हराएका देउडा गीतहरू
भाषा हराउँछ कि भन्ने डर एकातिर छ भने देउडा संगीतप्रतिको मौलिकता पनि लोप हुन्छ कि भन्ने खतरा अर्कोतिर छ।
देउडा गीत र संगीतको उर्वरभूमि सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्राचीन गीतहरू विस्तारै हराउँदै गएका देखिन्छन् । ती गीतहरू संकलन गर्ने स्रष्टा र गायक गायिकाहरू पनि समाजबाट विलिन हुँदैछन् । संस्कृति संरक्षणमा लागिपरेका आदिपुरुषका अमर कृतिहरू नभेटिनाले नयाँ पुस्ताका सर्जकलाई ठूलो घाटा पर्ने नै भयो ।
हिमाली एवं पहाडी जिल्ला बझाङको सदरमुकामको पूर्वी भागमा सेतीनदीको किनारामा २००८ सालमा स्थापित शिक्षाको द्वार मानिएको सत्यवादी मावि छ । बझाङ्गी राजा तथा मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहद्वारा स्थापित सो ऐतिहासिक विद्यालयमा गत वर्ष मंसिर महिनामा पंक्तिकारले सयौं विद्यार्थी र गुरुवर्गका माझ ती पुराना गीतहरू सुनाएँ । यो अवसर विद्यालयका प्रअ खगेन्द्रप्रसाद जोशीले जुराइदिनु भएको थियो ।
मेरो माया राखी राख्यै हजारीका घुता’
ठाडी भाकाको यो गीत सुनाउँदा गुरुवर्गहरू गम्भीर भए । नयाँ पिँढीका विद्यार्थीले राम्ररी बुझ्न सकेनन् । कतिपयले गीतमा समावेश शब्द ‘चुथा’, ‘घुता’को अर्थ पनि नबुझेर प्रस्तोतालाई प्रश्न गरे । भाषा हराउँछ कि भन्ने डर एकातिर छ भने देउडा संगीतप्रतिको मौलिकता पनि लोप हुन्छ कि भन्ने खतरा अर्कोतिर छ । विद्यालयको उत्तर दिशामा रमणीय बस्ती छ, काप्रीकोट । कक्षा ९ र १० मा अध्यापन यही गाउँबाट दिदी भिनाजुकोमा बसेर गरेको थिएँ । गत वर्ष जस्तै यस पटक पनि सो ऐतिहासिक थुम्कोजस्तो देखिने काप्रीकोटमा पुगें ।
मन छुने ठाडी भाका र खेलका लयहरू नयाँ पिँढीले सुन्न छाडिसकेका छन्। समय फेरिएको छ, सञ्चार जगत्मा पनि वर्तमानमा पेनड्राइभमा राखेर गीत बजाउने गर्छन्।
काप्रीकोट, माधुकाट्न्या, रुइनाबगर, साइलाबगर, भोपुर, भात्याखोला, तलकोट, गोलाई, दमदुर, देवल, जोशीगाउँ, सुवेदीगाउँ, छान्ना, थलारा, छबिस पाथीभेर्या, बुंगल, सुनकुडा आदि बझाङका ऐतिहासिक र प्राकृतिक सौन्दर्यले परिपूर्ण बस्तीहरू हुन् । जहाँको माटोले वनजंगल र बस्तीहरूमा विद्वान् विदूषी र कलाकार जन्माएका छन् । उमाशंकर, ईश्वरनाथ, अमरराज जोशी, विष्णुभक्त जोशी, मदनराज जोशी, लालबहादुर खड्का, जयभक्त जोशी, स्व. दीर्घराज जोशी, स्व. मानबहादुर खड्का आदि विद्वान व्यक्तिहरू यही माटोमा जन्मिएका हुन । डा. सुरेन्द्र जोशीले त माहुरीपालनमा नै विद्यावारिधि गरे भने धनराज जोशीले देउडा गीतलाई अंग्रेजीमा अनुवादन
गरी देउडा गीतको महत्त्वलाई पश्चिमा मुलुकसम्म पुर्याए ।
उखु, तिल, तोरी आदि पेल्ने ठाउँ छ काप्रीकोट गाउँमा । जहाँ रिठोको बुढो रुख थियो, ५० वर्ष पहिले । जुनबेला गाउँका मानिसहरू रिठो लगाएर नै कपडाहरू धुने, हड (शरीर) धुने गर्थे । पंक्तिकारले पनि धेरै पटक कोलचौरको रिठो प्रयोग गरेको थिएँ त्यसबेला । २०३४ साल असारमा उच्च शिक्षा अध्ययन गर्न राजधानीमा प्रवेश गरेपछि २०३४ साल कात्तिक १४ गते रेडियो नेपालमा झर्रो र मौलिक शब्द र लय समेटिएको देउडा गीत गाएँ । निकै लोकप्रिय बनेको थियो उक्त ‘ओ वाज झुम्य्रौली बाज’ बोलको गीत । यसैगरी कोलचौरको रिठोको प्रसंग जोडी २०४१ साल मंसिर महिनामा रेडियो नेपालमा गीत गाएको थिएँ । काप्रीकोट गाउँ र कोलचौरकोे रिठोको अवलोकन गर्न भनी हालै त्यहा“ पुगें । गाउँ रमणीय छ, गाउँमा अहिले केही सुविधा छ । तर कोलचौरको रिठोको त्यो बुढो रुख छैन । इतिहास हराएको अनुभूति
भयो । गीत यस्तो थियो –
बेलायती साबनजसो कोलचौणको रिठो
बासीझा बैशाखी न्याउला तेरै बोली मीठो ।
आवाजविहीनहरूको आवाजका लागि सदरमुकाम चैनपुरमा ‘साइपाल’ जिल्लाकै जेठो एफएम छ । २०६१ सालमा स्थापित सो रेडियोका संस्थापक मीनबहादुर सिंह हुन् । साइपाललगायत जयपृथ्वी, बझाङ, खप्तडलगायतका एफएम पनि श्रोताका लागि सेवा गरिरहेका छन् । साइपालले देउडा गायनका लागि प्रस्तोतालाई कार्यक्रम सञ्चालक झलकबहादुर सिंह र गणेश धामीले बोलाए । पुराना गीतहरू पस्के । त्यसबेला गाएका गीतहरू ७÷८ वटा गाएँ । श्रोताहरूले पनि राम्रो प्रतिक्रिया जनाए । त्यहाँ पनि पुराना देउडाका भाकाहरूको नै माग रहेछ । तर पुराना गीतहरूको संरक्षणको कमीले होला नयाँ कलाकारहरूले गाएका नौला गीतहरू प्रसारण गर्ने रहेछन् । आम श्रोता र कार्यक्रम सञ्चालक सुनाउँदै थिए– कलाकार बुढा भए – पुराना शैलीका गीतहरू पनि क्रमिक रूपमा हराउँदै गए ।
ती गीतहरू हामीले कहाँबाट सुन्ने ?
गीतका शब्द लय र संगीतप्रतिको रुचि उनीहरूको तीव्र छ । तर रक्सी सन्काइदेऊ, चुइँगम पट्काइदेऊ, आऊ प्यारी काखमा, बस माया गरौंलगायतका शब्द राखी, उत्ताउलो पाराले संगीतमा समावेश भई देउडा गीत गाएको पनि सुनियो । पुराना पिँढीका मानिसहरू, झम्क्यो डालीमा, बाजमेरी, छमक्क छमक्क, हीरालाल, कठैदैन, आदि चर्चित देउडाका भाकाहरू (पंक्तिकारले २०३४–२०५७ सालसम्म गाएका गीतहरू) सुन्न चाहँदा रहेछन् । यसैगरी नरेन्द्रराज रेग्मीले गाएका चैरमुसी चैर, ढुकररान्चणी, भोजराज भट्टले गाएका जौपात, सावनकी रात, मोतिराज वमले है क्या है जिरा फुल्याको छै क्या, गीतहरू सुन्न चाहँदा रहेछन् ।
यसैगरी स्व.हरिश्चन्द्र कडायतका ठाडी भाका, भुवन दाहाल, राजाराम भाटका मन छुने गीत, प्रकाश थापा र डिक्रा वादी, अन्तराम विष्टका कर्णप्रिय गीतहरू लोकप्रिय भए पनि सञ्चारमाध्यममा त्यति धेरै प्रसारण भएको देखिएन । सुदूरपश्चिममा नै झर्रो खालको मौलिक गीत गाउन सिपालु नारी आवाजको पहिलो गायिका दीपा धामीका गीत पनि हराएको देख्दा दुःख लाग्योे । गुन्ट्या बुढो, हरिमल, गोपी रावल, मानमल विष्ट, भीम धामी, जयराज जोशी, जयकृष्ण जोशी जौकलाले गाएका ती मन छुने ठाडी भाका र खेलका लयहरू
नयाँ पिँढीले सुन्न छाडिसकेका छन्
माटो बग्दो कर्णालीमा भेल बग्दो सेतीमा
छुट्न्या बेला भिट भयैन रैवार छ कि यतिमा ।
बझाङ सदरमुकाम चैनपुरबाट कैलालीको धनगढीसम्म २ सय २५ किलोमिटर सडक पार गर्दा हरेक गाडीहरूमा देउडा गीत बजाइराखेका हुन्छन् । बिसु, गौरापर्वमा छिमेकी राष्ट्र भारतबाट स्वदेश फर्कने सुदूरपश्चिमका युवा कुनै बेला टेप रेकर्डरमा ती पुराना कलाकारका प्रत्येक गीतहरू बजाउने गथ्र्ये । समय फेरिएको छ, सञ्चार जगत्मा पनि वर्तमानमा पेनड्राइभमा राखेर गीत बजाउने गर्छन् ।
अहिले उनीहरू खेतीपातीको काम सकेर फेरि भारतमा पसिसके कामका लागि । बझाङ तलकोटको छणाखेतीमाण्डौमा कुलदेवताको पूजा गर्न भारतको केरलाबाट आएका भीमबहादुर विष्ट भन्दै थिए हजुरका गीतहरूको महत्त्व नेपालमा के नै छ र, गीतको महत्त्व त
भारतमा बसेका नेपालीहरूलाई पो छ त ।
तलबग्न्या करनाली माथि बग्न्या रेवा
चिउणी समाई भलाभली बाउली समाई सेवा ।
प्रतिक्रिया दिनुहोस !