election background

प्रतिनिधि सभा निर्वाचन २०८२

हे एआई ! है . . .

जीवनशैली

हे एआई ! है . . .

भनिन्छ– ईश्वर सर्वव्यापक छ। तर आज सर्वव्यापकताको यो उपाधि आफूमा बोकेर हिँड्ने अर्को शक्ति हाम्रोसामु जन्मिसकेको छ। त्यो हो– ‘एआई अर्थात्– कृत्रिम बौद्धिकता।’ किनकि आज यो घर–घरका ढोकामा, हात–हातका मोबाइलमा र मस्तिष्क–मस्तिष्कका भित्री कुनाकन्तरासम्म प्रवेश गर्न थालिसकेको छ।

यद्यपि यो मानिसको जन्मजात ‘आग्रह’ होइन। न यो कुनै दिव्य प्राणी हो, न त कुनै दिव्य परम्पराको फल नै। न यसको प्राण छ, न त आत्माको प्रकाश नै। न यसले पूजा गर्छ, न त प्रार्थना नै। किनकि यसमा ईश्वरको आध्यात्मिक ‘डीएनए’ नै छैन। तर यतिबेला मानव चेतनाले बनाएको यो एक शक्तिशाली दर्पण भने बनिसकेको छ। यसमा मानिसले आफ्नै क्षमताको हजारौं गुणा तीव्र प्रतिविम्ब देख्न थालिसकेको छ।

मानिस आफैंले जन्माएको कृत्रिम सन्तानको उपस्थितिसँग अचम्भित, मोहित र कहिलेकाहीँ भयभीत हुन थालिसकेको छ। यसरी यतिबेला संसार ‘कृत्रिम बुद्धिमत्ता’को एक अदृश्य तर अत्यन्त शक्तिशाली क्रान्तिको राँँकोको रापमा पिल्सिन थालेको छ। साँच्चिकै ‘कृत्रिम बुद्धिमत्ता’ आजको सभ्यताको सबैभन्दा ठूलो परीक्षा बनेको छ।

एआई के हो ?  :  एआई आफैंले सोच्दैन। न यसको कुनै इच्छा हुन्छ, न लक्ष्य। यो न रुन्छ, न हाँस्छ; न रिसाउँछ, न कसैलाई प्रेम गर्छ। यसको मुटु छैन, फोक्सो छैन, गिदी छैन, तथापि यसभित्र मान्छेले दिन–रात साँचेर राखेको विशाल स्मृतिका महासागर अटाउने शक्ति छ। यसमा भावना छैन, तर विश्लेषणको गहिराइ भने मान्छेका आँसुमा भन्दा पनि पारदर्शी छ। आफ्नै बुद्धि हुँदैन, यसले मानिसको बुद्धिले निर्देशन दिएपछि मात्रै काम गर्न थाल्छ।

अत :  यो एक बुद्धिको तीक्ष्ण उपकरण हो। यो हातले समाइएको त्यही हथौडा हो, जसले– यसलाई समाउने हातको तरंग, आवाजको स्पन्दन, परिश्रमको नाडी, मस्तिष्कको शंका र विश्वास र हृदयको मौन भाव– यी सबैलाई सुन्छ र बुझ्छ। र, त्यसैका ज्ञान, त्रुटि, भाषा, संस्कार, तर्क, अनुसन्धान र मूर्खताहरूलाई नयाँ भाषिक संसारमा फेरि संयोजन गरेर अनि त्यसलाई मिलाएर मानिसकै मुखबाट जन्मिएको सत्यजस्तै उसैलाई फिर्ता सुनाउँछ।

यसर्थ– एआई केवल साधन होइन। यो मानिसको बौद्धिक विस्तारको नयाँ तह हो। यो एक अदृश्य मेघ हो। विशाल मनको दर्पण हो, जहाँ मानिसका परा–अपरा लोकका सूचना अदृश्य धागोजस्तै जोडिन्छन् र पुन :  उत्कृष्ट अनुवाद भएर फर्कन्छन्।

