जहाँ ढुंगा–ढुंगामा जीवनको खोजी छ
सुनसरी : धरान–८ स्थित बरगाछीको एक कुनामा धुलोले ढाकिएको एउटा कार्यशाला छ। जहाँ ढुंगा बोल्छन्, भावनाहरू आकार लिन्छन् र एक साधारण हम्मरले मान्छेको कथा अमर बनाइरहेको दृश्य देखिन्छ। यही कार्यशालामा दिनरात हम्मर चलाइरहेका धरानका युवा मूर्तिकार रमेश राईका लागि ढुंगा खोप्नु कुनै सामान्य पेसा होइन—जीवन जिउने संघर्ष र आत्मनिर्भर बन्ने प्रेरणाको कथा पनि हो।
फुस्रो अनुहार र हातमा कुटो–बसिलो बोकेर रमेश जब ढुंगामा प्रहार गर्न थाल्छन्, ढुंगाभित्र लुकेको अर्को जीवन बिस्तारै बाहिर आउन थाल्छ। कसैले अर्डर गरेको प्रतिमाको अनुहार जस्ताको त्यस्तै उतार्न उनी घण्टौं एकोहोरो, अडिग भएर काम गर्छन्। ढुंगा, धातु वा फाइबर जस्तोसुकै माध्यम किन नहोस्, रमेशका लागि ती भित्र परिवारको सम्झना, दुःख, प्रेम र इतिहासको गहिरो भाव बोकेको हुन्छ। आफ्ना मृत प्रियजनको स्मृतिदेखि जीवित व्यक्तिको यथार्थ प्रतिमासम्म—उनले बनाएका मूर्तिहरू वर्षौंसम्म परिवारका लागि बोल्ने सम्झना बनेर बाँचिरहेका छन्।
रमेशको यात्रा संघर्षबीच सुरु भएको हो। २०५६ सालतिर खोटाङ, हलेसीबाट धरान आएका उनलाई सुरुमा आफ्नो भविष्यबारे कुनै स्पष्टता थिएन। तर, बाल्यकालदेखि ढुंगा–माटोसँग खेल्दै आएको रुचिले नै उनलाई कलाको बाटोतर्फ फर्काइदिएको रमेशले बताए। आर्थिक अभाव, अनुभवको कमी र साधनको सीमितताबीच २०५९ सालमा उनले ‘रोदुङ सिलालेख एन्ड स्टाच्यु प्रोडक्सन हाउस’ स्थापना गरे। सानो कोठाबाट सुरु गरिएको त्यो काम आज १६ जनालाई रोजगारी दिने महत्वपूर्ण उद्योगका रूपमा विस्तार भएको छ। यो उद्योगले रमेशलाई मात्र होइन, अन्य युवाहरूलाई आत्मनिर्भरताको बाटो देखाइदिएको छ।
उनका सिर्जनाहरू कोशी प्रदेशका १४ वटै जिल्लामा उभिएका छन्। विद्यालय, स्थानीय तह, मन्दिर, सरकारी कार्यालयदेखि निजी घर–आँगनसम्म रमेशका सिला लेख, स्मारक, धार्मिक मूर्ति र विभिन्न प्रकारका प्रतिमाहरूले छुट्टै पहिचान बनाएका छन्। कामको सूक्ष्मता, मौलिकता, टिकाउपन र भावनात्मक अभिव्यक्तिका कारण ग्राहकहरू उनको सिर्जनामाथि विशेष भरोसा राख्छन्। रमेश ढुंगा मात्र होइन, धातु र फाइबरमा पनि जीवन भर्न सिपालु छन् तथा रङ लगाउनेदेखि फिनिसिङसम्मका सबै काममा उनी स्वयं खटिन्छन्।
कलाकारिता पेसाबाट घरपरिवार धान्न कठिन हुन्छ भन्ने धारणालाई रमेशले व्यवहारबाटै खारेज गरिदिएका छन्। उनी भन्छन्, ‘पहिले मान्छे भन्थे, ‘ढुंगा खोपेर खान पाइन्छ र ? आज यही पेसाले मलाई मात्र होइन, १६ जना युवालाई रोजगारी दिएको छ।’ उनको कार्यशालाबाट सिकेका धेरै युवाहरू आफ्नै उद्यम सञ्चालन गरिरहेका छन्। स्थानीय कच्चा पदार्थ, स्थानीय बजार र स्थानीय सीपमा आधारित रोजगारी सिर्जनाको उनको प्रयासले धरानमा ‘सिलालेख तथा प्रतिमा उद्योग’ नयाँ पहिचान बन्दै गएको छ।
रमेशका योजनाहरू अझै ठूल्ठूला छन्। आधुनिक मेसिन भिœयाउने, कार्यशाला विस्तार गर्ने र १०–१२ युवालाई थप तालिम दिने लक्ष्य राखेका छन्। ‘जीविकोपार्जन गर्न विदेश धाउनुपर्दैन, आफ्नै सहरमा बस्दा पनि भविष्य निर्माण गर्न सकिन्छ,’ रमेश भन्छन्। धरान–११ का राजुके राईले रमेशको कार्यशाला काम गर्ने मात्र ठाउँ नभई सिर्जनशीलता जन्मने, युवाहरूले भविष्य देख्ने र आत्मनिर्भर बन्ने पाठशाला भएको बताउँछन।
रमेश राईको जीवन मूर्तिकारको मात्र कथा होइन—संघर्ष, समर्पण, धैर्य र सिर्जनशीलतामा ढुंगा जत्तिकै कठोर जीवनलाई पनि सुन्दर कलामा बदल्न सकिन्छ भन्ने प्रेरणादायी स्रोत बनेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !