गृहमन्त्री अर्यालले गरे गौरीफण्टा नाकाको निरीक्षण
कैलाली : गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल-भारतको गौरीफण्टा नाकाको स्थलगत निरीक्षण गरेका छन्। मंगलबारबाट सुरू हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको लागि सोमबार धनगढी आइपुगेका मन्त्री अर्यालले गौरीफन्टा नाका अवलोकनसहित कैलालीकै त्रिनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको कञ्चनपुरको डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरी त्यहाँको समग्र स्थितिको जानकारी लिएका छन्।
अवलोकनका क्रममा मन्त्री अर्यालले गौरीफण्टा नाकामा र अन्य अवैध नाकाबाट हुने राजश्व चुहावटका पहलकदमीलाई अझै कडाई गर्न निर्देशन दिए। नेपाली नागरिकको दैनिक जिविकोपार्जनमा सहजीकरण हुनेगरी नियमित, संगठित र व्यवसायिकरुपमा भन्सार छली गरी मालवस्तु भित्र्याउने समूहको पहिचान गरी त्यसको निगरानी बढाउन समेत मन्त्री अर्यालले सम्बन्धित भन्सार तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।
गौरीफण्टा नाकामा मन्त्री अर्यालले भारतीय सिमा सुरक्षा बलका प्रहरी अधिकारीसँग केहिबेर कुराकानी गरेका थिए। यस्तै मन्त्री अर्यालले सिमाबाट नेपाली चेलीहरूको अवैध ओसार पोसार नियन्त्रणका प्रयासबारे पनि चासो राखेका थिए।
यस्तै मन्त्री अर्यालले आजै कन्चापुरको चाँदनी दोधारा-१ मा निर्माण हुन लागेको सुक्खा बन्दरगाहाको निरीक्षण गरे । सो क्रममा मन्त्री अर्यालले ठेकेदार कम्पनीसँग र सीमामा रहेका नेपाली जनतासँग बाढी र दुवानको समस्याबारे कुराकानी गरेका थिए।
प्रतिक्रिया दिनुहोस !