election background

प्रतिनिधि सभा निर्वाचन २०८२

काव्यमा जीवनदृष्टि

समीक्षा

काव्यमा जीवनदृष्टि

कवि बिसुकुमार केसीको कविता संग्रह पागल हुन कहाँ सजिलो छ र ? केही समयअघि बजारमा आएको कविता कृति हो । यस कविता कृतिलाई शिखा बुक्सले प्रकाशित गरेको हो । पागल हुन कहाँ सजिलो छ र कविता कृतिभित्र ५७ वटा कविताहरू संग्रृहीत रहेका छन् । गद्य शैलीमा लेखिएका कविताहरूलाई विभिन्न उपशीर्षक दिएर यस कृतिभित्र राखिएको छ । जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश, समय र सन्दर्भ, समाज र सास्ती , आफू र आफन्तहरू, माया र मनहरू र अलप हुन पाएजस्ता उपशीर्षक राखी कविताकृति तयार पारिएको छ । कवितामा विविध विषयलाई बडो कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

मध्यआयाममा कुँदिएका कविताका पिरामिडहरू साँच्चै नै श्रुतिमधुर र मनमोहक भएर रहेका छन् । कविताहरूले नेपाली समाजको विविध विषयको यथार्थ चित्रण गरेको छ भने कतिपय सन्दर्भमा परिवर्तनको अपेक्षा, प्रकृतिको चित्रण, प्रेम र समपर्णको विषयलाई सशक्त र कलात्मक ढ्रंगबाट उठाइएको छ । प्रयोगका नाममा कुनै पनि कवितामा यान्त्रिक र सूत्रात्मक शब्द थुपारिएको छैन । त्यसैले यस संग्रहका कविताहरू सरल सुललित र बोधगम्य रहेका छन् । फरक र उत्कृष्ट बनाउनका लागि कुनै विशेष प्रयास गरिएको देखिँदैन ।

कवि हृदयले अनुभूति गरेका कुरालाई स्वाभाविक ढंगबाट प्रस्तुत गरिएको छ । व्यक्तिगत असन्तुष्टिभन्दा पनि सबैको साझा हितको विषयमा प्रश्न उठाएको यस कविता संग्रहमा देख्न सकिन्छ । सरल भाषाशैली प्रयोग गरेर गम्भीर विषयको उठान गर्न सक्ने कविको विशेष दक्षता विभिन्न कविताहरू पढ्दा अनुभूति हुन जान्छ । 

कविताका शीर्षक चयन पनि निकै सुन्दर रहेका छन् । आँगन कवितामा प्रस्तुत भएको संवेदनशील विषयको प्रस्तुति धेरै उत्कृष्ट रहेको छ । यस कविताका केही पंक्तिलाई हेरेर हामी अनुभूति गर्न सक्छौं –ः
म जन्मँदा समय त थियो नि
तर घडी थिएन
आँगनमा परेको छायाँ हेरेर
बनाइएको थियो मेरो जन्मकुण्डली
त्यसैले म जन्मेको
घडी, पला, योग नक्षत्र
सबै थाहा छ मेरो आँगनलाई ।

त्यसैगरी ऊ हाम्रा लागि युद्ध लडिरहेछ, रनबहादुरले राहत पायो, मूर्तिले माया गर्दैन, तरकारी बाली, लकडाउन, मर्निङ वाकजस्ता कविताहरूमा कविको स्वच्छन्द विचार र अनुभूति प्रस्तुत भएको हेर्न सकिन्छ । पागल हुन कहाँ सजिलो छ र ? कविताले पागल हुनलाई त्यति सजिलो छैन भन्ने अभिव्यञ्जनातर्फ संकेत गर्दै विभिन्न चेतनाका बाबजुद पनि चेतनाहीन भएर काम गर्दा एउटा पागलपन हुनु जरुरी छ तर पागल हुन सजिलो छैन भन्ने भाव अभिव्यक्त गरेको छ ।

बिग्रेको क्यामेरा शीर्षक दिइएको कवितामा अव्यवस्थित सहरीकरणले प्रकृतिको कसरी दोहन भइरहेको छ भन्ने विषयको उजागर गरेको देखिन्छ । फूलको नियति शीर्षकमा प्रस्तुत गरिएको कविताले निकै सशक्त जीवन दृष्टिलाई विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । दसैं आएको मज्जा कवितामा बालसुलभता र दसैंको प्राकृतिक स्वरूप र अहिले भएको भर्चुअल खुसीलाई तुलनात्मक रूपले प्रस्तुत गरिएको छ । मान्छेको कृत्रिमतालाई यस कविताले व्यंग्य गरेको देखिन्छ भने अर्कोतर्फ मानिसको जीवन परिवर्तन हुँदै जाँदा दसैंको रौनक हराएको कुरालाई कवितामा कलात्मक ढगबाट प्रस्तुत गरिएको छ ।

