उच्च शिक्षाको संरचनागत पुनरावलोकन

उच्च शिक्षाको संरचनागत पुनरावलोकन

नेपालको उच्च शिक्षा विगत दुई दशकमा विस्तार त तेजीले बढ्यो तर यसको संरचनात्मक दिशा अपेक्षाकृत अस्पष्ट रह्यो । शिक्षा मन्त्रालयका रिपोर्टले हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी बिदेसिएको तथ्य प्रस्तुत गर्दा विश्वविद्यालयहरूको औसत स्नातक दर २६५ वरिपरि सीमित रहनु र अनुसन्धान खर्च कुल गार्हस्थ्य उत्पादनको ०.३५ मा सीमित हुनुजस्ता सूचकले प्रणालीको कमजोर अनुकूलन क्षमतालाई देखाउँछ । यी तथ्यांकले उच्च शिक्षाको पहुँच बढे पनि उद्देश्य स्पष्ट नहुँदा गुणस्तर, शासन र श्रम–बजार अनुकूलता सन्तुलित रूपमा विकास हुन नसकेको संकेत गर्छन् ।

विश्वव्यापी रूपमा भने उच्च शिक्षा तीव्र परिवर्तनको चरणमा छ— हाइब्रिड लर्निङ, माइक्रो क्रेडेन्सिअलिङ, मोड्युलर पाथवेज, अप्लाइड रिसर्च क्लस्टर्स, पार्टनरसिप ड्रिभन इन्टरनेसनलाइजेसन विकासशील देशहरूमा संस्थागत र आर्थिक रूपान्तरणका प्रमुख आधार बनेका छन् । नेपालमा पनि यस्तो वातावरण बिस्तारै विकसित हुँदैछ तर परिवर्तनको गति संरचनागत बाधाबाट प्रभावित देखिन्छ । यसैले, व्यवस्थित विश्लेषणका लागि ‘नेसनल पर्पोज अफ हाइयर एजुकेसन’ कसरी विश्वविद्यालय र क्याम्पसहरू राष्ट्रिय क्षमता निर्माणसँग जोडिन्छन्— एक उपयोगी रूपरेखा बन्न सक्छ ।

प्रमुख चुनौतीहरूको विश्लेषण: पहिलो संरचनागत चुनौती गभर्नेन्समा देखिन्छ । नेपालका सार्वजनिक विश्वविद्यालयहरूमा नेतृत्व नियुक्ति राजनीतिक वृत्तसँग निकट रहँदा संस्थागत स्वायत्तता र निर्णय–निरन्तरतामा प्रभाव पर्न सक्ने सम्भावना अध्ययनहरूले देखाएका छन् (अधिकारी र अन्य, २०२३) । नेतृत्वको निरन्तरता कमजोर हुँदा दीर्घकालीन सुधार कार्यान्वयन कठिन हुन्छ । दोस्रो चुनौती अफिलिएसन मोडेलको भौतिक विस्तार हो । यूजीसी, २०२३ अनुसार १७ सयभन्दा बढी क्याम्पस एउटै मोडेलमा सञ्चालन हुँदा विश्वविद्यालयहरूको अनुगमन क्षमता कमजोर हुन्छ । यो मोडेलले करिकुलम फ्लेक्सिबिलिटी, हाइब्रिड पेडागोजी र द्रुत प्रशासनिक निर्णयमा सीमितता ल्याउने देखिन्छ ।

तेस्रो, शिक्षण–सिकाइ अभ्यास अझै पनि कण्ठे–मुखी, परीक्षा–प्रधान र डिजिटल उपकरणको सीमित प्रयोगमा निर्भर देखिन्छ । श्रम बजार अध्ययन (वल्र्ड बैंक, २०२०) ले नेपाली स्नातकहरूमा वर्कप्लेस कम्पेटेन्सिज– कम्युनिकेसन, टिमवर्क, प्रोब्लम सल्भिङ, डिजिटल लिटेरेसी अपेक्षित स्तरमा विकसित नभएको औंल्याउँछ । चौथो, अनुसन्धान र नवप्रवर्तन संरचना सीमित छ । अप्लाइड रिसर्च क्लस्टर्स अभाव हुँदा कृषि, जलविद्युत्, पर्यटन, आईसीटी र क्लाइमेट एडप्टेसनजस्ता राष्ट्रिय क्षेत्रहरूमा विश्वविद्यालयको योगदान कम देखिन्छ । यी चुनौती कुनै एक संस्थाको होइन, प्रणालीकै ‘डिजाइन’सँग सम्बन्धित छन् । यसैले, अन्तर्राष्ट्रिय अभ्यासको तुलनाले सम्भावित सुधारको रूपरेखा पहिचान गर्न मद्दत पुर्‍याउँछ ।

विकासशील मुलुकहरूको अनुभव– सम्भावित सिकाइका बिन्दु: भियतनामले विश्वविद्यालय स्वायत्तता र इन्डिपेन्डेन्ट क्यूए लागू गरेपछि पाँच वर्षमा अनुसन्धान प्रकाशन तीन गुणा बढेको देखिन्छ । रुवाण्डाले क्यापाबिलिटी सेन्टर्ड प्रपोज अपनाएपछि स्ेटम (एसटीईएम) नामांकन दोब्बर भयो र रिजनल इनोभेसन हबस् सक्रिय भए । भारतमा एनईपी, २०२० अन्तर्गत एकेडेमिक बैंक या क्रेडिटस् (एबीसी) र मोड्युलर क्रेडेन्सियल्स लागू भएपछि लाखौं विद्यार्थीले क्रेडिट मोबिलिटी उपयोग गर्न थाले । दक्षिण अफ्रिका र केन्यामा वर्क–इन्टिग्रेटेड लर्निङ लागू गरेपछि स्नातक रोजगारी प्रवेश दर बढेको छ । यी उदाहरणहरूले देखाउँछ– सुधार सफल हुन ‘उद्देश्य’, ‘संरचना’ र ‘व्यवस्थित रूपान्तरण अवधि’ मुख्य तŒव हुन्छन् । संशाधनको मात्राभन्दा संस्था–शासन, योजना र अनुगमन क्षमता नै निर्णायक रहन्छ ।

