फूलैफूलमा मुस्कुराउँछ अस्ट्रेलिया
सिड्नी, आफ्नै चमक र रङले भरिएको छ । त्यसमाथि जाकराण्डाका रुखहरू रंगी–बिरंगी फूल र सुवासमा गर्व गर्दै फूलेका छन् । हेरी रहुँझै लाग्ने दृश्यहरू ! सडक छेउका प्रत्येक फूललाई बिहानको न्यानो घामले हल्का छोइरहेझै लाग्छ । घाम चुमेर चम्किएका फूलहरू एउटा छुट्टै जादु फैलाइरहेका छन् । मानौं तिनको सुगन्धले पूरा सहरलाई आफ्नो संसारमा डुबाउन चाहिरहेको होस् । जहाँसम्म नजर पुग्छ, फूल नै फूलका रङहरूको उत्सव छ जस्तो ।
गुलाबी बादलझै देखिने चेरी ब्लसम र सुनौलो किरणझैं चम्किने डेफोडिल एकै ठाउँमा मिसिएर बसेका छन् । मानौं प्रकृतिको गर्भबाट रङहरूको अर्को विशाल महासागर नै जन्मिएको होस् । हावाले हल्का छोएका ती फूलहरू हल्लिँदै, नाच्दा जीवित कुनै नृत्यांगना जस्तै लाग्छन् । नीलो समुद्रका सेता हिउँजस्तै देखिने छालझै, फूलहरूको रङीन तरङ सहरभरि फैलिएको छ । सम्पूर्ण वातावरणलाई स्वर्गीय बनाउँदै ।
हल्का हावा चल्दा, फूलका पातहरू एकअर्कासँग कुरा गरिरहेझै हाउभाउ देखाउँछन् । कतै पुतलीहरू पनि उड्दै, फूलको सुगन्धमा डुबुल्की मारिरहेझै लाग्छ । कहिलेकाहीँ त पुतलीका पंख र फूलको रङ उस्तै एउटै देखिन्छ । कुन पुतली, कुन फूल ? छुट्ट्याउनै गाह्रो हुन्छ ।
क्षणक्षणमा हल्का हावा चल्छ । कुनै बेला तीव्र गतिमा । फरक–फरक रङका पातहरू पनि एकअर्कासँग चुम्बन गर्न ठोक्किन्छन् । जसरी व्यस्त सहरका सडकमा जोडीहरू एकअर्कालाई अंकमाल गर्दै चुमेर मायाको ढोका खोल्छन् । फूलका रुखहरूबाट सर्रर्र मधुर आवाज सुनिन्छ । जसले जुन भाषा बोल्छ, त्यही भाषामा बुझ्न सकिने गरी । प्रकृतिले आफैंनै गीत गाइरहेको छ । सुर, तालसँगै । ढकमक्क फूलेका घना बोटहरूबीच पुतलीहरू रंगीन चोली पहिरिएर उड्दा उत्पन्न हुने त्यो पल आफैं कल्पना गर्नुहोस् ? कस्तो जादुमयी दृश्य होला !
