एचआईभी संक्रमणको जोखिम

एचआईभी संक्रमणको जोखिम

अमेरिकामा बस्ने केटा भनी झटपट विवाह गरिदिएकी दाङकी एक युवती एक वर्षपछि घर आएको बेला रक्तदान गरिन्। तर, रक्तदान गर्ने क्रममा जचाउँदा एचआईभी संक्रमित भएको थाहा पाएर झस्किन्।

अमेरिकाको ग्रिनकार्ड पाएको केटासँग विवाह गर्दा आफूले तनाव बेहोर्नु परेको सुनाउँदै अरूलाई एचआईभी नभएको पुष्टि गरेर मात्र विवाह गर्न सल्लाह दिन्छिन्। त्यस्तै, जाजरकोटकी नन्दमाया पुनले पनि आफू एचआईभी संक्रमित भएको उनले श्रीमान् र बच्चाको मृत्युपश्चात् मात्र थाहा पाएकी छिन्। 

नेपालमा एचआईभी एडस केन्द्रीकृत महामारीका रूपमा छ। नयाँ संक्रमित ९० प्रतिशतले कम गर्ने लक्ष्यसहित सन् २००४ बाट टेकु अस्पतालबाट सुरु भएको एआरटी सेवा हाल ६४ जिल्लाका ९६ एआरटी सेन्टरबाट एआरभी औषधि निःशुल्क पाइरहेका छन्। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुर्‍याउने र ९५ प्रतिशतको भाइरल लोड कम गराउने सरकारी लक्ष्य छ। 

थप जोखिम

सन् २०२४ को अन्तसम्ममा ३४ हजार ३ सय ३७ मा एचआईभी संक्रमण भएको जसमा १५ वर्षभन्दा माथीकामा ३३ हजार २ सय ७९ र बालबालिकामा १ हजार ५८, १५ वर्षमाथिका महिलामा १४ हजार जना रहेकोमा २६ हजार ३७२ जनाले मात्र एआरभी औषधि लिइरहेका छन् अर्थात् ७७ प्रतिशत संक्रमित उपचारको पहुँचमा छन्। सन् २०२४ मा एचआईभीको नयाँ संक्रमण ६ सय १४ दैनिक २ जना तथा एड्सबाट मृत्यु ५६९ छ।

सरकारले सबैभन्दा जोखिम समूहको सूचीमा लागुऔषध प्रयोगकर्ता, यौनकर्मी र तिनका ग्राहक र समलिंगीलाई राखी लक्षित कार्यक्रमहरू ग्रिरहेको छ तर विदेश गई फर्केकाका गृहिणी र बालबच्चामा संक्रमण बढ्दो छ। एकातिर पतिले रोग ल्याएर श्रीमतीलाई सारिरहेका छन् भने अर्कोतिर परपुारुषसँगको बसउठ र सम्पर्कले पनि गृहिणीमा संक्रमण थपिएको थपियै छ। 

अनुसन्धानले के भन्छ ?
अनुसन्धानहरूमा रगतमा १८ हजार, वीर्यमा ११ हजार, योनिरसमा ७ हजार, गर्भको शिशु वरिपरि हुने पानीमा ४ हजार र ¥यालमा १ हजार प्रति मिलिलिटर एचआईभी विषाणु पाइने गर्दछ। असुरक्षित यौनसम्पर्कबाट ८० प्रतिशतमा सर्ने भए पनि पुरुषबाट महिलामा संक्रमण हुने सम्भावना दोब्बर छ। संक्रमित व्यक्तिबाट निरोगी व्यक्तिमा एचआईभी संक्रमण हुने माध्यमहरूमध्ये असुरक्षित यौनसम्पर्क, निर्मलीकृत नगरिएको सुई र राम्ररी नजाँचिएको रगत आदानप्रदान प्रमुख हुन्।

गर्भवती महिलाबाट गर्भेशिशुमा २० देखि ४० प्रतिशत एचआईभी संक्रमण हुन सक्छ। त्यसमध्ये गर्भावस्थामा ३० देखि ५० प्रतिशत, प्रसव व्यथाको दौरानमा ५० देखि ८० प्रतिशत र सुत्केरीपश्चात्को समयमा ७ देखि २२ प्रतिशत एचआईभी भाइरस सर्ने सम्भावना देखिएको छ। सम्भाव्य व्यक्तिमा यौनजन्य संक्रमण छ भने एचआईभी सर्ने जोखिम ५ गुणा धेरै हुन्छ। सुत्केरीपश्चात्को समयमा महिलाको शरीरमा भाइरसको संख्या, स्तनको समस्या र स्तनपानको अवधिमा निर्भर हुने स्तनपानले १४ प्रतिशतले संक्रमण हुने जोखिम बढाउँछ। हाल शिशुलाई एचआईभी संक्रमण आमाबाट सरेको पाइन्छ।

