जेन—जीले खोजेको देश ?

जेन—जीले खोजेको देश ?

हामी यस्तो मोडमा उभिएका छौं, जहाँ देशको मानचित्र त पुरानै छ तर अर्थ बदलिएको छ । सडकमा उत्रिएका युवाहरूले अब झण्डा होइन, प्रश्न बोकेका छन् । भदौ २३ र २४ का दिनहरू केवल दुई पाना होइनन्, नेपालको इतिहासमा एउटा चेतना द्वार खुल्ने क्षण हुन् । ती युवाले मागे, ‘हाम्रो आवाज सुन्ने देश ।’ त्यो वाक्य छोटो थियो तर गहिरो थियो । साधारणजस्तो देखिने त्यो मागले सत्ताको सम्पूर्ण भ्रम खोलेको छ । सरकारले हरेक पटक जब जनताले आवाज उठाउँछन्, त्यसलाई कुनै राजनीतिक दल वा विदेशी प्रेरणासँग जोड्ने प्रयास गर्छ ।

तर यस पटक जनताको आवाज स्वतन्त्र थियो, असंलग्न थियो । त्यसैले खतरनाक थियो किनभने त्यो कुनै दलको घोषणापत्र होइन, साँचो जनभावनाको उद्घोष थियो । सरकारका मन्त्रीहरूले टेलिभिजनमा युवाहरू भावनामा बगे भन्छन् । तर यो देशमा भावनामा बग्ने परम्परा त दशकौंदेखि तपाईंहरूकै हो– कहिले घोषणामा, कहिले गठबन्धनमा, कहिले भाषणमा । युवाहरू त केवल आफ्नै देशको स्वामित्व खोजिरहेका छन् । उनीहरूलाई देशको माया कुनै कवितामा होइन, आफ्नो जीवनको वास्तविकताभित्र भेटिन्छ । उनीहरूले बुझेका छन्, नेपालको वर्तमान राजनीतिक नक्सा केवल सत्ताको बाँडफाँटको प्रतिविम्ब हो, राष्ट्रको होइन ।

युवाले खोजेको देश बुझ्न पहिले बुझ्नुपर्छ– नेताहरूले बनाएको देश । नेताहरूको देशमा अधिकार किताबका अनुच्छेद हुन्, जनताको देशमा अधिकार जीवनको अभ्यास हो । नेताहरूको देशमा नागरिक मतदानपछि मौन हुन्छ, जनताको देशमा मतदानपछि प्रश्न गर्छ । नेताहरूको देशमा प्रहरीको गोली ‘नियम पालना हो, जनताको देशमा त्यो शासनको असफलता हो । भदौ २३ र २४ का घटनाले देखायो– राज्यले आफ्नो नागरिकसँग संवाद गर्न छोडेको छ ।

नेपालमा राजनीतिक वर्ग अझै पनि ‘जनता हाम्रो साथमा छन्’ भन्ने पुरानो विश्वासमा बाँधिएको छ । तर नयाँ पुस्ता अब ‘हामी तपाईंको साथमा छैनौं, हामी आफ्नै बाटोमा छौं’ भन्ने अवस्थामा पुगेको छ । सत्ता सञ्चालनको पुरानो प्रवृत्ति– आदेश, अनुशासन, नियन्त्रण–ले अहिलेको समाजमा काम गर्दैन । आजको नागरिक सूचनायुक्त छ, आत्मनिर्भर सोच राख्छ र शासनसँग प्रत्यक्ष संवाद माग्छ । जब सरकारले संवादको सट्टा शक्ति प्रयोग गर्छ, त्यो क्षण लोकतन्त्रको प्राणघातक गल्ती हुन्छ । जुन दिन सरकारले आफ्ना युवा नागरिकसँग संवादको सट्टा गोली प्रयोग गर्छ । त्यस दिनबाट राज्यले आफ्नो वैधता गुमाउन थाल्छ ।
यो कुनै आकस्मिक असन्तोष होइन, यो साँचो संक्रमण हो । नेपाल अहिले पुरानो पुस्ताको स्वार्थ र नयाँ पुस्ताको चेतनाबीचको सघन द्वन्द्वमा छ ।

पुरानो पुस्ता अझै पनि ठान्छ— सत्ता चलाउनेहरू नै देश चलाउने हुन् । उनीहरूका लागि देशको अवधारणा कुर्सीमा अडिएको छ, जनतामा होइन । तर जेन–जीले सिकिसकेको छ— देश त नागरिकले बनाउँछन्, नेता त अस्थायी व्यवस्थापक मात्र हुन् । यो पुस्ता कुनै दलको विचारधारामा होइन, न्याय, अवसर र इमानमा विश्वास गर्छ । उनीहरू पार्टीको घोषणापत्र होइन, आफ्नो भविष्यको प्रमाण माग्छन् । उनीहरू सरकारसँग प्रश्न गर्छन्, किन म रोजगारीविहीन छु ? किन म सडकमा हिँड्दा असुरक्षित छु ? किन मेरो आवाज केवल ‘आन्दोलनको माइकमा सुन्ने गरिन्छ, संसद्मा होइन ? जब युवाले ‘मलाई प्रतिनिधित्व गर्ने छैनौ भने मलाई रोक्न पनि सक्दैनौं भन्छन्, त्यो लोकतन्त्रको असली स्वर हो ।’

