ढोल र झ्याम्टाको धुनले गुञ्जयमान बन्यो किराँत बस्ती

ढोल र झ्याम्टाको धुनले गुञ्जयमान बन्यो किराँत बस्ती
धरानको यलम्बर पार्कमा साकेला सिलि प्रदर्शन गर्दै किरात राई समुदायहरू । तस्बिर : रत्नप्रसाद आचार्य

सुनसरी : किराँत समुदायको महान चाड उधौली पर्व सुरू भएको छ । विशेषगरी पूर्वी नेपालका राई र लिम्बू समुदायले मनाउने यो पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने प्राचीन धार्मिक–सांस्कृतिक परम्पराको निरन्तरता दिँदै भव्यरुपमा मनाउन सुरू गरिएको हो । 

किराँत सभ्यता अनुसार वर्षको दुवै ऋतु परिवर्तनसँग जोडिएका उभौली र उधौली पर्वले प्रकृतिको ऊर्जा चक्र,मौसम र मानव–जीवनबीचको सम्बन्धलाई सम्मानपूर्वक मनाउन थालिएको छ । गर्मीयाम तर्फको आरोहण समाप्त भइ जाडोयाम तर्फको अवरोहण सुरू भएको संकेतस्वरूप मनाइने उधौली पर्वमा किराँत समुदायले भूमिप्रति आभार प्रकट गर्दै पुर्खाहरूको सम्मान स्वरुप मनाउन थालिएको हो । 

राई समुदायमा उधौलीको मुख्य आकर्षण साकेला हो। ढोल र झ्याम्टाको जोसिलो धुनसँगै युवा–युवतीदेखि बुढापाका सबैले गोलो घेरा बनाएर विभिन्न प्रकारका सिली नाच प्रस्तुत गर्छन् । सिलीहरू प्रकृति, जनजीवन, जीवजन्तु, कृषि—सबैको कथा बोकेका प्रतीकात्मक नृत्य प्रदर्शन गरि  किराँत सभ्यताको पुरातन आध्यात्मिक दर्शनलाई जीवित राख्दछ ।  किराँत राई यायोख्याका केन्द्रीय उपाध्यक्ष दुर्पध्वज राईका अनुसार पूर्वी नेपालका राई बस्तीहरू हप्तादिनसम्म साकेलाकै लयले गुञ्जायमान हुनेछन्। महिलादेखि बालकदेखि वृद्धसम्म सबैजना किराँत भेषभूषामा सजिएर सामूहिक रूपमा प्रकृतिको चक्रसँग समायोजन हुने मान्यताका साथ सिलि नृत्यमा सहभागी हुने गरेको उनको भनाइ छ ।

लिम्बू समुदायमा पनि उधौलीलाई चासोक तङनाम भनेर मनाइन्छ । जसको मुख्य सार अन्नबाली पाकेर  भित्र्याइसकेको खुसीसँग जोडिन्छ। ‘चासोक’ शब्दले नै नयाँ अन्नप्राप्तिको उत्सवलाई जनाउँछ। लिम्बूहरू चासोक तङनाममा घर–घरमा नयाँ अन्नका मीठा खाद्यवस्तु तयार गर्छन्, पुर्खालाई सम्झेर पूजापाठ गर्छन् र सामूहिक रूपमा केलाङ तथा धान नाच प्रस्तुत गर्छन् ।  किराँत याक्थुम चुम्लुङका नेता ताजुव लिम्बूले धरानदेखि अरुणपूर्वका लिम्बू बहुल गाउँ–बस्तीहरूमा चासोक तङनाम भव्य रूपमा प्रारम्भ भइसकेको बताए । उनले  युवापुस्ताको बढ्दो सहभागिताले लिम्बू पहिचान अझ सुदृढ बन्दै गएको बताए ।

उधौली पर्वको सांस्कृतिक रौनक अहिले सुनसरी,खोटाङ, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, ओखलढुंगा लगायतका जिल्लामा छाएको छ ।  किराँत राई यायोख्या र किरात याक्थुम चुम्लुङको छुट्टा छुट्टै  आयोजनामा विभिन्न सभास्थल, सामुदायिक मैदान, धार्मिक स्थल र साकेला–थानहरूमा कार्यक्रम सुरू भएका छन्। किराँत राई यायोख्या सुनसरीका पूर्वअध्यक्ष बलराम राईले धरानका २० वटै वडामा साकेला धुमधामका साथ प्रारम्भ गरिएको  र  युवाहरूको उत्साहपूर्ण सहभागिताले वातावरण झनै जीवन्त बनाएको बताए । 

उधौली पर्व राई र लिम्बू समुदायको परिवार मिलनको अवसर पनि हो ।  वर्षदिन व्यस्तताका कारण भेटघाट नभएकाहरू आजदेखि हप्तादिनसम्म एक–अर्कालाई भेटेर खुसी साटासाट गर्छन् ।  लिम्बू समुदायमा उधौलीको अवसरमा मीठो परिकार बनाउने,नयाँ अन्न चाख्ने, पाहुनालाई स्वागत गर्ने र सामूहिक भोजमा सहभागी हुने चलनले सामाजिक एकता र पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउँछ। यसरी हेर्दा उधौली केवल एक चाड मात्र नभइ, यो जीवन–शैली, प्रकृतिसँगको सहअस्तित्व र समुदायप्रतिको प्रेमको दर्शनका रुपमा लिने गरिएको छ । 

किराँत संस्कृतिको मूल मर्म प्रकृतिपूजामा आधारित छ—सूर्य, चन्द्र, पानी, पहाड, वन–जंगल र भूमिलाई जीवनदायिनी शक्तिका रूपमा सम्मान गर्ने परम्परा हजारौँ वर्षदेखि नंया पुस्ताले जोगाउँदै आएको किराँत राई यायोख्याक सुनसरीका पूर्व सहसचिव रमेश रोदुङ राईले बताए । उधौलीमा व्यक्त गरिने कृतज्ञता मानव र प्रकृतिको सम्बन्धबारे किराँत दार्शनिक दृष्टिकोणको सुन्दर अभिव्यक्ति भएको उनको भनाइ छ । सामूहिक साकेला र चासोक तङनामले समुदायलाई एकताको सूत्रमा बाँध्ने मात्र नभइ, पहिचान, परम्परा र गर्वको निरन्तरता समेत प्रदान गर्ने बताइएको छ ।

अहिले पूर्वी नेपाल उधौलीको रौनकले गुञ्जयमान बनेको छ। ढोल–झ्याम्टाको धुन, साकेलाको गोल घेरा, केलाङको ताल, परम्परागत पोशाकमा सजिएका पुरुष–महिला, परिवारको मिलन र प्रकृतिप्रतिको कृतज्ञताको भाव—सबैले मिलेर उधौलीलाई जीवित संस्कृति, पहिचानको प्रतिक बनेको किराँत याक्थुङ चुम्लुङ धरान(१५ कि कोषाध्यक्ष कला किम्बुले बताइन् ।  किराँत सभ्यताको समृद्ध इतिहास र धार्मिक संसारलाई उजागर गर्ने यो पर्व नयाँ पुस्ताले पनि  उस्तै श्रद्धा, भव्यता र उत्साहका साथ मनाउँदै आएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.