election background

प्रतिनिधि सभा निर्वाचन २०८२

खुसीको चाबी

खुसीको चाबी

खुसीको चाबी आफैंसँग राख्ने सबैभन्दा शक्तिशाली माध्यम ध्यान हो। खुसी त यही पलमा छ मात्र वर्तमानमा।

खुसी भनेको मनभित्रको गहिरो सन्तुष्टि, आनन्द र मानसिक शान्तिको अवस्था हो। यो कुनै क्षणिक उत्तेजनामात्र नभई जीवनको सम्पूर्णतामा सन्तोष व्यक्त गर्न सक्ने एक आत्मिक अनुभूति हो। खुसी मानव जीवनको एक अमूल्य पक्ष हो, जसले सन्तुष्ट, शान्त र अर्थपूर्ण महसुस गराउँछ।

खुसी आवश्यक हुन्छ किनभने यसले मानिसलाई सकारात्मक ऊर्जा दिन्छ, जीवनका चुनौतीहरूको सामना गर्न शक्ति प्रदान गर्छ अनि शारीरिक एवं मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ। यसले अरूसँग आत्मीय सम्बन्ध स्थापित गर्न मद्दत गर्छ। जीवनलाई सार्थक र सुन्दर बनाउन तथा एक सन्तुलित र स्वस्थ जीवन जिउन खुसी अनिवार्य छ। त्यसैले खुसीको चाबी आफैंसँग हुनुपर्छ। धेरैजसो मानिस खुसीलाई बाह्य कुरा जस्तै सम्पत्ति, सफलता वा अरू मानिसको प्रशंसामा खोज्छन् तर यो विचार वास्तविकताभन्दा टाढा छ।

खुसी बाह्य परिस्थितिमा नभई हाम्रै सोच, दृष्टिकोण र आन्तरिक शान्तिमा निर्भर गर्छ। जब सोचलाई सकारात्मक बनाउँछौं, तब ससाना कुरामा पनि सन्तोष मान्न थाल्छौ। अरूप्रति करुणाको भाव राख्छौं, तब हामी आफैंभित्र खुसी सिर्जना गर्न सक्छौं। कसैले दिएको उपहार वा बाह्य उपलब्धिबाट प्राप्त हुने खुसी क्षणिक हुन्छ, तर आफ्नो कर्म, सकारात्मकता र आत्म–सन्तुष्टिबाट प्राप्त हुने खुसी दिगो हुन्छ। त्यसैले, खुसीको नियन्त्रण अरूलाई दिनुभन्दा आफैंले राख्नुपर्छ।

खुसीको खोजीमा निरन्तर  :  जीवनमा खुसी यस्तो अनुभूति हो, जसको खोजीमा निरन्तर लागिरहन्छौं। खुसी हुन सबैभन्दा पहिले सोचमा परिवर्तन ल्याउन जरुरी छ। जीवनका सानातिना कुरामा पनि सन्तुष्टि खोज्ने बानी बसाल्नुपर्छ। बिहान उठेर सूर्यको प्रकाश देख्दा होस् वा एक कप मीठो चिया बा कफी पिउँदा; हरेक पललाई मनैदेखि महसुस गर्नुपर्छ। आफ्नो भूतकालको पछुतो र भविष्यको चिन्तालाई छाडेर वर्तमानमा बाँच्न सिक्नुपर्छ। शरीर र स्वास्थ्यको ख्याल राख्नु, किनकि स्वस्थ शरीरमै स्वस्थ र खुसी मन बस्छ।

अरूसँग आफ्नो तुलना नगर्नु  :  खुसी रहने दोस्रो महŒवपूर्ण सूत्र हो यो। हरेक मानिसको जीवनयात्रा फरक हुन्छ, त्यसैले अरूको सफलता देखेर इष्र्या गर्नुको सट्टा आफ्नो प्रगतिको कदर गर्नु राम्रो हुन्छ। आफूलाई मनपर्ने कामहरूमा समय दिनु, नयाँ कुराहरू सिक्नु र निरन्तर आत्म–सुधारको बाटोमा लाग्नु आदि। अरूलाई सहयोग गर्दा वा नि : स्वार्थ रूपमा दया देखाउँदा मनमा एक किसिमको गहिरो सन्तुष्टि मिल्छ, जुन साँचो खुसीको आधार हो।