छेउमा उभिएको म, टोलाइरहेको छु । हेर्दाहेर्दै, फूलहरूको बीचबाट यस्तो सौन्दर्य उदायो कि प्रकृतिलाई पनि केही क्षण रोकिएर हेर्न बाध्य तुल्याउँछ जस्तो लाग्यो । त्यो उपस्थितिमा एउटा शान्त चमक थियो । ध्यान भंग भयो, आँखाले मोडिए । फिस्स मुस्कान, कोमल आँखा र हिँडाइमा बग्ने सौम्यता । सबैले मन छुने अनुभव दिँदै थियो । उनको आगमन यति सजीव थियो कि फूलहरूले आफैं निहुरिएर स्वागत गर्दैछन् जस्तो लाग्यो । मानौं उनीहरूको सुन्दरता क्षणभरमै रोकिएको होस् । अनुहारमा झल्किने शान्त, संयम र गरिमाले फूललाई पनि सामान्य बनाइदियो । उनको सौन्दर्य बाहिरी रूपभन्दा बढी भित्री आत्मविश्वास र उज्यालो उपस्थितिमा झल्किन्थ्यो । यस दृश्यले सिड्नीका सबैलाई खुसी र सन्तुष्ट बनाएको जस्तो लाग्यो । प्रकृतिले आफैं त्यस क्षणलाई जिउँदो स्मृतिमा परिणत गरि दियो ।
प्रकाश र रङको अद्भुत खेल हेर्न टिकट काट्न नपर्ने ठाउँमा म थिएँ । सूर्यको हल्का किरण जब फूलको पातमा टल्किन्छ, रङले पानीमा झरेको घामजस्तो चमक फैलाउँछ । इन्द्रेणीझै । यस्तो दृश्यलाई पनि ओझेल पार्ने उनको सुन्दरता देख्दा, विशाल सहरका व्यस्त सडक छेउका गुलाबी, रातो, पहेंलो, सेतो, बैजनी रङका फूलहरू हल्लिँदै हाँसिरहेजस्तो देखिन्छ ।
चरा चिरबिराउँदै त्यो सुन्दरतालाई स्वागत गर्दाको क्षण शब्दमा कोर्नै कठिन छ । पखेटा फैलाएर उड्दा हरेक कदममा फूलको सुगन्ध चुम्दै जान्छन । सहरको समुद्र, जसमा फूलको प्रतिविम्ब परेर पानी पनि रंगीन बनेको छ । आकाशको नीलो र फूलहरूको रङ मिसिँदा, अस्ट्रेलियन मरुभूमिले स्वप्नको झ्याल खोलेको अनुभूति हुन्छ । मनले हेर्ने चित्र, हृदयले महसुस गर्ने कविता, र प्रकृतिले लेखेको सबैभन्दा सुन्दर कथाका हजारौं किताब लेख्न प्रेरित गर्ने यस्तो क्षण । सूर्य हल्का झुल्किन्छ, फूलको रङ घामसँग खेल्दै झन् झकिझकाउ हुन्छ । ‘हेर, आज पृथ्वी कति सुन्दर भएकी छ,’ मनमनै भन्न मन लाग्ने ।
ओपेरा हाउस र सर्कुलर क्वे आफ्नो वास्तुकला, प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्त्व, र विश्वव्यापी पहिचानका कारण विश्वकै सबैभन्दा आइकोनिक स्थानका रूपमा चिनिन्छन् । युनेस्कोले सन् २००७ मा यसलाई विश्व सम्पदा स्थलको रूपमा घोषणा गरेको थियो । जसले यसलाई अझ महत्त्वपूर्ण बनाएको छ । यहाँ केवल रंगीन दिनहरू मात्र होइन, रातको बत्तीको अद्भुत दृश्य पनि मनमोहक हुन्छ । हार्बर ब्रिजको दृश्य झन् जादुमयी देखिन्छ । फोटोग्राफीका लागि उत्कृष्ट स्पट । त्यहाँका ज्याकराण्डा फूलहरूले दृश्यलाई अझ रंगीन बनाएका छन् । एउटै नाम, तर थरीथरी रङ—कुनै रुखमा बैजनी, कुनैमा रातो, अनि केहीमा नीलो छपक्कै फूलेका छन् ।
