स्वदेशी लगानीमा जलविद्युत् आयोजना

स्वदेशी लगानीमा जलविद्युत् आयोजना
सांकेतिक तस्बिर।

पञ्चायतकालकै परिकल्पना गरिएका थुप्रै आयोजनामध्ये बुढीगण्डकी जलविद्युत् पनि हो । १२ सय मेगावाट क्षमताको आयोजना बन्ने हो भने नेपालले ऊर्जाका लागि भारतको भर पर्नुपर्ने थिएन, उल्टै अझै धेरै भारत वा बंगलादेश या अरू देशलाई पनि बेच्न सक्ने थियो । तर यो आयोजना लामो समय राजनीतिक रस्साकस्सीको खेलमा अल्झियो ।

कुनै सरकार आउँछ, बनाउने जिम्मा चीनलाई दिन्छ, अर्काे आउँछ, खोस्छ । यस्तै रोटेपिङ वर्षाैंवर्ष चलिरह्यो । कहिले सरकार आफैं बनाउने भनेर पनि तम्सन्छ तर आधार खोज्दैन । तर अहिले चाहिँ सरकार विदेशीको मुख नताक्ने गरी मोडालिटी नै तयारसहित अघि बढेको छ । यो आयोजना निर्माणका लागि सरकारी प्रक्रियाका थालनीमा एउटा कोसेढुंगा ठडिएको मान्नुपर्छ मोडालिटी । सँगसँगै १०६३ मेगावाटको अपर अरुण आयोजनाको लगानी ढाँचा पनि तयार सरकारले गरेको छ । यी दुवै आयोजना बन्ने हो भने मुलुकको ऊर्जा इतिहासमा ‘प्याराडाइम सिफ्ट’ हुन्छ ।

गोरखा र धादिङका बासिन्दालाई ४२ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा बाँडेर बुढीगण्डकी आयोजनाका लागि एउटा जटिलता पार लगाइएकै छ । ठूला आयोजनामा जग्गा प्राप्ति निकै झन्झटिला र जटिल मानिन्छन् । त्यो खड्को ९० प्रतिशत पार भइसकेको छ । यो आयोजना मुलुकको लगभग मध्यभागमा छ, जहाँबाट काठमाडौं, चितवन र पोखराजस्ता बढी विद्युत् खपत हुने क्षेत्रमा बिजुली लैजान सकिन्छ । चीनले नेपालभन्दा केही माथ्लो भागमा ब्रह्मपुत्र नदीमा ७० हजार मेगावाटको आयोजना निर्माण थालिसकेको छ, हामी भने हजार बाह्र सयका आयोजना बनाउन पनि यतिका वर्ष अल्झिरह्यौं । ढिला हुनु भइसकेको छ, तर त्यसको भर्ताल गर्ने भनेको छिटो सुरु गर्नु नै हो । अब ढिला नगरी यस्ता महत्त्वपूर्ण आयोजना अघि बढाउन सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन । कुनै मोलाहिजा गर्नु हुँदैन ।

४ खर्ब ६ अर्ब रुपैयाँको लागत सामान्य होइन र हो पनि । इच्छाशक्ति भए स्रोत जुट्न गाह्रो छैन । मोडालिटीले नै लगानीका आधार र स्रोतहरू देखाएको छ । जुन जटिल लाग्दैन । बैंक, वित्तीय संस्थामात्रै होइन, सरकार अधीनस्थ सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषबाट पनि लगानी जुटाउन सकिन्छ । सर्वसाधारणसम्मको लगानी पनि यसमा जुट्छ र वैदेशिक रोजगारीमा रहेका युवालाई सेयर दिने प्रस्ताव उचित छ । अर्थात्, सबै स्रोत स्वदेशी खोजिनु स्वाधीनता र स्वाभिमानको कुरा पनि हो । संसारकै गरिब भनेर दुर्नाम कमाएको इथियोपियाले त कसैको सहयोगबिना नै ‘ग्रान्ड रेनिसाँ ड्याम’ बनायो । त्यसबाट हामीले किन नसिक्ने ?

यो सरकारले तयार गरेको मोडालिटी यसैले अघि बढाए अति उत्तम र त्यसपछि आउने सरकार नीति र प्रक्रिया नफेर्नु पनि पर्छ । यसलाई व्यक्ति दल वा नेताको स्वार्थ केन्द्रित बनाउनु हुँदैन । आयोजना निर्माणका लागि सबैले राष्ट्रिय संकल्प गर्नुपर्छ । आयोजनाको मोडालिटी तयार अनि शिलान्यासले काम पूरा हुँदैन । जबसम्म यसलाई कार्यान्वयनमा लगेर आयोजनाले मूर्तरूप लिँदैन, तबसम्म सफलता मिल्दैन । तसर्थ निर्माण थालनी र सम्पन्न गर्नसम्म सबै दत्तचित्त हुन जरुरी छ । बुढीगण्डकी र अपर अरुण केवल ऊर्जाका उत्पादकमात्रै हुने छैनन्, तिनले अर्थतन्त्रमा पुर्‍याउने योगदानले हाम्रो समृद्धिको आकांक्षा पूरा गर्न पनि मद्दत गर्नेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.