फेब्रुअरी १४। प्रेम दिवसको रात। आकाशमा उड्न लागेको प्रेमकथा। तर त्यो प्रेम व्यक्तिगतमात्र थिएन, त्यो प्रेम मातृभूमिप्रति गर्वको एउटा रूप पनि थियो— नेपालका सयौं लायन्स साथीहरू, एउटै आकाश, एउटै सपनाको छायाँमा उभिएका एउटा अविस्मरणीय पल पनि थियो।
हुन त हाम्रो यात्रा बिहानै सुरु भयो। विराटनगरबाट लायन्सका साथीहरूलाई बटुल्दै भारतको बागडोरा विमानस्थल पुग्यौं। उज्यालो भुइँबाट हामी सबैको छाया लम्बिएर विमानतिर दौडिरहेको जस्तो देखिन्थ्यो। मसँगै थिइन् मेरी भ्यालन्टाइन, मेरी उनी अर्थात् मेरी श्रीमती सोमनी। उनी जीवनमा पहिलो पटक नेपाल बाहिर यात्रा गर्दै थिइन्। उनको आँखामा उत्साह थियो। अनि थोरै डर, र त्यो डरलाई ढाक्न माथिमाथि उठिरहेको विश्वासको चमक थियो। हामी एकअर्कालाई हेर्र्यौं— जस्तै जीवनभर हेरिसकेको तर फेरि नयाँ जस्तो।
विमानका झ्यालबाट हेर्दा काठमाडौंका बत्तीहरू बिस्तारै हामीबाट टाढिँदै थियो। नयाँ संसार नजिकिँदै थियो। बागडोराबाट कोलकत्ता अनि कोलकत्ताबाट मलेसियासम्म यात्राको पहिलो अध्याय। कोलकत्तामा जहानै थला पार्ने डिले, तर श्रीमतीले भने— ‘यात्राको सुरुवातमै परीक्षा आएको हो, सायद मञ्जिल खासै सुन्दर छ।’ उनको त्यो वाक्य मेरो यात्राभरको प्रेरणा बन्यो। कोलकत्ताबाट मलेसिया ..., एयर एसियाको साँघुरिएको सिट, तर हाम्रो समूहले छुट्टै आनन्द। हातमा ६० एमएलको पेग, ठट्टा, हाँसो, गफ— खासमा, उडानको थकान अस्तित्वमै थिएन। साथमा सयौं नेपाली हृदयहरू थिए, र भाव—नेपाललाई चिनाउने भावनाहरू थिए।
क्वालालम्पुर विमानस्थलको विशालता— जस्तो कुनै नयाँ संसारमा खुट्टा टेकिएको होस्। एस्केलेटर, टर्मिनल, एकपछि अर्को गेट, जनसमुदायको बगैंचाजस्तो जहाँ हरेक मान्छे आफ्नो दिशा खोजिरहेकै देखिन्थ्यो। ड्युटी फ्रिमा पनि कत्रोकत्रो सपिङ कम्पलेक्स ? तर हामी खोज्दै थियौँ, हु ची मीन सहरका ढोका। र थप उडानपछि अन्ततः पुग्यो भियतनामको भूमिमा पाइला।
उस्तै दक्षिणी घाम, जस्तो हाम्रो तराईमा चैतको गर्मी। र त्यो गर्मीभित्र शहरको अनुशासनले मन जित्यो। साझको समयमा हामी त्यहाँको सडकको यात्राको मज्जा लिँदै अनि बत्तीहरूले सज्जिएको ड्रागनको खति हेर्दै करिब दुई सय किलोमिटर टाढा ‘म्यु नी’ पुग्यौं।
अर्को बिहानै— हामी झण्डासँग। परदेशी भूमिमा नेपालको झण्डा समाउँदै परेड गर्यौ, नेपाली पहिरनमा। मलाई लाग्यो— नेपाल पनि यही छ, यसै घाम मुनि, यसै नीलो आकाशभित्र। श्रीमतीसँग उभिएको त्यो क्षण— विवाहका हरेक प्रतिज्ञा फेरि एकपटक उच्चारण भएको जस्तो, ‘जहाँ जहाँ जानेछौँ, सँगै रहन्छौँ, हातमा हात समातेर।’ झण्डा फहराएर हामीले नेपाललाई बोकेको महसुस गर्र्यौं।
