बर नभएको उल्लेख नभएको एसबीआईको चलान बिलमा बिक्रेताको नाम, ठेगाना, इँटाको परिमाण र गाडी नम्बर उल्लेख छ। तर, इँटा मूल्य भने उल्लेख छैन।

आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार उद्योगले काट्ने चलान बिल उद्योगबाट गोदामसम्म समान पुर्‍याउनमात्र काट्न पाउँछ। चलान बिलमा सोझै बिक्रेतालाई सामान बेच्न पाउँदैन। चलान बिलमा कसैको नाम र ठेगाना लेख्न पाइँदैन। ‘इँटा उद्योग भ्याटमा दर्ता भएकोले अनिवार्य भ्याट बिल काट्नुपर्ने हुन्छ, प्रमुख कर अधिकृत थापाले भने,’ यो भनेको सरासर कर छली हो।’

त्यस्तै कचनकबल–७ बालुवाडीस्थित ज्योति इँटा उद्योगले प्रथम श्रेणीको इँटा प्रतिगोटा १० रुपैयाँ ६१ पैसा दरले भ्याट बिल काट्ने गरेको फेला परेको छ। अहिले बजारमा प्रतिगोटा १९ रुपैयाँ इँटा बिक्री गरिरहेको स्वयं इँटा व्यवसायीहरू बताउँछन्।
बजारमा बिक्री भइरहेको इँटा मूल्यसँग तुलना गर्दा उद्योगीहरू प्रतिगोटामा ८ रुपैयाँ ३९ रुपैयाँ भ्याट छलिरहेको देखिन्छ। त्यस्तै कचनकबल– ५ स्थित झापा स्टार इँटा उद्योगले दोस्रो श्रेणी इँटाको प्रतिगोटा ८ रुपैयाँ र पिकेट इँटाको प्रतिगोटा ८ रुपैयाँ दरले भ्याट काट्ने गरेको फेला परेको छ। तर, बजारमा दोस्रो श्रेणीको र पिकेट इँटा ११ देखि १४ रुपैयाँसम्म बिक्री भइरहेको छ। उद्योगीले त्यसमा पनि भ्याट छलिरहेका छन्।

उद्योगीले भ्याट बिल काट्दा अनिवार्य भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) गर्नुपर्ने हुन्छ। तर, पछिल्लो समयमा कचनकबलका एसबीआई, ज्योति, स्टार, प्रेमसहित झापामा सञ्चालित अधिकांश इँटा उद्योगले भीसीटीएस गरेको पाइँदैन। भ्याट बिल काट्दा अनिवार्य भीसीटीएस गर्नुपर्छ प्रमुख कर अधिकृत थापाले बताए। उद्योगीहरूले इँटा सवारीसाधनमार्फत इँटा पठाउने गरेकोले भ्याट बिल काटिसकेपछि भीसीटीएस गर्नुपर्छ, कर अधिकृत थापाले भने, ‘भ्याट बिल छलीलाई नियन्त्रण गर्ने माध्यम नै भीसीटीएस हो, भ्याट बिल काटेरमात्र हुँदैन, भीसीटीएस छैन भने त्यो पनि राजस्व छली हो।’

मूल्य अभिवृद्धि कर ऐन, २०५२ अन्तर्गत न्यून, कम बिलिङ अथवा बिल कम देखाउने सही बिल नदिने अर्थात् बिलिङमा कम मूल्य लेख्ने, बिल नजारी गर्ने जस्ता क्रियाकलापहरूमा कारबाही गर्ने कानुनी प्रावधान राखिएको छ। यदि माल, सेवा दिने क्रममा बिल दिइन्छ तर ठ्याक्कै रकम मूल्य कम देखाएर कर थोरै तिर्ने उद्देश्यले न्यून, कम बिलिङ गरेको प्रमाणित भयो भने त्यो कर छल, कर चुहावट मानिन्छ, जसमा खर्च भएकै करमा बराबर जरिबाना र ६ महिनासम्म जेल सजाय हुन सक्ने प्रावधान छ। त्यस्तै भीसीटीएस उल्लंघन भएमा पहिलो पटकमा ५० हजार, दोस्रो पटक ७५ हजार हुँदै जरिवाना बढ्दै जाने कानुनी प्रावधान छ।

उपभोक्ता सचेत र जागरूक नहुँदा कर छलीका घटनाहरू पछिल्लो समयमा बढिरहेको बताउँदै प्रमुख कर अधिकृत थापाले भने, ‘उपभोक्ता सचेत भएर उद्योगीसँग बिल माग्न थालेमा थोरै भए पनि कर छलीमा नियन्त्रण आउँथ्यो। उद्योगीले बिल नदिएको खण्डमा राजस्व अनुसन्धान वा आन्तरिक राजस्वमा लिखित रूपमा उजुरी दिए त्यस्ता उद्योगीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।’
यता घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार जिल्लामा २४ वटा चिम्नी इँटा उद्योग सञ्चालनमा छन्। नवीन गट्टानीको शुभम् इँटा उद्योग बिर्तामोड, गोपाल उप्रेतीको रिद्धि एन्ड सिद्धि इँटा उद्योग बाह्रदशी, जगनाथ खनालको नेपाल इँटा टायल उद्योग बाह्रदशी, मनोहर अग्रवालको विशाल इँटा उद्योग बाह्रदशी, विमलादेवी चौधरीको अरुण एन्ड न्यु वरुण इँटा उद्योग हल्दिबारी, शान्तरत्न शाक्यको हल्दिबारी इँटा उद्योग हल्दिबारी, मदनकुमार मित्तलको गोरखनाथ इँटा उद्योग हल्दिबारी छन्।

त्यस्तै, कचनकबलमा सैफुलिन हकको सेलेमा इँटा उद्योग, उज्ज्वल श्रेष्ठको ज्योति इँटा उद्योग, नूर आलमको प्रेमजी इँटा उद्योग, अमन मित्तलको झापा स्टार इँटा उद्योग, विष्णु घिमिरेको चण्डी इँटा उद्योग, भद्रपुरमा ब्रह्मदेव साहेवालाको गणेश इँटा उद्योग, फणीन्द्र तामाङको दक्षिणकाली इँटा उद्योग झापा, गणेश गौतमको खुश्वु इँटा उद्योग छन्। त्यसैगरी गौरादहमा कुमार थापाको शिवशक्ति इँटा उद्योग, रवि न्यौपानेको ए–वन इँटा उद्योग, योगेन्द्र थापाको पञ्चेश्वर इँटा उद्योग, कमलमा दीपक साहको बाबा तिरुपति इँटा उद्योग, जनक कार्कीको मेची इँटा उद्योग, विष्णु कार्कीको सिद्धकाली विक्स भगवान् बस्नेतको केर्खा बिक्स र दमकमा गुणराज थापाको गरिमा टाइल्स र गौरीगन्जमा अरुण साहको ओमशान्ति इँटा उद्योग सञ्चालनमा रहेको छन्।

तीन, चार महिनाअघि ढुवानीसहित एक ट्र्याक्टर (१५००) इँटाको मूल्य २० देखि २२ हजार बिक्री गर्दै आइरहेको अवस्थामा अहिले इँटा उद्योगीहरूको सिन्डिकेटले इँटाको मूल्य ढुवानीसहित ३० हजार पुर्‍याएको छ। इँटा कालोबजारी हुँदासमेत उद्योगहरूको अनुगमन तथा निरीक्षण अझै भएको छैन। जेन—जी आन्दोलको प्रभाव र स्रोत साधनको अभावका कारण जिल्लामा सञ्चालित इँटा उद्योगहरूको अनुगमन गर्न नसकेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख पुष्पलता उप्रेतीले जानकारी गराइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.