फूलैफूलमा मुस्कुराउँछ अस्ट्रेलिया

फूलैफूलमा मुस्कुराउँछ अस्ट्रेलिया

सिड्नी, आफ्नै चमक र रङले भरिएको छ । त्यसमाथि जाकराण्डाका रुखहरू रंगी–बिरंगी फूल र सुवासमा गर्व गर्दै फूलेका छन् । हेरी रहुँझै लाग्ने दृश्यहरू ! सडक छेउका प्रत्येक फूललाई बिहानको न्यानो घामले हल्का छोइरहेझै लाग्छ । घाम चुमेर चम्किएका फूलहरू एउटा छुट्टै जादु फैलाइरहेका छन् । मानौं तिनको सुगन्धले पूरा सहरलाई आफ्नो संसारमा डुबाउन चाहिरहेको होस् । जहाँसम्म नजर पुग्छ, फूल नै फूलका रङहरूको उत्सव छ जस्तो ।

गुलाबी बादलझै देखिने चेरी ब्लसम र सुनौलो किरणझैं चम्किने डेफोडिल एकै ठाउँमा मिसिएर बसेका छन् । मानौं प्रकृतिको गर्भबाट रङहरूको अर्को विशाल महासागर नै जन्मिएको होस् । हावाले हल्का छोएका ती फूलहरू हल्लिँदै, नाच्दा जीवित कुनै नृत्यांगना जस्तै लाग्छन् । नीलो समुद्रका सेता हिउँजस्तै देखिने छालझै, फूलहरूको रङीन तरङ सहरभरि फैलिएको छ । सम्पूर्ण वातावरणलाई स्वर्गीय बनाउँदै ।

हल्का हावा चल्दा, फूलका पातहरू एकअर्कासँग कुरा गरिरहेझै हाउभाउ देखाउँछन् । कतै पुतलीहरू पनि उड्दै, फूलको सुगन्धमा डुबुल्की मारिरहेझै लाग्छ । कहिलेकाहीँ त पुतलीका पंख र फूलको रङ उस्तै एउटै देखिन्छ । कुन पुतली, कुन फूल ? छुट्ट्याउनै गाह्रो हुन्छ ।

वरिपरि फुर्रफुर्र उडिरहेका चराहरू । चिरबिराउँदै, मानौं फूलहरूको सुन्दरताको ताल र धुनमै नाचिरहेका हुन् कि जस्तो लाग्छ । मगमगाउँदो सुगन्ध, अनि ती रङहरूको संसार, सबैले मिलेर कुनै निम्तो दिइरहेका छन्, ‘आउ, मनभित्रका सबै थकाइ मेटाओ ।’ लाग्छ, प्रकृतिले आफैं खुसी पस्केर दिन चाहन्छ । 

क्षणक्षणमा हल्का हावा चल्छ । कुनै बेला तीव्र गतिमा । फरक–फरक रङका पातहरू पनि एकअर्कासँग चुम्बन गर्न ठोक्किन्छन् । जसरी व्यस्त सहरका सडकमा जोडीहरू एकअर्कालाई अंकमाल गर्दै चुमेर मायाको ढोका खोल्छन् । फूलका रुखहरूबाट सर्रर्र मधुर आवाज सुनिन्छ । जसले जुन भाषा बोल्छ, त्यही भाषामा बुझ्न सकिने गरी । प्रकृतिले आफैंनै गीत गाइरहेको छ । सुर, तालसँगै । ढकमक्क फूलेका घना बोटहरूबीच पुतलीहरू रंगीन चोली पहिरिएर उड्दा उत्पन्न हुने त्यो पल आफैं कल्पना गर्नुहोस् ? कस्तो जादुमयी दृश्य होला !

छेउमा उभिएको म, टोलाइरहेको छु । हेर्दाहेर्दै, फूलहरूको बीचबाट यस्तो सौन्दर्य उदायो कि प्रकृतिलाई पनि केही क्षण रोकिएर हेर्न बाध्य तुल्याउँछ जस्तो लाग्यो । त्यो उपस्थितिमा एउटा शान्त चमक थियो । ध्यान भंग भयो, आँखाले मोडिए । फिस्स मुस्कान, कोमल आँखा र हिँडाइमा बग्ने सौम्यता । सबैले मन छुने अनुभव दिँदै थियो । उनको आगमन यति सजीव थियो कि फूलहरूले आफैं निहुरिएर स्वागत गर्दैछन् जस्तो लाग्यो । मानौं उनीहरूको सुन्दरता क्षणभरमै रोकिएको होस् । अनुहारमा झल्किने शान्त, संयम र गरिमाले फूललाई पनि सामान्य बनाइदियो । उनको सौन्दर्य बाहिरी रूपभन्दा बढी भित्री आत्मविश्वास र उज्यालो उपस्थितिमा झल्किन्थ्यो । यस दृश्यले सिड्नीका सबैलाई खुसी र सन्तुष्ट बनाएको जस्तो लाग्यो । प्रकृतिले आफैं त्यस क्षणलाई जिउँदो स्मृतिमा परिणत गरि दियो । 

प्रकाश र रङको अद्भुत खेल हेर्न टिकट काट्न नपर्ने ठाउँमा म थिएँ । सूर्यको हल्का किरण जब फूलको पातमा टल्किन्छ, रङले पानीमा झरेको घामजस्तो चमक फैलाउँछ । इन्द्रेणीझै । यस्तो दृश्यलाई पनि ओझेल पार्ने उनको सुन्दरता देख्दा, विशाल सहरका व्यस्त सडक छेउका गुलाबी, रातो, पहेंलो, सेतो, बैजनी रङका फूलहरू हल्लिँदै हाँसिरहेजस्तो देखिन्छ ।

चरा चिरबिराउँदै त्यो सुन्दरतालाई स्वागत गर्दाको क्षण शब्दमा कोर्नै कठिन छ । पखेटा फैलाएर उड्दा हरेक कदममा फूलको सुगन्ध चुम्दै जान्छन । सहरको समुद्र, जसमा फूलको प्रतिविम्ब परेर पानी पनि रंगीन बनेको छ । आकाशको नीलो र फूलहरूको रङ मिसिँदा, अस्ट्रेलियन मरुभूमिले स्वप्नको झ्याल खोलेको अनुभूति हुन्छ । मनले हेर्ने चित्र, हृदयले महसुस गर्ने कविता, र प्रकृतिले लेखेको सबैभन्दा सुन्दर कथाका हजारौं किताब लेख्न प्रेरित गर्ने यस्तो क्षण । सूर्य हल्का झुल्किन्छ, फूलको रङ घामसँग खेल्दै झन् झकिझकाउ हुन्छ । ‘हेर, आज पृथ्वी कति सुन्दर भएकी छ,’ मनमनै भन्न मन लाग्ने । 

ओपेरा हाउस र सर्कुलर क्वे आफ्नो वास्तुकला, प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्त्व, र विश्वव्यापी पहिचानका कारण विश्वकै सबैभन्दा आइकोनिक स्थानका रूपमा चिनिन्छन् । युनेस्कोले सन् २००७ मा यसलाई विश्व सम्पदा स्थलको रूपमा घोषणा गरेको थियो । जसले यसलाई अझ महत्त्वपूर्ण बनाएको छ । यहाँ केवल रंगीन दिनहरू मात्र होइन, रातको बत्तीको अद्भुत दृश्य पनि मनमोहक हुन्छ । हार्बर ब्रिजको दृश्य झन् जादुमयी देखिन्छ । फोटोग्राफीका लागि उत्कृष्ट स्पट । त्यहाँका ज्याकराण्डा फूलहरूले दृश्यलाई अझ रंगीन बनाएका छन् । एउटै नाम, तर थरीथरी रङ—कुनै रुखमा बैजनी, कुनैमा रातो, अनि केहीमा नीलो छपक्कै फूलेका छन् ।

नोभेम्बर–डिसेम्बर, अर्थात् बसन्तको सुरुवाती मौसम । अस्ट्रेलियामा रंगी–बिरंगी फूल फुल्ने सुन्दर समय मानिन्छ । दृश्य हेर्दा पनि फूलझैं नरम र सुकोमल लाग्छ । उनी ज्याकराण्डा फूललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्न उभिइन् । साथीहरू धमाधम फोटो खिचिरहेका थिए । उनी एक्लै भए जस्तो लाग्थ्यो । जसको रूपले फूलहरू पनि लजाइरहेका थिए । 

मेरो हातमा पनि क्यामेरा थियो । मन मनै त्यो क्षण कैद गरौं जस्तो लाग्यो । अस्ट्रेलियाको स्थिति अलि फरक छ । सार्वजनिक ठाउँ (जस्तै सडक, पार्क) जस्तो ठाउँमा तस्बिर लिनको अनुमति सामान्यतया आवश्यक हुँदैन । तर यस्तो तस्बिर जहाँ महिलाको निजी अंग देखिने भयो भने कानुनी कारबाही हुन सक्छ । म सजग र सचेत छु । एकातिर उत्साह, अर्कोतिर यस्तो डर । अन्तरंग छविहरू बिना स्वीकृति सार्वजनिक गर्न पाइँदैन । ज्याकारेन्डा फूलका बोटमुनि तस्बिर खिच्न आउनेहरू मिश्रित अवस्थामा देखिन्थे । उनीहरूमध्येकै क्रिस्टिना सायद पृथ्वीमा एकमात्र त हैनन् ? प्रश्न मनमा थियो । 

मनभित्र कतै एउटा आवाजले भन्थ्यो, ‘यो क्षण कैद गरौं न त ।’ तर क्रिस्टिनाका सीमारेखाले छेक्छन् कि ? डर छ । सार्वजनिक सडक, खुला पार्कहरूमा तस्बिर खिच्न स्वतन्त्रता त छ । तर कोही महिलाको प्राइवेसीको भंग गर्न खोजेको संकेत मात्र भयो भने कानुनी आँधी अचानक आइपुग्छ । त्यसैले म भित्रभित्रै सचेत र सावधान बनेर उभिएको थिएँ । उत्साह र आशंकाको दुई धारबीच । म हुन्डरीझै हल्का काँपिरहेको छु । किनकि अन्तरंग छविहरू स्वीकृतिबिना विश्वको उज्यालोमा झुल्कन पाउँदैनन् भन्ने कानुन मनमा गुञ्जिरहेको थियो ।

ज्याकराण्डाका बैजनी फूलमुनि तस्बिर खिच्न आउने मानिसहरू कसैमा हर्ष, कसैमा हिचकिचाहट, कसैमा अनकनाइको मिश्रित रङ देखिन्थ्यो । भीडभित्र मेरो नजर कहिल्यै टाढिन नसक्ने क्रिस्टिनाको अनुहार अल्झिरहेको छ । कतै उनी पृथ्वीमा एक मात्रै हुन् कि ? उत्तर खोज्दै म मौनताभित्र कतै हराइरहेको छु । तस्बिर खिच्न पाइने आशमा सोधौं न त ? जस्तो लाग्थ्यो । तर अर्को मनले भन्थ्यो, ‘आँखाले खिचेका रङहरू शब्दमै उतार, शब्दमै बगाऊ ती क्षणका चित्रहरू ।’ त्यसैले म बाटो बदल्दै मौनताका मोडतर्फ लागे । 

यता, सिड्नी, मेलबर्न, क्यानभेरा, ब्रिस्बेन, पर्थ सबै सहरहरू आफैं एक चित्रका आत्माले क्यानभासमा फिँजाएझै रंगीन बन्दैछन् । ज्याकराण्डाको बैजनी स्वप्नभन्दा पर, बोटलब्रस पनि टल्कँदै फुलिरहेको त छनै हावासँग लहरिँदै नाचिरहेको छ ।

अस्ट्रेलियाको मौलिक फूल ‘गोल्डेन वाटेल’ त झन् अद्भुत । जंगल र उपत्यकालाई एकैपटक सुनौलो उज्यालोले नुहाइदिने शक्ति लिएर आएको छ । साना–साना, कपासझै नरम गोलाकार फूलका गुच्छाहरू सुनका झुप्पाझै रुखका काँधमा टाँसिएर झुल्किरहेका छन् । त्यसमाथि पनि न्यु साउथ वेल्सको आफ्नै पहिचान बोकेको फूल उज्यालो र रातो, जसको वर्णन शब्दले गर्न कठिन छ । अस्ट्रेलियन कवियत्री डायन फाही प्रकृतिको यस्तो रङमा चुर्लुम्म डुबेकी छिन । क्रिस्टिनालाई देखेको भए फाहीको कविताको रङ नै फेरिन्थ्यो होला । शब्दहरू अझै गहिरो हुँदै फूलको सुगन्धमा डुबेर आउने थिए सायद । 
 प्राकृतिक दृश्य, वनस्पति र मौसम परिवर्तनका रङका सागर ओसियान महादेशभन्दा ठूलो छ । त्योभन्दा ठूलो रङ बोकेर ज्याकराण्डाको रुखमुनि झुल्केकी थिइन् उनी । 

डायनले आफ्नो कविताको संग्रह ‘सी–वल एन्ड रिभर लाइट’ अर्थात् समुद्री ‘पर्खाल र नदीको उज्यालो’मा समुद्री छाल, ज्वारभाटालाई काव्यात्मक ढंगले साहित्यिक रसमा डुबान खोजेकी त छन् नै प्राकृतिक सुन्दरता र फूल–बिरुवाको वर्षभरिको चक्र वर्णन गरेकी छन् । पार्कमा उदायको सुन्दरताको छालसँगै बग्न चाहने मेरो मनमा उर्लेका लहरलाई फाहीको कविता संग्रहले छुन सकेको छैन । अर्का लेखक जोन वेल्य प्राकृतिवादी हुन् । जसले यो मौसममा फुल्ने फूलको रङलाई ‘भूमिको आत्मा’को संज्ञा दिएका छन ।

उनको ‘वाइल्ड नेचर’ नामक पुस्तकले प्रकृति र वनस्पतिको महत्त्वलाई विस्तृत रूपमा देखाउँछ । मेरा आँखाबाट मस्तिष्कमा छाएकी उनलाई नजिकबाट नियाल्न पाए भए उनले पनि आफ्नो किताबलाई ‘भूमिको आत्मा’को साटो अरू कुनै विशेषण दिन्थे होला । प्राकृतिक दृश्य, वनस्पति, मौसम यी त केवल ओसियान महादेशका काव्यमात्र होलान् । तर त्यसभन्दा विशाल रङ बोकेर ज्याकरान्डाको रुखमुनि उभिएकी थिइन् उनी । मौन, तर तेजस्वी; रङभन्दा परको कुनै रङकी सन्तान झै ।

अस्ट्रेलियाको प्रकृति, लेखक, कवि र फूल–जीवनका कथाहरू पनि आफैंमा रंगीन फूलबारीजस्ता छन् । त्यसमाथि पनि अस्ट्रेलियाको स्प्रिङ सुरु हुँदा एउटा रुखले सम्पूर्ण सहरहरूलाई आफ्नो रङले ढाकिदिन्छ । त्यो हो ज्याकराण्डा । सहर–सहरमा देखिने त्यो हल्का बैजनी धुवाँजस्तै वातावरण, मेरुदण्डसम्म पुग्ने सुगन्ध र एकैक्षणमा च्यातिएर हराउने मायालु सौन्दर्य... । यही फूल केवल प्राकृतिक दृश्यमात्र होइन । देशकै साहित्य, स्मृति र संवेदनामा पनि गहिरो छाप छोडेको छ ।

सन् १९३० को दशकमा अस्ट्रेलियन लेडी कारा जारा गौरीलाई सिडनीको सौन्दर्यीकरण गर्न ज्याकरण्डाका थप रुख रोपेकी थिइन् । लेडी गौरी त्यो बेलाकी गभर्नर–जनरलकी पत्नी । दोस्रो विश्वयुद्धको समयमा पैसा जुटाउन कन्सर्ट र फेट्स आयोजना गर्न अथक रूपमा काम गर्ने सक्रिय सदस्य थिइन् । 

यस्तो बैजनी फूल टाउकोमा खस्यो भने भाग्यमानी भइन्छ भन्ने किंवदन्ती छ यहाँ । यसले अस्टे«लियनहरू पनि नेपालीले झै भाग्यमा पनि भरोसा गर्दा रैछन् जस्तो लाग्यो । यस्तै भरोसा सँगालेका मानिसहरू हावा चल्दा रुखको तल आइपुग्छन् । भिड धेरै हुने भएकाले कुनै कुनै बेला त उत्तर सिड्नी काउन्सिल पैदल यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबन्ध लगाउन बाध्य हुने रैछ । यस्तो मौसममा फूलहरूको आत्मा शब्द चित्रमा उतार्ने यहाँका प्रतिभाशाली कवि र कवियत्रीलाई बिर्सन सकिन्न । यहाँ फूलभन्दा किताबका बगैंचा धेरै छन् । त्यस्तै फूलको वर्णन गरिएका किताबहरूमध्ये ‘ग्लास फ्लावर्स’मा पनि सम्भवतः धेरै फूल र प्रकृतिको सुन्दरता समेटेकी छन् डायनले । जसमा प्रत्येक फूललाई जीवन्त चित्रण गरेकी छन् । पातहरूको तन्तु फूलको शिराको झन्झनाहट र अन्तरनिहित सुगन्धसम्म । विडम्बना, सिड्नी सहरमा एक दिन उदाएको बैजनी ज्याकराण्डाको बोटोहरू मुनि उभिएकी उनको महिमामय दृश्य फेहीको नजरमा पर्न पाएन । प्रकृतिको सुन्दर क्षण कहिले प्राप्त हुन्छ, कहिले छुट्छ । फूलहरू सबैलाई समान अवसर पनि दिँदैनन् । 

ग्रे ग्री डे यहाँका प्रसिद्ध कथाकार तथा लेखक कवि र संगीतकार पनि । प्रकृति र स्थानको रूपान्तरणलाई भावनात्मक त विश्लेषणात्मक भाषामा उतार्न सक्ने । तट, समुद्री किनारा, घनाजंगल सबै उनको लेखनमा मानवीय संवेदना लिएर बग्छन् । उनी पनि ज्याकराण्डाको सांस्कृतिक र अर्थबारे धेरै लेखेका छन् । 
दक्षिण अमेरिकाबाट आएको एउटा सुन्दर फूल कसरी अस्ट्रेलियाको वसन्तको प्रतीक भयो भन्ने गहिरो दृष्टिकोणसहित । तर मेरो नजरमा छाएकी क्रिस्टिनाको सामु उनका कविता र किताब फिक्का जस्तो लाग्छ । ‘लभ लेटर टु दी ज्याकराण्डा’ इन्डिगो प्यरी जसले एउटा पत्र नै लेखेका छन् । प्रेमपत्रजस्तै उनको लेखले पनि फिक्का लाग्छ क्रिस्टिनाका सामु । 

इन्डिगोका लागि यो त्यस्ता फूल हो जुन साथी, स्मृति, आस्था सबै हो । केही हप्ताको छोटो जीवन भए पनि । त्यो क्षण, सुगन्ध, सम्झना र सौन्दर्यको शुद्ध उत्सव । यो त्यस्तो रूख हो, जसले टाढा हुँदा बिर्सन दिँदैन र नजिक पुगेपछि विगतका मीठा यादहरूको भावनात्मक अनुभूतिको न्यानो ओढाइदिन्छ । 
 हुन पनि अस्ट्रेलियाको प्रकृति फूलका रङजस्तै छ । कतै नीलो सागर त कतै हरियाली । फूलैफूल । कतै रातै मरुभूमि । कविता र कथाको सिर्जनशील फूलबारी । यहाँको मरुभूमि केवल रंगीन माटोमात्र होइन, धेरै लेखकहरूको लागि जीवन, मौनता, दर्शन, र आत्म–अन्वेषणको क्यान्भास बनेको छ । 
डोरोथी म्याकेलर, लेस मरे, ओडगरु न्युनुकल, ब्रुस चककटविन, टोनी बिर्चजस्ता लेखक, कवि र सांस्कृतिक व्यक्तित्वहरूका कृतिमा फूल त कहिलेकाहीँ मात्र फुल्छ । तर प्रत्येक पंक्तिमा माटोको सुगन्ध, तातोपन, मौनता फूलझै जीवन बोकेर आएका छन् । किनकि फूल जीवन हो । 
 ज्याकराण्डाको बैजनी धुवाँ होस्, मरुभूमिको रातको मौनता होस्, वा फ्लोरिस्टको हातमा सुमसुम्याइरहेको गुलदस्ता । साहित्य, स्मृति र कलाका धागाहरूमा गाँसिएका छन् ।

फूल यहाँ–त्यहाँ मात्र फुल्दैन । कसैको लेखमा, कवितामा, चित्रमा, सम्झनामा, व्यवसायमा, हरेक हृदयमा आफ्नै रङ छोड्दै फुलिरहेकै हुन्छन् । तर यसविपरीत दृश्य पनि अनगिन्ती छन् । यहाँ प्रकृतिको दुई चरित्र स्पष्ट देखिन्छ । एकातिर कठोरता, अर्कोतिर नाजुक सौन्दर्य । मरुभूमि पनि आफैंमा एउटा सुन्दर फूल । मौनता, तातोपन र दुर्लभ फुलाई । मरुभूमि क्षेत्रमा गर्मी उच्च छ । तापमान बढ्दै छ । सिड्नीको सुन्दरतामा डुबेका मेरा आँखा मरुभूमि नजिक जाँदैछन् । भिक्टोरिया राज्यको उत्तर पश्चिममा ‘सनसेट डेजर्ट’ अर्थात् सूर्यास्त मरुभूमि छ, त्यतातिर । 

वातावरणमा धूलो र सुक्खा हावा हाबी छ । यद्यपि छिटपुट झरीले कतिपय क्षेत्रमा ‘डेजर्ट ब्लुम’एक किसिमको चमत्कारिक फूलहरू देखिन्छन् । जुन रङ रङका जंगली फूल । जस्तै पहेंलो, रातो, बैजनी, सेतो । तर उनीहरूको जीवन लामो हुँदैन । बढीमा एक साता । त्यसपछि सबै मर्छन् । 

विशेषज्ञहरूका अनुसार मरुभूमिको फुलाई अनियमित र दुर्लभ हुन्छ । पानी परेको केही दिनमा स्पिनिफेक्स घाँस पनि पलाउछ । तर केही दिनमै हराउँछन् । यस्ता दिनहरूलाई मरुभूमिको जीवनले स्वास फेरेको क्षण ठान्दा रहेछन भिक्टोरियाका बासिन्दा । प्रकृतिका यस्ता विपरीत दुई कथा । निकै भावनात्मक छन । मरुभूमि र फूल फुल्ने मौसम दुवै नै प्रकृतिको शक्ति र परिवर्तनशीलता देखाउने समय हुन् । तर दृष्टिकोण फरक हुन सक्छन् । मरुभूमि विशाल छ । तर गम्भीर र कठोर छ । जहाँ जीवन मौन तर अडिग छ ।

पर्यावरणविद्हरूका अनुसार यी विपरीत अवस्थाले अस्ट्रेलियाको जैविक विविधता र भौगोलिक चरित्र दुवैलाई स्पष्ट गर्छ । देशको पूर्वी भाग वर्षौंदेखि फूलकेन्द्रित उत्सवका लागि चर्चित अनि मध्य र पश्चिमी भाग मानवलगायत जीवजन्तुको सहनशीलताको परीक्षणस्थल मानिन्छ । मरुभूमि पुगेर फर्किनेहरू कतिपयले त्यहाँको शान्ति, विशालता र मौनताले आफूमाथि नयाँ प्रभाव पारेको बताउँछन् । एकातिर वसन्तले सहरहरूमा रङ भर्छ । अर्कोतिर मरुभूमि आफ्नो मौन र कठोर पहिचानमा उभिएको छ । कस्तो विचित्र चित्र । दुवैले प्रकृतिको फरक रूप, फरक कथा र फरक समयको आवाज सुनाइरहेका छन् । 

एकातिर सौन्दर्य अर्को, अनन्त मौनता । दुई चरित्र, एउटै कविता । मरुभूमि र फूल—दुवै विपरीत संसारजस्ता देखिन्छन् । तर दुवैले प्रकृतिको एउटै सत्य सुनाउछन् । जीवन कठोर हुन्छ र नाजुक पनि । मौन हुन्छ र रंगीन पनि ।
अस्ट्रेलियाको करिब १८ लाख वर्ग किलोमिटर क्षेत्र मरुभूमि वा अति सुक्खा छ । देशको कुल भूमिको करिब झन्डै ३५ देखि ४० प्रतिशत । ग्रेट भिक्टोरिया डेजर्ट, ग्रेट स्यान्डी, तानामी, सिम्प्सन, गिब्सन, लिटिल स्यान्डी, स्ट्रट्जेकी, पेडिरका र नलबार्बर । यी क्षेत्रहरूमा वर्षा अत्यन्त न्यून हुने हुँदा बोटबिरुवा पाउन कठिन हुन्छ । तर जहाँ कुनै फूल फुल्दैन भन्न सकिँदैन । मरुभूमिमा पनि कहिलेकाहीँ पानी परेपछि वाइल्डफ्लावर, स्पिनिफेक्ससँगै साना गुलाबी/सेतो जंगली फूल, नाजुक डेजर्ट डेजीजस्ता बिरुवाहरू अचानक फुलेर तत्काल हराउने प्रक्रिया चलिरहन्छ । 

मानिस बस्न अत्यन्तै कठिन हुने मरुभूमि धेरै छ । तर पूर्ण रूपमा मानिस बस्न नसक्ने ठाउँ छैनन् । किनकि कुनै न कुनै ढंगले केही न कोही मरुभूमिमा पुग्छन् । उत्तरी अस्ट्रेलियाको नर्दन टेरोटोरीमा पर्ने अत्यन्त ठूलो र एकै ढुंगाबाट बनेको पहाड । संसारकै सबैभन्दा ठूलो मोनोलिथ (एकै टुक्रा ढुंगा) मध्ये एक । गाढा रातो रङको कारण रातो मरुभूमि क्षेत्रको प्रतीक । त्यो ढुंगाललाई समेत कवि लेस मुरे सुनौलो ठान्छन् । 
उनी लेख्छन्, 
‘अयर्स रकको भित्र कतै,
रातो ढुंगाको हृदय अझै धडकरहेको छ 
जहाँ प्राचीन गीतहरू
रेतसँगै सुतिरहेका छन् ।’ 

मरुभूमिको विशालता, मौनता, रङ, आत्मिक सुन्दरता सबै समेटकी छन्, ब्रुस चैटविनले । कविताको कल्पना र रचना गर्न कतिपय कवि मरुभूमिभित्र लुटपुुटिएका छन । यस्तै एउटी कवियत्री हुँन राबर्ट डेसाइ । उनले १९७७ मा एलिस स्प्रिङ्सबाट यात्रा गरेकी थिइन् । करिब २७ हजार किलोमिटर मरुभूमि पार गरेर पश्चिमी अस्ट्रेलियाको तट हिन्द महासागर सम्म । 

ऊँटबाट गरेको त्यो यात्राका अनुभवलाई पुस्तक बाटो अर्थात (ट्र्याक ) मा उतारिन । मरुभूमिका बारेमा १९८० मा लेखिएको किताब विश्वभर प्रसिद्ध छ ।
प्राकृतिक, दार्शनिक, भावनात्मक र वैज्ञानिक दृष्टिले अनौठो, अद्भुत अस्ट्रेलियाली भूमि । विश्वकै अद्वितीय परिदृश्य । कतै मौन गुञ्जिन्छ प्रकृतिको सबैभन्दा शक्तिशाली आवाज बनेर । रातो भूमिमा झल्किन्छ आध्यात्मिक सुन्दरता लिएर । बिहान सुनौलो, दिउँसो चम्किलो, बेलुकी रातो–सुनौलो, रातमा नीलो–काला । केही सेकेन्डमै प्रकृतिले रङ बदल्छ । 

मरुभूमि ठूलोमात्र होइन, अन्तहीन देखिन्छ । हेर्छु चारैतिर । क्षितिज कहाँ छ ? थाहा छैन । वर्षौंसम्म सुकेको भूमि । जब थोरै वर्षा हुन्छ अनि हजारौं फूलहरू अचानक फुल्छन् । चमत्कारझै लाग्ने प्रकृतिको अद्भुत रूप । मरुभूमि पनि सुन्दर छ । त्यहाँ प्रकृति कुनै सजावट, बनावट, कोलाहल बिना सबैभन्दा शुद्ध रूपमा आफैंलाई प्रकट गर्छ ।

भरुभूमि एउटा मौनको संसार । मरुभूमि त्यो ठाउँ हो, जहाँ आवाजहरू हराउँछन् र मनहरूले आफ्नै धड्कन सुन्छ । अनि त्यो मौनता नै सबैभन्दा ठूलो गुरुजस्तो लाग्छ । त्यो भूमिमा पूर्ण स्वतन्त्रता महसुस हुन्छ । न ठाँटी कठोर तर सत्य बोल्छ । कठोर, निर्दयी र सीधा सत्य । पृथ्वीको आत्मा । राबर्ट डेसाइ मरुभूमिलाई प्राचीन आध्यात्मिक ठाउँको रूपमा वर्णन गर्छिन् । उनको अनुभवमा मरुभूमि त्यो ठाउँ हो, जहाँ मान्छे हराए जस्तो लाग्छ । तर त्यही हराइ भित्र आफ्नो पहिचान भेट्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.