नोभेम्बर–डिसेम्बर, अर्थात् बसन्तको सुरुवाती मौसम । अस्ट्रेलियामा रंगी–बिरंगी फूल फुल्ने सुन्दर समय मानिन्छ । दृश्य हेर्दा पनि फूलझैं नरम र सुकोमल लाग्छ । उनी ज्याकराण्डा फूललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्न उभिइन् । साथीहरू धमाधम फोटो खिचिरहेका थिए । उनी एक्लै भए जस्तो लाग्थ्यो । जसको रूपले फूलहरू पनि लजाइरहेका थिए ।
मेरो हातमा पनि क्यामेरा थियो । मन मनै त्यो क्षण कैद गरौं जस्तो लाग्यो । अस्ट्रेलियाको स्थिति अलि फरक छ । सार्वजनिक ठाउँ (जस्तै सडक, पार्क) जस्तो ठाउँमा तस्बिर लिनको अनुमति सामान्यतया आवश्यक हुँदैन । तर यस्तो तस्बिर जहाँ महिलाको निजी अंग देखिने भयो भने कानुनी कारबाही हुन सक्छ । म सजग र सचेत छु । एकातिर उत्साह, अर्कोतिर यस्तो डर । अन्तरंग छविहरू बिना स्वीकृति सार्वजनिक गर्न पाइँदैन । ज्याकारेन्डा फूलका बोटमुनि तस्बिर खिच्न आउनेहरू मिश्रित अवस्थामा देखिन्थे । उनीहरूमध्येकै क्रिस्टिना सायद पृथ्वीमा एकमात्र त हैनन् ? प्रश्न मनमा थियो ।
मनभित्र कतै एउटा आवाजले भन्थ्यो, ‘यो क्षण कैद गरौं न त ।’ तर क्रिस्टिनाका सीमारेखाले छेक्छन् कि ? डर छ । सार्वजनिक सडक, खुला पार्कहरूमा तस्बिर खिच्न स्वतन्त्रता त छ । तर कोही महिलाको प्राइवेसीको भंग गर्न खोजेको संकेत मात्र भयो भने कानुनी आँधी अचानक आइपुग्छ । त्यसैले म भित्रभित्रै सचेत र सावधान बनेर उभिएको थिएँ । उत्साह र आशंकाको दुई धारबीच । म हुन्डरीझै हल्का काँपिरहेको छु । किनकि अन्तरंग छविहरू स्वीकृतिबिना विश्वको उज्यालोमा झुल्कन पाउँदैनन् भन्ने कानुन मनमा गुञ्जिरहेको थियो ।
ज्याकराण्डाका बैजनी फूलमुनि तस्बिर खिच्न आउने मानिसहरू कसैमा हर्ष, कसैमा हिचकिचाहट, कसैमा अनकनाइको मिश्रित रङ देखिन्थ्यो । भीडभित्र मेरो नजर कहिल्यै टाढिन नसक्ने क्रिस्टिनाको अनुहार अल्झिरहेको छ । कतै उनी पृथ्वीमा एक मात्रै हुन् कि ? उत्तर खोज्दै म मौनताभित्र कतै हराइरहेको छु । तस्बिर खिच्न पाइने आशमा सोधौं न त ? जस्तो लाग्थ्यो । तर अर्को मनले भन्थ्यो, ‘आँखाले खिचेका रङहरू शब्दमै उतार, शब्दमै बगाऊ ती क्षणका चित्रहरू ।’ त्यसैले म बाटो बदल्दै मौनताका मोडतर्फ लागे ।
यता, सिड्नी, मेलबर्न, क्यानभेरा, ब्रिस्बेन, पर्थ सबै सहरहरू आफैं एक चित्रका आत्माले क्यानभासमा फिँजाएझै रंगीन बन्दैछन् । ज्याकराण्डाको बैजनी स्वप्नभन्दा पर, बोटलब्रस पनि टल्कँदै फुलिरहेको त छनै हावासँग लहरिँदै नाचिरहेको छ ।
अस्ट्रेलियाको मौलिक फूल ‘गोल्डेन वाटेल’ त झन् अद्भुत । जंगल र उपत्यकालाई एकैपटक सुनौलो उज्यालोले नुहाइदिने शक्ति लिएर आएको छ । साना–साना, कपासझै नरम गोलाकार फूलका गुच्छाहरू सुनका झुप्पाझै रुखका काँधमा टाँसिएर झुल्किरहेका छन् । त्यसमाथि पनि न्यु साउथ वेल्सको आफ्नै पहिचान बोकेको फूल उज्यालो र रातो, जसको वर्णन शब्दले गर्न कठिन छ । अस्ट्रेलियन कवियत्री डायन फाही प्रकृतिको यस्तो रङमा चुर्लुम्म डुबेकी छिन । क्रिस्टिनालाई देखेको भए फाहीको कविताको रङ नै फेरिन्थ्यो होला । शब्दहरू अझै गहिरो हुँदै फूलको सुगन्धमा डुबेर आउने थिए सायद ।
प्राकृतिक दृश्य, वनस्पति र मौसम परिवर्तनका रङका सागर ओसियान महादेशभन्दा ठूलो छ । त्योभन्दा ठूलो रङ बोकेर ज्याकराण्डाको रुखमुनि झुल्केकी थिइन् उनी ।
डायनले आफ्नो कविताको संग्रह ‘सी–वल एन्ड रिभर लाइट’ अर्थात् समुद्री ‘पर्खाल र नदीको उज्यालो’मा समुद्री छाल, ज्वारभाटालाई काव्यात्मक ढंगले साहित्यिक रसमा डुबान खोजेकी त छन् नै प्राकृतिक सुन्दरता र फूल–बिरुवाको वर्षभरिको चक्र वर्णन गरेकी छन् । पार्कमा उदायको सुन्दरताको छालसँगै बग्न चाहने मेरो मनमा उर्लेका लहरलाई फाहीको कविता संग्रहले छुन सकेको छैन । अर्का लेखक जोन वेल्य प्राकृतिवादी हुन् । जसले यो मौसममा फुल्ने फूलको रङलाई ‘भूमिको आत्मा’को संज्ञा दिएका छन ।
उनको ‘वाइल्ड नेचर’ नामक पुस्तकले प्रकृति र वनस्पतिको महत्त्वलाई विस्तृत रूपमा देखाउँछ । मेरा आँखाबाट मस्तिष्कमा छाएकी उनलाई नजिकबाट नियाल्न पाए भए उनले पनि आफ्नो किताबलाई ‘भूमिको आत्मा’को साटो अरू कुनै विशेषण दिन्थे होला । प्राकृतिक दृश्य, वनस्पति, मौसम यी त केवल ओसियान महादेशका काव्यमात्र होलान् । तर त्यसभन्दा विशाल रङ बोकेर ज्याकरान्डाको रुखमुनि उभिएकी थिइन् उनी । मौन, तर तेजस्वी; रङभन्दा परको कुनै रङकी सन्तान झै ।
अस्ट्रेलियाको प्रकृति, लेखक, कवि र फूल–जीवनका कथाहरू पनि आफैंमा रंगीन फूलबारीजस्ता छन् । त्यसमाथि पनि अस्ट्रेलियाको स्प्रिङ सुरु हुँदा एउटा रुखले सम्पूर्ण सहरहरूलाई आफ्नो रङले ढाकिदिन्छ । त्यो हो ज्याकराण्डा । सहर–सहरमा देखिने त्यो हल्का बैजनी धुवाँजस्तै वातावरण, मेरुदण्डसम्म पुग्ने सुगन्ध र एकैक्षणमा च्यातिएर हराउने मायालु सौन्दर्य... । यही फूल केवल प्राकृतिक दृश्यमात्र होइन । देशकै साहित्य, स्मृति र संवेदनामा पनि गहिरो छाप छोडेको छ ।
सन् १९३० को दशकमा अस्ट्रेलियन लेडी कारा जारा गौरीलाई सिडनीको सौन्दर्यीकरण गर्न ज्याकरण्डाका थप रुख रोपेकी थिइन् । लेडी गौरी त्यो बेलाकी गभर्नर–जनरलकी पत्नी । दोस्रो विश्वयुद्धको समयमा पैसा जुटाउन कन्सर्ट र फेट्स आयोजना गर्न अथक रूपमा काम गर्ने सक्रिय सदस्य थिइन् ।