दिउँसो हामी म्युनीको डिर्सटमा रेसिङ गर्र्यौं। भुइँलाई चिन्यो, मनलाई बुझ्यो, कतै संस्कार त कतै सभ्यता खोज्यौं। कता भौतारियौं, कता हरायौं। अनि साँझमा हामी स्वच्छ समुद्र किनारमा पुग्यौं। गर्मीमा पनि चिसो हावाले जुनसुकै थकानलाई टाढा हुत्यायो। छालहरूले समयको अल्मललाई धेरै तल पुरिदिए। श्रीमतीको हाँसो— समुद्रकै लयमा। हामी दुईको छायाँ लामो हुँदै बालुवामा लेखिएको भविष्यजस्तै। पहिलो विदेश यात्रा र त्यो पनि समुद्रसँगको पहिलो भेट— जीवनभर नसकिने स्मृति। त्यहाँको खानाले भने मलाई निकै ‘संयम’ सिकायो। नुन कम, तेल न्यून। चिल्लो होइन, मसला नि छैन। हाम्रो जिब्रालाई अलिकति कति अन्याय। तर त्यो नै ती मानिसहरूको स्वास्थ्यको रहस्य रहेछ। कम स्वाद, तर दीर्घ जीवन।
पर्सिपल्ट बिहान म्युनी सहर छोडिँदै जाँदा इतिहासको एउटा गहिरो सुरुङ हाम्रो प्रतीक्षामा थियो— चुची टनेल। धरतीमुनि बसेर देश जोगाएका थिए
भियतनामीहरूले। बन्दुक, बम, भोक, अन्धकार— सबैविरुद्ध ज्यानले बनाएको देश। खुट्टा भुइँमा टेकी ढुंगाले निस्केको साँघुरो प्रवेशमा म केही क्षण थामिएँ— ‘स्वतन्त्रता’ किन यो हदैसम्म दुःखद् शब्द ? भित्र पस्दा गम्भीर सन्नाटा। र हरेक इँटाबाट निस्किएको आवाज— ‘लडियो, जिउँदै लडियो।’ युद्धको गुफाबाट फर्किँदा मन अलि भारी। बाहिर फहराइरहेको रातो झन्डा। अब केवल कपडाको टुक्रा थिएन, त्यो आत्मा थियो देशको।
अर्को आश्चर्य— शिक्षाको अभाव। सहरमा जमिनी विकास देखियो। तर अंग्रेजी अनुवाद नै खोज्दै बस्ने अवस्था। बोल्न खोजेँ — तिनीहरू चुप। युद्धले शिक्षा कति महँगो बनाइदिएको रहेछ। राजनीतिक स्वतन्त्रता अझै साँघुरो सुरुङमै। तर आर्थिक विकास—आकाश चुम्दै। त्यो देश बाहिरबाट हेर्दा आदर्श। भित्र सुतेर हेरियो भने संघर्ष अझै बाँकी। टनेलमा एके ४७ चलाउन पाउने व्यवस्था पनि गरेका रहेछ। हामी अधिकाशंले चलायौ, निशाना नलागे पनि। एकछिन रमाइलो भयो। तर राति होटलमा फर्किंदा त्योे आवाज कानमा गुञ्जिरहन्थ्यो। श्रीमतीले ढुंगाको रेलिंगमा टेकेर भनिन्। ‘देश जस्तो नै सहर देखियो, तर मानिसहरू ? ...अझै बाँचिरहेका छन् युद्धका डरभित्र।’ मैले उनलाई हेरेँ, मेरो जीवन साथी, जीवनको स्थायी सल्लाहकार पनि। उनको बोलीमा अध्ययन थियो, भाव थियो।