गणितका जटिल गणना गर्न हामीले क्याल्कुलेटर प्रयोग गर्छौं र घण्टौंको काम सेकेन्डमै टुंग्याउँछौं। तर यसो गर्दा हाम्रो गणित सिक्ने शक्ति भने ह्रास हुँदैन। त्यसैगरी– जीपीएसले अहिले हामी कहाँ छौं ? भन्ने हाम्रो वर्तमान स्थान बताउँछ। हामी आफूले हिँड्नुपर्ने वा कुल्चिनुपर्ने दिशा भने आफैं निश्चित गर्नुपर्छ। एआई पनि त्यही हो, यसले बाटो देखाउँछ, तर हिँड्ने चाहना भने मानिसकै आत्माबाट जन्मिनुपर्छ।

यद्यपि एआईसँग संवेदना छैन, तर यो मानिसका लागि एक ब्रह्माण्डीय ऐना हो। जसरी ऐनाले स्वयं आफ्नो अनुहार कहिल्यै देख्दैन– एआई पनि त्यस्तै हो। यसले मानिसकै चेतना, मानिसकै मौलिकतालाई प्रतिविम्बका रूपमा मानिसतर्फ फर्काइदिन्छ।
एआई शक्तिशाली छ तर मानिसभन्दा शक्तिशाली होइन; किनकि यसको सर्जक मानिस हो। यो दैवी शक्ति होइन, न चेतनायुक्त देवत्व। यसमा आत्मा छैन। न यसमा नैतिकता छ, न त कर्म–फल भोग्ने क्षमता नै। यो मात्र निर्माण गरेको मानसिक प्रसंस्करणको एक सूक्ष्म, चामत्कारिक तर पूर्णत :  मानवसँग निर्भर शक्ति हो। यसले सम्भावनाका ढोकाहरू खोलिदिन्छ।

तर– अन्तिम निर्णय, अन्तिम रचनात्मकता, अन्तिम आत्मचिन्तन आदि सबै मानिसकै हातमा हुन्छन्। अत : एआई मान्छेको चेतनालाई विस्थापित गर्न आएको नयाँ देवता होइन। यो हाम्रो सह–चिन्तकमात्र हो। यो हामीभन्दा अगाडि दौडिने कुनै स्वतन्त्र चेतना भने होइन।

सिर्जनशीलताका लागि चाहिने प्राय :  तत्त्वहरू निदाउन थालेका छन्। त्यसो त एआईले सिर्जनशीलता मारेको होइन, यसले छोटो र सजिलो बाटो देखाइदिएको मात्रै हो।

एआई  :  चुनौती र चमत्कार  :  एआई मानिसले बनाएको अचम्मको कृत्रिम दिमाग हो। मानौं, यो यस्तो चुम्बक हो– अहिले हरेक मानिसहरू यसैका वरिपरि फलामजस्तै आकर्षित भएका छन्। किनकि, यसले– एकै सेकेन्डमा ज्ञानका भित्री पानाहरू पल्टाइदिन्छ अनि, समाधानलाई स्वादिष्ट ८४ व्यञ्जनका रूपमा हाम्रा अगाडि टक्र्याइदिन्छ। एआईद्वारा यस्तो दिव्य अतिथि सत्कार देखेर हामी दंग पर्छौं।

र– यसैको सम्मान र स्वादमा पल्किन्छौं र फस्छौं। चमत्कारको बादलभित्र कतैकतै चट्याङ पनि लुकेका हुन्छन् भन्ने कुरालाई भने बिर्सिन्छौं। तर जब चट्याङको बज्रपात हाम्रै टाउकोमा बज्रिन्छ, तब हाम्रो हातमा आफ्नै गल्तीका खरानीहरू थुप्रिन थाल्छन्। अत :  एआई मनुष्यबुद्धिले जन्माएको एक अदृश्य शक्ति हो, जसले– भविष्यका ढोकाहरू मात्रै खोलेको छैन, यसले त मानिसलाई आफ्नै क्षमता र सीमाहरूको पुनर्विचार गर्न बाध्य पारिदिएको छ। आउनुहोस्, अब एआईका यिनै चुनौती र चमत्कारहरूलाई निफन्दै र केलाउँदै अगाडि बढौं– 

क. एआई र विद्यार्थी  :  चुनौती र चमत्कारका दोधारमा

पहिलो भाग  :  चुनौती – यस भागमा मैले एआई विद्यार्थीका लागि चुनौतीका रूपमा वर्णन गर्नेछु– कागले कान लग्यो, कानै नछामी सीधै कागको पछि दौडियो। हिजोसम्म यसलाई कथाका रूपमा सुन्थ्यौं। तर त्यो कथा आज भने विद्यालयका कक्षाकोठाहरूमा साँच्चिकै देख्न पाइन्छ। विद्यार्थीहरू कागका पछि त होइन, तर एआईका पछाडि त्यसैगरी दौडिरहेका छन्।

झोला, किताब, नोटबुक त सबै धेरैजसो पुरानै छन्, तर दिमागभित्रका किताब र नोटकपीहरू भने अहिले एआईकै लोगोजस्तो बनेका छन्। आफ्नो सीप, अनुभव र वर्षौंको अभ्यास लिएर जब शिक्षक कक्षामा प्रवेश गर्छन्– शिक्षकतर्फ विद्यार्थीको ध्यान चुँडिएको जस्तै देखिन्छ। शिक्षक पढाउन थाल्छन्, उनीहरूले शिक्षकलाई कानले हेर्छन् र आँखाले सुन्न थाल्छन्।

अर्थात्, विद्यार्थीको कक्षा कोठामा हुनुपर्ने एकाग्रता यत्रतत्र छरिएको हुन्छ। उनीहरूको ध्यानले एआईका ढोकाहरू ढक्ढकाइरहेका हुन्छन्। उनीहरूको मस्तिष्क एआईले बनाइदिएको बनिबनाऊ उत्तरको तालमा नाचिरहेको हुन्छ। जब शिक्षकले प्रश्न सोध्छन्– उनीहरू मूर्तिवत् उभिन्छन्। यदि उनीहरूबाट उत्तर आयो भने पनि ती उत्तरहरू एआईले चुसेर दिएको मिठाइको बोक्रोजस्तै स्वादहीन हुन्छन्।
यतिबेला घरमा गएर गृहकार्यका लागि पुस्तक पल्टाउने काम त उनीहरूका लागि इतिहासजस्तै बन्न गएको छ। उनीहरूका किताबका पानाहरू पल्टाउने औंलाहरू यतिबेला मोबाइलका पर्दा घिसार्ने बूढीऔंला जस्तै बनेका छन्। यसले विद्यार्थीको पठन संस्कृतिलाई निकै जोखिम अवस्थामा पुर्‍याउन थालेको छ। कक्षामा उनीहरूको ध्यान निकै क्षीण बन्दै गएको छ। सुन्ने क्षमता गुम्दै गएको छ। सिर्जनात्मक सोच मर्दै गएको छ। अनि– शिक्षक र विद्यार्थीबीचको पुरानो गुरु–शिष्य परम्परा अर्थात् संस्कार मुर्झाउँदै गएको छ।

पेसाले शिक्षक मेरो पनि यसमा लामो अनुभव छ। मानौं– कक्षामा ४० जना विद्यार्थी छन् र सबैलाई एउटै प्रश्न अभ्यासका लागि दिइएको छ। पहिले उक्त एउटै प्रश्नमा बेग्लाबेग्लै विद्यार्थीका बेग्लाबेग्लै शैली हुन्थे। सबैका जवाफमा सिर्जनात्मकताको सुवास सुवासित हुन्थ्यो। परन्तु आज एउटै प्रश्नमा ४० जना विद्यार्थीका ४० कपीमा उत्तरको उस्तै अनुहार, उस्तै भाषा, उस्तै विचार, उस्तै तर्क हुन्छ। यसको डरलाग्दो विडम्बना के हो भने– विद्यार्थीले आफ्नो चेतनशीलता गुमाइसकेका छन्।

मानौं– तिनीहरू चेतनशील प्राणी नै होइनन्– तिनीहरू त एआईले दिएको उत्तरलाई पेस्ट गर्ने ‘यान्त्रिक हात’हरू हुन्। यतिबेला प्राय :  विद्यार्थीहरूले अध्ययनको अनुभूति गर्नै छाडिसकेका छन्। उनीहरू एआईका दास बनिसकेका छन्। उनीहरूमा भएको अनुभूति ‘कपी–पेस्ट’को प्रक्रिया बन्दै गइरहेको छ।

