खजुरीको नेपालले भन्यो- गुणस्तर कमजोरी देखिएको उत्पादन फिर्ता गरिसकेका छौं, हल्लाको पछि नलागौं
काठमाडौं : खजुरीको नेपालले गुणस्तर कमजोरी देखिएको उत्पादन फिर्ता गरिसकेकाले हल्लाको पछि नलाग्न आग्रह गरेको छ। खजुरीको नेपालद्वारा जारी विज्ञप्तिमा पफको Mfg. Date: 28/10/2025 | Exp. Date: 28/01/2026 | Batch: B1-3A, Mfg. Date: 27/11/2025 | Exp. Date: 27/02/2026 | Batch: B1-5A ब्याचहरूमा मात्र गुणस्तर कमजोरी देखिएकाले ती उत्पादन बजारबाट फिर्ता गरिसकेको उल्लेख छ।
विभागबाट जानकारी प्राप्त भएपछि ती ब्याचका सबै उत्पादन तुरुन्तै बजारबाट फिर्ता लिइसकिएको कम्पनीले जनाएको छ। कम्पनीले यसलाई विश्वव्यापी रूपमा पनि कहिलेकाहीँ देखिने उत्पादन त्रुटिको उदाहरण बताउँदै उपभोक्तामा पर्ने असर रोक्न तुरुन्त कदम चालिएको कम्पनीले दाबी गरेको छ।
हाल केही सञ्चारमाध्यममा खजुरीको नेपालद्वारा उत्पादन गरिने पफ खाद्य पदार्थ “पूर्णरूपमा हानिकारक” रहेको दाबी गरिएको समाचारप्रति कम्पनीले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो। कम्पनीले सो समाचारहरू “भ्रमपूर्ण र तथ्यहीन” रहेको बताउँदै सीमित ब्याचमध्ये गुणस्तर कमजोरी देखिएको उत्पादन मात्र फिर्ता गरिएको स्पष्ट गरेको छ।
कम्पनीका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पत्र संख्या ०८२/०८३, च.न. ४१ र ४२ मा उल्लिखित विवरणका आधारमा केही मिडियाले सम्पूर्ण उत्पादनलाई गुणस्तरहीन दाबी गर्दै प्रचार गरेको थियो। खजुरीको नेपालले भने सो आरोप तथ्यविहीन रहेको दाबी गरेको छ।
कम्पनीले ३० वर्षभन्दा बढी समयदेखि उपभोक्ताको विश्वास जित्दै आएको दाबी गर्दै जारी विज्ञप्तिमा उल्लेख छ, “समाचारमा जनाइएझैँ सम्पूर्ण उत्पादन गुणस्तरहीन छैन। कमजोरी देखिएका ब्याचहरू मात्र बजारबाट फिर्ता लिइएका हुन्।” कम्पनीले आफ्नो उत्पादन प्रक्रिया स्वच्छ वातावरणमा सञ्चालित हुने तथा गुणस्तर सुनिश्चित गर्न आन्तरिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दै आएको जनाएको छ। फिर्ता लिएका ब्याच बाहेक बजारमा उपलब्ध सबै पफ तथा अन्य उत्पादन गुणस्तरयुक्त रहेको दाबी गर्दै कम्पनीले उपभोक्तालाई निश्चिन्त भएर उत्पादन प्रयोग गर्न अनुरोध गरेको छ। त्यसैगरी, भ्रम फैलाउने प्रकारका समाचारप्रति सचेत रहन र कम्पनीप्रतिको विश्वास कायम राख्न पनि आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस !