election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मानो–पाथी चन्दाबाट बाँचेको विद्यालय

मानो–पाथी चन्दाबाट बाँचेको विद्यालय

सुनसरी : विद्यार्थी अभाव, स्रोत अभाव र व्यवस्थापन अभावका कारण दुर्गम बस्तीका सामुदायिक विद्यालय संकटमा छन्। यस्तो बेलामा खोटाङको रावाबेंसी गाउँपालिका–१, कुभिन्डे दम्कुस्थित कालिका आधारभूत विद्यालयले विद्यार्थीका लागि अनौठो, तर प्रभावकारी पहलमार्फत विद्यालय सञ्चालनको बाटो अवलम्बन गरेको छ। कुनै समय विद्यार्थी संख्या घट्दै जाँदा बन्द हुने अवस्थामा पुगेको यो विद्यालय सामुदायिक एकता, श्रमदान र अभिभावकको सहयोगको बलमा देशकै प्रेरणादायी सामुदायिक विद्यालय बन्न सफल भएको छ।

विद्यालयलाई सुदृढ रूपमा सञ्चालन गर्न शिक्षक, अभिभावकले स्थानीयको घरदैलो पुगेर मानो–पाथी अन्न संकलन अभियान सञ्चालन गरिरहेका छन्। दैनिक खाना–खाजाका लागि आवश्यक चामल, मकै, कोदो, तरकारीदेखि तेल, नुन, चिनी, फलफूलसम्म अभिभावकहरूले खुसीसाथ विद्यालयलाई सहयोग गरिरहेका छन्। विद्यालयका प्रधानाध्यापक टीकाराम राईले ७५ घरधुरीबाट अन्न संकलन भइसकेको बताए। आवासीय विद्यालय सञ्चालन हुँदै गरेकाले विद्यार्थीहरूको बसोबास र खानपान व्यवस्थापन मुख्य चुनौती बनेको थियो। यही समस्याको समाधान सामुदायिक सहभागिताले गरेको उनको भनाइ छ।

दम्कुमा २०३६ सालमा स्थापना भएको कालिका विद्यालयमा केही वर्षयता विद्यार्थी संख्या क्रमशः घट्दै गएपछि विद्यालयको अस्तित्व नै संकटमा पर्ने अवस्था थियो। यसलाई मध्यनजर गर्दै शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधि एकै ठाउँमा बसेर विद्यालयलाई आवासीय मोडेलमा रूपान्तरण गर्ने निर्णय गरे।

सोही निर्णयअनुसार गत जेठ १ बाट औपचारिक रूपमा आवास सञ्चालन गरी विद्यार्थी भर्नालाई प्रभावकारी बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले बताए। यस वर्ष कक्षा ८ समेत थपिएको छ। आवासीय सुविधा उपलब्ध गराएपछि अघिल्लो वर्ष ४२ विद्यार्थी रहेको विद्यालयमा यस वर्ष विद्यार्थी संख्या बढेर ६६ पुगेको अध्यक्ष राईले बताए। यीमध्ये २४ जना विद्यार्थी अन्य स्थानबाट आएका हुन्। यो अभियानपछि इलाम, सोलुखुम्बु, सप्तेश्वर, हलेसी, बुइपा, हुर्लुङ र कुभिन्डेसहित विभिन्न स्थानबाट विद्यार्थी आउने क्रम बढेको छ।

हाल ४० विद्यार्थी आवासमा बसिरहेका र २६ विद्यार्थी घरबाटै विद्यालय आउने गरेको प्रधानाध्यापक राईले बताए। अभिभावकविहीन दलित तथा आर्थिक रूपमा अत्यन्त कमजोर १० विद्यार्थीलाई विद्यालयले पूर्णरूपमा निःशुल्क आवास सुविधासहितको शिक्षा उपलब्ध गराएको उनले बताए। विद्यार्थीलाई शैक्षिक विकाससँगै व्यावहारिक सीपसमेत आवश्यक पर्ने भएकाले विद्यालयले संस्कार र संस्कृति युक्त व्यावहारिक शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ। विद्यार्थीलाई बिहान–बेलुका तरकारी बारीमा काम गर्ने, संगीत र नृत्य सिक्ने तथा विद्यालयवरिपरि सरसफाइमा लगाएर व्यावहारिक ज्ञानसमेत प्रदान गर्ने गरिएको छ।

