एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) चार वर्ष लामो विभाजन, विवाद र अनिश्चितताको यात्राबाट बाहिर निस्कँदै अन्ततः एक भएको छ। आइतबार काठमाडौंमा आयोजित बृहत् एकता समारोहमार्फत ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र एकता महाधिवेशनबाट छानिएका अध्यक्ष महेशकुमार श्रेष्ठ समूहबीच औपचारिक रूपमा एकताको घोषणा गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको रोहबरमा भएको यो सहमतिले विश्वभर छरिएर बसेका नेपालीमाझ नयाँ आशा, भरोसा र उत्साह भरिदिएको छ।
दुवै पक्षबीच तीन महिनाभित्र चुनाव सम्पन्न गरी एकल अध्यक्षलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ। विवाद समाधानका लागि स्पष्ट रोडम्याप बनेकाले अब शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको अध्यक्ष केसीले बताएका छन्। दुवै समूह सहअस्तित्वको आधारमा अघि बढ्न तयार भएका छन्।
एनआरएनए ११औं महाधिवेशनदेखि औपचारिक रूपमा तीन समूह (केसी, श्रेष्ठ र आरके शर्मा) मा विभाजित भएको थियो। यद्यपि, वास्तविक विवाद १०औं महाधिवेशनपछि नै सुरु भएको थियो। ११औं महाधिवेशनमा केसी समूह विजयी भए पनि श्रेष्ठ तथा शर्मा समूहले परिणाम अस्वीकार गरेपछि विवाद चुलिँदै अदालतसम्म पुगेको थियो। अझै पनि केही मुद्दा विचाराधीन रहेको अवस्थामा केसीको कार्यकाल बितेको थियो। पछि श्रेष्ठ र शर्मा समूहले पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकता महाधिवेशन गरी श्रेष्ठलाई अध्यक्ष बनाए। त्यसपछि श्रेष्ठ र केसीबीच लामो संवाद भएको र त्यसको परिणामस्वरूप चार वर्षदेखिको एनआरएनएको संक्रमणकाल अन्त्य भएको हो। विश्वभरका नेपालीहरूमाझ यसलाई ऐतिहासिक उपलब्धि मानिएको छ।
केसी र श्रेष्ठले १० बुँदे सहमति गर्दै ‘एकै मन, एकै भावना र साझा उद्देश्य’ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त रूपमा जारी मतैक्यमा उनीहरूले भनेका छन्, ‘संघलाई सबल, सशक्त र एकताबद्ध बनाउने हाम्रो प्रतिबद्धता हिजो पनि थियो, आज पनि त्यत्तिकै दृढ छ। असन्तुष्टि, मतभेद र मतभिन्नता स्वाभाविक भए पनि सहमति र संवादबाट समाधान गर्दै हामीले एकताको ऐतिहासिक अध्याय सुरु गरेका छौं।’
विदेशमा रहेका नेपालीहरूबीच एकीकृत संस्था निर्माण गर्ने उद्देश्यले अघि बढेको गैरआवासीय नेपाली अभियान १०औं महाधिवेशनपछि विभाजित हुन बाध्य भएको यथार्थ उनीहरूले आत्मसात गरेका छन्। संघको मूल भावना, सिद्धान्त, विधान तथा उद्देश्यलाई आदर्श मानेर संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाका रूपमा अघि लैजाने सहमति पनि दुवैले व्यक्त गरेका छन्। विगतका कमजोरी स्वीकार गर्दै असमझदारी समाधान गरी भावनात्मक रूपमा पुनः एकता स्थापत्य नै बृहत् सहमतिको उद्देश्य रहेको उनीहरूले जनाएका छन्।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा उपेन्द्र महतोले यो अभियान सुरु गरेका थिए। विदेशमा छरिएका नेपालीलाई एकताबद्ध गर्दै तिनले भोगेका अनुभव, सिप, प्रविधि र पुँजीलाई नेपालकै सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यमा संघ अघि बढिरहेको छ। आज संघ ९० देशमा फैलिएको सञ्जालमार्फत विश्वभरका नेपालीलाई एउटै सूत्रमा जोड्न सफल छ।
प्रतिक्रिया दिनुहोस !