पार्कर र जिम्नास्टिक्स खेलाडी दिनेश आइजीटी विधामा बने विजेता
शिकागो : अन्तर्राष्ट्रिय रूपमा प्रशंसित नेपाली-अमेरिकी पार्कर र जिम्नास्टिक्स खेलाडी दिनेश सुनार फेरि एकपटक खेलकुद इतिहासमा आफ्नो नाम लेख्न सफल भएका छन्। अमेरिकाको शिकागोमा सम्पन्न थ्रीआइआइआइ अन्तर्राष्ट्रिय भारतीय आइकन (आइजीटी) सिजन ९ को फिनालेमा सुनारले आइजीटी विधामा विजेता बनेका हुन्। सनशाइन टाइकोन्डो एकेडेमी टोलीका सदस्यसमेत रहेका उनले प्रतिष्ठित जजेज च्वाइस अवार्डसमेत प्राप्त गरे। उक्त सम्मान उत्कृष्ट प्रदर्शनकर्तालाई दिइने गरिन्छ।
यो सफलतासँगै उनले २२औं आधिकारिक विश्व कीर्तिमान कायम गरेका छन्। निर्णायकले सुनारको प्रदर्शन देखेर दंग परेका थिए। 'धेरैले फ्लिप गर्न सक्छन्, तर अन्धो आँखाले र हातकडामा भएको ब्याकफ्लिप गर्नु साँच्चै असाधारण हो। जोखिम स्तर अत्यन्तै उच्च छ, विश्वमा थोरै जनाले मात्र यस्तो चुनौती स्वीकार गर्न सक्छन्,' निर्णायकहरूले भनेका छन्।
थ्रीआइआइआइमा अमेरिकाको ओहायो, न्युयोर्क, शिकागो, न्युजर्सीलगायतका ठाउँबाट उत्कृष्ट प्रतिभाहरूले भाग लिए। कडा प्रतिस्पर्धाका बाबजुद सुनार शीर्ष स्थानमा पुग्न सफल भए। सुनारको कीर्तिमान तोड्ने प्रदर्शनको आधिकारिक भिडियो जारी गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !