बैंक खाता नै भाडामा, प्रहरीमा उजुरीका चाङ
काठमाडौं :
पक्राउ परेका राजन गिरीले २ जना चिनियाँ नागरिकको सहकार्यमा आफूले विभिन्न व्यक्तिको बैंक खाता भाडामा लिने काम ‘मनिम्युल’ सुरु गरेको बयान प्रहरीमा दिएका छन्। ‘विन असिम र चिनो ल्याटिनो’ नाम गरेका चिनियाँ नागरिकले नेपाली नागरिकका बैंक खातामा उपलब्ध गराएबापत राजनलाई मासिक तलब लिन्थे। खातामा हुने कारोबारको ४ प्रतिशत कमिसन दिन्छौं भनेर गिरी लगायतलाई प्रलोभनमा पारेका थिए। गिरीले एक दर्जनभन्दा बढी नेपाली नागरिकको बैंक खाता भाडामा लिएर ५५ लाख ठगी गरेको प्रहरीसँगको बयानमा बताएका छन्।
घटना २
- मकवानपुरका २८ वर्षीय एक युवक आफ्नो ७८ लाख ठगी भएको भन्दै प्रहरी कार्यालय धाइरहेका छन्। सामाजिक सञ्जालको विज्ञापन पछ्याउँदै आर्थिक प्रलोभनमा पर्दा उनले ७८ लाख गुमाएका हुन्। ‘अनलाइनमा लगानी गरे, घरै बसीबसी पैसा’ आउँछ भन्ने विज्ञापनको पछि लाग्दा उनले पटक–पटक गरी पैसा पठाएका थिए। आफूसँग भएको ४ लाख नगद त सके नै, उनले पैसा आउने लोभमा परेपछि छरछिमेक, आफन्त र नातागोता सबैसँग क्रण गरेर स्क्यामरले भने अनुसार पैसा पठाइरहे। सबैतिरको ७८ लाख सकिएपछि मात्रै उननले आफू ठगिएको पत्तो पाए।
उनले मोबाइलमा ‘विनान्स नाम’ को एप इन्स्टल गरेर अनलाइनमा पैसा लगानी गरेका थिए। सुरु–सुरुमा केही पैसा पनि फिर्ता आयो। ५० हजार पठाउँदा केही दिनमै १० हजार नाफा भन्दै फिर्ता आयो। यही क्रममा उनले अनलाइनमा मागिए जति विभिन्न बैंकका खातामा पैसा पठाउँदै गए।
- भक्तपुरका एक युवक फेसबुकको विज्ञापनको प्रलोभनमा पर्दा समस्यामा परेका छन्। मोबाइलमा एभरेष्ट बैंकको सर्वेलिंक भन्दै एउटा लिंक आउँछ। उनले आफ्नो अकाउन्ट भएको बैंकबाट नै उक्त सर्वे आएको होला भन्ठानेर लिंक क्लिक गरेर फर्म भरे। फर्म समिट गर्ने बेलामा उक्त लिंकले मोबाइल बैंकिङको ओटिपी कोड मागेको थियो। उनले कोड हालेर फर्म पठाएँ। त्यसको केही सेकेन्डमै उनको अकाउन्ट बाट ५ लाख रकम झिकिएको म्यासेज आएको थियो।
यी त केही उदाहरण मात्रै भए। प्रहरीका अनुसार विभिन्न व्यक्तिका बैंक खातामा ‘भाडा’ मा लिएर रकम जम्मा गर्न लगाउने र ठगी गर्ने गिरोह सक्रिय छ। यस्तो कार्यमा विदेशी नागरिकको सहभागिता धेरै नै छ। तर, उदेकलाग्दो के छ भने भाडामा खाता दिने अधिकांशलाई यस्तो ठगीबारे जानकारी नै छैन। सर्वसाधारण, किसान, निम्न वर्गका व्यक्तिका यस्तो ठगीमा धेरै नै प्रयोग भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार विभिन्न आर्थिक प्रलोभनमा परेर बैंक खाता बिक्री गर्ने ‘धन्दा’ बढिरहेको छ। राष्ट्रिय क वर्गका वाणिज्य बैंकदेखि विकास बैंकमा रहेका व्यक्तिका खातामा मोबाइल बैंकिङमार्फत अनधिकृत पहुँच पुर्याइ ठगी गर्ने गिरोह नै सक्रिय छन्।
