election background

प्रतिनिधि सभा निर्वाचन २०८२

गाउँमै उद्योग, घरमै आम्दानी भोजपुरको छुर्पी विदेशसम्म

गाउँमै उद्योग, घरमै आम्दानी भोजपुरको छुर्पी विदेशसम्म

भोजपुर : गरे के हुन्न ? परिश्रमले आफ्नै माटोमा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरणीय बनेका छन् भोजपुरको पौवादुङमा–१ श्यामशिलाका दीपकुमार राई। केही वर्षअघि वैदेशिक रोजगारीबाट फर्किपछि डेरी उद्योग सुरु गरेका उनले राम्रो आम्दानीको श्रोत बनाएका छन्। उनले यही डेरीबाट उत्पादन गरेका छुर्पी व्यावसायले वार्षिक लाखौंको आम्दानी गरिरहेका छन्।

राईले छिन्तालुङ डेरी उद्योगमार्फत दैनिक ४ सय लिटर दूध संकलन गर्छन्। संकलित दूधबाट उनले छुर्पी बनाउँछन्। उनले वार्षिक झण्डै ५० लाख बराबरको छुर्पी बाहिर पठाउँछन्। राईले मासिक करिब चार सयदेखि पाँच सय किलोग्रामसम्म छुर्पी उत्पादन गर्दै आएका छन्। ‘मैले दूधभन्दा पनि मुख्य रूपमा छुर्पी बनाएर बेच्ने गरेको छु’ उनले भने, ‘हाम्रो डेरीबाट उत्पादित छुर्पी विभिन्न जिल्लामा मात्र नभई विदेशसम्म पुग्ने गर्छ।’

उनले डेरीमा उत्पादित गुणस्तरीय छुर्पी प्रतिकेजी एघार सय ५० रूपैयाँसम्म बिक्री गर्ने गरेका छन्। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गरेर अनुदानमा गाई वितरण गरेपछि दूध संकलनमा कुनै समस्या नरहेको राईले सुनाए। भने, ‘किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म लैजान समस्या थियो। यहाँ नै उद्योग सञ्चालन भएपछि किसानलाई बिक्रीमा सहज भएको छ। म घरघरमै पुगेर दूध संकलन गर्छु।’ राईले छुर्पीसँगै नौनी घ्यू प्रतिकेजी सात सय ५० र खरुवा घ्यू एक हजार रूपैयाँसम्म बिक्री गर्दै आएका छन्।

उक्त श्यामशिला क्षेत्रमा किसानहरूले विगतका वर्षहरूदेखि व्यावसायिक पशुपालन हुँदै आएपनि बजार अभावको समस्या खेप्दै आएका थिए। तर अहिले बजार व्यवस्था धेरै सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। उनले भने, ‘पहिले बजारको समस्या थियो, गाउँगाउँबाट सामान ढुवानी गर्ने सुलभ सडक थिएन, सवारीसाधन पनि थिएन, अहिले त्यो समस्या छैन, पहिलेको तुलनामा उत्पादित दूधका खाद्य सामग्रीहरू सदरमुकाम मात्र नभई बाह्य बजारमा पनि पुर्या‍उन सहज भएको छ।’

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन ‘दुग्ध मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। पशुपालनका लागि उपयुक्त क्षेत्रमा उन्नत जातका गाईभैंसी अनुदानमा प्रदान गरिएको उनले जानकारी दिए। ‘पशुपालन गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान सहयोग गर्दै आएका छौं’, अध्यक्ष राईले भने, ‘दूध बिक्रीबाट किसानले राम्रो आम्दानी लिन थालेका छन्। यो प्रोत्साहनका कार्यक्रमले किसानलाई आयआर्जनमा जोडेको छ।’

स्थानीयलाई पोषण र आयमा जोड्न गाउँपालिकाले गतसाल १३ वटा उन्नत जातका भैंसी वितरण गरेको थियो। गत आर्थिक वर्षदेखि नै पुनः उन्नत जातका गाई वितरण भइरहेको गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.