प्रियजनहरूसँग समय बिताउनु र गहिरो सम्बन्ध कायम गर्नु। अन्तमा, आफूलाई स्वीकार गर्नु आफ्ना कमी कमजोरीसहित। यसरी जब हामी आफैंलाई प्रेम गर्न थाल्छौं, तब बाह्य परिस्थितिहरूले हाम्रो खुसीलाई डोहोर्‍याउन सक्दैनन्, बरु हामी आफैं आफ्नो खुसीको स्रोेत बन्न सक्छौं।

चाबी कसैलाई नसुम्पिऔं  :  मानव जीवन एउटा यस्तो लामो र रहस्यमय यात्रा हो, जहाँ प्रत्येक मोडमा खुसी र दु : खका आआफ्नै द्वारहरू भेटिन्छन्। तर विडम्बना ती ढोकाहरूको चाबी अरू कसैको हातमा सुम्पिएका हुन्छौं। आफ्नो खुसीको स्रोत बाह्य परिस्थिति, व्यक्ति वा वस्तुहरूमा खोज्छौं।

कुनै प्रियजनले प्रशंसा गरे खुसी हुन्छौं, कुनै भौतिक सम्पत्ति प्राप्त भए मक्ख पर्छौं वा समाजले दिएको मान्यतामा गर्व गर्छौं। तर, यो कस्तो खुसी हो, जुन अरूको नियन्त्रणमा छ ? जसरी कसैले अर्काको घरको चाबी बोकेर हिँड्छ र जति बेला मन लाग्यो। उसले ढोका खोलिदिन्छ वा बन्द गरिदिन्छ, हाम्रो खुसीको अवस्था पनि ठीक त्यस्तै हुन्छ जब यसको ‘चाबी’ अरू कसैले समातेको हुन्छ।

आफ्नो खुसीको चाबी आफैंसँग हुनुपर्छ भन्ने भनाइ आत्म–निर्भरता र आन्तरिक शान्तिको गहिरो दर्शनमा आधारित छ। 

आन्तरिक खुसी, स्वस्थ जीवनको आधार  :  आन्तरिक खुसीलाई अक्सर मानसिक स्वास्थ्यको मेरुदण्ड मानिन्छ, जसले शारीरिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ। जब कुनै व्यक्ति भित्रैबाट खुसी हुन्छ, तब उसको शरीरले तनाव उत्पन्न गर्ने हर्मोन (जस्तै :  कोर्टिसोल) कम उत्पादन गर्छ। खुसी तथा कल्याणको भावना बढाउने हर्मोन बढी उत्पादन गर्छ। यो हर्मोन सन्तुलनले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ, जसले गर्दा व्यक्ति विभिन्न रोग र संक्रमणसँग लड्न सक्षम हुन्छ। खुसी मानिसमा रक्तचाप नियन्त्रणमा रहने, मुटुको रोग लाग्ने जोखिम कम हुने र छिट्टै बुढ्यौलीका लक्षण नदेखिने जस्ता सकारात्मक शारीरिक परिवर्तन वैज्ञानिक रूपमा प्रमाणित भइसकेका छन्।
मूल प्रेरणा  :  यसरी, खुसीले मनको शान्ति र आनन्दले शरीरलाई पनि स्वस्थ र ऊर्जावान् राख्न प्रत्यक्ष भूमिका खेल्छ। आन्तरिक खुसीले नियमित जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्छ, जसले स्वस्थ जीवनलाई थप मजबुत बनाउँछ। खुसी र सन्तुष्ट व्यक्तिहरूमा सकारात्मक व्यवहार अपनाउने सम्भावना बढी हुन्छ।

तर, निरन्तर दु : खी वा तनावमा रहेका व्यक्तिहरूले अस्वस्थ बानीहरू (जस्तै :  धूमपान, अत्यधिक मदिरा सेवन, जंकफुडको सेवन) अँगाल्न सक्छन्, जसले स्वास्थ्यलाई गम्भीर रूपमा हानि पुर्‍याउँछ। तसर्थ, आन्तरिक खुसी नै त्यो मूल प्रेरणा हो, जसले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन, जीवनका चुनौतीहरूको सामना गर्न र समग्रमा लामो, सन्तुलित र स्वस्थ जीवन जिउन मार्गनिर्देशन गर्छ।

खुसी र आत्मिक सन्तुष्टि  :  खुसी जीवनको एक सुन्दर अनुभूति हो, जुन हामी बाहिर होइन, भित्रै खोज्नुपर्छ भन्ने धेरै विद्वान्को मत छ। महान दार्शनिक अरस्तु भन्छन्, ‘खुसी हामी आफैंमा निर्भर हुन्छ।’ अर्थात्, खुसी सोच, आचरण, कार्यहरू र शैलीमा निहित हुन्छ। उनका अनुसार, जब हामी राम्रो गुणका साथ जिउँछौं, विवेकपूर्ण निर्णय लिन्छौं र आफ्नो क्षमताको अधिकतम उपयोग गर्छौं, तबमात्र आत्मिक सन्तुष्ट हुन्छौं। यसरी, खुसी एक गन्तव्य नभई, असल जीवनशैली र सत्कर्मको फल हो।

कर्मको सामञ्जस्य र खुसीको स्रोत  :  अर्का विद्वान् भारतीय स्वतन्त्रता संग्रामका महानायक महात्मा गान्धीले खुसीलाई कर्मसँग जोड्दै भनेका छन्, ‘खुसी तब हुन्छ, जब तिमीले सोचेको, तिमीले बोलेको र तिमीले गरेको कुरामा सामञ्जस्य हुन्छ।’ गान्धीको यो भनाइले मन, वचन र कर्मको एकतामा जोड दिन्छ। जब विचार, बोली र व्यवहार एकअर्कासँग मेल खान्छन्, तब हामीभित्र कुनै द्वन्द्व रहँदैन। र, एक प्रकारको गहिरो शान्ति र आनन्दको अनुभव हुन्छ। खुसी प्राप्त गर्न इमान्दारी र सत्यता हुनुपर्छ ताकि जीवनमा कुनै बनावटीपन नहोस्। हरेक क्षणलाई सहज र सन्तुष्ट भएर जिउन सकौं।

आत्म–निर्भरता नै वास्तविक खुसीको आधार  :  अरू जेसुकै होस्, आफ्नो खुसीको चाबी आफैंसँग हुनुपर्छ भन्ने भनाइ आत्म–निर्भरता र आन्तरिक शान्तिको गहिरो दर्शनमा आधारित छ। यसले सिकाउँछ कि खुसी कुनै गन्तव्य होइन, बरु यो त जीवन जिउने कला हो। जुन आफैंभित्र फुलाउने फूल हो। जब खुसीको चाबी आफ्नै सोच, प्रयास र आन्तरिक मूल्यमा छ तब त्यो बाहिरी आँधीबेहरीले हल्लाउन सक्दैन। वास्तवमा, खुसीको चाबी आफैंसँग हुनु भनेको जीवनका उतारचढावलाई स्वीकार गर्दै प्रत्येक परिस्थितिमा पनि सकारात्मकता 
र आशाको दियो बाल्नुजस्तै हो।

फुर्सदको समय आफैंलाई भेट्ने सुनौलो अवसर  :  जब हामी खुसीको चाबी आफैंसँग राख्छौं, तब फुर्सदको समय निष्क्रियता नभई सिर्जनशीलता र आत्म–विकासको ढोका बन्न पुग्छ। मनपर्ने साहित्यिक कृतिहरू वा दार्शनिक ग्रन्थहरू पढ्दा ज्ञानको दायरा मात्र फराकिलो हुँदैन, एकाग्रता पनि बढ्छ र जीवनलाई बुझ्ने नयाँ दृष्टि प्राप्त हुन्छ। कसैको जीवनका अनुभव, सफलता र असफलताका कथा पढेर आफ्ना समस्यालाई नयाँ कोणबाट हेर्न सक्छौं। त्यसैगरी लेखेर विचार, भावना र अनुभवहरूलाई डायरीमा, कवितामा वा आलेखमा उतार्नु एक प्रकारको आन्तरिक शुद्धीकरण हो। यसले मनमा लागेका भारी कुरालाई हलुका बनाउँछ र सिर्जनशील बनाउँछ अनि आनन्द प्रदान गर्छ।

रुचिको खोजी र सिर्जनशील अभिव्यक्ति  :  खुसीको चाबी प्राय :  निष्क्रिय प्रतिभामा लुकेको हुन्छ। लेख्नु भनेको आफ्नै विचारको चाबी आफैंले समात्नु हो। फुर्सदको समयमा गीत गाउने, चित्र कोर्ने, बागवानी गर्ने वा फोटो खिच्नेजस्ता रुचिलाई समय दिन सकिन्छ। यी कार्यले ‘फ्लो’को अवस्थामा पुर्‍याउँछन्, जहाँ समय बिर्सेर पूरै काममा व्यस्त हुन्छौं। जस्तै; सानोमा संगीतमा रुचि हुँदाहुँदै समय नपाएर छाडेको कसैले फुर्सदमा पुन :  गिटार बजाउन थाल्यो भने उसले त्यो संगीतको माधुर्यतामा आफ्नै खुसीको लय भेट्टाउँछ। यो खुसी अरू कसैको नियन्त्रणमा हुँदैन।

गहिरो सम्बन्धहरूको पुनरावलोकन  :  फुर्सदको समयलाई दौडधूपको जीवनमा छुटेका आफ्ना प्रियजनसँगको सम्बन्ध मजबुत बनाउन प्रयोग गर्न सकिन्छ। उनीहरूसँग अर्थपूर्ण कुराकानी गर्ने, सम्बन्धका गाँठाहरू फुकाउने र सानोतिनो सहयोगमा हात बढाउने गर्दा एक प्रकारको सामाजिक आनन्द र आत्मीय खुसी मिल्छ।

मर्मस्पर्शी सन्दर्भ हुन्छन्। कतिपय अवस्थामा जीवनमा सानातिना कुरामा अल्झिएर आफ्ना बुबाआमा वा प्रियजनलाई पर्याप्त समय दिएका हुँदैनौं। फुर्सदमा उनीहरूसँग बसेर पुरानो कथा सुन्नु, जीवनका भोगाइहरू बुझ्नु र निस्वार्थ माया साटासाट गर्नु आफैंलाई खुसी राख्ने उत्तम तरिका हो।

ध्यान र आत्म–चिन्तन  :  खुसीको चाबी आफैंसँग राख्ने सबैभन्दा शक्तिशाली माध्यम ध्यान हो। यसो गर्नाले व्यस्तताको भिडमा हराएको ‘आफू’लाई फुर्सदमा भेट्न सकिन्छ। नियमित ध्यानले मनको आवाजलाई शान्त पार्छ, तनाव व्यवस्थापनमा मद्दत गर्छ र वर्तमान क्षणमा बाँच्न सिकाउँछ। वर्तमानमा बाँच्नु नै खुसीको ठूलो मर्म हो किनकि खुसी न त बितेको क्षणमा छ, न त आउने समयमा। खुसी त यही पलमा छ मात्र वर्तमानमा।

अन्त्यमा, खुसीको चाबी आफैंसँग राख्नु भनेको जीवनको जिम्मेदारी आफैंले लिनु हो। आत्म–सम्मान, स्व–प्रेम र आन्तरिक मूल्यलाई प्राथमिकता दिनु हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.