कसैलाई अफ्ठ्यारो परेको बहानामा होस कि कोहि चिनेजानेकै व्यक्तिको प्रलोभनमा पर्दा आफ्नो वैक खाताको सम्पूर्ण डिटेल्स दिने प्रवृत्तिले उक्त खाता प्रयोग हुँदै करोडौं रुपैयाँको ठगी हुने गरेको छ। यसले गर्दा खाता प्रयोग गरिएका व्यक्ति कानुनी दायरामा पर्ने गरेका छन्। धेरै व्यक्तिलाई त आफ्नो खाता गलत कामका लागि प्रयोग भइरहेको छ भनेर थाहै नहुने गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता भट्टराई बताउँछन्।
प्रलोभनमा फस्छन् अधिकांश
जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दा शाखा प्रमुख राजु अधिकारी पनि बैंक खाता भाडामा दिने, ‘मनिम्युल’ धन्दा आतंककै रूपमा बढिरहेको बताउँछन्। उनी भन्छन्, ‘विशेषतः बेरोजगार युवायुवतीहरू यस्तो गिरोहको चंगुलमा फस्ने गरेका छन्। ठमेलका विभिन्न ठाउँमा काम गर्ने युवतीहरू पनि मनिम्युल कारोबारमा फसेका देखिन्छन्।’ आफ्नो बैंक अकाउन्टको एक्सेस अरुलाई दिने र मासिक २० देखि ४० हजार रुपैयाँ लिने युवतीहरू पनि भेटिएको उनले बताए। ‘तर, बैंक खाता भाडामा दिने युवतीहरूलाई बैंक कारोबारको विषयमा केही थाहा हुँदैन,’ अधिकारी भन्छन्, ‘उजुरी पर्यो भने सुरुमा पक्राउ पर्ने पनि यही समूह नै हुन्छ।’
डीएसपी अधिकारी अगाडि भन्छन्, ‘गाउँका किसान, गरिब दुखी युवाहरूलाई यस्ता गिरोहले टार्गेटमा पार्छन्। एकै जनाबाट ९ ÷१० वटा बंैकमा खाता खोल्न लगाइ उनीहरूको नाम र पहिचान दुरुपयोग गर्दै करोडौं ठगी गरेका उजुरी आउने गरेको अधिकारी बताउँछन्। उनीहरूकै नामबाट मोबाइलको सिम निकालेर दुरुपयोग गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ।
काठमाडौं परिसरका प्रमुख रमेश थापाका अनुसार आर्थिक वर्ष ०८२/८३ सुरु भएयता जिल्ला प्रहरी परिसरमा अनलाइनबाट ठगीसम्बन्धी ७ सय ११ वटा उजुरी दर्ता भएका छन्। जसमा करिब १६ करोड रुपैयाँ ठगी भएको उजुरी छ। ७ सय ११ वटा उजुरीमध्ये ८४ वटा उजुरीको समाधान निकालिएको छ। जसमा ६ सय ८० वटा बैंक खाता (बन्द) ब्लक गरिएका छन्। २ सय २० वटा खाताबाट रकम ठगी भएको छ। आर्थिक प्रलोभनमा पर्दा विभिन्न व्यक्तिहरू ठगीमा पर्ने, लाखौं गुमाउने जस्ता समस्या भएका छन्। केही व्यक्तिहरूले भने जानाजान नै अकाउन्ट भाडामा दिएको पनि देखिन्छ। यसरी आफ्नो बैंक खाता जानेर होस् या नजानेर अर्कालाई नदिन परिसर प्रमुख थापाको सुझाव छ।
साइबर ब्युरोले गर्यो ९,५३३ वटा बैंक खाता ब्लक
प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार, चालु आवमा मात्रै अनलाइन ठगीका ६ हजार १ सय ९२ वटा उजुरी ब्युरोमा प्राप्त भएका छन्। अनलाइनबाट हुने ठगीमध्ये ‘मनिम्युल’ मुख्य रूपमा रहेको छ। स्क्यामर तथा गिरोहले विभिन्न बहानामा करोडौं रुपैयाँ ठगी गर्ने गरेका छन्। अन्य व्यक्तिको बैंक खाता प्रयोग गरेर ठगी हुने भएकाले मुख्य अभियुक्त पक्राउ गर्न कठिन हुने गरेको अवस्थीले बताए।
प्रवक्ता अवस्थीका अनुसार ब्युरोले हालसम्म मनिम्युल आर्थिक अपराधमा मुछिएका ९ हजार ५ सयवटा बैंक खाता ब्लक (बन्द) गरिसकेको छ। बैंक खाता दुरुपयोग गरेर हुने अपराधको तथ्यांक निकै बढ्दो क्रममा रहेको अवस्थीले बताए। इन्टरनेटको माध्यमबाट हुने वित्तीय अपराधमा ९० प्रतिशत अपराध बैंक खाताको दुरुपयोगबाटै हुने गर्छ। अपराधको विषयमा उजुरी आउँदा ती व्यक्तिहरू नै प्रहरीको फन्दामा पर्ने गर्छन्।
अन्य व्यक्तिको खाता विवरण भाडामा लिएर ठगी गर्ने गिरोहको ‘नेक्सस’ अन्तर्राष्ट्रिय स्तरमा रहेकाले उनीहरूलाई कानुनी दायरामा ल्याउन गाह्रो हुने गरेको अवस्थीले बताए।
१ करोड ४० लाख पैसा पठाउने ती महिला
केही दिनअघि साइबर ब्युरोमा एक महिला (नाम बताउन नचाहने) उजुरी लिएर आइपुगिन्। उनी विदेशी नागरिकको नामबाट बनाइएको एक कृत्रिम व्यक्तिसँग नजिकिएकी थिइन्। राजनीतिक रूपमा सक्रिय उनी एक स्क्यामरको फन्दामा परेकी थिइन्। विदेशी व्यक्तिसँग नजिकिएकी उनले भनेबमोजिम विभिन्न व्यक्तिको खातामा पैसा पठाउँदै गइन्। १ करोड ४० लाख पठाउँदासम्म ती महिला स्क्यामरको प्रेमजालमा फँसिरहिन्। स्क्यामरले जति माग्दै जान्छन्, उनले त्यति नै पैसा पठाइरहिन्।
स्क्यामरले कहिले डाइमण्ड पठाएको भन्दै उनलाई फोटो पठाउँथे त कहिले भन्सारमा सामान अडकयो भनेर पैसा माग्ने गर्थे। कहिले विदेशबाट करोडौं रकम पठाउँदै छु भनेर बिमा तिर्नुपर्छ भन्दै पैसा मागेको ती महिलाले बताइन्। स्क्यामरसँग नजिकिएकी ती महिला विश्वासमा पर्दै प्रलोभनमा पैसा पठाइरहिन्।
साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार, यसरी ठगी भएको पैसा फिर्ता आउन निकै गाह्रो छ। एक जना व्यक्तिले धेरै जनाको बैंक खातामा पैसा पठाएका हुन्छन्। ती खाता पनि विभिन्न जिल्ला र स्थानका हुन्छन्। साइबर ब्युरोमा उजुरी आउनासाथ ब्युरोले पैसा पठाएको खाताको डिटेल माग्दै बैंकमा पत्राचार गर्छ। धेरैजसो केसमा खातावालासम्म पुग्नै कठिन हुन्छ। कहीँ कतै खातावाला भेटिए पनि कोही बालबालिका, कोही विद्यार्थी, कोही निम्नवर्गीय किसानहरू पर्छन्। उनीहरूलाई आफ्नो खाताबाट भइरहेको अपराध र ठगीको विषयमा केही जानकारी नै नहुने गरेको खडकी बताउँछन्।
बायोमेट्रिक आईडीबाट खाता
राष्ट्र बैंकले बायोमेट्रिक आइडी प्रयोग गरेर मात्रै खाता सञ्चालन गर्न पाउने नियमका विषयमा अनुसन्धान गरिरहेको राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए। ‘फिजिकल कागजातका आधारमा खोलिएका खाताबाट ठगी तथा आर्थिक अपराध बढेसँगै बायोमेट्रिक आइडीको कल्पना गरिएको हो,’ पौडेलले भने, ‘यदि यसो गर्न सकिएमा अर्काको नामबाट खोलिएको खाता दुरुपयोग हुने अवस्था रहँदैन।’ राष्ट्र बैंकले विभिन्न बैंकमा खोलिएका खाताको विषयमा व्यक्तिसँग शंका नगर्ने पौडेल बताउँछन्।
‘आफ्नो खातामा सम्बन्धित व्यक्तिकै एक्सेस होला भन्ने परिकल्पना गरिएको हुन्छ,’ पौडेल भन्छन्, ‘जानेर नजानेर वा प्रलोभनमा परेर खाता भाडामा दिएर हुुने अपराधको जिम्मा पनि व्यक्ति स्वयंको हुन्छ। अरूलाई आफ्नो खाता प्रयोग गर्न दिनु हुँदैन भन्ने विषय व्यापक रूपमा समाजमा लैजानु नै मुख्य विषय हो। खाता जसले चलाए पनि यसले के कसरी दुरुपयोग गर्यो, यसको डिटेल जसरी पनि भेटिन्छ। बैंकमार्फत भएका ठगीहरू कुनै न कुनै रूपमा समातिन्छन्। जसरी पनि पत्ता लाग्छ। बायोमेट्रिक आइडीबाट खाता चल्ने व्यवस्था बनाउन सकेमा यस्ता ठगी बन्द हुन्छ।’
देशैभरि बढ्दो छ, मनिम्युल धन्दा
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष ८१/८२ मा देशैभर १३ हजार ८ सय ५६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भए। जसमा ३१ अर्ब बढी रकम ठगी भएको उजुरी गरिएको थियो। यस्तो कसुरमा संलग्न २५९५ जना नेपाली पुरुष, ५ सय ६० जना महिला, ९४ जना विदेशी पुरुष र ३८ जना विदेशी महिला पक्राउ परेका छन्। यस्तै यही आवमा देशभर अनलाइनबाट भएका ठगीमा हजारौं उजुरी परेका थिए। जसमा ६ सय ७५ वटा मुद्दा दर्ता भए। जसमा ८३ करोड बढी रकम ठगीएको निवेदन छ। यस्तो कसुरमा १ सय ७४ जना नेपाली पुरुष र १३ जना नेपाली महिला, २० जना विदशी पुरुष र १३ जना विदेशी महिला पक्राउ परेका छन्।
प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले आर्थिक अपराध देशैभरि बढेको बताए। आर्थिक वर्ष ०८१÷८२ मा देशैभर १६ हजार ५ सय ११ वटा आर्थिक अपराधका उजुरी दर्ता भए। यीमध्ये ९० प्रतिशत बढी बैंक वित्तीय अपराध र अर्काको खाता भाडामा लिएर गरिने अपराधसंग सम्बन्धित उजुरी थिए। अहिलेका अधिकांश आर्थिक अपराधका उजुरी स्क्याम, अनलाइन ठगी र चेक वाउन्सका पर्ने गरेको काफ्लेले बताए।
‘महँगो गिफ्ट आउँछ भन्ने लोभमा, विदेशबाट पार्शल आउँछ भन्ने प्रलोभनमा एक जना व्यक्तिले अनेकौ बैंक खातामा पैसा पठाउँछन्,’ काफ्ले भन्छन, ‘लाखौं ठगिएपछि मात्रै प्रहरीकहाँ आउँछन्। यस्तो अपराधको कुनै सीमा नै हुँदैन। देशभित्र र बाहिर बसेर ठगी गरिरहेका हुन्छन्। अरूको खाता प्रयोग गरेबापत केही हजार रकम खातावालालाई दिएर ठूलो रकम ठगिरहेका हुन्छन्।’ प्रवक्ता काफ्ले भन्छन्, यहाँ त दार्चुलाको गाउँमा बस्ने एक किसानको नाममा खाता खोलेर जनकपुरको मान्छेले करोडौं ठगी रहेको हुन्छ। खातावालालाई केही पत्तै हुँदैन।’
प्रहरीका प्रवक्ता काफ्ले अगाडि भन्छन्, ‘यस्तो अपराधको विषयमा सबै जना गम्भीर हुन जरुरी छ। प्रहरीले यस्ता अपराधको विषयमा बेला–बेला सार्वजनिक सूचनाहरू जारी गरेको छ। सामाजिक सञ्जालमा अपिल गरिरहेका छौं। समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि विभिन्न सचेतना कार्यक्रमहरू गरिराखेका छौं।’
बैंक खाता दुरुपयोगको नियमन गर्ने निकाय राष्ट्र बैंक हो। शून्य मौजादमा खाता खोल्ने लगायतका आकर्षक योजना ल्याएर खाता खोल्न मात्रै प्राथमिकतामा राख्न भएन। ‘खोलेका खाता कसरी सदुपयोग गर्ने भन्ने विषय पनि प्राथमिकतामा राख्न जरुरी छ,’ काफ्ले भन्छन्।
विदेशीलाई पक्राउ गर्न कठिन
