अन्नपूर्णकर्मी सुनिता कार्की सेजनद्वारा पुरस्कृत
काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले स्थापनाको २९औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्णकर्मी सुनिता कार्की पुरस्कृत भएकी छन्।
सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ‘एकीकृत फोहरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि सेजनले डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्डबाट कार्कीलाई पुरस्कृत गरेको हो।
एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड दुई पत्रकारलाई प्रदान गर्दै आइरहेको छ। कार्कीसँगै नेपालन्युज डटकमका उद्धव थापालाई मुअब्जाको पासोमा ठूला परियोजना शीर्षकको समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको छ।
सेजन डेको अवसरमा विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरिएको हो। सेजनका अनुसार एक लाख रुपैयाँ राशिको सेजन अवार्ड दुई जना पत्रकारलाई प्रदान गरिएको छ। नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई र अनलाइन खबर डटकम भुवन पौडेललाई सेजन अवार्ड प्रदान गरिएको छ। त्यस्तै ५० हजार रुपैयाँ राशिको सेजन छापामाध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ। साथै ५० हजार रुपैयाँ राशिको सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डू डटकमका सुनिल कुँवरलाई प्रदान गरिएको छ।
वार्षिकोत्सवको अवसरमा सेजनका पूर्वउपाध्यक्ष स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति, २०८२ गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई प्रदान गरिएको छ। समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए। अवार्ड तथा पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले सबै अवार्ड विजेता र लेखनवृत्ति प्राप्त गर्ने सबैको नाम औपचारिक रूपमा घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !