मोह निबन्धकारिता प्रतिको !
निबन्धकारिताका मोहप्रतिको धारणा व्यक्त्याउन लाग्दालाग्दै कताकता बहकिन पुगेछु। बहकिँदै मूलधारमा समाहित हुनु निर्बन्ध निबन्धकारिताका सुगन्ध ठान्छु।
मस्त–मस्त मनले मोहित मान्दा चिन्तनका फाँट फराकिन्छ। यो आत्मबोधि तत्व ज्ञान ! अचेलभरिको जीवन सारका स्वाद ठाने–मानिरहेको बिभोरीको सन्तुष्टि। आत्मचिन्तनभरिका अनुभूतिको। सन्तोष, त्यहाँ प्रफुल्ल बन्छ– फक्रेको फूल झैं ! त्यसकै मन बहलाउँदो अनुभूति यो। प्रफुल्ल मनस्थिति आनन्दसार जीवन वृत्ति।
फक्रिन्छ भित्रभित्रै आनन्दमय अनुभूति। आनन्दमय अनुभूति दीर्घ जीवनका हरियाली। हरियालीले उत्सर्जन गर्छ– अम्लाजन/अक्सिजन। अम्लाजन स्वस्थकर जीवन बरदान ! झन्डै २६०० वर्षपहिले बुद्धले बोधिज्ञान हासिल गरी बुद्धत्व आर्जे। स्वस्थताका गर्भगृह त अम्लाजन रहे, बनेको गुह्य विज्ञानले मर्म बोध गरे। अनुयायी हामी आजभोलिका सन्ततिका अजश्र जीवन स्रोत !
निबन्धकारिताका मर्म निर्बन्धता ठम्याइँमा हुन्छ। निर्बन्धता बैचारिक उडानसाथ उजागर हुँदो रहेछ। जब—जब वैचारिक पंख फट्काएर अकासिन्छ, तब तब निबन्धकारिताले सार्थकता हासिल गर्दो पाउँछु। स्वमूल्यांकन सान्त्वनाको स्वस्फुर्त मुहान बन्दोरैछ ! सान्त्¬वनाको स्वस्फुर्त मुहान आत्मसन्तोषका महक बन्छ। आत्मसन्तोष जीवन आर्जनका सुमधुर संश्लेषण कसरी नबनून्। सुमधुर आत्मसंश्लेषण भित्रभित्रै जीवनका बरद बरदान महकिन्छ। आफैंसितको आत्मसंवादमा बिभोरिँदै घोटिरहेछु लेखनी सलल ! लाग्छ सललल लेखनी सुललित जीवन कहानि !
निबन्धकारिताका मोहप्रतिको धारणा व्यक्त्याउन लाग्दालाग्दै कताकता बहकिन पुगेछु। बहकिँदै मूलधारमा समाहित हुनु निर्बन्ध निबन्धकारिताका सुगन्ध ठान्छु। यस घडी यी मूर्धन्य सर्जकद्वय धोबीघाट मेलोडी– मुकुन्दराज शर्मा (२) अक्षरांश– भुवन ढुंगाना। पढ्दापढ्दै यी दुई हस्तीका संग्रहहरू आफैं धारावाहिक प्रवाहसित आनन्दी शैली सीपमा रमाएँ। रमाउनु आनन्दी मनका छनक बन्यो।
त्यस छनकले भाषिक अनुभूतिका रमरम रमझममा डुबुल्किएँ। डुबुल्किन सक्नुका आनन्द अनुपम हुँदोरहेछ। त्यस अनुपमतामा अन्तरनिहित रमझम ऊर्जा बन्दो स्वाद बरद बरदान माने। अनुप्राणित भएछु। आल्हादित बने। पढ्नुको आनन्द योद्धाका दिग्विजय बराबरजस्तै हुँदोरैछ। पढ्नुका अनेक आयामका अनेकतामध्ये ज्ञानका तुष्टि हुँदारैछन्। पढ्नाले चिन्तन धारका तरंग गरंगिँदो रहेछ। स्वानुभूति आर्जें। आर्जेका ज्ञान रस गंगाजल छर्कंदैका शब्दानुभूति यी।
रमाइरहेछु ! सक्नु रमाउन जिउनुको स्वाद ! स्वाद त तुष्टिका अनुराग जिउनुका। ‘यावत जिबेत सुखम् जिबेत्, कृत्यकृत्वा सदा बहार भवेत्।’ जबसम्म जिइन्छ, सुखैले जिइयुन्। चारबाकले झैं ऋणं कृत्वा सुखम् जिवेत भन्न मन पराइनँ ! ऋणमा चुर्लुम्म डुबेर घिउ पिउनु आत्मघाती अपराध बन्छ, ठहर्छ नि : सन्देह। यसमा केको सन्देहात्मक लाज ? हाकाहाकी एलान यो !!! एलान होइन, कदापि हुंकार। न त पाखुरी मिच्नुकै बलमिचाइँ। मात्र हुन्, भनें नि आत्मानुभूतिबाट प्रस्फुरित दृढ धारणा।
(क) ‘अक्षरांश’ निबन्ध संग्रह। भुवन ढुंगाना स्वहस्तसिद्ध नारी स्रष्टा। भुवनजीका श्रीमान् दमननाथ ढुंगाना ज्यू मेरा बालसंगाति ! श्री पद्म हाइस्कुलका कक्षा १ देखिका सहपाठी। त्यसबेला भक्तपुरमै स्व. वीरमणि गुरुसँग ब्यासीटोलमा बासुकला निवासमा रहनुहुन्थ्यो। बासुकला परिवार भूपतिवर्गमा दरिएका परिवारजन। अर्का एकथरी त्यस्तै नामी भूपति कृष्णमान कुमाल प्रजापति। भूमिवालका सान सौकात समाजमा प्रतिस्थित। वर्तमान परिप्रेक्षमा रूपान्तरित भएर भूमाफिया बन्नु परिवर्तनशील दुनियाँका स्वरूप दर्शन !
भुवनजीका ‘अक्षरांश’ निबन्ध नारी हस्तीका सुललित शैलीमा सललल प्रवाहित निबन्ध। सलल बग्दो शैली चिन्तनधारका स्वनामधन्य योगदान बन्छ–ठहर्छ। लेखन शैलीले व्यक्ति विशेषका वैशिष्ट्यको परिचायक देन दिन्छ। भुवनजीका निबन्ध सार्थक साथै सरलमा तरल, तरलमा सरलतम सोच प्रवाह बनेको पाउँदा मनज्ञ आल्हादित बनेछु आफैं !
परिच्छेद १ आलक्षित–अन्तरगत अथाह निबन्ध समाहित हुनका परिच्छेद २ भित्र शब्द शब्दाञ्जली अन्तरगत १० श्रद्धाजन्य निबन्धका नतमस्तक मानवीय चेतनामय चिन्तनधार प्रवाहमान भएका छन्। असरल्ल शारीरिक दुर्बल अवस्था छलाङ्गिन मानसिक चिन्तनका खुराक पाएको माने !
(ख) मुकुन्दराज शर्माका धोबीघाट मेलोडी अन्तरनिहित ज्ञान, चेतन, महिमा, महनीय, अभिज्ञान प्रकाशकीय दायित्व बहन गरेर श्री दिरेकलाल श्रेष्ठज्यूको वैचारिक निदान पाठक जगत्मा मगमगाउँदो महक छर्कनु भएकोमै मन्त्रमुग्ध बने। दिरेक बन्धुमा अघोषित सर्जकीय क्षमता अन्तरनिहित झझल्को पाएँ।
कामना न्युज पब्लिकेसनले प्रकाशनमा ल्याएको धोबीघाट मेलोडी : गणित साहित्य क्षणिकीहरूका अनुभूतिहरू र अन्तरदृष्टिहरूमा समष्टि धार बनेका अभिव्यञ्जना सारगर्भित मर्मले सुम्सुम्यायो यो चेतनभरिको ज्यानलाई आहा !!! शर्माका पहिलो निबन्ध संग्रह– ‘शब्दशिविर’ पढ्दाका मन्त्रमुग्ध बनेर झल्यास्सिएँ। मनले ध्याएपछि नहुने के हुँदाहुन् ? सबुद् यही माने। सुललित शब्द र वाक्य विन्यास लेखन कलाको शिल्प साधना बन्दो प्रत्यक्ष प्रमाण सबुद यो।
मुकुन्दराजका दुई निबन्ध संग्रह पढ्दा अनुपम आनन्द अन्तरमनले चाख्ने अनुभूति ठाने–मानें। अन्यान्य निबन्धानुरागी बन्धुबान्धवीका स्वेछिक चेतलाई म्लान पार्ने धब्बा बन्ने मनसाय राख्न चाहिनँ ! नेपाली भाषा र साहित्यानुरागी पाठक जगत् फराकिँदै आकासिँदै छ। नयाँ पिँढी र पुस्ता हामी र हाम्रा पुस्ताभन्दा सबल, सक्षम र सार्थक बन्नेछन्। भविष्यप्रतिको माया, ममता, अनुराग अनि भरोसा अमरज्योतिका ज्योतिर्मय युग हुर्कून् ! हुर्कने नै छ !
प्रतिक्रिया दिनुहोस !