इको–हिमाल संस्थाको सहयोगमा विद्यालयले आत्मनिर्भर उत्पादन कार्यक्रम पनि सञ्चालनमा ल्याएको प्रधानाध्यापक राईले बताए। विद्यार्थीले गोलभेडा, कोपी, खुसार्नी, मुला, गाँजर आदि खेती गरेका छन्। कुखुरा र सुँगुर पालनसमेत उनीहरूले सिकिरहेका छन्। जसले विद्यार्थीको सीप मात्र बढाइरहेको छैन, विद्यालयको खाद्यान्न व्यवस्थापनमा पनि टेवा पु¥याइरहेको नेपाल पत्रकार महासंघ खोटाङका सचीव राजकुमार भट्टराईले बताए। विद्यार्थीहरूलाई प्रविधिसँग जोड्न बिहान–बेलुका ‘एआई’सम्बन्धी आधारभूत अध्ययनसमेत गराइँदै आएको उनले बताए।

विद्यालयले आवासीय मोडेलसँगै अंग्रेजी माध्यम कक्षासमेत सुरु गरी शैक्षिक स्तरको महŒवपूर्ण उन्नतिको कदम चालिसकेको छ। हाल कक्षा २ सम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको छ। हरेक वर्ष एक कक्षा थप्दै अंग्रेजी माध्यम विस्तार गरिने योजना विद्यालयको छ। यसले गाउँका अन्य विद्यालयतर्फ गइरहेका विद्यार्थीलाई समेत पुनः गाउँमै फर्किन प्रेरित गरेको देखिन्छ।

आवासीय विद्यालय सञ्चालनका लागि वडा सदस्य विशाल राईको संयोजकत्वमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ। विभिन्न संघ–संस्था, स्थानीयवासी र बाह्य सहयोगीबाट १० लाख रुपैयाँ संकलन गरिएको वडा सदस्य राईले बताए। उक्त रकम वृद्धि गर्न ब्याजमा लगानी गरिएको उनको भनाइ छ। स्थानीय तह र व्यक्तिहरूको सहयोगले विद्यालयमा खाद्यान्न अभाव नहोस् भनेर हालै रावा बेंसी गाउँपालिकाले ३ लाख रुपैयाँ प्रदान गरेको पालिकाका लेख अधिकृत विवेक आचार्यले बताए। उक्त रकमबाट एक सय मुरी धान खरिद गरिएको विद्यालयले बताएको छ।

विद्यालयमा हाल ९ जना कर्मचारी कार्यरत छन्। जसमा दुई जना निजी शिक्षक छन्। दुई निजी शिक्षकको तलब व्यवस्थापन गर्न तथा आवास सञ्चालन गर्न विद्यालयमा स्थापना गरिएको २० लाख रुपैयाँबराबरको अक्षयकोष उपयोग भइरहेको छ। १० लाख गाउँलेहरूले चन्दा उठाएर स्थापना गरेको कोष र १० लाख विभिन्न अभिभावक तथा स्थानीयले आफ्ना बुबा–आमाको नाममा स्थापना गरिएको अक्षयकोष विद्यालयको दीर्घकालीन स्रोत बनेको छ। आवासीय सुविधा सञ्चालन भइरहे पनि विद्यार्थी बसोबासका लागि छुट्टै भवन अत्यावश्यक रहेको प्रधानाध्यापक राई बताउँछन्। अध्ययनका लागि पर्याप्त कोठा भए पनि आवास विस्तारका लागि आवश्यक संरचना अपुग रहेको उनको गुनासो छ।

देशका धेरै सामुदायिक विद्यालयहरू बन्द हुने जोखिममा परिरहेको सन्दर्भमा खोटाङको कालिका आविले समुदाय, शिक्षक र अभिभावकको सहकार्यले कसरी विद्यालयलाई पुनर्जीवित बनाउन सकिन्छ भन्ने नमुना प्रस्तुत गरेको छ। मानो–पाथी अन्न संकलन, श्रमदान, व्यावहारिक शिक्षा, उत्पादनमूलक गतिविधि र अंग्रेजी माध्यमको विस्तारसँगै यो विद्यालय दुर्गम गाउँबाटै ‘सफल सामुदायिक विद्यालय’को नयाँ पहिचान निर्माण गर्न सफल बन्ने स्थानीय अभिभावक अमित राईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.