election background

प्रतिनिधि सभा निर्वाचन २०८२

शासन फेरियो, सोच फेरिएन

शासन फेरियो, सोच फेरिएन

जेन-जी आन्दोलनको मुख्य उद्देश्य मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य गर्नु थियो। तर अहिलेको अवस्था हेर्दा यी उपलब्धिहरू प्राप्त गर्नुको साटो देश कतै अकल्पनीय दुर्घटनामा पर्ने होइन भन्ने चिन्ता बढेको छ। यस्तो अवस्थामा आम नागरिक र विशेष गरेर राजनीतिक दलहरूले जिम्मेवारीपूर्ण भूमिका खेल्न जरुरी छ। र सबैजना मिलेर व्यवस्थासँगै देशको अवस्था बदल्नुपर्ने टड्कारो खाँचो देखिएको छ। 

कुनै पनि आन्दोलनपछि त्यो आन्दोलनले आशा गरेको प्रतिफल हासिल गर्नको लागि काम गर्न सकिएन भने त्यसले देशलाई अस्थिरताझैं धकेल्ने गर्दछ। जेन-जी आन्दोलनको सफलतापश्चात् यो दिशामा कुनै काम हुन नसक्दा जनतामा निराशामात्र होइन समाजमा थप अस्थिरता उत्पन्न भइरहेको छ। जेन-जी आन्दोलनले देशमा व्याप्त भ्रष्टाचार, कुशासन तथा राजनीतिक दल तथा नेताहरूको मनलाग्दी हो भन्ने कुरामा कुनै द्विविधा छैन। तर मुख्य दलहरूले परिवर्तनलाई आत्मसात् गर्नुको साटो जेन-जी आन्दोलनलाई नै चुनौती दिने अभिव्यक्तिले झन् निराशा र अनिश्चितता फैलाइरहेको छ।

यो आन्दोलनले भौतिक क्षति भएको छ। तर, त्योभन्दा व्यक्तिको मनोबलमा पुगेको क्षति कैयौं गुणा बढी र धेरै समयसम्म रहिरहने छ। बितेको समयमा विदेशमा बस्ने अवसर पाउँदा नेपालमै बस्ने हो भनेर सो अवसर त्याग गरेको एक मित्रले आफू विदेश जान लागेको कुरा सुनाउँदा जेन-जी आन्दोलन र त्यसको परकम्पको असर प्रत्यक्ष महसुस भएको थियो। ती मित्र त एक प्रतिनिधि पात्रमात्र हुन्, अहिले राम्रै व्यवसाय गरिरहेका व्यक्तिहरूले समेत विकल्पको खोजी गरिरहेको अत्यन्त असहज अवस्था उत्पन्न भएको छ।

जेन-जी आन्दोलनपछि राजनीतिक दलहरूले आफूहरू कहाँ चुकियो ? जनतामा यस्तो आक्रोश किन उत्पन्न भयो ? र भविष्यमा यस्ता घटना नदोहो‍र्‍याउन के गर्न सकिन्छ ? भनेर गम्भीर हुनुपर्नेमा प्रायः दलहरूले यो कुरालाई अवमूल्यन गरिरहेका छन्। केही मुख्य दलले यसलाई चुनौती दिइरहेका छन् जसको मूल्य झन् महँगो पर्नेछ। खासमा जनतालाई सुशासन, सेवा प्रवाहमा चुस्तता महसुस गराउनुको साटो जेन-जी आन्दोलनपछि राजनीतिक दल खोल्ने वा पुरानो र मक्किएको दललाई नयाँ देखाउने प्रयासबाहेक केही भएको देखिँदैन। जुन दुर्भाग्यपूर्ण छ। देशमा भएका समस्याहरू समाधान गर्नु साटो सरकार र राजनीतिक दलहरू अनावश्यक कुरामा बहस गरिरहेका छन्।

यसअघिका राजनीतिक परिवर्तनभन्दा यो परिवर्तनमा जनधनको धेरै क्षति भएको छ भने सुरक्षाकर्मीहरूको मनोबल ऐतिहासिक रूपमा खस्किएको छ। यस्तो अवस्थामा स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैजना मिलेर सुरक्षाकर्मीको मनोबल बढाउनुको साटो मनोबल अझ घट्ने गतिविधिले आगामी निर्वाचनलाई मात्र नभई देशको शान्ति सुरक्षा अवस्था प्रत्यक्ष असर पुर्‍याउनेछ। अहिले दलहरूको गतिविधि र सबै परिस्थिति हेर्दा फागुन २१ गते हुने भनिएको निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न हुन सक्ने देखिँदैन। तसर्थ राजनीतिक दलहरू र सरकारले यदि फागुन २१ गते निर्वाचन नभए कहिले चुनाव गर्न सकिन्छ ? भन्ने तर्फ पनि सोच्नु आवश्यक छ। र, यसको लागि विभिन्न सरोकारवालाहरूको भूमिका के हुन्छ भनेर सहज वातावरण बनाउन काम गर्नुपर्ने देखिन्छ, न कि एकअर्कालाई देखाएर पानीमाथिको ओभानो बन्न खोज्नुको साटो।

लोकतान्त्रिक प्रणालीमा दलहरूको विकल्प भनेकै दलहरू हुन्। तर दलको नाममा सीमित व्यक्तिबाट राज्य संयन्त्र कब्जा गर्ने र लुट मच्चाउने प्रवृत्तिको कारण अहिलेको अवस्था आएको हो। तसर्थ राजनीतिक दलहरूले निर्मम समीक्षा गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। बंगलादेशलगायतका मुलुकहरूले जेन-जी आन्दोलनपछि जुन अवस्थाबाट अगाडि बढिरहेका छन्, त्यसबाट नेपालले पाठ लिएर अगाडि बढ्नुपर्ने देखिन्छ।

यो अन्तरिम सरकारको प्रमुख म्यान्डेट भनेको निर्वाचन गर्नु हो। तसर्थ अहिलेको सरकारबाट सबै समस्याको समाधान गर्ने अपेक्षा राख्नु अव्यावहारिक हुन्छ। हामी नेपालीको समस्या भनेको हामी एकदमै शीघ्र उत्तेजित हुन्छौं र एकदमै छिट्टै सबै कुरा बिर्सने गर्दछौं। हामीले सुशासनका लागि आन्दोलन गरेर यो परिवर्तन ल्याएका थियौं तर अहिले सरकारले नियम उल्लंघन गरेन भनेर विरोध गरिरहेका छौं। अहिले रवि लामिछानेलाई छुटाउनेदेखि सबै नेताहरूलाई जेल हाल्ने कुरा सरकारले तुरुन्तै गरोस् भन्ने चाहन्छौं तर यसको लागि आवश्यक प्रक्रिया र निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिँदैनौं।
अहिले जेन-जीका विभिन्न समूहहरू बनिरहेका छन्। तीमध्ये केही साँच्चिकै परिवर्तन चाहेर बनेका छन् भने केही समूहहरू विभिन्न स्वार्थका लागि बनेका छन्। तर, अहिलेका परिवर्तनकारी युवाहरूले के बुझ्नु जरुरी छ भने-परिवर्तन जसरी भएको छ, त्यसलाई संस्थागत गर्न र देशको अवस्था परिवर्तन गर्न त्यत्तिकै कठिन छ। त्यसैले अहिले धेरै उत्तेजित नभई समझदारीका साथ अगाडि बढ्नुपर्ने देखिन्छ।

अहिले सबै जेन-जी समूहलाई लागेको छ-अहिले नै उनीहरू कार्यकारी प्रधानमन्त्रीमा निर्वाचित हुन्छन् वा उनैले जे भने पनि त्यही हुन्छ। तर, देश सिनेमामा देखाएजस्तै चमत्कारिक हिसाबले परिवर्तन हुँदैन। तसर्थ जेन-जीहरूले आफ्नो क्षमता अभिवृद्धिमा ध्यान दिँदै आफ्नो पेसा प्रधान र राजनीति केही समय सेवा गर्ने भावले मात्र आउनुपर्ने हुन्छ। अन्यथा उनीहरूको अवस्थासमेत केही समयमै अहिलेका नेताहरू सरह हुन्छ।

अहिले विभिन्न गुट बनाएर हिँड्दा पुराना दलहरूलाई नै फाइदा हुनेछ। र जेन-जी आन्दोलनमा ज्यान गुमाएका वा घाइते भएका व्यक्तिहरूको बलिदानी खेर जानेछ। मलाई लाग्छ, तपाईंहरूको सोच्ने शक्ति फरक छ र तपाईंहरू अत्यन्त समझदार हुनुहुन्छ। त्यसैले एकपटक छातीमा हात राखेर सोच्नुहोस्-त्यो परिवारका सदस्य गुमाएका परिवारको पीडा अनि उनीहरूको सपना के तपाईं नेता बन्दैमा साकार होला ? दुई–चार जना युट्युबर पछि लगाएर ब्रान्डिङ गर्दैमा देश नै तपाईंको पछि लागेको भ्रममा हुनुहुन्छ। तर त्यो भ्रम चुनाव भयो भने २–४ महिनामा हटिहाल्छ। तर तपाईंको भ्रम र महŒवाकांक्षाको मूल्य देशले लामो समयसम्म यी पुरानै शक्तिहरूको हालीमुहालीबाट भोग्नेछ। विगतमा मेयरको चुनावको बेलामा २३ हजारभन्दा बढी मतसहित तेस्रो बनेर हलचल मच्चाउन सफल रञ्जु दर्शनाले २०७९ सालको चुनावमा केवल ६ सय मत पाएको उदाहरणले के प्रस्ट पार्छ भने अहिले जति धेरै जेन-जी समूह हुन्छन् त्यति नै घाटा जेन-जी आन्दोलनलाई हुनेछ।

हो, एक दिनको आन्दोलनले यत्रो परिवर्तन भएकोमा तपाईंको जोस बढेको छ। तर परिवर्तनलाई संस्थागत गर्न अझ धेरै धैर्य र योगदान चाहिन्छ। अहिले समाजले जेन-जीहरूलाई अन्तरिम सरकारको विरोध गर्न र २–४ जना युट्युबरको वाहवाहीमा हिँड्न होइन, आगामी निर्वाचनमा नयाँ शक्तिहरू एकजुट हुन, गाउँगाउँमा स्वच्छ र निष्पक्ष निर्वाचनका लागि जनचेतना जगाउन र समाजमा रहेका नकारात्मक विचारको अन्त्यका लागि सक्रिय हुन खोजेको छ। र जेन-जीहरूको यस्तै भूमिकाले मात्र देशमा वास्तविक परिवर्तन आउनेछ। 

अहिले तपाईं–हामीले गाली गर्ने नेताहरूले समेत जेन-जी उमेर छँदा यस्तै जोश र परिवर्तनको आकांक्षाले व्यवस्था परिवर्तन गरेका हुन्। जेन-जीहरूले व्यवस्था त परिवर्तन गरे तर आफ्नो सोच परिवर्तन गर्न नसक्दा देशको अवस्था परिवर्तन गर्न सकेनन्। अहिलेका जेन-जीहरूको गतिविधिले फेरि त्यस्तै अवस्थाको सिर्जना हुने हो कि भन्ने चिन्ता बढेको छ। आशा छ-धेरै ढिलो नगरी जेन-जीहरू एकजुट भई व्यवस्था परिवर्तनमात्र होइन देशको अवस्था परिवर्तन गर्ने दिशामा अग्रसर हुनेछन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.