२५ वर्षअघि
वंश विनाश गरिदियो राजतन्त्रको,
राजा वीरेन्द्रको
वंश सत्यानाश गर्ने हत्याकाण्ड
राजारानी, युवराजदेखि शाही परिवार
दस सदस्यको निर्ममतापूर्वक कत्लेआम,
हत्या त हत्या थियो
षड्यन्त्र मिसिएको– प्रेम वा घृणा ?
कुनको अंश, मात्रा कति थियो ?
भन्नेहरूले भनिदिए, परिणति हो,
कालो पदार्थ सेवनको।
सेवन कालो पदार्थको होस् वा कालो धुवाँ
सेवनपछि पृथ्वीनारायण नेतृत्वले सिर्जना गरेको
सगोल भूगोलभित्रको राजतन्त्र
समाधिमा समेटिन साध्य बन्यो ।
केही वर्षयता फेरि सहरमा
त्यही कालो तत्त्वको धुवाँमा रुमल्लिनेहरू
रमाउँदैछन्, सिंहदरबार जलाइदिने ध्वंसमा
जलाउने अंश र हिस्सामा।
निर्वस्त्र नाच त चलेकै थियो
राजतन्त्रमा, प्रजातन्त्रमा, गणतन्त्रमा
भ्रष्टहरूको चकचकी र
बिचौलियाको बिगबिगी त बढेकै थियो,
हामी फगत रमिते रह्यौं
लुटेराले लुटिरह्यो
गरिरह्यो बलात्कारीले बलात्कार,
रगत लुटियो, जीवन टुटाइयो
भाइ–भाइ फुटाइयो ।
सत्ता र शक्तिको लालचमा
यदुवंशी काटमारमा उत्रियौं ।
योजना उसले बुन्यो
विवेक हामीले थुन्यौं
लालच उसले भरिदियो
लठैत हामी बन्यौं।
पानी भन्दै पेट्रोल बाँडिरह्यो
बारुद र सलाई च्यापेर दौडिरह्यौं
सिंहदरबार, सर्वोच्च र संसद् भवन जलाउन
राष्ट्रको झण्डा छातीमा टाँसेर।
सूचना न संयम, विवेक न बुद्धि,
योजना उसकै आदेश र औजार तिनकै
बहकाउमा बहकिएका आक्रोश र उत्तेजनाको
राँकोमा रंगिएर चन्द्रसूर्य अंकित ध्वजामा
लपेटिएर मारिने र मार्ने एकाघरका हामी।
नारायणहिटीको बर्बर वंश नाशमा
सिंहदरबार र सर्वोच्चको अग्निकाण्डमा
गाँस काटेर, पेट थिचेर, सपना सुकाएर
जतन साथ सम्हालेको,
दिल दुखाएर, भोकभोकै लपेटिएर
संरक्षित संगठन, विश्वास र भरोसाको
जंगी, लाठ वा सशस्त्र
निकाय सुरक्षाको न चल्यो, न बोल्यो ।
फगत मूकदर्शक बनिरह्यो
दरबारमा गोली चलेको,
दृश्य कैद गरिरह्यो, देश जलिरहेको
उपस्थिति थियो काफी
मार्च पासमै माग्थ्यो माफी
जोगिन्थे ऐतिहासिक भवन सम्पदा
रोकिन्थ्यो त्राहिमामको त्रासदी,
भनौं के ? के दिउँ बिम्ब ?
गरौं आशा वा बोकौं निराशा ?
केले रोक्यो भूगोल जोड्ने देशको ?
कुदृष्टि लाउँदा आँखा तोड्ने फिरिंगीको
आँधी, हुरी त्यो निर्भय र साहसको
मुटु जलाउँदा देशको
लाचार, निरीह धुवाँसँगै विलीन
नागरिक विश्वास, होलेरीमा हराउँदा
नारायणहिटीमा नदेख्दा, सिंहदरबार सल्कँदा
किन हुँकार न प्रतिकार ?
प्रतिक्रिया दिनुहोस !