नेपालका लागि १० सम्भावित सुधार–एजेन्डा: उपर्युक्त चुनौती र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा नेपालका लागि सम्भावित १० सुधार–एजेन्डालाई निम्न रूपमा प्रस्तुत गर्न सकिन्छ— विकल्प, अभ्यास र सम्भाव्यतामा आधारित ।
क) पेसागत शासन संरचना: नेतृत्व छनोट, कार्यकाल निरन्तरता र विश्वविद्यालय स्वायत्तता बढाउने अभ्यासले संस्थागत स्थिरता सहयोग गर्ने अध्ययनहरू पाइन्छ ।
ख) स्वतन्त्र र अनिवार्य गुणस्तर सुनिश्चितता: स्वतन्त्र प्रणालीले शिक्षण, अनुसन्धान र प्रशासनिक पारदर्शितामा सुधार ल्याएको उदाहरण विभिन्न देशमा देखिन्छ ।

ग) अफिलिएसन प्रणालीको क्रमिक पुनर्संरचना: एक्सेस विस्तारका लागि उपयोगी भए पनि गुणस्तर र नवप्रवर्तनमा सीमितता देखिएकाले वैकल्पिक स्वायत्त मोडेलको मूल्यांकन उपयुक्त हुनसक्छ ।
घ) हाइब्रिड अर्थात् कम्पेटेन्सीमा आधारित शिक्षण–सिकाइ: ग्र्याजुएटस् इम्प्लोएबिलिटी सुधार भएका केस–स्टडीहरूले प्रोजेक्ट बेस्ड, ब्लेन्डेड, कन्टिनिअस एसेसमेन्टका फाइदा देखाउँछन् ।
ङ) माइक्रो–क्रेडेन्सियल्स/नेशनल क्रेडिट बैंक: मोड्युलर लर्निङले रुरल, वर्किङ लर्नर्स र इन्टरडिसिप्लिनरी पाथवेजका लागि अवसर बढाउने देखिन्छ ।
च) पार्टनरसिप बेस्ड अन्तर्राष्ट्रिय सहकार्य: फ्रेन्चाइजभन्दा को–टट, को–डिजाइन्ड, रिसर्च लिंकड पार्टनरसिपले घरेलु क्षमता निर्माणमा बढी योगदान गरेको अनुभव कोर्रोबोरेटेड छ ।

छ) वर्क इन्टिग्रेटेड लर्निङ विस्तार: स्ट्रक्चर्ड इन्टर्नसिप्सले स्टुडेन्डस् वर्कप्लेस रेडिनेस बृद्धि गरेको तथ्य दक्षिण अफ्रिका, मलेसिया र केन्यामा देखिन्छ ।
ज) इक्विटी सेन्टर्ड स्कलरसिप फ्रेमवर्क: पब्लिक फन्डेड, टार्गेटेड स्कलरसिप मेकानिज्मस्ले एक्सेस र फेयरनेस 
दुवै बढाएको प्रमाण ब्राजिल, दक्षिण अफ्रिका, घानामा पाइन्छ ।
झ) एपलाइड रिसर्च क्लस्टर/इन्नोभेसन फन्ड: राष्ट्रिय प्राथमिकता अनुरूप थेमाटिक रिसर्च क्लस्टर्सले पोलिसी कन्ट्रिब्युसन र इकोनोमिक डाइभर्सिफिकेसनमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ ।
ञ) डिजिटल ट्रान्सफर्मेसन/डाटा ड्रिभन गभर्नेन्स: साउथ इस्ट एसियामा युनिफाइड डिजिटल प्लेटफर्मस्ले शिक्षा प्रणालीको सक्षमता, पारदर्शिता र सिकाइ निरन्तरता उल्लेखनीय रूपमा सुधार गरेको छ ।

यी सुधार–एजेन्डाहरू कुनै ‘एकै मोडेलको निर्देशन’ होइनन् । यी विश्लेषणका सम्भावित ढाँचा हुन्, नेपालले आफ्नै भौगोलिक, आर्थिक, सामाजिक र संस्थागत सन्दर्भअनुसार चुस्त–चौकस रूपमा रूपान्तरण गर्न सक्ने ।
निष्कर्ष: नेपालको उच्च शिक्षामा आज देखिएका चुनौतीहरू संरचनागत प्रकृतिका भएकाले समाधान पनि संरचनागत, क्रमिक र उद्देश्य–आधारित मार्गबाट अघि बढ्न सक्छ । विकासशील मुलुकहरूको अनुभवले सिकाउँछ— संशाधनभन्दा पनि उद्देश्यको स्पष्टता, शासनको स्थिरता र व्यवस्थित रूपान्तरण अवधि नै दीर्घकालीन सुधारको आधार हुन्छन् । नेपालले पनि यिनै आधारमा उच्च शिक्षाको भविष्य तयार गर्न सकेमा, शिक्षण–सिकाइ, अनुसन्धान र श्रम–बजार अनुकूलता क्रमशः सुदृढ हुँदै जान सक्छ । 

दीर्घकालमा मानव–क्षमता विकाससँग जोडिएको राष्ट्रिय उद्देश्य प्रष्ट रूपमा कार्यान्वयन हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.