election background

प्रतिनिधि सभा निर्वाचन २०८२

छोरी ! तिमी नै हाम्रो संसार

समीक्षा

छोरी ! तिमी नै हाम्रो संसार

आमा–छोरी हुन् वा बाबु–छोरी, तिनको आपसी माया, प्रेम र सद्भाव जीवनभर चलिरहने प्रक्रिया हो। जुन सुन्दर सम्बन्धभित्र गहिरो समझदारी हुन्छ।

एकदिन तिमीले मलाई सोध्ने छौ, मेरो जिन्दगी बढी महत्वपूर्ण छ कि तिम्रो ? मैले मेरो जिन्दगी भन्नेछु तर तिमी मलाई छोडेर जानेछौ– यो थाहा नपाइकन कि तिमी नै मेरो जिन्दगी हो।

खलिल जिब्रानको जीवन–दर्शनलाई अघिल्लो रात यसरी नै पढिरहेको थिएँ। भोलिपल्ट बिहान सखारै अमेरिकाबाट (उताको रात) किशनसिंह धामीले मेसेन्जर गरेर भन्नुभो, ‘मेलमा नयाँ कोसेली छ। पढेपछि मन लागे केही सुनाउनू।’ फोन राखें र मेल खोलें। पाएँ पीडीएफ, ‘सम्बोधनमा छोरी’। पढें, जिब्रानले जे भनेका थिए, पाएँ त्यही किशनका कलममा, किशनका कवितामा। अब उनलाई सुनाउन मन लागेन। लाग्यो, पाठकलाई आमसञ्चारमार्फत सुनाएँ भने यो विश्वले सुन्नेछ।

छोरी/हरू जन्मिए भने तिनलाई भार सम्झनेहरू यही धरातलमा छन्। एक होइन, दुई होइन, दर्जनौं... ! तर उनी त भार होइन, हुन् जीवनका आधार। बुझ्नेहरूले बोल्ने मनको भाषा हो यो। त्यही भएर भनेका छन् कवि किशनले ‘सम्बोधनमा छोरी’ नामको लामो कवितामा, ‘मेरा छोरीहरूको हाँसो संसारमा सबैभन्दा सुन्दर छ। जसले मेरो जीवनलाई उज्यालो पार्छ अनि गराउँछ हाम्रो घरमा हरेक पल खुसी र प्रेमको वर्षा।’ नत्र किशनले कवितामा छोरीलाई यसरी किन सम्बोधन गर्थे होला–

घरमा छोरी हुनु
छोरीको आभास हुनु
छोरीहरूका विम्बहरू हुन्
यही त रहेछ गर्व र गौरव...
यही त हो छोरी !
पिताको पितृवात्सल्य
माताको मातृवात्सल्य
हाम्रो अनुपम उपहार !
जीवन समुद्रको छाल हो। जसरी समुद्रमा छाल आउँछ, जान्छ, त्यसैगरी जीवनमा सुख–दु : ख आउँछ, जान्छ। छालले ल्याउने हच्का हो दु : ख, अनि त्यसले ल्याउने तरंग हो, सुख। यसकारण भनिएको हुनुपर्छ, जीवन संघर्ष हो। जीवन यात्रा हो, जसरी समुद्रमा छाल यात्रा गर्छ, गरिरहन्छ। जसरी महासागरमा किनारा लागेको पानी त शान्तसँग बस्न पाउँदैन, ठीक त्यसैगरी सन्तान हुर्काएर जीवनलाई किनारा लगाएको अभिभावकमा पनि उतारचढाव आइरहन्छ।

उमेरले ६० काटेकाले पनि बुझेका हुँदैनन् जीवन। दशकौं यसरी लडिबुडी गरिरहन्छन् यही जगत्मा, तर पनि जगत् जान्न सक्दैनन् उनीहरू। जीवनमा के गर्ने ? के नगर्ने ? के ठीक ? के बेठीक ? के गर्दा न्याय हुन्छ ? के गर्दा अन्याय ? को जाती ? को नजाती ? कुन मानिस के कारणले सही भएको हो ? 
अनि के कारणले उही मानिस खराब किन बन्छ ?

अहँ कसैलाई थाहा हुन्न। यतिसम्म कि आफ्नै सन्तान कतिखेर असल र कतिखेर खराब बन्छ ? पत्तो हुन्न। यस्तो अवस्थामा वृद्ध बाआमाले सन्तानलाई कसरी लिँदा हुन् ? अनि सन्तानले यो वृद्ध उमेरमा बाआमालाई कसरी सोच्दा हुन् ? के गर्दा हुन् 
तिनका लागि ? कस्तो भाव पैदा होला ? बुवाको तर्फबाट छोरीप्रतिको भाव चाहिँ किशनले स्पष्ट पारेका छन् कृतिमा–
परदेशको निन्याउरो आकाशमुनि
तिमीले हाँस्दा म रुने गर्छु
भर्चुअल संवादको कृत्रिम मुस्कानभित्र
माया हाँसेको देख्छु
तिम्रो र तिमीजस्तै कैयन् छोरीहरूका
दिदीबहिनी खुसी रहून् भन्ने नै चाहन्छु
तर कसलाई देखाउँ र यो फाटिरहेको हृदयको पीडा ?

कसैले भन्छन्, ‘छोरीसँगको माया एक अनन्त :  खुसीको स्रोत हो।’ कसैले भन्छन्, ‘छोरी भएको घर सधैं उज्यालो हुन्छ।’ कसैले भन्छन्, ‘छोरीको खुसी नै मेरो खुसी हो।’ कसैले भन्छन्, ‘छोरीको उपस्थितिले खुसी ल्याउँछ। केही दिनलाई ऊर्जा प्राप्त हुन्छ।’ एक अभिभावक कवि भन्छन्, ‘छोरीको मुस्कानले मेरो संसार सूर्यको किरणले झैं उज्यालो बनाइदिन्छ।’

आमा–छोरी हुन् वा बाबु–छोरी, तिनको आपसी माया, प्रेम र सद्भाव जीवनभर चलिरहने प्रक्रिया हो। जुन सुन्दर सम्बन्धभित्र गहिरो समझदारी हुन्छ। विधिको विधान नै हो, हुर्केकी छोरीलाई ज्वाइँको घर पठाउने। त्यसपछि आपसी सम्बन्ध अझ गाढा हुन्छ। नेपालको दुर्गम गाउँ दार्चुलाबाट राजधानी काठमाडौं हुँदै अमेरिका पुगेका यी बाआमाले पनि आफ्ना मुटुजस्ता सन्तानलाई ज्वाइँ (विदेशी)को जिम्मा लगाउँदा र लगाएपछिको अवस्था कस्तो होला ? किशनको कविताले छर्लंग बनाएको छ–
मन न हो, थाम्न गाह्रो हुँदोरहेछ
अरूलाई सम्झाउन पो सजिलो हुन्छ
गाह्रो हुँदोरहेछ आफ्नै मनलाई सम्झाउन
म परदेशमा छु र देश सम्झन्छु
    अर्कै समाज, संस्कृति र धर्ममा 
     तिमी साटिएपछि
    कसरी पढाउँ आफ्नै माटोको पाठ ?

हामी मानिस किन कसैलाई प्रेम गर्छौं ? साम किन भन्छिन्, ‘हामीले एकदमै पूर्ण मानिस भेटेका कारण प्रेम गर्ने होइन, हामीले त अपूर्ण मानिसमा पनि त्यो पूर्णता भेट्न सकेका कारण प्रेम गर्ने हो।’ तर यो कलियुगमा वैदिक युगको प्रेम भेटिन्न, खोज्नु पनि हुँदैन। मूर्ख भइन्छ। पहिले लमी अर्थात् लाँपु हुन्थे, केटा र केटी पक्षको वैवाहिक सम्बन्ध जुराउने। अहिले आईटी छ अर्थात् सामाजिक सञ्जाल लमी बनेको छ। लमीले जस्तो लामो प्रक्रिया उसलाई थाहै छैन। त्यसैले जति छिटो जोडाउँछ, उति छिटो छुटाउँछ। सम्बन्ध पनि कृत्रिम बनिरहेछ अचेल 
प्रेमी–प्रेमीकाबीच। त्यसैले लेखे होलान् किशनले यसरी–
कति कृत्रिम सम्बन्ध
र, कृत्रिम जिन्दगी हगि ?
शरीर र पैसामा टिकेको सम्बन्धले 
जिन्दगीको प्रेमिल गीत कसरी गाउँला र ?

कविले यो चिन्ता छोरी र विदेशी ज्वाइँको सम्बन्धमा गरेका हुन्। तर यो चिन्ता सबै बाआमाको हो जसका छोरीले विदेशी ज्वाइँ रोजेका छन्। पहिले आफ्नै गाउँ र जिल्लाभित्र बिहे हुन्थ्यो। त्यसपछि केही जिल्ला पर, हुँदाहुँदा नेपालको पूर्व र पश्चिममा नाता–सम्बन्ध जोडियो। समयको माग हो यो पनि ग्लोबल भिलेजको। नेपाली चेलीको नाता अमेरिका, अस्ट्रेलिया, क्यानडा... कता हो कता ! चारैतिर।

कविता लेख्ने कवि नचिनी कृतिभित्र बगिरहनु न्यायोचित नहोला। केही शब्द कविका बारेमा। किशनसिंह धामी (२०२२) ले ३० वर्षको हुँदा पहिलो पटक २०५२ सालमा ‘गरिमा’ मासिकमा कविता प्रकाशन गरेका थिए। साहित्यमा टेकेको पहिलो पाइलोले तेस्रो वर्षमै उनलाई कृतिकार बनायो, ‘सवारी चालक र तिनका व्यथाहरू’ (२०५५)ले।

अर्को दुई वर्षमा ‘अन्धकारको अनुसन्धानमा’ र त्यसपछिको दुई वर्षमा ‘राजभक्ति माला’का लेखक बने धामी। अब गति र लय दुवै मिल्यो सायद लेखनमा र त वर्षदिनमै अर्थात् २०६० सालमै ‘शान्ति खोज्दै’ निकाले। अनि त्यसपछिका तीन वर्ष मौनरहे झैं भए उनी। प्रस्फुटन हुनुअघिको शान्तपन रहेछ।

परिणाम :  २०६३ मा ‘कलेज गर्ललाई इमेल’ र ‘गजबार नभएको सहर’ एकैपटक ल्याए। २०६६ मा ‘गान्धी’ (अनुवाद) प्रकाशन भयो। उनका २०७२ सालमा ‘फ्रन्ट सिट’ र २०७४ मा ‘एटलान्टिकका भँगालाहरू’ बजारमा आए। यतिबेला भने लामो कविताकृति ‘सम्बोधनमा छोरी’ (२०८२) तपाईंको हातमा छ।
‘मलाई माया गर या घृणा, दुवै मेरो पक्षमा छन्’, विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरले भनेका थिए, ‘यदि तिमी मलाई माया गर्छौं भने म सधैं तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा।’ मानिस चाहे त्यो अभिभावक होस्, चाहे सन्तान– दुवैसँग माया हुन्छ अनि हुन्छ घृणा पनि। तर गर्ने के ? त्यसले अर्थ राख्छ।

नियत वा नियति, कारण जे पनि हुन सक्छ कि मानिस कहिले माया गर्छ त कहिले घृणा। यो समय, सन्दर्भ वा परिस्थितिमा भर पर्छ र कहिलेकाहीँ सोचाइ र बुझाइमा पनि। अनि यसको कारण बोली र व्यवहारमा पनि अडिएको हुन्छ। भनिन्छ, बुवाआमा भगवान् हुन्। तर कहिलेकाहिँ गल्ती बुवाआमाबाट पनि हुन सक्छ। बढी त सन्तानबाटै हुने गरेका उदाहरण देखिन्छन्, भेटिन्छन्।त्यसैले यो कृतिले आमाबुवा–छोराछोरीबीचको भावनात्मक पक्ष खोतलेको छ र सिकाएको छ पाठ माथि भनिएजस्तै अनेक किसिमले अनेक घटना र सन्दर्भ जोडेर। र, त यो कृति सबै सन्तान र अभिभावकबीचको पुल बनेको छ। गद्यात्मक यो लामो कविताले बुवाआमाले छोरीलाई 
कसरी हेरेका हुन्छन् र ती छोरीले आफूहरूलाई कसरी हेरुन् भन्ने चाहन्छन् भन्ने दुईपक्षीय वृत्तान्त प्रस्तुत गरेको छ। कवि किशन र प्रकाशक सुन्दर स्वदेश प्रकाशन दुवैलाई धेरै बधाई !
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.