शब्दचित्रमा साधकहरू

समीक्षा

शब्दचित्रमा साधकहरू

एउटा मान्छेले जीवनभर गर्ने मिहिनेत र संघर्ष अनि उसले प्राप्त गर्ने सफलता र असफलताको कथा नै जीवनी हो । जीवन जिउने क्रममा भोग्नुपर्ने अनेकौं ऊहापोह, सुख, दुःख, पीडा, आनन्द, घटना र दुर्घटना र उसले कुनै विषयमा गर्ने साधनाले मान्छेको जीवनलाई परिपक्व र विशिष्ट बनाउँदै लान्छ । त्यो परिपक्व र विशिष्ट जीवनका सकारात्मक वा नकारात्मक पक्षहरूले अर्को मान्छेको जीवनका लागि प्रेरणा, ऊर्जा र पाठको काम गर्छ ।

अनि एउटा मान्छेको त्यो जीवनी र उसले गरेको साधनाको कथा अर्को मान्छेको जीवनका लागि प्रेरणा, ऊर्जा र पाठसँगसँगै आदर्श पनि बन्छ । यतिमात्रै पनि होइन, त्यो जीवनी र साधनाको कथा अरू अनुसन्धाताहरूका लागि महत्त्वपूर्ण दस्तावेज पनि बन्छ, जसले ततवषयमा इतिहास कोर्न सघाउँछ । इतिहासको महिमा अपार हुन्छ । त्यसैले विशिष्ट साधकहरूको जीवनीको महत्त्व पनि विशिष्ट नै हुन्छ । 

जीवनीमा कुनै व्यक्ति विशेषको सम्पूर्ण वा आंशिक जीवनका महत्त्वपूर्ण पक्षहरूको विवरण समेटिएको हुन्छ अथवा समेटिएको हुनुपर्छ भन्ने मान्यता छ । व्यक्ति विशेषले गरेको विषयगत साधना र संघर्ष अनि उसले प्राप्त गरेको सफलता अथवा असफलताको कथाले अर्को व्यक्ति अथवा पाठकको जीवनमा प्रेरणा, ऊर्जा र पाठको रूपमा काम गर्ने भएकाले जीवनी लेखन र पठनको परम्परा संसारभर चलिआएको छ । कुनै व्यक्ति विशेषको विषयगत साधना र उसले तत् विषयमा पु¥याएको योगदानलाई कदर र सम्मान गर्दै त्यस्ता विशिष्ट व्यक्तिको जीवनी लेख्ने गरिएको छ, जसले अरूलाई प्रेरणा र ऊर्जा प्रदान गर्दछ । अनि जसको जीवनी पठनका क्रममा पाठकलाई गर्व महसुस हुन्छ र श्रद्धाभाव जागृत हुन्छ । 

समालोचक डा. लक्ष्मणप्रसाद गौतमका शब्द सापटी लिएर भन्नुपर्दा सबै स्रष्टा साधक हुन सक्दैनन्, तर सबै साधक स्रष्टा पनि हुन सक्छन् । स्रष्टा हुँदैमा साधक हुन सक्दैन । कम्तीमा ४०–५० वर्ष नियमित रूपमा विषयगत साधना गरेको स्रष्टालाई मात्रै साधक भन्न सकिन्छ भन्ने समालोचक डा. गौतमको मान्यता सही लाग्दछ । 

यसैगरी योगदानको विषयमा पनि डा. लक्ष्मणप्रसाद गौतमकै शब्दलाई सापटी लिएर भन्नुपर्दा कुनै व्यक्ति विशेषले विषयगत रूपमा लामो समयसम्म गरेको विशिष्ट योगदानलाई मात्रै योगदान भन्न सकिन्छ । विषयगत योगदानकर्ताको नाउँ हटाउँदा अथवा छोपिदिँदा त्यहाँ रिक्तताको महसुस हुन्छ भने मात्रै त्यसलाई योगदान भन्न सकिन्छ । यस अर्थमा लेखक जयदेव भट्टराईले जसलाई साधक र विशिष्ट योगदानकर्ताको रूपमा नमन गरेका छन्, त्यो एकदमै सही लाग्दछ र सराहनीय लाग्दछ । 

