election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राजधानीको मुटुमा  ११ वर्षदेखि पुल अपुरो

राजधानीको मुटुमा  ११ वर्षदेखि पुल अपुरो

काठमाडौं : ठेक्का लगाइएको करिब ११ वर्ष बितिसक्दा पनि तीनकुने सुविधानगरस्थित बागमती नदीमाथिको पुल विस्तारको काम अघि बढ्न सकेको छैन। पुल निर्माणको ठेक्का २०७१ सालमा लगाइएको हो।

मापदण्डभन्दा फरक डिजाइन र कमसल सामानको प्रयोगले पुलको बेसमेन्ट निर्माण सुरु भएपछि सडक विभागले बीचैमा काम रोकिदिएको थियो। पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट देख्न सकिन्छ। पछिल्लो पटक २०७९ साउन १० गते नयाँ ठेक्का लगाइएको थियो। तर, आयोजना पुलको डिजाइन स्वीकृतिमा नै अलमलियो। २०८२ माघमा उक्त पुल निर्माण भइसक्नु पर्ने हो तर, अहिलेसम्म निर्माणको प्रक्रिया नै सुरु हुन सकेको छैन। 

२०७१ सालमा नै काठमाडौं बिजुलीबजारको पुलको पनि ठेक्का लागेको थियो। उक्त आयोजना करिब ३ वर्षअघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सडक विस्तारसँगै पुल विस्तार नहुँदा जाम बढेपछि सरकारले काठमाडौंका पुल विस्तारको योजना अघि सारेको हो।

निर्माण कम्पनीले प्रस्तुत गरेको पुलको डिजाइन स्वीकृत प्रक्रिया लम्बिदा आयोजना निर्माण सुरु हुन नसकेको काठमाडौं चक्रपथ विस्तार आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर आशिका पोखरेलले बताइन्। सडक विभागको मापदण्डअनुसार निर्माण कम्पनीले डिजाइन पेस गर्न नसक्दा स्वीकृतिमा ढिलाइ भएको उनको भनाइ छ। ‘तोकिएको मापदण्डअनुसार डिजाइन पेस नभएका कारणले ढिलो भएको छ, अब भने डिजाइन स्वीकृत भई निर्माणको चरणमा जाने तयारी छ,’ उनले अन्नपूर्णलाई जानकारी दिइन्। यो पुल पनि बिजुलीबजारको जस्तै आर्क शैलीमा नै निर्माण गर्ने डिजाइन छ। 
२०७१ पुस ४ गते पप्पु कन्स्ट्रक्सनले यो आयोजनाको पहिलो ठेक्का पाएको थियो। डिजाइन एन्ड ब्युल्ड (डिजाइन र निर्माण) विधिमा करिब २१ करोडमा पप्पुले ठेक्का पाएको थियो। निर्माण कम्पनीले काम सुरु गर्‍यो। पुलका लागि ३ वटा एबिडमेन्ट (आधारभूत संरचना) बनायो। विभागले निरीक्षण गर्दा ३ मध्ये २ गुणस्तरहीन पाएपछि बीचमा नै काम रोकिदिएको थियो। 

आयोजनाको काम अघि बढ्न नसकेपछि २०७६ सालमा निर्माण कम्पनीलाई कालोसूचीमा राखी नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख पोखरेल बताउँछिन्। २०७९ साउन १० गते नयाँ ठेक्का लागेको यो पुल निर्माणको जिम्मा वाइपी किराँतेश्वर जेभी (संयुक्त उपक्रम) ले पाएको छ। ८५ मिटर लामो यो पुल विस्तारको लागत २४ करोड रुपैयाँ रहेको र समयावधी ४२ महिनाको हो। 

२०७१ सालमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले हेरेको यो परियोजना अहिले काठमाडौं चक्रपथ विस्तार आयोजनाले हेरिरहेको छ। ठेक्कासँग सम्बन्धित दुई पक्षीय सम्झौता पूरा नगरेपछि २०७६ सालमा पप्पु निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको थियो। अहिले, नयाँ ठेक्का लागेको करिब ३ वर्षपछि यस आयोजनाको डिजाइन स्वीकृत भएको छ। अब निर्माणमा जान भनिसकेको प्रमुख पोखरेल बताउँछिन्। 
 
आयोजनाको समय यही माघमा नै सक्निे भएकाले थप समयसहितको प्रस्ताव कार्यालयमा पठाएको बताउँदै पोखरेलले भनिन्, ‘हाम्रो कारणले हो भने समय थपिन्छ। उसको कारणले हो भने क्षतिपूर्ति लगाएर रकम असुल्नुपर्छ।’
समय थपसँगै निर्माणमा जानुपूर्व त्यहाँ भएका शाखा सडक बन्द गर्नुपर्ने र छेकबार गर्नुपर्ने भएकाले त्यसको स्वीकृतिको पनि प्रक्रिया अघि बढाइएको उनले जनाइन्। 

निर्माण कम्पनीले काम सुरु गर्ने
तीनकुनेस्थित बागमती पुल विस्तारको जिम्मा पाएको वाइ.पी किराँतेश्वर ३ वर्षपछि साइटमा जाने भएको छ। डिजाइन स्वीकृति ढिलाइ हुँदा निर्माणमा जान नसकिएको उक्त जेभिमध्येको १ किराँतेश्वर निर्माण कम्पनीका प्रतिनिधि वीरबल राई बताउँछन्।

सुरुमा अघिल्ला निर्माण कम्पनीले गरेको बेसलाई भत्काउन सुरु गरिने उनले जानकारी दिए। ‘स्थानीयको अवरोध बिना पुरानो संरचना भत्काउन सकियो भने चाँडै नै निर्माणमा जान्छौं,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.