यस्तो बैजनी फूल टाउकोमा खस्यो भने भाग्यमानी भइन्छ भन्ने किंवदन्ती छ यहाँ । यसले अस्टे«लियनहरू पनि नेपालीले झै भाग्यमा पनि भरोसा गर्दा रैछन् जस्तो लाग्यो । यस्तै भरोसा सँगालेका मानिसहरू हावा चल्दा रुखको तल आइपुग्छन् । भिड धेरै हुने भएकाले कुनै कुनै बेला त उत्तर सिड्नी काउन्सिल पैदल यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबन्ध लगाउन बाध्य हुने रैछ । यस्तो मौसममा फूलहरूको आत्मा शब्द चित्रमा उतार्ने यहाँका प्रतिभाशाली कवि र कवियत्रीलाई बिर्सन सकिन्न । यहाँ फूलभन्दा किताबका बगैंचा धेरै छन् । त्यस्तै फूलको वर्णन गरिएका किताबहरूमध्ये ‘ग्लास फ्लावर्स’मा पनि सम्भवतः धेरै फूल र प्रकृतिको सुन्दरता समेटेकी छन् डायनले । जसमा प्रत्येक फूललाई जीवन्त चित्रण गरेकी छन् । पातहरूको तन्तु फूलको शिराको झन्झनाहट र अन्तरनिहित सुगन्धसम्म । विडम्बना, सिड्नी सहरमा एक दिन उदाएको बैजनी ज्याकराण्डाको बोटोहरू मुनि उभिएकी उनको महिमामय दृश्य फेहीको नजरमा पर्न पाएन । प्रकृतिको सुन्दर क्षण कहिले प्राप्त हुन्छ, कहिले छुट्छ । फूलहरू सबैलाई समान अवसर पनि दिँदैनन् ।
ग्रे ग्री डे यहाँका प्रसिद्ध कथाकार तथा लेखक कवि र संगीतकार पनि । प्रकृति र स्थानको रूपान्तरणलाई भावनात्मक त विश्लेषणात्मक भाषामा उतार्न सक्ने । तट, समुद्री किनारा, घनाजंगल सबै उनको लेखनमा मानवीय संवेदना लिएर बग्छन् । उनी पनि ज्याकराण्डाको सांस्कृतिक र अर्थबारे धेरै लेखेका छन् ।
दक्षिण अमेरिकाबाट आएको एउटा सुन्दर फूल कसरी अस्ट्रेलियाको वसन्तको प्रतीक भयो भन्ने गहिरो दृष्टिकोणसहित । तर मेरो नजरमा छाएकी क्रिस्टिनाको सामु उनका कविता र किताब फिक्का जस्तो लाग्छ । ‘लभ लेटर टु दी ज्याकराण्डा’ इन्डिगो प्यरी जसले एउटा पत्र नै लेखेका छन् । प्रेमपत्रजस्तै उनको लेखले पनि फिक्का लाग्छ क्रिस्टिनाका सामु ।
इन्डिगोका लागि यो त्यस्ता फूल हो जुन साथी, स्मृति, आस्था सबै हो । केही हप्ताको छोटो जीवन भए पनि । त्यो क्षण, सुगन्ध, सम्झना र सौन्दर्यको शुद्ध उत्सव । यो त्यस्तो रूख हो, जसले टाढा हुँदा बिर्सन दिँदैन र नजिक पुगेपछि विगतका मीठा यादहरूको भावनात्मक अनुभूतिको न्यानो ओढाइदिन्छ ।
हुन पनि अस्ट्रेलियाको प्रकृति फूलका रङजस्तै छ । कतै नीलो सागर त कतै हरियाली । फूलैफूल । कतै रातै मरुभूमि । कविता र कथाको सिर्जनशील फूलबारी । यहाँको मरुभूमि केवल रंगीन माटोमात्र होइन, धेरै लेखकहरूको लागि जीवन, मौनता, दर्शन, र आत्म–अन्वेषणको क्यान्भास बनेको छ ।
डोरोथी म्याकेलर, लेस मरे, ओडगरु न्युनुकल, ब्रुस चककटविन, टोनी बिर्चजस्ता लेखक, कवि र सांस्कृतिक व्यक्तित्वहरूका कृतिमा फूल त कहिलेकाहीँ मात्र फुल्छ । तर प्रत्येक पंक्तिमा माटोको सुगन्ध, तातोपन, मौनता फूलझै जीवन बोकेर आएका छन् । किनकि फूल जीवन हो ।
ज्याकराण्डाको बैजनी धुवाँ होस्, मरुभूमिको रातको मौनता होस्, वा फ्लोरिस्टको हातमा सुमसुम्याइरहेको गुलदस्ता । साहित्य, स्मृति र कलाका धागाहरूमा गाँसिएका छन् ।
फूल यहाँ–त्यहाँ मात्र फुल्दैन । कसैको लेखमा, कवितामा, चित्रमा, सम्झनामा, व्यवसायमा, हरेक हृदयमा आफ्नै रङ छोड्दै फुलिरहेकै हुन्छन् । तर यसविपरीत दृश्य पनि अनगिन्ती छन् । यहाँ प्रकृतिको दुई चरित्र स्पष्ट देखिन्छ । एकातिर कठोरता, अर्कोतिर नाजुक सौन्दर्य । मरुभूमि पनि आफैंमा एउटा सुन्दर फूल । मौनता, तातोपन र दुर्लभ फुलाई । मरुभूमि क्षेत्रमा गर्मी उच्च छ । तापमान बढ्दै छ । सिड्नीको सुन्दरतामा डुबेका मेरा आँखा मरुभूमि नजिक जाँदैछन् । भिक्टोरिया राज्यको उत्तर पश्चिममा ‘सनसेट डेजर्ट’ अर्थात् सूर्यास्त मरुभूमि छ, त्यतातिर ।
वातावरणमा धूलो र सुक्खा हावा हाबी छ । यद्यपि छिटपुट झरीले कतिपय क्षेत्रमा ‘डेजर्ट ब्लुम’एक किसिमको चमत्कारिक फूलहरू देखिन्छन् । जुन रङ रङका जंगली फूल । जस्तै पहेंलो, रातो, बैजनी, सेतो । तर उनीहरूको जीवन लामो हुँदैन । बढीमा एक साता । त्यसपछि सबै मर्छन् ।
विशेषज्ञहरूका अनुसार मरुभूमिको फुलाई अनियमित र दुर्लभ हुन्छ । पानी परेको केही दिनमा स्पिनिफेक्स घाँस पनि पलाउछ । तर केही दिनमै हराउँछन् । यस्ता दिनहरूलाई मरुभूमिको जीवनले स्वास फेरेको क्षण ठान्दा रहेछन भिक्टोरियाका बासिन्दा । प्रकृतिका यस्ता विपरीत दुई कथा । निकै भावनात्मक छन । मरुभूमि र फूल फुल्ने मौसम दुवै नै प्रकृतिको शक्ति र परिवर्तनशीलता देखाउने समय हुन् । तर दृष्टिकोण फरक हुन सक्छन् । मरुभूमि विशाल छ । तर गम्भीर र कठोर छ । जहाँ जीवन मौन तर अडिग छ ।
पर्यावरणविद्हरूका अनुसार यी विपरीत अवस्थाले अस्ट्रेलियाको जैविक विविधता र भौगोलिक चरित्र दुवैलाई स्पष्ट गर्छ । देशको पूर्वी भाग वर्षौंदेखि फूलकेन्द्रित उत्सवका लागि चर्चित अनि मध्य र पश्चिमी भाग मानवलगायत जीवजन्तुको सहनशीलताको परीक्षणस्थल मानिन्छ । मरुभूमि पुगेर फर्किनेहरू कतिपयले त्यहाँको शान्ति, विशालता र मौनताले आफूमाथि नयाँ प्रभाव पारेको बताउँछन् । एकातिर वसन्तले सहरहरूमा रङ भर्छ । अर्कोतिर मरुभूमि आफ्नो मौन र कठोर पहिचानमा उभिएको छ । कस्तो विचित्र चित्र । दुवैले प्रकृतिको फरक रूप, फरक कथा र फरक समयको आवाज सुनाइरहेका छन् ।
एकातिर सौन्दर्य अर्को, अनन्त मौनता । दुई चरित्र, एउटै कविता । मरुभूमि र फूल—दुवै विपरीत संसारजस्ता देखिन्छन् । तर दुवैले प्रकृतिको एउटै सत्य सुनाउछन् । जीवन कठोर हुन्छ र नाजुक पनि । मौन हुन्छ र रंगीन पनि ।
अस्ट्रेलियाको करिब १८ लाख वर्ग किलोमिटर क्षेत्र मरुभूमि वा अति सुक्खा छ । देशको कुल भूमिको करिब झन्डै ३५ देखि ४० प्रतिशत । ग्रेट भिक्टोरिया डेजर्ट, ग्रेट स्यान्डी, तानामी, सिम्प्सन, गिब्सन, लिटिल स्यान्डी, स्ट्रट्जेकी, पेडिरका र नलबार्बर । यी क्षेत्रहरूमा वर्षा अत्यन्त न्यून हुने हुँदा बोटबिरुवा पाउन कठिन हुन्छ । तर जहाँ कुनै फूल फुल्दैन भन्न सकिँदैन । मरुभूमिमा पनि कहिलेकाहीँ पानी परेपछि वाइल्डफ्लावर, स्पिनिफेक्ससँगै साना गुलाबी/सेतो जंगली फूल, नाजुक डेजर्ट डेजीजस्ता बिरुवाहरू अचानक फुलेर तत्काल हराउने प्रक्रिया चलिरहन्छ ।
