दुर्गम गाउँका शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ

दुर्गम गाउँका शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ
गण्डकी माविका शिक्षक इन्द्र उपरकोटीलाई हेलिकप्टर चढाएर बिदाइ गर्दै गाउँलेहरू ।  तस्बिर : सरोज गुरुङ

गोरखा : दुर्गम गाउँका शिक्षकको बिदाइ कसरी गरिएला ? औपचारिक कार्यक्रममा उनको योगदानको मिठो शब्दमा प्रशंसा गरेर, खादामाला पहिर्‍याएर या उपहार, मायाको चिनो प्रदान गरेर ? तर उत्तरी गोरखाका एक शिक्षकको बिदाइ स्मरणीय बनाइएको छ । 

उत्तरी गोरखाको धार्चे २ रुञ्चेतका बासिन्दाले गाउँमा प्राथमिक तहको विद्यालय स्थापना गरी निम्न माध्यमिक, माध्यमिक तहसम्म स्तरोन्नति गरेर ३८ वर्ष शिक्षा सेवा गरेका शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ गरेका छन् । ०४५ साल फागुन १९ गतेदेखि गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा अध्यापन गरेका शिक्षक इन्द्र उपरकोटीलाई मंगलबार गाउँलेले औपचारिक समारोह गरी फूलमाला पहिर्‍याइ हेलिकप्टर चढाएर बिदाइ गरेको वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए ।

‘उहाँ हाम्रो विद्यालयको संस्थापक प्रधानाध्यापक हो । यो स्कुल उहाँले जागिरको पहिलो नियुक्ति लिएको स्कुल पनि हो’, वडाअध्यक्ष सरोज गुरुङले भने, ‘आज उहाँ ५८ वर्ष पुग्नुभयो । सेवा गरेको पनि ३८ वर्ष बित्यो । त्यसैले हामीलगायत पूर्वविद्यार्थीहरू सबैले एक हजार, दुई हजार रुपैयाँका दरले यथासक्य रकम संकलन गर्‍यौं । अनि उहाँको बिदाइ समारोह गर्‍यौं ।’ शिक्षक उपरकोटी र उनकी धर्मपत्नी माया उपरकोटीलाई हेलिकप्टरमा चढाएर घर पठाइएको उनले बताए ।

‘उहाँको जन्मघर त गोरखाको नारेश्वर हो तर, अहिले भरतपुर महानगरपालिका १० मा बस्नुहुन्छ । त्यसैले हामीले गाउँदेखि काठमाडौंसम्म हेलिकप्टर चढाएर पठायौं अनि, काठमाडौंबाट जहाज चढाएर भरतपुर पठायौं’, वडाअध्यक्ष गुरुङले भने, ‘हेलिकप्टर र जहाज खर्च पूर्वविद्यार्थीले नै जुटाएका हौं ।’ सो विद्यालयबाट उत्तीर्ण भई विभिन्न व्यवसाय तथा रोजगारी गर्ने एक सय जनाभन्दा धेरैले शिक्षकको बिदाइका लागि आर्थिक संकलन गरेको उनको भनाइ छ ।

शिक्षक उपरकोटी प्राथमिक तहका शिक्षक हुन् । उनकै पहलमा सो विद्यालय क्रमशः निमावि र दुई वर्षअघि मात्र माध्यमिक तहमा स्तरोन्नति भएको थियो । एसईई दिएको पहिलो ब्याचले नै गाउँपालिकाका सबै विद्यालयलाई उछिनेर सर्वोत्कृष्ट नतिजा ल्याएको उनको भनाइ छ । 

‘उहाँको सक्षम नेतृत्वले गर्दा यस विद्यालयले पहिलो पटकको एसईईमा नै धार्चे गाउँपालिकाको सर्वोत्कृष्ट नतिजा ल्याउन हुन सफल भएको थियो’, वडा अध्यक्ष गुरुङले भने, ‘उहाँ अहिले स्वास्थ्यका कारण अनिवार्य अवकाशभन्दा दुई वर्षअघि नै विद्यालयबाट बिदा लिएर जानुभयो । त्यसैले हामीले यथासक्य सम्मान गरेका हौं ।’

बिदाइमा गाउँलेबाट अपेक्षा नगरेको सम्मान प्राप्त गरेको शिक्षक उपरकोटीको भनाइ छ । ‘आज बिदाइको दिनमा मैले नसोचेको, कतै नसुनेको, कतै नदेखेको सम्मान पाएँ । मैले त कर्तव्य निर्बाह गर्नुबाहेक के नै गरेको थिएँ र ? तैपनि गाउँलेहरू मसँग यति धेरै खुसी, र सन्तुष्ट रहेछन् भन्ने थाहा पाएँ’, उनी भन्छन्, ‘म त केही सोच्नै सकिरहेको छैन ।’
उनको बिदाइमा धार्चे गाउँपालिकाका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा आसपासका आधा दर्जनभन्दा धेरै आधारभूत विद्यालयका शिक्षकहरू पनि सहभागी थिए ।

विद्यार्थी तथा गाउँलेहरू रोएर बिदाइ गरेका शिक्षक रामपति गुरुङले जानकारी दिए । रुञ्चेत गोरखाको दुर्गम गाउँ हो । यहाँ गुरुङ र विश्वकर्मा समुदायको मात्र बसोबास रहेको छ । शिक्षाको क्षेत्रमा पिछडिएको यो गाउँमा इन्द्र उपकारकोटीले गण्डकी माविको संस्थापक प्रधानाध्यापक बनेर लामो सेवा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.