election background

प्रतिनिधि सभा निर्वाचन २०८२

स्वर्गद्वारी : स्वर्गको एक टुक्रा

संस्मरण

स्वर्गद्वारी : स्वर्गको एक टुक्रा

स्वर्गद्वारी आउने कत्रो रहर! धोका बल्ल पूरा भएको थियो। अब नजिक आएर पनि आफैंलाई कसरी रोक्न सक्नु ?

धेरै वर्षपछि दसैं मनाउन जन्मथलो प्युठान पुगें। गाउँ पुगेपछि आफू सानो छँदाको दसैंका सम्झनाहरूले भित्री मनसम्म खुब झक्झकाए। क्या रमाइलो हुन्थ्यो त्यसबेला ! बाल्यकालका दसैंका बाल्यकालीन अनुभूतिहरू, आहा ! क्या दिन थिए ती। त्यो परिवेश, त्यो वातावरण र तत्कालीन समयको यादगार पलहरूले खुब सताए।

आजभोलि त्यतिबेलाको जस्तो गाउँघरमा रौनक नभेटिँदो रहेछ। न त उसबेलाका गाउँभरिका सबै मानिस भेटिए। गाउँमा रित्ता घरमा प्राय :  बूढा आमाबुवामात्र। सबैका सन्तान विदेश। खाली घर, खाली हात र रित्ता मन लिएर छोराछोरीलाई सम्झिँदै तिनकै बाटो हेर्दै बसिरहेका छन् बाआमा। कहिले सन्तान घर फर्किन्छन् भन्दै दिन, महिना र वर्ष गन्दै निराश जिन्दगी बाँचिरहेछन्।

सानो छँदाको उमंग, उत्साह केटाकेटी बेला भएर हो कि खोइ आजभोलि त्यही ठाउँ पनि अपरिचित र बिरानो लाग्दो रहेछ। जसोतसो रमाइलो मानेर यसपालिको दसैं मनाइयो। अन्य ठाउँमा पाँच दिनसम्म दसैं मान्ने र पूर्णिमाको दिनसम्म दसैंको टीका लगाउने चलन छ। तर हाम्रो प्यूठानतिर भनें दसैंमा विजया दशमीका दिनलाई मात्र दसैं मान्ने चलन छ। तसर्थ, हाम्रो दसैं सकिएको हुँंदा भोलिपल्ट भाइसँग स्वर्गद्वारी घुम्न जाने योजना बन्यो।

प्यूठानमै जन्मेर पनि स्वर्गद्वारी पुग्ने अवसर मिलेको थिएन मलाई। नजिकको तीर्थ हेलाँ भनेजस्तै भएको थियो। पहिलेदेखि नै स्वर्गद्वारी जाने ठूलो रहर र सपना थियो। आँगनमा केटाकेटीलाई उखु काटेर दिँदै गर्दा स्वर्गद्वारी जाने कुरा निकालें। आमा, बुवा, भाइ, बुहारी, बहिनी र उनीहरूका छोराछोरीलगायत नानी र म गरेर परिवारका सबै जाने भयौं। सल्लाह हुँदै गर्दा काका, काकी, सानिमा, भाइ, बहिनी र ज्वाइँलगायत झन्डै २५ जनाको जम्बो टोली बन्यो।

लिलाप केसी दाजुले गाडी मिलाइदिनु भो। वर्षामासको समय, त्यसमाथि सरकारले तीन दिन कतै ननिस्किनू भनेर सूचना जारी गर्दागर्दै पनि स्वर्गद्वारी भ्रमणमा निस्कियौं। आँगनसम्मै बाटो पुगे पनि झिमरुक खोलो बढेकाले गाडी तर्न मुस्किल थियो। त्यसैले करिब ३० मिनेटको बाटो केटाकेटी र बूढाबूढीलाई हिँड्न करिब एक घण्टा लाग्यो। झोलुंगेपुल तरेर खोला पारि गाडी चढ्ने स्थान कुटीचौर पुग्दा चालकले फोन गरेर गाडी बिग्रेकाले ढिलो हुने भनेर खबर गरे। अब एउटा घरको पिँढीमा कुर्नुको विकल्प भएन। एक्कासि बादल गर्जिंदै हावाहुरीसहितको पानी पर्न थाल्यो।

समाचारमा, फोनमा सूचना पाएजसरी मुसलधारे पानी पर्न थाल्यो। ओत खोज्दै हामी कहिले झोला बोकेर घरको अगाडिपट्टि त कहिले दायाँबायाँ गर्न थाल्यौं। निकैबेर ठूलो पानी पर्‍यो। पारी जंगलमा सालका पातमा झरेको पानीको झमझम आवाजको संगीतमा रमाउनुको विकल्प भएन। बाटो खनेर फराकिलो बाटो बनाउन लागेको रहेछ, पानीले हिलैहिलो बनायो। दसैंका मान्छेहरू बाइकमा हिलाम्मे भएर फर्किएको हेर्दै बस्यौं। कठै यो बाटोको हविगत ! कहिले पिच होला ? कहिले गाउँका जनताले सुख पाउलान् ? मनमनै सोंचे।

गाउँमा गाडीको यस्तो असुविधा र सहरमा छिनछिनमा कुद्ने बस, ट्याक्सी, अझ पछिल्लो समय अत्यन्त लोकप्रिय र सर्वसुलभ बनेको छिटोछरितो साधन पठाओ, इनड्राइभ र यांगो। सहर र गाउँको तुलना गरें। छेउकुना केही मिलेन। कठै मेरो गाउँ ! निकै नै ढिलो भइसकेकाले भोकले समेत सबै आत्तिसकेका थिए। समस्या चर्किने देखेर सायद आमा र काकीहरू कराउँदै हुनुहुन्थ्यो।

तीन घण्टा जति बाटोमै बितेछ। घर फर्किनु कि कुर्नु ? भन्दा बल्ल गाडी आयो। सबैको मलिन अनुहारमा एक्कासि मुस्कान दौडियो। चालकले आउनेबित्तिकै सुरुमै ढिलो भएकोमा माफी मागे। झटपट चढ्यौं। दोहोरी गीत घन्काउँदै गाडी गुड्यो। बिजुवारभन्दा अलिक तल पुगेपछि गाडीको टायर पन्चर भयो। सबै गाडीबाट ओर्लियौं। चालकले टायर फेरुन्जेल केटाकेटीले चाउचाउ, बिस्कुट, पानी खाए। भिंग्रीबजार पुग्दा झमक्क साँझ पर्‍यो। जुन स्वर्गद्वारीको उकालो लाग्ने प्रवेशद्वार हो।

गाडीमा जानेले पहिले अप्ठ्यारो, साँघुरो, कच्ची बाटो हुँदाका आआफ्ना अनुभव सुनाइरहेका थिए। समय र बाटोअनुसार यति समय लाग्छ, उति समय लाग्छ भन्दै थिए। तर कहिल्यै नगएकाहरू चुपचाप सबैका कुरा सुनिरहेका थियौं। साँझको झिलिमिली, भिंग्री बजारको चहलपहल र वारिपारिको झिलिमिली गाउँको झलक हेरिरहेका थियौं। जब भिंग्रीबाट गाडी उकालो लाग्यो, तब बिस्तारै चिसो बढिरहेको थियो। तल बजारसम्म गर्मी नै थियो। ठाडो उकालो र ठ्याक्कै यु टर्नका डरलाग्दा घुम्तीहरू भेटिए।

परिवारका सबै सदस्य एउटै गाडीमा थियौं। सबको मुटु डरले थुरथुर कापिरहेको थियो। आमा डरले पुलुक्क मलाई हेर्नुहुन्थ्यो। मलाई भने समयसमयमा स्वर्गद्वारी जाँदाका गाडी पल्टिँदा दुर्घटनामा परेर नेपालदेखि भारतसम्मका मानिसको मृत्यु भएका घटनाहरूको झलझली सम्झना भइरहेको थियो। डाँडा कटाउँदै जंगल, भिरको बाटो जति जति माथि गयो, उति उति गाउँबस्ती कम भइरहेका थिए। रातको अँध्यारो बिस्तारै गाढा हुँदैथियो। सुनसान बाटोमा एक, दुईवटा बाइक कुदिरहेका थिए। माथि घुम्ती पार गर्दै उकालो लाग्दा हुस्सुसित चिसो झन् बढ्यो। सबै मौन थियौं।

भोकले पनि चुपचाप बनाएको थियो सायद। हुस्सुले धपक्क बाटो छोप्दै थियो। डरलाग्दा घुम्तीहरूमा हुस्सुले लुकामारी खेलेजस्तो लाग्थ्यो। तपतप हुँदै सिमसिम पानी परे झैं हुस्सुको शीतले बाटो छपक्क भिजेको थियो। झ्याल खोल्दा चिसो बतासले जिस्क्याउन आए जस्तो आभास भइरहेको थियो। चालकले बिस्तारै उकाला घुम्तीहरू पार गराउँदै थियो। त्यस्तो हुस्सुमा पनि खोइ कसरी आँखा देखेर गाडी चलाइरहेको थियो कुन्नी ? यु टर्नका डरलाग्दा घुम्तीहरू कटाउँदै करिब तीन घण्टाको गाडीको यात्रापछि स्वर्गद्वारीको प्रवेशद्वार अर्थात् गन्तव्य नजिक पुग्यौं।

जाडो उस्तै, अँध्यारो उस्तै। बाक्ला लुगा लाएर मोबाइलका बत्ती बालेर हिँड्यौं। साँझ/रातको समय शान्त वातावरण, वरिपरि जंगल, रुखहरूको छायाँ, चिसो मौसम, सिमसिम हुस्सुको शीत। सबैलाई अगाडि लगाएर म भनें अन्तिममा मनमोहक वातावरणको भरपूर आनन्द लिँदै झोला बोकेर हिँडिरहेकी थिएँ। बलियाबांगा अगाडि, ठीकैका बीचमा अनि बूढाबूढी र बिरामी मसँगै विस्तारै अन्तिममा। भाइहरूले बिरामी काकालाई डोहोर्‍याउँदै थिए। काका पाइला सार्दै रोकिँदै सास फेर्दै हिँड्नुहुन्थ्यो। कुहिरो र शीतमा भिज्दै रुमल्लिँदै निरन्तर उकालो चढिरह्यौं। बुवा फटाफट हिँडेर माथि पुग्नु भएछ।

काकाले भन्नुभयो, ‘दाइ त साह्रै बलियो पो हुनुहुँदोरहेछ।’ हाम्रो सान्त्वनापछि काकाले भन्नुभयो, ‘हेर नानी ! बिरामी भएर गलेपछि भगवान्सँग प्रार्थना गरेको थिएँ– एक पटक जसरी पनि मर्नुअघि स्वर्गद्वारी दर्शन गर्न आउँछु भनेर। आज सारै खुसी भएको छु। ठूलो सपना पूरा भयो।’ मलाई भने साँच्चै स्वर्ग पुगेको अनुभूति भइरहेको थियो। बाटोमा स्वर्गद्वारी महाप्रभुको दर्शन गरेर माथिबाट तल ओर्लिने दर्शनार्थी भन्दैथिए, ‘अब धेरै छैन मन्दिर पुग्न, बिस्तारै जानुस्।’ म भने घरी त्यो मौन, धुमिल अनि ओसिलो साँझसँग मौन संवाद गर्थें, घरी त्यो परम शान्ति र हुस्सुको बादलमा आफैं हराएको मज्जा लिँदै भिडियो खिच्थें। यसरी घरीघरी हुस्सुसँग जिस्किँदै, शीतलाई स्पर्श गर्दै त्यो समय, त्यो परिवेश, त्यो मौसम र त्यो क्षणलाई आँखाको लेन्समा कैद गर्दै अनि मनको अन्तरमा लुकाउँदै हिँडिरहें।