मानिस बस्न अत्यन्तै कठिन हुने मरुभूमि धेरै छ । तर पूर्ण रूपमा मानिस बस्न नसक्ने ठाउँ छैनन् । किनकि कुनै न कुनै ढंगले केही न कोही मरुभूमिमा पुग्छन् । उत्तरी अस्ट्रेलियाको नर्दन टेरोटोरीमा पर्ने अत्यन्त ठूलो र एकै ढुंगाबाट बनेको पहाड । संसारकै सबैभन्दा ठूलो मोनोलिथ (एकै टुक्रा ढुंगा) मध्ये एक । गाढा रातो रङको कारण रातो मरुभूमि क्षेत्रको प्रतीक । त्यो ढुंगाललाई समेत कवि लेस मुरे सुनौलो ठान्छन् ।
उनी लेख्छन्,
‘अयर्स रकको भित्र कतै,
रातो ढुंगाको हृदय अझै धडकरहेको छ
जहाँ प्राचीन गीतहरू
रेतसँगै सुतिरहेका छन् ।’
मरुभूमिको विशालता, मौनता, रङ, आत्मिक सुन्दरता सबै समेटकी छन्, ब्रुस चैटविनले । कविताको कल्पना र रचना गर्न कतिपय कवि मरुभूमिभित्र लुटपुुटिएका छन । यस्तै एउटी कवियत्री हुँन राबर्ट डेसाइ । उनले १९७७ मा एलिस स्प्रिङ्सबाट यात्रा गरेकी थिइन् । करिब २७ हजार किलोमिटर मरुभूमि पार गरेर पश्चिमी अस्ट्रेलियाको तट हिन्द महासागर सम्म ।
ऊँटबाट गरेको त्यो यात्राका अनुभवलाई पुस्तक बाटो अर्थात (ट्र्याक ) मा उतारिन । मरुभूमिका बारेमा १९८० मा लेखिएको किताब विश्वभर प्रसिद्ध छ ।
प्राकृतिक, दार्शनिक, भावनात्मक र वैज्ञानिक दृष्टिले अनौठो, अद्भुत अस्ट्रेलियाली भूमि । विश्वकै अद्वितीय परिदृश्य । कतै मौन गुञ्जिन्छ प्रकृतिको सबैभन्दा शक्तिशाली आवाज बनेर । रातो भूमिमा झल्किन्छ आध्यात्मिक सुन्दरता लिएर । बिहान सुनौलो, दिउँसो चम्किलो, बेलुकी रातो–सुनौलो, रातमा नीलो–काला । केही सेकेन्डमै प्रकृतिले रङ बदल्छ ।
मरुभूमि ठूलोमात्र होइन, अन्तहीन देखिन्छ । हेर्छु चारैतिर । क्षितिज कहाँ छ ? थाहा छैन । वर्षौंसम्म सुकेको भूमि । जब थोरै वर्षा हुन्छ अनि हजारौं फूलहरू अचानक फुल्छन् । चमत्कारझै लाग्ने प्रकृतिको अद्भुत रूप । मरुभूमि पनि सुन्दर छ । त्यहाँ प्रकृति कुनै सजावट, बनावट, कोलाहल बिना सबैभन्दा शुद्ध रूपमा आफैंलाई प्रकट गर्छ ।
भरुभूमि एउटा मौनको संसार । मरुभूमि त्यो ठाउँ हो, जहाँ आवाजहरू हराउँछन् र मनहरूले आफ्नै धड्कन सुन्छ । अनि त्यो मौनता नै सबैभन्दा ठूलो गुरुजस्तो लाग्छ । त्यो भूमिमा पूर्ण स्वतन्त्रता महसुस हुन्छ । न ठाँटी कठोर तर सत्य बोल्छ । कठोर, निर्दयी र सीधा सत्य । पृथ्वीको आत्मा । राबर्ट डेसाइ मरुभूमिलाई प्राचीन आध्यात्मिक ठाउँको रूपमा वर्णन गर्छिन् । उनको अनुभवमा मरुभूमि त्यो ठाउँ हो, जहाँ मान्छे हराए जस्तो लाग्छ । तर त्यही हराइ भित्र आफ्नो पहिचान भेट्छ ।
प्रतिक्रिया दिनुहोस !