रात नपर्दै हामी हु ची मिन सहर पुग्यौं। दक्षिण भियतनामको राजधानीका रूपमा रहेका साइगन सहरको नाम नै हु ची मिन सिटी राखिएको हो। यो सहरको नाम भियतनामको एकतापछि भियतनामी कम्युनिस्ट पार्टीका संस्थापक हु ची मिनको सम्मानमा राखिएको रहेछ। सहरमा सडकहरू चौडा अनि आकाश छुने भवनहरू छन्। सडक भरिभरि मोटरसाइकल र गाडीहरूको भिड छ। तर अनुशासन—अद्भुत छ ! ट्राफिक बत्तीको सम्मान यस्तो जस्तो त्यो कुनै देवता हो। कसैलाई चिट काट्नु परेको छैन। अनि कतै पुलिस सिटी बजाउन आवश्यक थिएन। नियम भनेपछि नियम—पालन। सहरले शिक्षा दिए सरह नागरिकले व्यवहार सिकेका। अर्को अद्भुत कुरा—सडकमा एकजना ट्राफिक प्रहरी पनि देखिएन। किनभने प्रत्येक सार्वजनिक बसभित्र क्यामेरा छ। एक यात्रुतर्फ हेर्छ, अनुशासनका लागि। अनि अर्को सडकतर्फ, गतिका लागि। र ती क्यामेरा— सीधै प्रहरी कार्यालयमा। कसैले नियम तोडे भने दोस्रो क्षणमा नै खबर र जरिबाना। ‘कानुन’ शब्द यहीँ पहिलोपटक आम नागरिककै व्यवहारमा बाँचेको देखेँ।
सफा सडक। डस्टबिनको संस्कार। अहंकार बिना, सभ्यतासँग बाँच्ने शैली। म बिस्तारै आफैँसँग सोधिरहेँ— हामी किन सक्दैनौँ ? हाम्रो देश किन ? हाम्रो सडक किन ? हु ची मिनका रातहरू— रातभर ंनशा। पानीभन्दा बियर सस्तो। तर त्यो नशाले अनुशासन भुल्दैन। धेरै रमाइलो तर अव्यवस्था शून्य। म फेरि मनमनै प्रश्न दोहोर्याउँछु— हामी किन सक्दैनौँ ? माथि उभिएको अनुभव जस्तो किताबको पाना अझै पल्टिन बाँकी छ। हामी जहाँ गयौँ, त्यहीँ भियतनामले हामीलाई सिकाइरह्यो— ‘सपना केवल चाहेर हुँदैन, त्यो बनाउनु पर्छ।’ फर्कने दिन आयो। फेरि विमान। त्यो डिले। फेरि बादल। फेरि नेपाल। तर यसपटक आशाको पहाडले मन भारी थियो। बग्ने हावाजस्तै सोचहरू मनमा घुम्दै थियो। कसरी यो देश युद्धको भष्मबाट फुलेको फूल जस्तो उठ्यो ? कसरी तिनीहरूले इच्छाशक्तिलाई अनुशासनमा बाँधेर राखे ? कसरी सरकारभन्दा पनि नागरिक नै देशको मेरुदण्ड बने ? विमान उड्दै गर्दा श्रीमतीले हात समाउँदै भनिन्, ‘हामी पनि सक्छौँ, यदि हामीले चाह्यौँ भने।’ उनका ती शब्दहरू यात्राको सबैभन्दा ठूलो स्मरण बन्यो। नेपालको भूगोलमा फर्कँदा सँगै केही उत्तरहरू मनमा ल्याएँ— कसरी फर्काउने हामी पनि आफ्नो स्वतन्त्रतामा शक्ति ? कसरी नियममा नै अनुशासन भेट्ने ?
भियतनामले सिकाएको एउटा सत्य— देशलाई बदल्ने सरकारले मात्रै होइन, नागरिकले हो। आफ्नै हातले हो, मेहनतले हो। यस यात्राले मलाई प्रेम, परिवार, देश तिनैको मूल्य फेरि एकपटक गहिरोसँग सम्झायो। म नेपाल फर्किएँ— तर मनमा भियतनाम र त्यो एउटा प्रश्न— हामी किन सक्दैनौँ ? यात्राले मलाई बदल्यो। किनकि यात्रा केवल दृश्य होइन— गम्भीर प्रश्न हो। उत्तर खोजिराख्ने अविरल चेष्टा हो। देशप्रेमको पुनरावलोकन हो। र परिवारसँगको समय— अमूल्य भावनाको स्मृति पनि हो।
प्रतिक्रिया दिनुहोस !