अनलाइनमार्फत ठगी गर्नेहरू संगठित रूपमै लाग्ने गरेको प्रहरी प्रवक्ता काफ्ले बताउँछन्। विदेशमा बस्ने विदेशीले नेपाली नागरिकलाई प्रलोभनमा पारेर खाता भाडामा लिने धन्दा चलाउने गरेका छन्।
प्रहरीको अनुसन्धानमा ठगीमा प्रयोग भएका खातावाला पक्राउ परे पनि मुख्य मान्छेसम्म पुग्न कठिन हुने गरेको उनले बताए।
सामाजिक सञ्जालबाट ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन झन् कठिन हुन्छ। विदेशबाट पार्सल आउँदैछ भन्छन्, पैसा पठाउन नेपाली खाता दिन्छन् ? पैसा पठाउने व्यक्ति थोरै मात्रै सजक हुने हो भने यस्ता अपराधका घटना कम हुने प्रवक्ता काफ्लेको दाबी छ।
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार आफ्नो नामको बैंक खाता अरूलाई भाडामा दिनु र लाभका लागि अरूलाई प्रयोग गर्न दिनु गैरकानुनी कार्य हो। संख्यात्मक हिसावले पनि पछिल्लो समय डिजिटल टा«न्जेक्सन शतप्रतिशतभन्दा बढी बढेको छ।
एक महिनामै नेपाली बैंकको क्युआरबाट अर्बौं रकम ट्रान्जेक्सन हुन्छ। मोबाइल बैंक एपबाट महिनामा १ सय २० अर्बसम्म कारोबार भएको रेकर्ड छ। यो संख्या बढ्दो क्रममा छ। यति धेरै डिजिटल कारोबारमा केही कारोबारमा भने अनलाइन ठगी, आर्थिक अपराध तथा बैंक खाता दुरुपयोग भएका पनि छन्।
राष्ट्र बैंकको नियमअनुसार बैंक खाता खोल्ने क्रममा एक जना व्यक्तिले एउटा बैंकमा विभिन्न खाताको प्रकार हेरेर ३ वटा सम्म बैंक खाता खोल्न सक्छन्। एउटै प्रकारका खाता धेरै खोल्न पाउँदैनन्। मुलुकमा हाल विभिन्न बैंकमा ६ करोडभन्दा बढी बैंक खाता छन्। यी सबै खाताहरू सही प्रयोग भएका होलान भन्ने राष्ट्र बैंकको अनुमान हो। तर, पछिल्लो समय खाता दुरुपयोग हुने र बैंक खाता भाडामा दिने प्रवृत्ति बढेसँगै राष्ट्र बैंक चनाखो बनेको छ। संख्यात्मक रूपमा ६ करोड बैंक खाता नेपालका लागि अत्यधिक हुन्।
‘चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नम्बर १३१ मा बैंक खाताहरू, डोरम्याट अकाउन्टहरू व्यवस्थापन गर्ने र बैंक खाता कति खोल्न पाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गरिने भनिएको छ। डिजिटल भुक्तानीसम्बन्धी निर्देशिका पनि जारी गरेको छ,’ राष्ट्र बैंकका प्रवक्ता पौडेल भन्छन्, ‘खाताहरू खोल्न पाइँदैन भन्न सरकारले मिल्दैन। खाताहरूको केवाइसी अपडेट गर्नुपर्छ, निस्क्रिय खाताहरू राख्नु हुँदैन, बन्द गर्नुपर्छ। आफ्नो सबै खातामा आफ्नो निगरानीमा हुनुपर्छ। राष्ट्र बैंकले वित्तीय साक्षरता बढाउनको लागि विभिन्न कार्यक्रमहरू पनि ल्याएको छ। वित्तीय सचेतना नै मुख्य विषय हो।’
आफ्नो खाता भाडामा दिएको, दुरुपयोग गरिएको भन्ने थाहा हुने बित्तिकै प्रहरी प्रशासनको सहयोगमा बंैकिङ कसुरसम्बन्धी अपराध गरेको कसुरमा कारबाही गरिने प्रवक्ता पौडेलले बताए। उनी भन्छन्, ‘गलत कागजात प्रयोग गरेर खाता खोलिएको भए पनि यही कसुरमानै कारबाही हुन्छ।’
प्रतिक्रिया दिनुहोस !