हाम्रो संविधानको प्रस्तावनामा ‘जनताको सर्वाेच्चता’ लेखिएको छ । तर व्यवहारमा त्यो सर्वाेच्चता हरेक पाँच वर्षको मतपेटिकासँगै बन्द हुन्छ । मतपेटिकाभित्र जनता राखिन्छ, चुनावपछि ढोका बन्द हुन्छ । त्यस पेटिका खोल्ने समय अब आएको छ । देश लोकतान्त्रिक तब मात्र हुन्छ, जब जनता हर दिन सहभागी हुन्छन्— केवल चुनावमा होइन, निर्णयमा पनि । 

राज्यले हरेक विद्रोहलाई ‘अराजकता’ ठान्ने बानी लगाएको छ । यो प्रवृत्ति नयाँ होइन । २०४६ सालमा पनि विद्यार्थीले नै पहिलो ढुंगा हानेका थिए, २०६२–६३ मा पनि सडकमा युवा थिए । फरक केवल यति छ— अहिलेका युवा नेताहरूको भाषणले होइन, आफ्नै चेतनाले चलिरहेका छन् । उनीहरूलाई पार्टीको झण्डा होइन, व्यक्तिगत इमान चाहिएको छ । 

राजनीतिक दलहरू अझै पनि आन्दोलनलाई ‘संगठित बनाउने बहानामा कब्जा गर्न खोज्छन् तर यो आन्दोलन कब्जा हुन सक्ने छैन । किनभने यो कुनै दलको नारा होइन, एउटा पुस्ताको आत्म आवाज हो । नेताहरू अझै पनि समिति गठन र छानबिन आयोगमा व्यस्त छन्, तर देशको वास्तविक अदालत त अब जनताका आँखामा सरेको छ । त्यो अदालतमा तपाईंहरूका झुट, भाषण र घोषणापत्र सबै प्रमाणका रूपमा दरखास्त भइसकेका छन् । नेताहरूले बुझ्न नसकेको कुरा के हो भने अब जनताको न्यायालयमा वकालत राजनीतिक भाषणले होइन, चरित्रले गर्नुपर्छ । युवाहरू अब प्रमाण खोज्दैनन्, तर्क खोज्दैनन्, उनीहरूले केवल इमान खोजिरहेका छन् ।

आजको नेपाली युवा राज्यसँग डराएको छैन । तर निराश अवश्य छ । उसले ठम्याएको छ— समस्या व्यवस्थामा होइन, मानसिकतामा छ । नेताहरू अझै पनि सोच्छन् कि देश चलाउने जिम्मा उनीहरूको अधिकार हो तर अब त्यो अधिकार जनताले फिर्ता लिइरहेका छन् । संसद् गफ गर्ने ठाउँ बनेको छ, निर्णय गर्ने होइन । जब सरकारले जनता रोक्न कानून प्रयोग गर्छ र आफ्नो गल्ती ढाक्न संविधानको नाम लिन्छ, तब कानुनको मूल्य घट्छ । कानुन नागरिकलाई रक्षार्थ बन्ने हो, नियन्त्रणार्थ होइन । संविधान जनताको स्वामित्व हो, सरकारको औजार होइन । अहिले यो उल्टो भएको छ । त्यसैले न्याय स्वतः जनताका हातमा सरेको छ ।

यो पुस्ता अब कुरा गर्न डराउँदैन, प्रश्न गर्न हिच्किचाउँदैन । उनीहरू फेसबुकमा लेख्छन् । सडकमा बोल्छन् । अदालतमा मुद्दा हाल्छन् । उनीहरूलाई राज्यले ‘दुश्मन ठान्छ, तर उनीहरू देशका सबैभन्दा वफादार नागरिक हुन् किनकि उनीहरूले अझै पनि विश्वास गर्छन् कि यो देश सुध्रिन सक्छ । अन्ततः, जेन—जीले खोजेको देश कुनै चमत्कार होइन । उनीहरूले चन्द्रमा मागेका छैनन् । केवल समानता, इमान र सहभागिता मागेका हुन् । उनीहरूले भन्न खोजेका छन्— देश त्यही हुन्छ जहाँ सरकार डराउँछ जब नागरिक मौन हुन्छ । अहिले नेपालमा उल्टो भइरहेको छ, सरकार मौन छ, नागरिक डराएका छैनन् । यही डर नहुनु नै आशाको पहिलो संकेत हो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.