कवि बिसुकुमार केसीको कविता संग्रह पागल हुन कहाँ सजिलो छ र ? केही समयअघि बजारमा आएको कविता कृति हो । यस कविता कृतिलाई शिखा बुक्सले प्रकाशित गरेको हो । पागल हुन कहाँ सजिलो छ र कविता कृतिभित्र ५७ वटा कविताहरू संग्रृहीत रहेका छन् । गद्य शैलीमा लेखिएका कविताहरूलाई विभिन्न उपशीर्षक दिएर यस कृतिभित्र राखिएको छ । जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश, समय र सन्दर्भ, समाज र सास्ती , आफू र आफन्तहरू, माया र मनहरू र अलप हुन पाएजस्ता उपशीर्षक राखी कविताकृति तयार पारिएको छ । कवितामा विविध विषयलाई बडो कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
मध्यआयाममा कुँदिएका कविताका पिरामिडहरू साँच्चै नै श्रुतिमधुर र मनमोहक भएर रहेका छन् । कविताहरूले नेपाली समाजको विविध विषयको यथार्थ चित्रण गरेको छ भने कतिपय सन्दर्भमा परिवर्तनको अपेक्षा, प्रकृतिको चित्रण, प्रेम र समपर्णको विषयलाई सशक्त र कलात्मक ढ्रंगबाट उठाइएको छ । प्रयोगका नाममा कुनै पनि कवितामा यान्त्रिक र सूत्रात्मक शब्द थुपारिएको छैन । त्यसैले यस संग्रहका कविताहरू सरल सुललित र बोधगम्य रहेका छन् । फरक र उत्कृष्ट बनाउनका लागि कुनै विशेष प्रयास गरिएको देखिँदैन ।
कवि हृदयले अनुभूति गरेका कुरालाई स्वाभाविक ढंगबाट प्रस्तुत गरिएको छ । व्यक्तिगत असन्तुष्टिभन्दा पनि सबैको साझा हितको विषयमा प्रश्न उठाएको यस कविता संग्रहमा देख्न सकिन्छ । सरल भाषाशैली प्रयोग गरेर गम्भीर विषयको उठान गर्न सक्ने कविको विशेष दक्षता विभिन्न कविताहरू पढ्दा अनुभूति हुन जान्छ ।
कविताका शीर्षक चयन पनि निकै सुन्दर रहेका छन् । आँगन कवितामा प्रस्तुत भएको संवेदनशील विषयको प्रस्तुति धेरै उत्कृष्ट रहेको छ । यस कविताका केही पंक्तिलाई हेरेर हामी अनुभूति गर्न सक्छौं –ः
म जन्मँदा समय त थियो नि
तर घडी थिएन
आँगनमा परेको छायाँ हेरेर
बनाइएको थियो मेरो जन्मकुण्डली
त्यसैले म जन्मेको
घडी, पला, योग नक्षत्र
सबै थाहा छ मेरो आँगनलाई ।
त्यसैगरी ऊ हाम्रा लागि युद्ध लडिरहेछ, रनबहादुरले राहत पायो, मूर्तिले माया गर्दैन, तरकारी बाली, लकडाउन, मर्निङ वाकजस्ता कविताहरूमा कविको स्वच्छन्द विचार र अनुभूति प्रस्तुत भएको हेर्न सकिन्छ । पागल हुन कहाँ सजिलो छ र ? कविताले पागल हुनलाई त्यति सजिलो छैन भन्ने अभिव्यञ्जनातर्फ संकेत गर्दै विभिन्न चेतनाका बाबजुद पनि चेतनाहीन भएर काम गर्दा एउटा पागलपन हुनु जरुरी छ तर पागल हुन सजिलो छैन भन्ने भाव अभिव्यक्त गरेको छ ।
बिग्रेको क्यामेरा शीर्षक दिइएको कवितामा अव्यवस्थित सहरीकरणले प्रकृतिको कसरी दोहन भइरहेको छ भन्ने विषयको उजागर गरेको देखिन्छ । फूलको नियति शीर्षकमा प्रस्तुत गरिएको कविताले निकै सशक्त जीवन दृष्टिलाई विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । दसैं आएको मज्जा कवितामा बालसुलभता र दसैंको प्राकृतिक स्वरूप र अहिले भएको भर्चुअल खुसीलाई तुलनात्मक रूपले प्रस्तुत गरिएको छ । मान्छेको कृत्रिमतालाई यस कविताले व्यंग्य गरेको देखिन्छ भने अर्कोतर्फ मानिसको जीवन परिवर्तन हुँदै जाँदा दसैंको रौनक हराएको कुरालाई कवितामा कलात्मक ढगबाट प्रस्तुत गरिएको छ ।
छाउगोठ कविता वर्तमान समयमा लेखिएको एउटा नितान्त भिन्नै सोचलाई स्थापित गर्न खोजिएको विचारवादी कविता हो । सुदूरपश्चिम क्षेत्रमा रहेको अन्धविश्वास र कुप्रथा बोकेको छाउगोठ प्रथालाई परिवर्तन गरी कुनै किशोरी छाउका समयमा छाउगोठ बस्न जानुपर्दा बिदा मनाउन गएको जस्तो खुसी भएर बसून् । एउटा सौखिन मान्छेले बनाएको फार्म हाउस जस्तो होस् कटेज र त्यहाँ विकेन्ड मनाउन गएका मानिसहरूको जस्तो रमाइलो अनुभूति होस् परिवर्तन यसरी पनि सम्भव छ । छाउगोठ भत्काउँदैमा मानिसमा रहेका अन्धविश्वास भत्किन्छ भन्ने छैन । बरु सकारात्मक परिवर्तनद्वारा निरन्तर गरिएका विशेष क्रियाकलापले सामाजिक तथा मानसिक अवस्थामा परिवर्तन आउन सक्छ भन्ने भाव छाउगोठमा बडो कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । यस कविता संग्रहभित्रको अर्को सशक्त कविता सच्याउनुहोस् सूचना पनि हो ।
हरेक कुरालाई गलत ढंगबाट व्याख्या गर्ने प्रवृत्ति छोडेर नयाँ ढंगबाट कलात्मक विषयहरूलाई उजागर गर्न सकिन्छ भन्ने उदाहरण कविले यस कवितामा प्रस्तुत गरेका छन् । विम्ब प्रयोगको सचेतना पनि कविमा निकै अब्बल रूपमा रहेको देख्न सकिन्छ । प्रेमका सन्दर्भमा होस् वा सामाजिक राजनीतिक र प्रेमिल विषयहरू नै किन नहुन् सबै पक्षलाई समान रूपले न्याय गरेको देख्न सकिन्छ यस कृतिमा ।
अझै भन्नुपर्दा महिला सशक्तीकरणका लागि लेखिएको मेरी छोरी अब अगाडि बढ्छे कविता नेपाली कविताको इतिहासमा भिन्नै गरिमा बोकेको कविताको रूपमा लिन सकिन्छ । यसका केही हरफ हेरौं–
आफ्नो चाल आफैं चाल्छे
कसैको जालमा पर्दिन
आफ्नो रक्षा आफैं गर्छे
अरूको ढाल पनि बन्दिन
न त कसैको शरणमा नै पर्छे
न त अपहरणसँग नै डराउँछे
रामाहरू आराम गर
रावणसँग ऊ आफैं लड्छे
मेरी छोरी अब अगाडि बढ्छे ।
धेरै नारा र कानुनी अधिकार राज्यले प्रदान गरे पनि जबसम्म छोरीका लागि आफ्ना मातापिताले अवसरको ढोका खोलिदिँदैनन् उनीहरूका लागि स्वच्छन्द र खुल्ला आकाश बनाइदिँदैनन् र मेरी छोरीलाई सुरक्षित राख्नुपर्छ भन्ने भाव र चेतना समाजका लागि दिँदैनन् तबसम्म छोरी
असुरक्षित नै रहन्छिन् ।
छोरीका लागि यति सशक्त ढंगबाट लेखिएको कविता सम्भवतः यो पहिलो नै हुनुपर्छ । हरेक पिताले यसरी सोचिदिने हो भने छोरीहरूले चमत्कारिक परिवर्तन गर्न सक्छन् भन्ने कुरामा दुई मत छैन । समाजमा निस्किएर अरुका छोरी बुहारीलाई गिद्धे दृष्टि लगाउने हरपल शारीरिक र मानसिक यातना दिन तत्पर रहने अनि छोरीहरू असुरक्षित छन् भन्ने भाष्य निर्माण गरेर परिवर्तन आउँदैन । हरेक स्त्रीलाई सम्मानपूर्वक उसको क्षमताअनुसारको अवसर दिए काँधमा काद मिलाएर अघि बढ्न सक्ने आँट छोरीमा छ । छोरीलाई दिएको यस किसिमको हौसला र ढाडस अहिलेसम्म नेपाली कवितामा कमै देख्न सकिन्छ । यस कवितामा संग्रहमा जीवनका विविध आरोह अवरोहरूलाई सरल भाषाशैलीको प्रयोग गरेर मिठासपूर्ण रूपमा उतारिएको छ ।
विम्ब प्रयोगका दृष्टिले हेर्दा पनि नयाँ विम्बको प्रयोग कविले गरेको देख्न सकिन्छ । उदारहणका रूपमा कवयित्री शीर्षकको कवितलाई लिन सकिन्छ –
कवयित्री कलमको काइँयोले
कपाल होइन अक्षरहरू कोर्छिन्
कवयित्री भाषाको नाङ्लोमा
चामल होइन अक्षरहरू केलाउँछिन्
कल्पनासँग प्रेमालाप गर्छिन
अनुभूति गर्भाधान गर्छिन्
प्रसवको पीडा मिलाएर
कविता जन्माउँछिन् ।
आम नेपाली नारीको दैनिकीमा प्रयोग हुने उनका कामलाई यस किसिमको विम्ब बनाई लेखिएको कविता निकै सुन्दर बन्न पुगेको छ । समग्रमा भन्नुपर्दा कवि बिसुकुमार केसीका कविताहरू निकै सशक्त उत्कृष्ट स्वभाविक सरल छन् । नेपाली कविता साहित्यले एउटा ओजिलो कविता कृति पाएको छ । आगामी दिनमा पनि यस्तै कविताहरूको अपेक्षा कविबाट हामीले गर्न सकिन्छ । कविताहरूले भिन्नै किसिमको जीवनदृष्टि बोकेकाले यस कविताकृति उत्कृष्ट कविताकृतिको रूपमा रहेको हरेक पाठकले अनुभूति गर्नेछन् भन्ने कुरामा मेरो दुई मत छैन ।
प्रतिक्रिया दिनुहोस !