गर्भावस्थाको कारणले एचआईभी भएको महिलामा पोजिटिभबाट एड्समा परिणत हुने सम्भावना, सीडी फोर संख्या घट्ने र मृत्यु हुने जोखिमजस्ता समस्यामा खासै फरकता आउँदैन। तर, पोजिटिभ महिलामा गर्भावस्थामा कम भएको रोगसँग लड्न सक्ने क्षमता सुत्केरीपश्चात् सामान्य अवस्थामा फर्किन बढी समय लाग्न सक्छ। गर्भावस्थामा सेवन गरिने एन्टिरेट्रोभाइरल औषधिले रोग निको गर्ने नभई रोग बढ्ने गति घटाउँछ। भाइरल लोड पनि घटाएर संक्रमित आमाबाट बच्चामा सर्ने सम्भावना पनि कम गराउँछ। एन्टिरेट्रोभाइरल औषधि सेवन गरेन भने २५ प्रतिशत सर्ने सम्भावना हुन्छ। जिडोभुडिन प्रयोगपश्चात् सामान्य सुत्केरीबाट ५ देखि ८ प्रतिशत, सिजेरियनबाट २ प्रतिशतभन्दा कम र भाइरल लोड १ हजारभन्दा कम छ भने २ प्रतिशतभन्दा कम सर्ने खतरा हुन्छ।

विकासोन्मुख देशहरूमा शिशिको दूधको सेवनको जोखिमका कारण स्तनपानलाई छुट दिइएको छ। स्तनपान गराउने निर्णय भए ६ महिनासम्म आमाको दूधमात्रै, त्यसपछि एकैपटक खाना खुवाउन थाल्नुपर्छ। आमाको दूधको मुन्टामा घाउ, रक्तश्राव छ भने दूध नै नख्वाउने, शिशुको मुखमा आएका सेतो टाटाको तुरुन्तै उपचार गर्ने, स्तनपानको दौरानमा शिशुलाई एन्टिरेट्रोभाइरल औषधि उपचार दिने गर्नुपर्दछ।

एचआईभी भयो भन्दैमा यौनजीवन समाप्त पनि हुँदैन। विवाह गर्ने—नगर्ने तथा सन्तान जन्माउने वा नजन्माउने दुवै जनाको सहमतिमा हुने कुरा हो तर रोग सर्न नदिन ज्ञान, उपाय, सीप तथा साधन हुनु भने एकदमै जरुरी हुन्छ। यौन जीवनको निरन्तरता दिनुको आधारस्तम्भ कण्डमको नियमित र सही प्रयोग नै हो। पिल्स चक्कीले एन्टिरेट्रोभाइरल औषधिको प्रभावकारिता घटाउ“नसक्छ भने पाठेघरभित्र राखिने कपर—टी ले पाठेघरको संक्रमण बढाउँछ। यौनरोग पनि बचाउने भएकाले कण्डम नै सबैभन्दा उपयुक्त हुन्छ। गर्भवती भएर बच्चामा सर्ने खतरा कम गर्न एन्टी—रेट्रोभाईरल औषधिको प्रयोग गर्न सकिन्छ।

शिक्षा र सूचनाको हकबाट वञ्चित हुने ग्रामीण तहमा गरिबी, भोक, बेरोजगारी, छुवाछुत, भेदभाव र हिंसामा परेका वर्गहरू नै आवश्यकीय सूचना, शिक्षा र सेवा, सुविधाबाट वञ्चित छन्। स्थानीय उपस्वास्थ्य चौकी, सामाजिक संस्था, सञ्चारकर्मी र शिक्षण संस्थाहरूसग उनीहरूको झिनो मात्र सम्बन्ध रहेको पाइन्छ। ग्रामीण तहका गृहिणी, किशोर किशोरी, चलायमान जनसंख्या र तिनका परिवारहरू यस्ता अधिकार र अवसरबाट वञ्चित हुनुले एचआईभी र एड्सको समस्यालाई जटिलतामा उभ्याइदिएको छ। 

अन्त्यमा एचआईभी आज निदान र उपचारमा भएका नयाँ खोजहरूले व्यवस्थापन गर्न सकिने दीर्घ स्वास्थ्य समस्या भएको छ। नेपालको सामाजिक, आर्थिक र शैक्षिक परिवेशका कारण विभेद खेप्न बाध्य छन् संक्रमित र पहिचान लुकाउँछन्। सभ्य समाज निर्माणका लागि सञ्चारमाध्यमले निर्वाह गरेको भूमिका र अदालतका निर्णय सामाजिक पक्षमा भएको महत्वपूर्ण निर्णय हुन। तर, हामीकहाँ कार्यान्वयन पक्ष फितलो भएकाले मूर्तरूप दिन नागरिक समाज र सरोकारवालाहरू सक्रिय रहनै पर्दछ।

एचआईभी एड्स संक्रमितलाई उच्च रक्तचाप, मधुमेहका बिरामीलाई झै सकारात्मक रूपले हेर्ने संस्कारको विकास गर्न सकियो भने संक्रमितहरू समाजप्रति सकारात्मक हुनेछन्। उनीहरूको निदान हुनेछ। उपचारमा आउने छन्, भाइरल लोड कम हुनेछ। र, एचआईभी संक्रमण तथा एड्सको अवस्था न्यूनीकरणमा सघाउन पुग्छ। हालको ८८—८७—७१ को अवस्थालाई सुधार्दै सन् २०३० सम्ममा सरकारको लक्ष्य हासिल गर्न सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.