एनपीएल

सुदूरपश्चिमको नजर लगातार दोस्रो फाइनल, रोक्न तयार विराटनगर

सन्दीप लामिछाने र अभिनाश बोहराको भिडन्त

सुदूरपश्चिमको नजर लगातार दोस्रो फाइनल, रोक्न तयार विराटनगर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको प्लेअफ समीकरण पूरा भइसकेको छ। निकै उतारचढाव देखिएको दोस्रो संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाएका छन्। 

अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिँदा यसअघि प्लेअफ खेलेका चितवन राइनोज र कर्णाली याक्सको प्रदर्शन पनि सोचेजस्तो हुन सकेन। चितवन सातौं स्थानमा रहँदा कर्णालीले छैटौं स्थानमा रहेर दोस्रो संस्करण सकाएको छ। पहिलो संस्करणमा खराब प्रदर्शन गरेका विराटनगर, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले भने यस पटक प्रभावशाली प्रदर्शन गरेका छन्।   

दोस्रो संस्करणमा लगातार ६ खेल जित्दै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम रोयल्सको नजर यस पटक पनि फाइनल खेल्नु हो। अघिल्लो संस्करणमा जनकपुरसँग फाइनलमा चुकेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने अभियानमा छ। यसका लागि उसको मुख्य तगारो विराटनगर किङ्स बनेको छ। मंगलबार हुने प्लेअफको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरको सामना गर्दैछ। 

लगातारको विजयी यात्रामा विराटनगरले नै पूर्णविराम लगाएकाले सुदूरपश्चिम विराटनगरसँग निकै सतर्क देखिएको छ। त्यसैले मंगलबारको खेल जित्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउने अभियानमा सुदूरपश्चिम छ। सुदूरपश्चिमले लिग चरणका सातमध्ये ६ खेलमा जित निकालेको थियो। विराटनगरले भने सातमध्ये पाँच खेल मात्रै जितेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो।

शनिबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई विराटनगरले ६ विकेटले पराजित गरेको थियो भने सुदूरपश्चिमको लगातार ६ खेलको अपराजित यात्रामा पनि विराटनगरले पूर्णविराम लगाइदिएको थियो। सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। विराटनगरलाई सहज जित दिलाउन दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिस, साम हिजलेट र मार्टिन गप्टिलले उत्कृष्ट प्रदर्शन गरेका थिए।

सुदूरपश्चिम र विराटनगरले एनपीएलमा जम्मा दुई खेलमा प्रतिस्पर्धा गरेका छन्। दोस्रो संस्करणको समूह चरणको खेलमा पराजितले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो भने पहिलो संस्करणको समूह चरणमा सुदूरपश्चिमले ९० रनको जित निकालेको थियो। 

मार्टिन गप्टिल घाइते भएपछि केही कमजोर प्रदर्शन गरेको विराटनगर दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिसको आगमनसँगै बलियो देखिएको छ। विशेषगरी विराटनगर ब्याटिङमा मजबुद देखिएको छ। फाफ डुप्लेसिस, न्युजिल्यान्डका पूर्वकप्तान मार्टिन गप्टिलसँगै अस्ट्रेलियाका साम हेजलेट, जर्ज मुन्सी, मर्चेन्ट डे ल्याङ, शुभम रञ्जाने, लोकेश बम र बसिर अहमदलगायतले उत्कृष्ट ब्याटिङ गरिरहेका छन्।

सुदूरपश्चिमका पनि विनोद भण्डारी, आरिफ शेख, कप्तान दीपेन्द्रसिंह ऐरी, क्रिस लिन, हरमित सिंह, इशान पाण्डे, नरेन साउदलगायतले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सुदूरपश्चिमले ब्याटिङ र बलिङसँगै फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। विशेषः कप्तान दीपेन्द्रले उत्कृष्ट फिल्डिङ गरिरहेका छन्। उनले ‘रन बनाएर मात्रै होइन, विपक्षीको रन रोकेर पनि जित्न सकिन्छ’ भन्ने गतिलो उदाहरण फिल्डिङबाट दिइरहेका छन्। 

सन्दीप र अभिनाशको भिडन्त
मंगलबार साँझ सुदूरपश्चिम र विराटनगर मात्रै आमनेसामने हुने छैनन्, सन्दीप लामिछाने र अभिनाश बोहराबीचको भिडन्त पनि हुनेछ। सन्दीप र अभिनाशबीच सर्वाधिक विकेट लिने खेलाडीको भिडन्त पनि चलिरहेको छ। एनपीएलको दोस्रो संस्करणमा विराटनगरका कप्तानसमेत रहेका सन्दीपले सात खेलमा १५ विकेट लिइसकेका छन्।

उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पनि छन्। उनलाई सुदूरपश्चिमका अभिनाश बोहराले पछ्याइरहेका छन्। उनले सात खेलमा १४ विकेट लिएका छन्। त्यसैले मंगलबार सुदूरपश्चिम र विराटनगरसँगै सन्दीप र अभिनाशबीच पनि भिडन्त हुनेछ। सन्दीप र अभिनाशलाई काठमाडौं गोर्खाजका सहाब आलम र करण केसीले पछ्याइरहेका छन्। सहाब र करणले सात खेलमा समान १२ विकेट लिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.