रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ र फिचरसहित नेपाली बजारमा
रोयल इन्फिल्डले आफ्नो चर्चित स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ २०२५ संस्करण सोमबार काठमाडौंमा सार्वजनिक गरेको छ। विश्वका महानगरको आधुनिक जीवनशैलीबाट प्रेरित डिजाइन, ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ र सुधारिएको सस्पेन्सन सेटअपसहित नयाँ हन्टर ३५० नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जानकारी गराएको छ।
नयाँ संस्करणमा रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्राफाइट ग्रे गरी चार रङका विकल्प प्रस्तुत गरिएको छ। यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान बोकेका शहरहरूको जीवनशैलीबाट प्रेरणा लिएर तयार गरिएको अवधारणामा आधारित रहेको छ। समग्र सवारी अनुभवलाई सहज र आकर्षक बनाउने उद्देश्यसहित हन्टर ३५० मा पहिलोपटक स्लिप–एसिस्ट क्लच जडान गरिएको कम्पनीको दाबी छ।
यसबाहेक परिमार्जित पछाडिको सस्पेन्सन, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल–च्यानल एबीएस, एलईडी हेडल्याम्प, पुनःडिजाइन गरिएको सिट, अपग्रेडेड एर्गोनोमिक सेग्मेन्ट तथा ट्रिप नेभिगेसन अप्सनले मोडेललाई सहरी यात्रामा उच्च सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। ३४९ सीसी जे–सिरिज इन्जिनयुक्त हन्टर ३५० बजारमा २०२२ को लन्चपछि हालसम्म ७ लाखभन्दा बढी सवारी प्रयोगकर्ताको रोजाइ बनेको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरियाले हन्टर ३५० लाई नेपालका सहरी सडक, युवा जीवनशैली र दैनिकीको गतिलाई ध्यानमा राखी प्रस्तुत गरिएको बताए। उनको भनाइमा नयाँ संस्करण प्रदर्शन, कंफर्ट र कस्टम स्टाइलको संयोजनमार्फत बजारमा फरक पहिचान बनाउनेछ।
नयाँ हन्टर ३५० को मूल्य सिंगल टोनका रियो ह्वाइट, ड्रापर ग्रे र ग्राफाइट ग्रेको मूल्य रु ४ लाख ९४ हजार ९०० तथा डुअल टोन टोकियो ब्ल्याक, लन्डन रेड र रिबेल ब्लु रु ४ लाख ९९ हजार ९०० निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !