लोकतन्त्रका लागि मताधिकार

लोकतन्त्रका लागि मताधिकार
सांकेतिक तस्बिर।

विदेशमा बसेका नेपालीलाई मताधिकार दिन केही कानुनी अड्चन देखिएको छ । तर त्यो फुकाउन सकिन्छ । मात्रै सरकारको इच्छाशक्ति र दलहरूको सहमति भए पुग्छ । कानुन बनाउने संसद् अहिले जीवित छैन । तसर्थ कानुनी अड्चन फुकाउने बाटो भनेको अध्यादेश नै हो । विदेशका नेपालीको मताधिकारको बहस किन पेचिलो बनेको छ भने लाखौं नेपाली देशमा छैनन् । तिनैले पठाएको रेमिट्यान्स अर्थतन्त्रको बलियो टेको भएको छ, तर उनीहरूले नीति निर्माता चुन्न पाएका छैनन् । देशको भविष्य निर्धारणमा योगदान गर्न पाएका छैनन् । वञ्चित छन् । 

लोकतन्त्रको प्राण भनेको आवधिक निर्वाचन हो । देशको एक चौथाइभन्दा बढी जनता भने मताधिकारबाट वञ्चित छन् । २०७८ को जनगणनालाई मात्रै मान्ने हो भने २२ लाख नेपाली विदेशमा छन् । तर त्यो संख्या त्यतिमा सीमित छैन । तसर्थ लाखौं नागरिकलाई वञ्चित बनाएर कस्तो निर्वाचन हुन्छ भन्ने प्रश्न गम्भीर छ । लाखौं नागरिक सहभागी हुन नपाएको लोकतन्त्र व्यावहारिक हिसाबमा कमजोर हुन्छ नै । लाखौँ नागरिकलाई मताधिकारबाट वञ्चित गरेर गरिने निर्वाचनले जनमतको वास्तविक तस्बिर बोल्न सक्दैन । हालै नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सकिने प्रतिवेदन बुझाएको छ । निर्वाचन आउन एक सय दिनभन्दा कम समय बाँकी छ । तसर्थ सरकारले सहमति जुटाएर तदारूक भए सकारात्मक परिणाम निस्कन असम्भव नहुनु पर्छ । 

मतदाता नामावली ऐन २०७३, निर्वाचन आयोग ऐन २०७३ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ का विभिन्न दफाहरू संशोधन नगरी विदेशमा बस्ने नागरिकलाई मताधिकार सुनिश्चित गर्न सम्भव छैन । र, सबैभन्दा मुख्य कुरा ‘आईटी असिस्टेड पोस्टल भोटिङ’ वा ‘आई–भोटिङ’जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने व्यवस्था कानुनमै लेखिनुपर्छ । भौतिक रूपमा कूटनीतिक नियोगमा मात्रै मतदान गराउन असम्भव र कठिनाइपूर्ण हुन्छ । किनभने एकै देशमा लाखौंलाख नेपाली पनि छन् । खर्चका हिसाबले पनि विदेशमा भएकालाई मताधिकार दिँदा स्वदेशमा भन्दा बढी खर्चिलो हुन सक्छ ।

तसर्थ कम खर्चिलो उपाय भनेकै प्रविधिको प्रयोग हो । पुराना दलहरू विदेशमा बस्ने नेपालीसँग पक्कै त्रस्त छन्, किनभने उनीहरूले गएका केही निर्वाचनमा समेत पुरानाका विरुद्ध अभियान छेडे । थुप्रै तहहरूमा स्वतन्त्र उम्मेदवारको विजय विदेशमा बस्ने नेपालीको सामाजिक सञ्जाल र अरू सञ्चारमाध्यमबाट चलाइएको अभियानको परिणाम थियो । दलहरू स्वार्थी बन्न सक्छन् तर सरकारले उनीहरूको स्वार्थभन्दा नागरिकको हक हेर्नुपर्छ । मुलुकको लोकतन्त्रलाई उन्नत बनाउने हो भने जुनसुकै नागरिक जहाँ भए पनि निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नुपर्छ । त्यसैमा लोकतन्त्रसँगै देशको पनि कल्याण छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.