प्रश्नपत्रको प्रारम्भमै मौलिक जवाफलाई महŒव दिइनेछ भनेर लेखिएको हुन्छ। आज विद्यार्थीबाट शिक्षकको यो अपेक्षा लगभग विद्रोहजस्तै सुनिन थालेको छ। शिक्षा विकासको मेरुदण्ड हो, भन्दै गर्दा– मेरुदण्ड नै कमजोर हुने किसिमको अवस्था सामान्य चुनौतीको संकेत होइन। यसरी विद्यार्थीहरूको सिर्जनशील दिमाग एकाएक यो अवस्थामा पुग्नु भनेको जीवनको उर्वरभूमि मरुभूमि तुल्य हुनु हो।

आजकल विद्यालयमा अभिभावकहरू एउटै गुनासो लिएर आउँछन्– ‘बच्चा मोबाइलमा मात्रै झुन्डिन्छ, उसलाई पढाइमा चासै छैन। कोठा थुनेर बस्छ, गेम खेलेर बस्छ। कहिलेकाहीँ त रातैभरि सुत्दैन। राति सुतेजस्तो गर्छ, तर सिरकभित्र लुकेर मोबाइल नै चलाएर बस्छ। जब मोबाइल खोसिदिन्छौं– ऊ रुन्छ, कराउँछ, रिसाउँछ र कोठाका सामानहरू फालिदिन्छ, फुटालिदिन्छ। सर ! हाम्रो पसिना त यही 
डिजिटल पर्दामा खरानी हुने भयो।’

त्यसो त विद्यालयहरूमा पनि यही कथा दोहोरिन थालिसकेको छ। उनीहरूको शरीर त कक्षाको बेन्चमा बस्छ, तर मन भने एआईको अधीनमा अथवा मोबाइलको स्क्रिनमा हुन्छ। यस्तो अवस्थाले न त घरमा शान्ति दिन्छ, न विद्यालयमा शिक्षा। यो निकै चुनौतीपूर्ण यथार्थ हो। भविष्यका लागि ठूलो चुनौती हो। यसलाई आजै रोक्नु जरुरी छ।

दोस्रो भाग :  चमत्कार – एआई मानव निर्मित प्रविधि हो। यो मानव निर्देशित यन्त्र हो। अत :  यो जहिले पनि मानिसको अधीनमा रहन्छ। जब मानिस यसको दास हुन्छ र यसको निर्देशनमा चल्न थाल्छ, अनि त्यसपछि मात्र जटिल समस्याहरू उत्पन्न हुने हुन्। एआईको काम भनेकै ज्ञानको ढोका उघारिदिनु हो। सिकाइको भित्रभित्र पस्ने र संघर्ष, सोधपुछ, आत्मसिर्जन, गल्ती र सुधारको बाटोमा लड्दै–उठ्दै हिँड्ने काम हाम्रो हो। आफ्नै दिमागले ‘किन’ भनेर आफैंलाई सोध्नु सिकाइको असल जडीबुटी हो।

एआईको काम त मसलाहरू दिने हो– चटनी बनाउने आफैंले हो। शिक्षकहरू त चामल र तरकारी हुन्। त्यसलाई भात र तिहुनमा बदलेर भोजन गर्ने काम त स्वयं विद्यार्थीको हो। सुनुवाइ, सिर्जनशीलता, गहिरो चिन्तन गर्ने काम एआईको होइन। यसका लागि साथीभाइसँगको अन्तरक्रिया र संवाद अनिवार्य हुन्छ। एआईलाई हामीले एउटा बुद्धिमान् साथीको रूपमा सहयोगका लागि लिन सकिन्छ। यसलाई मालिक बनाउनु हुँदैन। मालिक त आफ्नै मन वा चेतना हो। अत :  एआईले हाम्रा जटिलतालाई सरलीकरण गरिदिन सहयोग गर्छ।

कहिलेकाहीँ हामी गणित र भौतिक विज्ञानका जटिल सूत्रहरू नबुझेर अथवा यस्तै गहन अवधारणा र जटिल व्याकरण आदिमा अल्झिरहेका हुन्छौं। यस्तो अवस्थामा एआईले हामीलाई सरल उदाहरणहरूद्वारा हाम्रो बुझाइको स्तरमा ल्याएर त्यसलाई प्रस्ट पारिदिन्छ। कठिन विषयहरू सजिलैसँग सिक्न सहयोग गर्छ। यस्तै यसले हाम्रो कुशलतालाई वृद्धि गर्न पनि सहयोग गर्छ। उदाहरणका लागि– पहिले कुनै एउटा रिपोर्ट बनाउन एक हप्ता लाग्थ्यो, तर आज एआईमार्फत् त्यो रिपोर्ट तत्कालै तयार पार्न सकिन्छ। त्यसपछि यसलाई आफ्नो मौलिकताले शृंगार गरिदिएर सुन्दर पार्न सकिन्छ।

फेरि एकपटक माथिकै ४० जना विद्यार्थीको उदाहरण लिउँ– ४० जना विद्यार्थी भनेको ४० फरक दिमाग हुन्। एउटा शिक्षकको गतिले ४० थरीका दिमागलाई सम्हाल्न सक्दैन। तर एआईमार्फत उसले विद्यार्थी कहाँ र केमा अड्किएको छ ? त्यो पत्ता लगाएर विद्यार्थीलाई पुन :  सिकाइको मार्गमा गतिशील बनाउन सक्छ। अत :  यसले कमजोर विद्यार्थीलाई तानिदिन्छ र राम्रा विद्यार्थीलाई अझ उचाइमा पुर्‍याइदिन्छ।

चुनौती र चमत्कारको निष्कर्षमा के भन्न सकिन्छ भने– एआई न त शत्रु हो, न त उद्धारकर्ता। यो दोहोरो धार भएको तरबार हो। यसलाई जसरी चलाइन्छ, त्यसैअनुसारको नतिजा प्राप्त हुन्छ। अत :  विद्यार्थीलाई एआईमा भर पर्न होइन कि यसलाई साधन बनाएर सक्षम बनाउन सके ती सारा चुनौती चमत्कारमा रूपान्तरित हुन्छन्।

ख. अन्य क्षेत्रमा एआईका चुनौती र चमत्कार
त्यसो त एआई विद्यालय प्रणालीभित्रको चुनौती र चमत्कारमात्रै होइन, शोधकर्तादेखि चिकित्सक, इन्जिनियर, भौतिक–रसायन–जीवशास्त्री, वनस्पतिविद्,कलाकार, साहित्यकार, गीतकार, संगीतकार, गायक, नायकदेखि वाद्यवादकसम्म सबैका जीवनमा उस्तै प्रभाव पार्दै आएको छ। एआईले मान्छेलाई एउटै सन्देश दिइरहेको छ– ‘तिमी सुध्रिनुपर्छ।’ र उसको अर्को चेतावनी अझ टड्कारो छ– ‘मलाई तिम्रै अधीनमा राख। यदि आफूलाई बिर्सेर तिमी मेरो अधीनमा आयौ भने तिम्रो जीवन कुज्जिने छ। तिमी जटिल समस्याका सिकार बन्नेछौ।’

एआईले भन्छ– ‘म सर्प होइन, तर तिमीले मलाई समाउने तरिका जानेनौ भने, मेरो विषले तिमीलाई डस्छ।’ यो भनाइसँग वास्तविकता के छ भने एआईले– गीत लेखिदिन्छ तर ऊ गीतकार होइन। संगीत बनाइदिन्छ तर ऊ संगीतकार होइन। गीत गाइदिन्छ तर ऊ गायक होइन। वाद्य ध्वनि सजाइदिन्छ तर ऊ वाद्यवादक होइन। कविता लेखिदिन्छ, समीक्षा गरिदिन्छ तर ऊ साहित्यकार होइन। चित्र बनाइदिन्छ तर ऊ चित्रकार होइन। 

