आवश्यकता बृहत् वामपन्थी एकताको
कम्युनिस्ट पार्टीभित्र क्रान्तिकारी कार्यशैली र सर्वहाराकृत जीवनशैली अवलम्बन गर्नुपर्छ तर त्यस्तो हुन अझै सकेको छैन।
नेपाली कम्युनिस्ट पार्टी यतिबेला तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १५ वटा वामपन्थी एवं समाजवादी पार्टीहरू एकताबद्ध भएर नयाँ पार्टीको रूपमा नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको छ। यो एकता र ध्रुवीकरणको लहरले यतिबेला राष्ट्रिय एवं अन्तर्राष्ट्रिय हिसाबले महत्त्व पाएको छ। माक्र्सेली भाषामा भन्दा नेपालमा २०६२–०६३ मा भएको युगान्तकारी परिवर्तनले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ। हिजो वामपन्थीहरूले अगाडि सारेको बहुदलीय जनवादी कार्यक्रमका एजेन्डाहरू अहिलेको संविधानमा समाविष्ट छन्।
कार्ल मार्क्सले समाज विकासको व्याख्या गर्ने क्रममा समाज आदिम साम्यवादी व्यवस्था, दास व्यवस्था, सामन्तवादी व्यवस्था, पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्था हुँदै साम्यवादमा विकास हुन्छ भनेर व्याख्या गरेका छन्। आज नेपाली समाजमा सामन्ती राजतन्त्र ढलेर गणतन्त्र आएपछि पुँजीवादी व्यवस्थाको प्रारम्भिक चरणमा पुगेको छ। संविधानको प्रस्तावनामै समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने भनेर उल्लेख पनि भएको छ। तर यो कस्तो समाजवादको मोडेल हुने हो ? बुर्जुवाहरू पनि समाजवाद तथा लोकतान्त्रिक समाजवादको कुरा गर्छन्। वामपन्थीहरू माक्र्सवादी हुनुको नाताले निश्चित रूपमा उनीहरू वैज्ञानिक समाजवादको कुरा गर्छन्।
हिजो सामन्तवादविरुद्ध लड्दा वामपन्थीहरूले बुर्जुवा पुँजीपति एवं लोकतान्त्रिक शक्तिसँग मिलेर संघर्ष गरे। तर बुर्जुवा पुँजीपति वर्गले समाजवादी क्रान्तिमा साथ दिँदैन। किनकि त्यो शक्तिले अहिलेको पुँजीवादी गणतन्त्रमै आफ्नो रजगज कायम गर्न हरहमेशा प्रयत्न गर्नेछ। समाजवाद वास्तविक रूपमा पुँजीवादीहरूको एजेन्डा नभएको सन्दर्भमा वामपन्थीहरूले नै समाजवादी क्रान्तिको अगुवाइ गर्नुपर्छ। समाजवादी क्रान्तिमा श्रमिक, किसान, बुद्धिजीवी वर्ग नै समाजवादी क्रान्तिको भरोसायोग्य शक्ति हुनेछ।
नेपालको सन्दर्भमा प्रारम्भिक चरणको पुँजीवाद भए पनि यसले दलाल पुँजीवादको चरित्र लिएको छ। अतः अब दलाल पुँजीको अन्त्य गरेर राष्ट्रिय पुँजीको विकास गरेर राज्यसत्तामा श्रमजीवी वर्गको वर्चस्व र नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिक लक्ष्यका साथ वामपन्थीहरूले सहकार्य र एकता गर्नुपर्छ। यसरी समाजवादी आर्थिक सामाजिक क्रान्ति गर्नुपर्ने अभिभारा छ। यस अर्थमा वामपन्थीबीच ध्रुवीकरण र एकता आवश्यक छ। आज नेपालमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको २० वर्ष व्यतीत भएको छ।
तर वामपन्थीहरूको अबको रणनीतिक एवं कार्यनीतिक कार्यदिशा के हो ? भनेर सुस्पष्ट सिद्धान्त, नीति र कार्यक्रमका साथ अगाडि बढ्न सकेका छैनन्। कतिपय वामपन्थी दलहरू २०६२–०६३ को युगान्तकारी परिवर्तनबाट प्राप्त भएका उपलब्धिलाई राजनीतिक क्रान्ति भएको निष्कर्ष निकाल्न सकेका छैनन् र उनीहरू जनवादी क्रान्ति जारी छ भनिरहेछन्। वामपन्थीहरूका सामु समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने युगीन अभिभारा छ। तर वामपन्थीहरू गणतन्त्र आएयताको २० वर्षमा बुर्जुवा पुँजीवादी शक्तिसँगै सत्ता साझेदारीमा अल्मलिएको स्थिति छ।
विगतको संसदभत्र वामपन्थी एवं समाजवादी विचारका दलहरूकै गठबन्धनमा क्रान्तिकारी सरकार गठन हुन सक्ने स्थितिमा पनि उनीहरूले यसरी गठबन्धन गर्नुभन्दा बुर्जुवा पुँजीवादी शक्तिसँग गठबन्धन गरेर सरकार बनाउने अभ्यास भयो। यस्तो गठबन्धनको सरकारले नवउदारवादी पुँजीवादी आर्थिक नीति तथा कार्यक्रम लागू गर्यो। यस अर्थमा समाजवादी आर्थिक नीति कार्यक्रम लागू गर्न पनि वामपन्थीहरूकै नेतृत्वमा सरकार बनाएर जान आवश्यक छ। यस अर्थमा पनि वैज्ञानिक समाजवादको लक्ष्य र ध्येयका साथ नेपाली विशेषताको समाजवादी कार्यक्रमका आधारमा बृहत् वामपन्थी एकता र ध्रुवीकरण गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो।
हिजो सामन्तवाद विरोधी गणतान्त्रिक आन्दोलनको क्रममा अवलम्बन गर्दै आएको तर वामपन्थी आन्दोलनको मुख्य पार्टी एमालेले अहिले पनि पुँजीवादी क्रान्ति गर्ने कार्यक्रम जनताको बहुदलीय जनवादको कार्यक्रमलाई नै निरन्तरता दिएर यथास्थितिमै रुमलिएको छ। एमालेको नेतृत्वभित्र हुर्किएको व्यक्तिवाद, सर्वसत्तावाद, अवसरवादले त्यहाँभित्र पनि अन्तरसंघर्ष तीव्र बन्दै गएको छ। एमालेको मंसिरको २७–२९ गते हुने एघारौं महाधिवेशनले नयाँ मोड लिने सम्भावना बढेको छ।
महाधिवेशनले नयाँ नीति र नेतृत्व निर्माण गर्न सक्यो भने ढिलो चाँडो वाम ध्रुवीकरण र एकतामा समाहित हुन सक्ने सम्भावना देखिएको छ। महाधिवेशनबाट फेरि अहिलेकै व्यक्तिवादी, सर्वसत्तावादी प्रवृत्ति रहेको नीति र नेतृत्व कायम भएमा एमालेभित्रका सच्चा क्रान्तिकारीहरू ढिलो चाँडो वामपन्थी एकता र ध्रुवीकरणमा समाहित हुन सक्ने देखिएको छ। कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण र एकताको आवश्यकता बनिरहेको बेला यतिबेला केही प्रवृत्ति देखा परेका छन्। वाम एकता र एकीकरणको सुरुवात भएपछि तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबाट वैचारिक मतभिन्नताभन्दा पनि नेतृत्वको विषयलाई लिएर पार्टीभित्रबाट अलग्गिएर छुट्टै चुल्हाचौका बाल्ने अर्थात् अर्को नयाँ पार्टी स्थापना गरिहाल्ने प्रवृत्ति देखिएको छ।
यतिबेला पार्टीहरूलाई विचार, संगठन, नेतृत्व, कार्यशैली र जीवनशैलीमा व्यापक पुनर्गठन गरेर एकताबद्ध बनाउँदै नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने खाँचो छ। पुनर्गठनका लागि एकता र एकीकरणसँगै आन्तरिक भेला वा सम्मेलनको आयोजना गर्नुपर्छ। विधिपद्धतिबाट पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा एकता र एकीकरणमा सामेल नभइकन कम्युनिस्ट पार्टीबाट अलग्गिएको छ। यसरी छुट्टै कम्युनिस्ट पार्टी निर्माण गर्ने तथा पार्टीबाट अलग भएर माक्र्सवाद लेनिनवादी कम्युनिस्ट पार्टीको सट्टामा प्रगतिशील लोकतान्त्रिक पार्टी बनाउने काम भएको छ। यो अर्को संशोधनवादी प्रवृत्तिको रूपमा देखा परेको छ।
यसैगरी, वैज्ञानिक समाजवादको लक्ष्य ध्येयका साथ क्रियाशील पार्टीहरू पनि छुट्टाछुट्टै अस्तित्वमा रहेका छन्। यस्ता शक्तिहरू पनि एकताको अभियानमा आउन हिच्किचाइरहेको पाइन्छ। कम्युनिस्ट पार्टीभित्रै वैचारिकी हिसाबले अन्तरसंघर्ष गरेर नै पार्टीलाई क्रान्तिकारीकरण गरी एकताबद्ध बनाउनु नै अहिलेको कार्यभार हो। अब १५ घटक सम्मिलित नेपाली कम्युनिस्ट पार्टी मुलुकको वाम आन्दोलनमा मूलधारको रूपमा अगाडि बढ्ने स्थितिको विकास भएको छ।
अब पार्टीलाई सैद्धान्तिक, वैचारिक हिसाबले समृद्ध बनाउन आवश्यक छ। यसका लागि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई अझै व्यवस्थित वनाउन आवश्यक छ। पार्टीलाई नयाँ ढंगको कम्युनिस्ट पार्टीको रूपमा विकास गर्न संगठनलाई पुनर्संरचना गर्नुपर्छ। पार्टी एकता र समायोजनका क्रममा ठूलठूला, भद्दा कमिटी बन्ने जुन स्थिति छ, यसलाई शीघ्र महाधिवेशन आयोजना गरेर व्यवस्थित गर्न आवश्यक छ। अब पार्टीभित्र माथि देखिन आधारभूत तहसम्म जनवादी अभ्यास गर्न सक्ने गरी छरितो खालका कमिटी निर्माण गर्नुपर्छ। पार्टीलाई आधारभूत तहसम्म विस्तार गर्न वैचारिक एवं सांगठनिक क्षमताको नेतृत्व रहने गरी कमिटी निर्माण गर्न ध्यान दिनुपर्छ।
राष्ट्र र जनताले भोगेका गरिबी, बेरोजगारी, असमानता, अनियमितता, भ्रष्टाचारविरुद्धको वर्गसंघर्षलाई राष्ट्रव्यापी रूपमा आन्दोलन र संघर्ष गर्ने नीतिलाई अगाडि सार्नुपर्छ। सिद्धान्त, विचार नमिल्ने र पार्टीका नीति कार्यक्रम लागू हुन नसक्ने स्थितिमा विजातीय सत्ता गठबन्धनको खेलबाट पार्टीलाई मुक्त गरी पार्टीलाई क्रान्तिकारीकरण गरेर अगाडि बढ्नुपर्छ।
विगतमा राज्य सञ्चालनका क्रममा भएका कमी, कमजोरीको वस्तुनिष्ठ समीक्षा गरेर बदलिँदो परिवेशमा नयाँ ढंगबाट नेतृत्व गर्न सक्नेगरी नेतृत्वको पुनर्गठन गर्नुपर्छ। यसरी सिद्धान्त, विचार, नेतृत्व, संगठन, कार्यशैली र जीवनशैलीमा नयाँ ढंगबाट पुनर्गठन गर्दा नेपाली कम्युनिस्ट पार्टी झन् नयाँ शक्तिको रूपमा विकास हुनेछ। कम्युनिस्ट विचार र व्यवहारबीचको भिन्नताले जनतामा कम्युनिस्टहरू आलोचित भएका छन्। विगतमा कम्युनिस्टहरूको नेतृत्वमा सरकार सञ्चालन गर्दा उत्पादन र रोजगारीका लागि ठोस ढंगबाट काम हुन सकेको छैन।
तसर्थ, अब समाजवादी आर्थिक कार्यक्रम लागू गरेर जाने हिसाबले आर्थिक–सामाजिक नीति, कार्यक्रम तय गरी लागू गर्नुपर्छ। पार्टीभित्र क्रान्तिकारी कार्यशैली र सर्वहाराकृत जीवनशैली अवलम्बन गर्नुपर्छ। यसरी सही समाजवादी आर्थिक नीति, विचार र कार्यक्रमका आधारमा फराकिलो सोचका साथ बृहत् वामपन्थी एकता र एकीकरणलाई अगाडि बढाउनु पर्दछ। वामपन्थीहरूका लागि यतिबेला नेपाली क्रान्तिको दोस्रो चरणको समाजवादी क्रान्तिको अगुवाइ गर्ने युगीन अभिभारा छ। माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्ने र वैज्ञानिक समाजवादको लक्ष्य, ध्येय र समाजवादको कार्यक्रममा सहमत पार्टीबीचमा सहकार्य र एकताका साथ अगाडि बढ्ने अवसर छ। हिजो सामन्तवाद विरोधी आन्दोलनका क्रममा वामपन्थीहरूले जसरी ‘राष्ट्रियता, जनवाद र जनजीविका’को झण्डा बुलन्द गरे।
अब पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको स्थितिमा राष्ट्रियता, समाजवाद, सामाजिक न्याय, जनजीविका, सुशासन, समृद्धिको नारालाई बुलन्द गर्दै अगाडि बढ्न जरुरी छ। वामपन्थीहरूबीच तत्कालै एकता नहुँदा सहकार्यका लागि वर्गीय संयुक्त मोर्चाको रूपमा समाजवादी मोर्चा बनाएर अगाडि बढ्न आवश्यक छ। यस्तो मोर्चामार्फत गरिने सहकार्यले बृहत् वामपन्थी एकता र एकीकरणको आधार निर्माण गर्न मद्दत पुर्याउने विश्वास लिन सकिन्छ।
प्रतिक्रिया दिनुहोस !