जीवनी जुनसुकै लेखकले लेख्न सक्छन् । संसारमा धेरै लेखकले धेरै विषयका व्यक्तित्वहरूको जीवनी लेखेका छन् । गैरसाहित्यिक लेखकले लेखेको जीवनी पठनमा साहित्यिक स्वाद प्राप्त हुँदैन । तर एउटा साहित्यिक लेखकले लेखेको जीवनी पठनमा साहित्यिक स्वाद पाउन सकिन्छ । कलात्मक र बिम्बात्मक लेखनीले जीवनीलाई पनि कलात्मक र मीठासयुक्त बनाइदिन्छ र त्यस्तो जीवनी तुलनात्मक रूपमा बढी पठनीय हुन्छ । 

कुशल पत्रकार, लेखक, सम्पादक, समीक्षकको भूमिकासमेत निर्वाह गर्दै आएका जयदेव भट्टराई साहित्यिक स्रष्टा पनि हुन् । लेखक मात्रै हुनु र स्रष्टा पनि हुनुमा भिन्नता छ । स्रष्टाले सिर्जना गर्दछ भने लेखकले कुनै विषयमाथि आफ्नो विचार अभिव्यक्त गर्दछ, जसमा साहित्यिक चेतना नहुन पनि सक्छ, तर सिर्जनामा साहित्यिक चेतना अवश्य हुन्छ । जयदेव भट्टराई स्रष्टा पनि भएकाले उनले लेखेका विभिन्न विषयका विशिष्ट व्यक्तित्वको जीवनी पनि साहित्यिक चेतनाले युक्त छन् । 

झन्डै एक दर्जन कृतिका सर्जक जयदेव भट्टराईका ‘नमन’ अघिका ‘व्यक्तित्व र शब्दचित्र’, ‘साहित्यकार परिचय र अभिव्यक्ति’, ‘छाडेर जानेहरू’ र ‘स्मृतिमा छाडेर जानेहरू’ आदि कृतिहरू साहित्यमा केन्द्रित स्रष्टाहरूमा केन्द्रित थिए । ‘नमन’ भने साहित्यभन्दा पृथक् क्षेत्रमा समर्पित साधकहरूका बारेमा केन्द्रित छ । ‘नमन’ भित्र विशेषगरी गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित आदि विषय–विधामा साधना गरेका, विशिष्टता हासिल गरेका र समाजमा अलग पहिचान बनाएका विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनीलाई निकै मिठासपूर्वक प्रस्तुत गरिएका छन् । ती सम्पूर्ण नमनीय व्यक्तित्वहरूप्रति प्रेम र श्रद्धापूर्वक नमन गरिएको छ । 

अघिल्ला पुस्ताले बिर्सन आँटेका र पछिल्लो पुस्ताले देख्न र चिन्न नपाएका विशिष्ट व्यक्तित्वहरूका बारेमा विभिन्न समयमा लेखिएका जीवनीपरक संस्मरणात्मक आलेखहरूलाई संगृहीत गरिएको ‘नमन’ ले नेपाली गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित विषयको अध्ययन–अनुसन्धान र तिनको इतिहास लेखनमा विशेष सहयोग गर्ने निश्चित छ । यद्यपि अरू धेरै विषयगत साधकहरूको जीवनी लेख्न बाँकी नै छ । 

पछिल्लो पुस्ताले राष्ट्रियताको सवालमा राष्ट्रिय झण्डा त बोक्ने गरेका छन्, तर त्यो झण्डालाई अहिले हामीले देख्ने गरेको आकार र स्वरूप दिने व्यक्ति अर्थात् डिजाइनर को हो भन्ने धेरैलाई थाहा छैन । विश्वमै अलग पहिचान बोकेको नेपाली राष्ट्रिय झण्डा बनाउने शंकरनाथ रिमाललाई चिनाउने काम यो पुस्तकले गरेको छ । भिन्सेन्ट भ्यान गग, पाब्लो पिकासो र लियो नार्दो दा भिन्चीलाई मात्रै चिनेका नेपाली कला पारखीलाई उत्तम नेपाली, शशी शाह र उर्मिला उपाध्याय गर्गलाई चिनाउने काम गरेको छ । जर्ज ह्यारिसन, जोन लेनन, बब डाइलन, माइकल ज्याक्सन र म्याडोनालाई चिनेका नेपाली श्रोतालाई रत्नदास प्रकाश, शिवशंकर र कृष्णमान डंगोललाई चिनाउने काम गरेको छ । लरेन्स ओलिभर, मार्लोन ब्रान्डो, जुडी डेन्चलाई चिनेका नेपाली रंगमञ्चका दर्शकलाई कृष्णप्रसाद रिमाल, शकुन्तला शर्मा, बेखाचा (बेखानारायण महर्जन) र दाँचा (दानबहादुर शाही) लाई चिनाउने काम गरेको छ । यसैगरी एन्जेलिना जोली, जेनिफर लरेन्सदेखि ऐश्वर्य राय, दीपिका पादोकोणे र आलिया भट्टलाई भलभाँती चिन्ने नेपाली दर्शकलाई नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्दलाई चिनाउने काम गरेको छ । यसैगरी अरू धेरै नेपाली प्रतिभा र साधकलाई चिनाउने काम यो पुस्तकले गरेको छ । 

संग्रहभित्र समेटिएका नेपाली गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित विषयका विशिष्ट साधकहरूलाई तत्त्व क्षेत्रको विम्बको रूपमा प्रस्तुत गरिएको महसुस हुन्छ । ती साधकहरूले भोगेको भोगाइ र देखेको समय र समाजलाई संक्षिप्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको पाइन्छ । साथै ती साधकले बाँचेको युगलाई पनि समेट्ने प्रयास भएको छ । सम्बद्ध व्यक्तित्वहरूले भोगेको समय, देखेको समाज र तिनले लगानी गरेको क्षेत्रको कथा र व्यथा अनि तत्कालीन समय, अवस्था र समाजलाई हेर्ने तिनको दृष्टिकोणलाई कलात्मक रूपमा प्रस्तुत गरिएका छन् । विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित आलेखहरूलाई पुनर्लेखन अथवा संशोधन गर्ने र आवश्यक जानकारी थप गर्ने प्रयास पनि गरेको देखिन्छ । यस अर्थमा यो पुस्तक अध्ययन–अनुसन्धान र इतिहास लेखनका लागि एउटा अति उपयोगी दस्तावेजको रूपमा आएको छ भन्न सकिन्छ ।

‘नमन’ भित्रका आलेखहरू खासमा व्यक्तित्व केन्द्रित जीवनीपरक संस्मरण भइकन पनि निबन्धात्मक विशेषतायुक्त छन् । अझ भन्नैपर्दा यी आलेखहरू जीवनीपरक निबन्ध नै हुन् । यस अर्थमा यो संग्रहलाई स्रष्टा जयदेव भट्टराईको सिर्जनात्मक लेखन नै हो भन्न सकिन्छ । यी सबै जीवनीपरक निबन्धमा जीवनीमा जस्तो सपाट वर्णन मात्रै नभई कलात्मकता र विम्बात्मकताले गर्दा पठनलाई स्वादिलो बनाएको छ । समग्रमा भन्नुपर्दा यो पुस्तक नेपाली गीत–संगीत, कला, रंगमञ्च, हास्यव्यंग्य, चलचित्र, पत्रकारिता, इतिहास, शिक्षा, विज्ञान र गणित आदि विषय–विधाका साधकलाई चिनाउने एउटा महत्त्वपूर्ण दस्तावेज बन्नेमा विश्वस्त हुन सकिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.