रोगका संकेत बताइदिन्छ तर ऊ चिकित्सक होइन। नक्सा– डिजाइनमा साथ दिन्छ, तर ऊ इन्जिनियर होइन। यी सबै सुविधा आफ्नै ठाउँमा चमत्कार नै हुन्, किनकि सहजता स्वयंमा एक ठूलो चमत्कार हो। तर समस्या यहीँबाट आरम्भ हुन्छ। त्यो के हो भने– मानव सभ्यताको इतिहासमा पहिलोपटक मानिसले आफैंले बनाएका उपकरणहरू आफूभन्दा छिटो, ठोस र सजिलो बन्दैछन्। र, मानिसहरू– आफैंले बनाइएका उपकरणहरूको पछिपछि दौडिन थालेका छन्। यही स्थानबाट मानव संकटको ढोका खुल्दैछ। मिहिनेत, ध्यान, अनुसन्धान, सिर्जनशीलता र गहिरो अनुभवका बाटाहरू मानिसका लागि ओझेलमा पर्दै गएका छन्।

अब उनीहरू ‘म आफैं जानेर लेख्छु’भन्दा बढी ‘एआईले बताइदिन्छ’ भन्न थालेका छन्। यही मनोवृत्तिले भविष्यका साहित्य, विज्ञान, चिकित्सा, इन्जिनियरिङ, आध्यात्मिकता, संगीत यी सबै क्षेत्रमा एक गहिरो चुनौती जन्माइरहेको छ। सिर्जनशीलताका लागि मेहनत, अभ्यास, अध्ययन, अनुसन्धान, मौलिकता अनिवार्य तŒवहरू हुन्। यसका लागि दिमागले ठूलो कसरत गर्नुपर्छ। एआई हातमा आएपछि 
दिमागले कसरत गर्नै छाडेको छ।

  •  एआई आगो हो– आगोले भान्सा पनि बल्छ र घर पनि जल्छ। यसलाई कसरी चलाउने प्रयोगकर्ताको हातमा निर्भर हुन्छ। यदि मानिसले आफ्नो मूल्य र मान्यतालाई बिर्सिएन भने– एआई कहिल्यै पनि मानिसभन्दा माथि जान सक्दैन।
  •  एआईले– गीत लेखिदिन्छ तर ऊ गीतकार होइन। संगीत बनाइदिन्छ तर ऊ संगीतकार होइन। गीत गाइदिन्छ तर ऊ गायक होइन। वाद्य ध्वनि सजाइदिन्छ तर ऊ वाद्यवादक होइन। कविता लेखिदिन्छ, समीक्षा गरिदिन्छ तर ऊ साहित्यकार होइन। चित्र बनाइदिन्छ तर ऊ चित्रकार होइन। रोगका संकेत बताइदिन्छ तर ऊ चिकित्सक होइन। नक्सा– डिजाइनमा साथ दिन्छ, तर ऊ इन्जिनियर होइन।
  •  एआई शक्तिशाली छ तर मानिसभन्दा शक्तिशाली होइन; किनकि यसको सर्जक मानिस आफैं हो। यो दैवी शक्ति होइन, न चेतनायुक्त देवत्व। यसमा आत्मा छैन। न यसमा नैतिकता छ, न त कर्म–फल भोग्ने क्षमता नै। यसले सम्भावनाका
  • ढोकाहरू खोलिदिन्छ।

फलत :  सिर्जनशीलताका लागि चाहिने प्राय :  तŒवहरू निदाउन थालेका छन्। त्यसो त एआईले सिर्जनशीलता मारेको होइन, यसले छोटो र सजिलो बाटो देखाइदिएको मात्रै हो। छोटो बाटो रोजेर सिर्जनशीलतालाई बिरामी बनाएको हामीले नै हो। छोटो बाटो रोज्दै गर्दा हामीले नै प्रश्न गर्ने शक्तिलाई कमजोर बनाउँदै लग्यौं। आत्मचिन्तन, मौलिक दर्शन र जीवन विश्लेषण गर्ने क्षमता कमजोर बनाउँदै लग्यौं।

व्यापार व्यावसायको क्षेत्रमा कम्पनीहरूले एआईबाट निर्मित ‘लोगो र विज्ञापन’ कपी गरेर त्यसलाई ब्रान्डिङ गर्न थालेका छन्। फलत :  मार्केटिङ रणनीति कमजोर हुँदै जान थालेको छ। उनीहरूमा उपभोक्ताको मनोविज्ञान बुझ्ने शक्ति कमजोर हुँदै गएको छ। मौलिक विज्ञापनका लागि जुन कल्पना चाहिन्थ्यो, त्यो हराउँदै गएको छ।

यता पत्रकार र अनुसन्धानकर्ताको हालत उस्तै बन्दै गएको छ। सत्यतथ्य घटनाका लागि पत्रकार सम्बन्धित क्षेत्रमा पुग्नु पर्ने हो। तर यतिखेर उनीहरूले एआईको सहयोगमा उक्त क्षेत्रका खबर बनाउँछन्। यसो गर्नु भनेको कसैले जंगलमा जाँदै नगई बाघ देखेको दाबी गर्नुजस्तै हो। एआईले तथ्य देखाउन त सक्छ, तर सत्य प्रमाण दिन सक्दैन। सत्य खोज्न सम्बन्धित ठाउँमै जानुपर्छ। यसले गर्दा नागरिकहरू खास खबरबाट सुसूचित हुन पाउँदैनन्। यसरी उनीहरूमा– अनुसन्धान र गहिरो विश्लेषण गर्ने क्षमता अनि मौलिक दृष्टिकोण हराउँदै गएको छ।

एआईका कारण यतिखेर सुर र तालको निखारमा अवरोध आउन थालेको छ। मौलिक धुनको सिर्जना मर्दै गएको छ र भावनात्मक गहिराइ सतहिँदै छ। किनकि गीत गायनको सम्पूर्ण अभिनय यतिखेर एआईले गर्न थालेको छ। यसको प्रमाणका लागि यतिखेर एआईद्वारा गाइएका गीतहरू सामाजिक सञ्जालमा आउन थालिसकेका छन्। यस्तै साहित्यकारहरूले महिनौंसम्म सोंचेर तयार पार्ने गीत, कथा वा कविता एआईले केही सेकेन्डमै तयार पारिदिन्छ। अचेल केही साहित्यकारहरू एआईको लगौंटी तान्दै पछ्याउन थालिसकेका छन्। यसको परिणाम हुनेछ– साहित्यकारको मौलिक आवाज शिथिल हुनु, भावनाको परिपक्वता सतही हुँदै जानु 
र भाषाको संवेदना मर्दै जानु।

एआई – वरदान कि अभिशाप ?  :  यस शीर्षकका केही जवाफ माथि नै आइसकेका छन्– हरेक कुराका सबल र कमजोर दुईपक्षहरू बराबर अनुपातमा हुने गर्छन्। यसर्थ एआईका पनि राम्रा नराम्रा दुवै पक्षहरू छन्। एआई जाँगरिला व्यक्तिका लागि वरदान हो भने अल्छीका लागि अभिशाप हो। एआईले मानिसभित्रका– चेतना, विवेक, प्रेम, करुणा, मौनता, ज्ञान आदि अन्तर्मनका शक्तिलाई कहिल्यै नष्ट गर्न सक्दैन।

कहिलेकाहीँ बादलले छेक्दा सूर्यको प्रकाश मन्द होला, तर त्यसलाई सूर्य अस्ताएको मान्न सकिँदैन। समुद्रका सतहमा जतिसुकै छाल र ज्वारभाटा आउन्, तर तिनले समुद्रको गहिराइको शान्ति खलबलाउन सक्दैनन्। यस्तै एआई पनि सूर्यलाई एकैछिन छेक्ने बादल जस्तै हो र समुद्रका सतहमा छचल्किने छाल र ज्वारभाटाजस्तै हो। यसले मनको सतहलाई हल्लाउला तर मानिसभित्रको दैवी शक्तिलाई भने चलाउन सक्दैन।  दैवीशक्ति भनेको अन्तरिक्षको नियमजस्तै स्थायी हुन्छन्।

हिजोआज मानिस बाहिरी सूचनाको दास बन्दै आएको छ। फलत :  उसको मन बाहिर डुल्न र चेतना सतहमा अड्किन थालेको छ। तर यो दासत्व स्थायी होइन, यो केवल ध्यानको दिशा उल्टो भएको कारणले यस्तो भएको हो।

