एउटा मान्छेले जीवनभर गर्ने मिहिनेत र संघर्ष अनि उसले प्राप्त गर्ने सफलता र असफलताको कथा नै जीवनी हो । जीवन जिउने क्रममा भोग्नुपर्ने अनेकौं ऊहापोह, सुख, दुःख, पीडा, आनन्द, घटना र दुर्घटना र उसले कुनै विषयमा गर्ने साधनाले मान्छेको जीवनलाई परिपक्व र विशिष्ट बनाउँदै लान्छ । त्यो परिपक्व र विशिष्ट जीवनका सकारात्मक वा नकारात्मक पक्षहरूले अर्को मान्छेको जीवनका लागि प्रेरणा, ऊर्जा र पाठको काम गर्छ ।
अनि एउटा मान्छेको त्यो जीवनी र उसले गरेको साधनाको कथा अर्को मान्छेको जीवनका लागि प्रेरणा, ऊर्जा र पाठसँगसँगै आदर्श पनि बन्छ । यतिमात्रै पनि होइन, त्यो जीवनी र साधनाको कथा अरू अनुसन्धाताहरूका लागि महत्त्वपूर्ण दस्तावेज पनि बन्छ, जसले ततवषयमा इतिहास कोर्न सघाउँछ । इतिहासको महिमा अपार हुन्छ । त्यसैले विशिष्ट साधकहरूको जीवनीको महत्त्व पनि विशिष्ट नै हुन्छ ।
जीवनीमा कुनै व्यक्ति विशेषको सम्पूर्ण वा आंशिक जीवनका महत्त्वपूर्ण पक्षहरूको विवरण समेटिएको हुन्छ अथवा समेटिएको हुनुपर्छ भन्ने मान्यता छ । व्यक्ति विशेषले गरेको विषयगत साधना र संघर्ष अनि उसले प्राप्त गरेको सफलता अथवा असफलताको कथाले अर्को व्यक्ति अथवा पाठकको जीवनमा प्रेरणा, ऊर्जा र पाठको रूपमा काम गर्ने भएकाले जीवनी लेखन र पठनको परम्परा संसारभर चलिआएको छ । कुनै व्यक्ति विशेषको विषयगत साधना र उसले तत् विषयमा पु¥याएको योगदानलाई कदर र सम्मान गर्दै त्यस्ता विशिष्ट व्यक्तिको जीवनी लेख्ने गरिएको छ, जसले अरूलाई प्रेरणा र ऊर्जा प्रदान गर्दछ । अनि जसको जीवनी पठनका क्रममा पाठकलाई गर्व महसुस हुन्छ र श्रद्धाभाव जागृत हुन्छ ।
समालोचक डा. लक्ष्मणप्रसाद गौतमका शब्द सापटी लिएर भन्नुपर्दा सबै स्रष्टा साधक हुन सक्दैनन्, तर सबै साधक स्रष्टा पनि हुन सक्छन् । स्रष्टा हुँदैमा साधक हुन सक्दैन । कम्तीमा ४०–५० वर्ष नियमित रूपमा विषयगत साधना गरेको स्रष्टालाई मात्रै साधक भन्न सकिन्छ भन्ने समालोचक डा. गौतमको मान्यता सही लाग्दछ ।
यसैगरी योगदानको विषयमा पनि डा. लक्ष्मणप्रसाद गौतमकै शब्दलाई सापटी लिएर भन्नुपर्दा कुनै व्यक्ति विशेषले विषयगत रूपमा लामो समयसम्म गरेको विशिष्ट योगदानलाई मात्रै योगदान भन्न सकिन्छ । विषयगत योगदानकर्ताको नाउँ हटाउँदा अथवा छोपिदिँदा त्यहाँ रिक्तताको महसुस हुन्छ भने मात्रै त्यसलाई योगदान भन्न सकिन्छ । यस अर्थमा लेखक जयदेव भट्टराईले जसलाई साधक र विशिष्ट योगदानकर्ताको रूपमा नमन गरेका छन्, त्यो एकदमै सही लाग्दछ र सराहनीय लाग्दछ ।
जीवनी जुनसुकै लेखकले लेख्न सक्छन् । संसारमा धेरै लेखकले धेरै विषयका व्यक्तित्वहरूको जीवनी लेखेका छन् । गैरसाहित्यिक लेखकले लेखेको जीवनी पठनमा साहित्यिक स्वाद प्राप्त हुँदैन । तर एउटा साहित्यिक लेखकले लेखेको जीवनी पठनमा साहित्यिक स्वाद पाउन सकिन्छ । कलात्मक र बिम्बात्मक लेखनीले जीवनीलाई पनि कलात्मक र मीठासयुक्त बनाइदिन्छ र त्यस्तो जीवनी तुलनात्मक रूपमा बढी पठनीय हुन्छ ।
कुशल पत्रकार, लेखक, सम्पादक, समीक्षकको भूमिकासमेत निर्वाह गर्दै आएका जयदेव भट्टराई साहित्यिक स्रष्टा पनि हुन् । लेखक मात्रै हुनु र स्रष्टा पनि हुनुमा भिन्नता छ । स्रष्टाले सिर्जना गर्दछ भने लेखकले कुनै विषयमाथि आफ्नो विचार अभिव्यक्त गर्दछ, जसमा साहित्यिक चेतना नहुन पनि सक्छ, तर सिर्जनामा साहित्यिक चेतना अवश्य हुन्छ । जयदेव भट्टराई स्रष्टा पनि भएकाले उनले लेखेका विभिन्न विषयका विशिष्ट व्यक्तित्वको जीवनी पनि साहित्यिक चेतनाले युक्त छन् ।
झन्डै एक दर्जन कृतिका सर्जक जयदेव भट्टराईका ‘नमन’ अघिका ‘व्यक्तित्व र शब्दचित्र’, ‘साहित्यकार परिचय र अभिव्यक्ति’, ‘छाडेर जानेहरू’ र ‘स्मृतिमा छाडेर जानेहरू’ आदि कृतिहरू साहित्यमा केन्द्रित स्रष्टाहरूमा केन्द्रित थिए । ‘नमन’ भने साहित्यभन्दा पृथक् क्षेत्रमा समर्पित साधकहरूका बारेमा केन्द्रित छ । ‘नमन’ भित्र विशेषगरी गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित आदि विषय–विधामा साधना गरेका, विशिष्टता हासिल गरेका र समाजमा अलग पहिचान बनाएका विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनीलाई निकै मिठासपूर्वक प्रस्तुत गरिएका छन् । ती सम्पूर्ण नमनीय व्यक्तित्वहरूप्रति प्रेम र श्रद्धापूर्वक नमन गरिएको छ ।
अघिल्ला पुस्ताले बिर्सन आँटेका र पछिल्लो पुस्ताले देख्न र चिन्न नपाएका विशिष्ट व्यक्तित्वहरूका बारेमा विभिन्न समयमा लेखिएका जीवनीपरक संस्मरणात्मक आलेखहरूलाई संगृहीत गरिएको ‘नमन’ ले नेपाली गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित विषयको अध्ययन–अनुसन्धान र तिनको इतिहास लेखनमा विशेष सहयोग गर्ने निश्चित छ । यद्यपि अरू धेरै विषयगत साधकहरूको जीवनी लेख्न बाँकी नै छ ।
पछिल्लो पुस्ताले राष्ट्रियताको सवालमा राष्ट्रिय झण्डा त बोक्ने गरेका छन्, तर त्यो झण्डालाई अहिले हामीले देख्ने गरेको आकार र स्वरूप दिने व्यक्ति अर्थात् डिजाइनर को हो भन्ने धेरैलाई थाहा छैन । विश्वमै अलग पहिचान बोकेको नेपाली राष्ट्रिय झण्डा बनाउने शंकरनाथ रिमाललाई चिनाउने काम यो पुस्तकले गरेको छ । भिन्सेन्ट भ्यान गग, पाब्लो पिकासो र लियो नार्दो दा भिन्चीलाई मात्रै चिनेका नेपाली कला पारखीलाई उत्तम नेपाली, शशी शाह र उर्मिला उपाध्याय गर्गलाई चिनाउने काम गरेको छ । जर्ज ह्यारिसन, जोन लेनन, बब डाइलन, माइकल ज्याक्सन र म्याडोनालाई चिनेका नेपाली श्रोतालाई रत्नदास प्रकाश, शिवशंकर र कृष्णमान डंगोललाई चिनाउने काम गरेको छ । लरेन्स ओलिभर, मार्लोन ब्रान्डो, जुडी डेन्चलाई चिनेका नेपाली रंगमञ्चका दर्शकलाई कृष्णप्रसाद रिमाल, शकुन्तला शर्मा, बेखाचा (बेखानारायण महर्जन) र दाँचा (दानबहादुर शाही) लाई चिनाउने काम गरेको छ । यसैगरी एन्जेलिना जोली, जेनिफर लरेन्सदेखि ऐश्वर्य राय, दीपिका पादोकोणे र आलिया भट्टलाई भलभाँती चिन्ने नेपाली दर्शकलाई नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्दलाई चिनाउने काम गरेको छ । यसैगरी अरू धेरै नेपाली प्रतिभा र साधकलाई चिनाउने काम यो पुस्तकले गरेको छ ।
संग्रहभित्र समेटिएका नेपाली गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित विषयका विशिष्ट साधकहरूलाई तत्त्व क्षेत्रको विम्बको रूपमा प्रस्तुत गरिएको महसुस हुन्छ । ती साधकहरूले भोगेको भोगाइ र देखेको समय र समाजलाई संक्षिप्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको पाइन्छ । साथै ती साधकले बाँचेको युगलाई पनि समेट्ने प्रयास भएको छ । सम्बद्ध व्यक्तित्वहरूले भोगेको समय, देखेको समाज र तिनले लगानी गरेको क्षेत्रको कथा र व्यथा अनि तत्कालीन समय, अवस्था र समाजलाई हेर्ने तिनको दृष्टिकोणलाई कलात्मक रूपमा प्रस्तुत गरिएका छन् । विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित आलेखहरूलाई पुनर्लेखन अथवा संशोधन गर्ने र आवश्यक जानकारी थप गर्ने प्रयास पनि गरेको देखिन्छ । यस अर्थमा यो पुस्तक अध्ययन–अनुसन्धान र इतिहास लेखनका लागि एउटा अति उपयोगी दस्तावेजको रूपमा आएको छ भन्न सकिन्छ ।
‘नमन’ भित्रका आलेखहरू खासमा व्यक्तित्व केन्द्रित जीवनीपरक संस्मरण भइकन पनि निबन्धात्मक विशेषतायुक्त छन् । अझ भन्नैपर्दा यी आलेखहरू जीवनीपरक निबन्ध नै हुन् । यस अर्थमा यो संग्रहलाई स्रष्टा जयदेव भट्टराईको सिर्जनात्मक लेखन नै हो भन्न सकिन्छ । यी सबै जीवनीपरक निबन्धमा जीवनीमा जस्तो सपाट वर्णन मात्रै नभई कलात्मकता र विम्बात्मकताले गर्दा पठनलाई स्वादिलो बनाएको छ । समग्रमा भन्नुपर्दा यो पुस्तक नेपाली गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित आदि विषय–विधाका साधकलाई चिनाउने एउटा महत्त्वपूर्ण दस्तावेज बन्नेमा विश्वस्त हुन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !