गाउँपालिकाले अतिरिक्त भत्ता रोकेपछि स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा बन्द
वीरगन्ज : पर्साको पकहाँ मैनपुर गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा बन्द भएको छ। विगत चार महिनादेखि अल्ट्रासाउन्ड सेवा बन्द रहेपछि गर्भवती महिलाहरू सबैभन्दा बढी मारमा परेका छन्।
पकाहाँको स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अल्ट्रासाउन्ड सेवा गत साउन महिनानादेखि बन्द रहेको स्वास्थ्य चौकी इन्चार्ज रामनाथ महत्तोले बताए। बर्थिङ सेन्टरमा गत निःशुल्क अल्ट्रासाउन्ड सेवा वैशाखदेखि मात्रै सुरु भएको थियो।
गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड जाँच गर्ने दुई जना स्वास्थ्यकर्मीले गाउँपालिकाबाट पाउँदै आएको अतिरिक्त भत्ता गत साउनदेखि रोकेपछि सेवापनि बन्द हुन पुगेको इन्चार्ज महत्तोले बताए।
उनका अनुसार अल्ट्रासाउन्ड जाँच गर्ने बर्थिङ सेन्टरमा कार्यरत तालिमप्राप्त स्टार्फ नर्सले दैनिक १ हजार ५ सय रुपैयाँ र उनका सहयोगी अनमीले दैनिक १ हजार रुपैयाँ अतिरिक्त भत्ता पाउँदै आएका थिए। तर गत साउनदेखि गाउँपालिकाको स्वास्थ्य शाखाले अतिरिक्त भत्ता उपलब्ध नगराउने पत्र पठाएपछि अल्ट्रासाउन्ड सेवा बन्द हुन पुगेको महत्तोले बताए। उनका अनुसार बर्थिङ सेन्टरबाट दैनिक १५ देखि २० जना गर्भवती महिलाले निःशुल्क अल्ट्रासाउन्ड सेवा लिँदै आएका थिए।
हाल गर्भवती महिलाहरूलाई पोखरिया र वीरगन्ज पठाउने गरेको महत्तोले बताए।
प्रतिक्रिया दिनुहोस !