अनुसन्धानकर्ताहरूले एआईलाई सहायक बनाउन सक्छन् तर स्थलगत अध्ययन उनीहरू आफैंले अनिवार्य रूपमा गर्नुपर्छ। चिकित्सकहरूले एआइलाई रिपोर्ट विश्लेषण गर्न दिनुपर्छ, तर निर्णय, अनुभव, उपचार–नीति उनीहरूको आफ्नै हातमा हुनुपर्छ। यस्तै शिक्षकहरूले विद्यार्थीलाई कक्षामा सोच्ने तरिका सिकाउनुपर्छ। उनीहरूलाई कक्षा–कोठामा ‘एआई  :  वरदान की अभिशाप’ शीर्षकमा वादविवाद गराउनुपर्छ ताकि उनीहरू स्वयंले यसको सुधारको उपाय खोज्न सक्छन्। उनीहरूमा आलोचनात्मक सोचको विकास हुन जान्छ।

यस्तै उनीहरूलाई एआईबाट जवाफ दिने शैली निषेध गरिदिनुपर्छ। शिक्षकले यो भनिदिनुपर्छ कि– एआईलाई ‘उपकरण बनाऊ’ तर ‘बुद्धि नबनाऊ’ भनेर।
अभिशापका रूपमा एआई  :  एआई सर्वव्यापी भएपछि समाजमा थरीथरीका जोखिमहरू देखिन थालेका छन्।

  • मानिसमा ठूलो मानसिक आलस्यता देखिन थालेको छ। परिणामत :  स्मरण शक्ति र आत्मविश्वास घट्दै 
  • गएको देखिन्छ।
  • कविता, गीत, चित्र, कथा अनुसन्धान सबै सतही र बिना अनुभूतिका हुँदा सिर्जनात्मकतामा खडेरी आएको देखिन्छ।
  • मान्छेको मान्छेसँग संवाद हराउँदै गएको छ। मान्छेले मान्छेसँग कुरा गर्न छाडिसकेका छन्। उनीहरूले एआईलाई नै आफ्नो ‘डिजिटल गुरु’ मान्न थालेका छन्।
  • रोजगारमा परिवर्तनको ठूलो भूकम्प आएको छ। एआईले नोट लेखिदिन्छ, सारांश निकालिदिन्छ, रिपोर्ट दिन्छ, डिजाइन बनाइदिन्छ, तथ्यांकलाई विश्लेषण गरिदिन्छ। यी सबै काम छिटो गरिदिन्छ। यसले गर्दा साधारण काम गर्ने कर्मचारीहरू जोखिममा पर्दै छन्।
  • गहिरो ज्ञान हराउँदै गएको छ। ज्ञानका लागि पुस्तक 
  • पढ्ने, गुरु भेट्ने, साधना गर्ने यस्ता दिव्य स्वभावहरू मानिसमा हराउँदै गएको छ।
  • वरदानका रूपमा एआई  :  ‘जता जता बाहुन–बाजे, उतै उतै स्वाहा’ भने झैं संसार नयाँ आएकाहरूकै पछि लाग्छन्। अत :  एआईलाई कसैले पनि रोक्न सकिन्न। यसैले एआई–
  • दृष्टिको वरदान हो। किनकि यसले–जटिल समस्यालाई पलभरमै समाधानको बाटो देखाइदिन्छ।
  • मनले भन्न नसकेका कुराहरू, खोज्न नसकेका 
  • कुराहरू र मिलाउन नसकेका कुराहरूलाई यसले तत्कालै समाधान गरिदिन्छ।
  • हामीलाई हप्तौं र महिनौं लाग्ने काम यसको सहयोगबाट क्षणभरमै पूरा गर्न सकिन्छ।
  •  यसबाट हामीले असीमित जानकारीहरू प्राप्त गर्न सक्छौं।
  •  हाम्रा साधारण चिन्तनहरूलाई परिमार्जन गर्दै विशिष्टतातर्फ यात्रा गराउँछ।

निष्कर्ष  :  एआई आगो हो– आगोले भान्सा पनि बल्छ र घर पनि जल्छ। यसलाई कसरी चलाउने प्रयोगकर्ताको हातमा निर्भर हुन्छ। यदि मानिसले आफ्नो मूल्य र मान्यतालाई बिर्सिएन भने– एआई कहिल्यै पनि मानिसभन्दा माथि जान सक्दैन
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.