बाटोमा फाट्टफुट्ट मान्छे भेटिइरहन्थे। अब आइपुग्यो। पुग्न लाग्नुभयो भन्दै ओरालो झर्थे। हामी उकालो उक्लिँदै थियौं। पुग्न लाग्दा केही घर देखिए। स्वास्थ्यचौकी लेखेको देखियो तर बन्द। स्वर्गद्वारी गाउँपालिकाको भवन देखियो। अनि प्रहरी चौकी पनि। त्यहाँ पुग्दा सबैलाई प्रहरीले रोकेर सबैको विवरण टिपिरहेका थिए। हाम्रो पनि सबै विवरण नोट गरे। त्यहाँ केही बटुक र पुजारी यताउता गरिरहेका देखिए। अब भने गन्तव्यमा आइपुग्यौं जस्तो लाग्यो। सबैको अनुहारमा खुसी छायो।

आखिर मन्दिरको प्रांगणमा पुग्यौं। नजिकिँदै जाँदा त्यहाँ हवनको धुपबत्तीको मीठो सुगन्ध, मन्दिरको घण्टाहरूको आवाज र भजनको सुमधुर गुञ्जनले वातावरणलाई नै आनन्दित तुल्याइरहेको थियो। मलाई भने सेताम्मे कुहिरोले बादलमै हराएजस्तो अनुभूति भइरहेको थियो। थाकेछौं, बेन्चहरूमा बस्यौं। टिकट काट्ने र बस्ने बन्दोबस्तको व्यवस्थापन नगरी कतै लाग्ने कुरो भएन। त्यही मौकामा म भनें मन्दिर पसें, मन रोक्नै सकिनँ। त्यहाँको समग्र वातावरण र मनै हर्ने भजनका मीठा आवाजले मनमा हलचल मच्चाइरहेका थिए।

स्वर्गद्वारी आउने कत्रो रहर ! धोका बल्ल पूरा भएको थियो। अब नजिक आएर पनि आफैंलाई कसरी रोक्न सक्नु ? झोला आमा बसेको बेन्चको छेउमा राखेर नानीको हात समातें अनि कुद्ने इसारा गरें। अनि मन्दिरतिर कुद्यौं दुवै। सबैजना लौ आमाछोरी कहाँ भागेका भन्दै कराउँदै थिए। कसैको कुरा नसुनी दौडिँदै मन्दिर परिक्रमा गर्‍यौं। मन्दिर परिक्रमा गरेर त्यहाँको अद्भुत आनन्द र स्वर्गद्वारी मन्दिरसँग साक्षात्कार गरें। स्वर्गको टुक्रालाई मोबाइलमा कैद गरें। अनि टिकट काट्ने झ्यालतिर लागें।

स्वर्गद्वारी आश्रमको व्यवस्थापन समितिद्वारा व्यवस्था गरिएको बस्ने, खाने सुविधासहितका सुन्दर घरहरूतिर लाग्यौं। सामूहिक रूपमा बस्न मिल्ने व्यवस्था गरिएका माटो र कमेरो पोतेका सुन्दर ढुंगेघरहरू रहेछन्। महिला बच्चा र बिरामी काका अनि बुवालगायत सबै ठूलो हलमै पस्यौं। मौसम निकै नै चिसो थियो। रातभर ठूलो पानी पर्‍यो। सरकारले कतै ननिस्किनु भन्दाभन्दै लहैलहैमा यत्रो टाढा आयौं भनेर आमा र काकीहरू कराउँदै हुनुहुन्थ्यो। म भने चुपचाप नसुने जस्तै गरेर सुतिरहें।

तीन दिनसम्म पानी परे हुन्थ्यो, आनन्दले स्वर्गद्वारीमै बसिदिन्छु भन्दै मनमनै खुसी भएँ। सबैरै सबै होहल्ला गर्दै उठे। स्नान गर्ने, चियापान गर्नेले सबैलाई ब्युँझाए। त्यहाँको नियमअनुसारको समयमा चिया, खाना खानुपर्ने नियम रहेछ। चिया निकै मीठो र फरक स्वादको थियो। हल्का अमिलो, हल्का पिरो, मीठो सुगन्ध। सबैजना भेला भएर मन्दिरतिर लाग्यौं। घाम झुल्किँदै थियो। निकै उचाइको स्वर्गद्वारी आश्रम वरिपरि हिमालले ढाकेको थियो। दर्शनार्थी पूजा गर्न, बत्ती बाल्न, घण्टी बजाउन, फोटो खिच्न अनि भिडियो बनाउन व्यस्त थिए।

बटुक पुजारीहरू यताउता गरिरहन्थे। बटुक र पुजारीहरू हवन कुण्डतिर लागे। पालैपालो लाइन बसेर स्वर्गद्वारी महाप्रभुको दर्शन गर्‍र्याैं। निरन्तर रूपमा प्रज्ज्वलित ज्वाला कुण्डको बहिरबाटै दर्शन गर्‍यौं। बिहान घामको झुल्का परेपछिको वरिपरिको वातावरण निकै नै मनमोहक र साँच्चिकै स्वर्गको टुक्राजस्तै थियो। त्यो देखेर मेरो मन निकै पुलकित भयो। हर्षले साह्रै गदगद भएँ। वरिपरिका पहाड, डाँडाहरू, बादल, हुस्सु, कुहिरोलगायत प्राकृतिक छटाले भरिपूर्ण मनोरम दृश्यहरू मोबाइलको क्यामरामा कैद गरें। मनको लेन्समा त कहिले नमेटिने गरी कैद भइसकेको थिए।

लाइन लागेर स्वर्गद्वारीको प्रसाद र विभूति लियौं। स्वर्गद्वारी महाप्रभुको आँगनमा महाप्रभुलाई साक्षी राखेर केही अभूतपूर्व समयका यादहरू कैद गर्‍र्याैं। माथिपट्टि सयौंको संख्यामा रहेका गाईहरू राखेको गौशाला हेर्‍यौं। मन्दिर तल पाठशाला रहेछ। जहाँ कक्षा १२ सम्म अध्यापन हुँदो रहेछ। जहाँ ब्राह्मण/बटुक छात्रहरूलाई छात्रावासको व्यवस्था रहेनछ। प्रश्न पनि गरें। तर उचित जवाफ आएन। सबैले यस्तै चलन छ भनेर पन्छिए।

गौशाला पछाडिको बाटो हुँदै जंगलको बीचबाट केही परको हेलिप्याड पुग्यौं। जुन निकै माथिको पहाडको टुप्पोमा थियो। जंगलभित्र सेता बादलहरू लुकामारी खेलेको हेर्‍यौं। वरिपरि रंगीचंगी वनफूलहरू मुस्कुराएका थिए। अत्यन्त मनमोहक प्राकृतिक दृश्यहरू थिए। त्यहाँभन्दा तल बादलले धपक्क ढाकेका डाँडाहरू। आहा ! स्वर्गद्वारी साँच्चिकै स्वर्गको एउटा टुक्रा देखियो। अलिमाथि एउटा गुफा आउँदो रहेछ।

जुन गुफाभित्रबाट महाप्रभु स्नान गर्न तल माडी खोलामा पुग्नुहुन्थ्यो रे ! अर्काे किंवदन्तीअनुसार त्यो गुफा हुँदै स्वर्ग जाने बाटो थियो रे ! गुफाभित्र पस्यौं। यसरी घुम्दै, रमाउँदै, पुन :  स्वर्गद्वारी मन्दिर नजिक पुग्यौं। मन्दिर नजिक ठूलो रुख रहेछ। त्यस रुखको फेदमा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेर ज्ञान प्राप्त गर्नु भएको रहेछ। केहीबेर त्यहाँ मौन भएर बसें।

यसरी घरीघरी हुस्सुसँग जिस्किँदै, शीतलाई स्पर्श गर्दै त्यो समय, त्यो परिवेश, त्यो मौसम र त्यो क्षणलाई आँखाको लेन्समा कैद गर्दै अनि मनको अन्तरमा लुकाउँदै हिँडिरहें।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.