छाउगोठ कविता वर्तमान समयमा लेखिएको एउटा नितान्त भिन्नै सोचलाई स्थापित गर्न खोजिएको विचारवादी कविता हो । सुदूरपश्चिम क्षेत्रमा रहेको अन्धविश्वास र कुप्रथा बोकेको छाउगोठ प्रथालाई परिवर्तन गरी कुनै किशोरी छाउका समयमा छाउगोठ बस्न जानुपर्दा बिदा मनाउन गएको जस्तो खुसी भएर बसून् । एउटा सौखिन मान्छेले बनाएको फार्म हाउस जस्तो होस् कटेज र त्यहाँ विकेन्ड मनाउन गएका मानिसहरूको जस्तो रमाइलो अनुभूति होस् परिवर्तन यसरी पनि सम्भव छ । छाउगोठ भत्काउँदैमा मानिसमा रहेका अन्धविश्वास भत्किन्छ भन्ने छैन । बरु सकारात्मक परिवर्तनद्वारा निरन्तर गरिएका विशेष क्रियाकलापले सामाजिक तथा मानसिक अवस्थामा परिवर्तन आउन सक्छ भन्ने भाव छाउगोठमा बडो कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । यस कविता संग्रहभित्रको अर्को सशक्त कविता सच्याउनुहोस् सूचना पनि हो ।

हरेक कुरालाई गलत ढंगबाट व्याख्या गर्ने प्रवृत्ति छोडेर नयाँ ढंगबाट कलात्मक विषयहरूलाई उजागर गर्न सकिन्छ भन्ने उदाहरण कविले यस कवितामा प्रस्तुत गरेका छन् । विम्ब प्रयोगको सचेतना पनि कविमा निकै अब्बल रूपमा रहेको देख्न सकिन्छ । प्रेमका सन्दर्भमा होस् वा सामाजिक राजनीतिक र प्रेमिल विषयहरू नै किन नहुन् सबै पक्षलाई समान रूपले न्याय गरेको देख्न सकिन्छ यस कृतिमा ।

अझै भन्नुपर्दा महिला सशक्तीकरणका लागि लेखिएको मेरी छोरी अब अगाडि बढ्छे कविता नेपाली कविताको इतिहासमा भिन्नै गरिमा बोकेको कविताको रूपमा लिन सकिन्छ । यसका केही हरफ हेरौं–
आफ्नो चाल आफैं चाल्छे
कसैको जालमा पर्दिन
आफ्नो रक्षा आफैं गर्छे
अरूको ढाल पनि बन्दिन
न त कसैको शरणमा नै पर्छे
न त अपहरणसँग नै डराउँछे
रामाहरू आराम गर
रावणसँग ऊ आफैं लड्छे
मेरी छोरी अब अगाडि बढ्छे ।

धेरै नारा र कानुनी अधिकार राज्यले प्रदान गरे पनि जबसम्म छोरीका लागि आफ्ना मातापिताले अवसरको ढोका खोलिदिँदैनन् उनीहरूका लागि स्वच्छन्द र खुल्ला आकाश बनाइदिँदैनन् र मेरी छोरीलाई सुरक्षित राख्नुपर्छ भन्ने भाव र चेतना समाजका लागि दिँदैनन् तबसम्म छोरी 
असुरक्षित नै रहन्छिन् । 

छोरीका लागि यति सशक्त ढंगबाट लेखिएको कविता सम्भवतः यो पहिलो नै हुनुपर्छ । हरेक पिताले यसरी सोचिदिने हो भने छोरीहरूले चमत्कारिक परिवर्तन गर्न सक्छन् भन्ने कुरामा दुई मत छैन । समाजमा निस्किएर अरुका छोरी बुहारीलाई गिद्धे दृष्टि लगाउने हरपल शारीरिक र मानसिक यातना दिन तत्पर रहने अनि छोरीहरू असुरक्षित छन् भन्ने भाष्य निर्माण गरेर परिवर्तन आउँदैन । हरेक स्त्रीलाई सम्मानपूर्वक उसको क्षमताअनुसारको अवसर दिए काँधमा काद मिलाएर अघि बढ्न सक्ने आँट छोरीमा छ । छोरीलाई दिएको यस किसिमको हौसला र ढाडस अहिलेसम्म नेपाली कवितामा कमै देख्न सकिन्छ । यस कवितामा संग्रहमा जीवनका विविध आरोह अवरोहरूलाई सरल भाषाशैलीको प्रयोग गरेर मिठासपूर्ण रूपमा उतारिएको छ ।

विम्ब प्रयोगका दृष्टिले हेर्दा पनि नयाँ विम्बको प्रयोग कविले गरेको देख्न सकिन्छ । उदारहणका रूपमा कवयित्री शीर्षकको कवितलाई लिन सकिन्छ –
कवयित्री कलमको काइँयोले
कपाल होइन अक्षरहरू कोर्छिन्
कवयित्री भाषाको नाङ्लोमा
चामल होइन अक्षरहरू केलाउँछिन्
कल्पनासँग प्रेमालाप गर्छिन
अनुभूति गर्भाधान गर्छिन्
प्रसवको पीडा मिलाएर
कविता जन्माउँछिन् ।

आम नेपाली नारीको दैनिकीमा प्रयोग हुने उनका कामलाई यस किसिमको विम्ब बनाई लेखिएको कविता निकै सुन्दर बन्न पुगेको छ । समग्रमा भन्नुपर्दा कवि बिसुकुमार केसीका कविताहरू निकै सशक्त उत्कृष्ट स्वभाविक सरल छन् । नेपाली कविता साहित्यले एउटा ओजिलो कविता कृति पाएको छ । आगामी दिनमा पनि यस्तै कविताहरूको अपेक्षा कविबाट हामीले गर्न सकिन्छ । कविताहरूले भिन्नै किसिमको जीवनदृष्टि बोकेकाले यस कविताकृति उत्कृष्ट कविताकृतिको रूपमा रहेको हरेक पाठकले अनुभूति गर्नेछन् भन्ने कुरामा मेरो दुई मत छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.