वातावरणीय विनाश घटाउन भू–स्वरूप संरक्षण
साधारणतः भूस्वरूप भन्नाले कुनै पनि स्थानको विहंगम आकृति भन्ने बोध हुन्छ। सो जीवनको त्यो फराकिलो भूभाग हो, जुन प्राकृतिक वा सांस्कृतिक प्रक्रियाबाट विविध आकार तथा लक्षणले छुट्टिन्छ। तर, धेरै व्यक्ति यस सम्बन्धमा आजसम्म पनि अनभिज्ञ छन्। अतः वंशाणुगत विविधता, प्रजाति विविधता र पारिस्थितिक प्रणालीको विविधताको सुरक्षामा ध्यान दिन उचित देखिन्छ। वंशाणुगत विविधताले भूस्वरूप संरक्षणमा धेरै नै प्रभाव पार्छ। तर, यो कुरा धेरैजसो व्यक्तिलाई थाहा छैन। यो प्रत्येक देशमा फरक–फरक हुन्छ। त्यसैले यसको संरक्षणका लागि बेग्लै तरिका अपनाउनुपर्छ।
प्रजाति विविधता भू–स्वरूपको अभिन्न स्रोत हो। यो विभिन्न देशमा फरक देखिन्छ। तसर्थ यसको संरक्षणका लागि पनि विभिन्न देशमा विभिन्न किसिमका तौरतरिका अपनाउन वाञ्छनीय हुन्छ। यसो गर्न सकेमा मात्र भविष्यमा भूस्वरूप संरक्षणको लागि महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। नेपालमा प्रजाति विविधता उच्च छ। यहाँ विश्वको ९.३ प्रतिशत (८,४४) वटा प्रजाति, ५.१ प्रतिशत (८,५३) झ्याउ–काई प्रजाति, ५.१ प्रतिशत (२८) अनावृत्तजीवी प्रजाति, ४.५ प्रतिशत (१८१.९३) पुतली तथा पुतंग प्रजाति, ३.४ प्रतिशत (३,०८) उन्यु प्रजाति, २.७ प्रतिशत (५,८५६) सुपुष्पक प्रजाति र २.६ प्रतिशत (६८७)
एउटा उपयोगी भू–स्वरूपमा विभिन्न भूप्रयोग प्रणालीको आवश्यकता पर्छ, जसमध्ये पारिस्थितिक प्रणाली पनि एक हो। वास्तवमा भूस्वरूपअन्तर्गत विभिन्न पारिस्थितिक प्रणाली हुन्छन्, जसले विभिन्न वस्तु तथा सेवा प्रदान गर्दै आएका छन्। यिनीहरूको परिणाम तथा गुणले पनि भूस्वरूपको संरक्षणमा असर पार्छ। यस धरतीमा विभिन्न किसिमका प्राकृतिक स्रोत छन्। जसमध्ये भूमिलाई महत्त्वपूर्ण मानिन्छ। जुन सीमित प्रकृति प्रदत्त उपहार हो। मानव जातिको प्रमुख सम्पत्तिको रूपमा रहेको भूमिमा बसोबासदेखि विभिन्न व्यवसायसम्म सञ्चालन गरिन्छ। जसमध्ये खेतीपातीको विशेष महत्त्व छ।
पृथ्वीको कुल १३ अर्ब हेक्टर भूमिमध्ये ११ प्रतिशतमात्र खेतीयोग्य छ। जसमध्ये १७ प्रतिशतमात्र सिञ्चित हुनाले खेतीपातीका लागि विशेष ध्यान दिनुपर्ने देखिन्छ। विश्वमा विद्यमान धरातलअनुसार खेतीयोग्य भूमिको अधिकता, केही वनजंगल तथा झाडी, केही मरुभूमि आदि पाइन्छ। तसर्थ, भौगोलिक वास्तविकतालाई आधार मानेर भूमिको प्रयोग गर्न सकेमात्र यसबाट निरन्तर रूपमा फाइदा लिन सकिन्छ। तर, यसको लागि भूस्वरूपको संरक्षणको नितान्त आवश्यक छ।
आज विश्वको धेरै देशको भौतिक, सामाजिक, आर्थिक, नैतिक तथा पर्यावरणको विनाश निरन्तर रूपले भइरहेको छ। निहित स्वार्थका लागि वातावरणको सुरक्षा गर्न नसक्दा विनाश दिनप्रतिदिन बढिरहेको छ। जसको कारण सम्पूर्ण मानव जाति र जीवित प्राणीमा नकारात्मक प्रभाव परेको छ। वास्तवमा प्रत्येक व्यक्तिको सुस्वास्थ्य तथा पर्यावरण संरक्षणको लागि बोट बिरुवाहरूको महत्त्वपूर्ण योगदान हुन्छ। एउटा वयस्क रुखबाट अक्सिजन उत्पादन मात्र पनि वार्षिक १ सय ३ लिटरसम्म हुन्छ। योबाहेक एउटा रुखले वायुमण्डलमा वार्षिक औसत २२ केजी कार्बनडाइअक्साइड ग्यास अवशोषण गर्छ। यसबाट निःसन्देह प्रत्येक व्यक्तिको श्वासप्रश्वासमा सकारात्मक प्रभाव पार्छ र दीर्घायुमा धेरै नै सघाउ पुर्याउँछ।
धरातलीय स्वरूप तथा हावापानीको विभिन्नताको कारण धेरै देशको पारिस्थितिक प्रणाली, बासस्थान, वनस्पति तथा प्राणी प्रजातिको विविधता फरक देखिन्छ। पारिस्थितिक प्रणालीको विविधताको सन्दर्भमा नेपालमा उष्ण प्रदेशीय हावापानीदेखि हिमाली क्षेत्रीय हावापानीसम्म पाइन्छ र त्यसलाई १० प्रकारको जीव जलवायु क्षेत्रमा बाँडिएको छ। यहाँ जम्मा १ सय १८ प्रकारका पारिस्थितिक प्रणाली, ७५ किसिमको वनस्पति क्षेत्र र ३५ प्रकारको वनजंगलको पहिचान गरिएको छ। जसको संरक्षण गर्न सकिएमा भविष्यमा धेरै फाइदा प्राप्त गर्न सकिन्छ।
मूलतः समृद्ध जीवनयापनका लागि आर्थिक तथा भौतिक विकास गर्नुपर्छ। जुन मानवीय विकासको शाश्वत नियम हो। परन्तु, हाल विश्वका धेरैजसो देशमा भइरहेको सहरीकरण, उद्योगहरूको स्थापना र विज्ञानको चमत्कारको कारण यहाँको प्राकृतिक वातावरण दिनदिनै प्रदूषित भइरहेको छ। परिणामस्वरूप, अथाह प्राकृतिक सम्पदाहरू भएका विकसित मुलुकहरूमा वातावरणीय विनाश तीव्र रूपले हुन थालेको छ भने विकासशील तथा अति कम विकसित राष्ट्रहरूमा उक्त सम्पदाहरूको सही परिचालन नभई विनाश भइरहेको छ।
आज वातावरणीय विनाश विश्वकै लागि ठूलो चुनौतीको रूपमा देखा परेको छ। यस्तो विनाशको न्यूनीकरणको लागि भूस्वरूप संरक्षणले महत्त्वपूर्ण भूमिका खेल्छ। मानव जातिको अस्तित्वको लागि भूस्वरूपको नितान्त आवश्यक छ। तर, वर्तमान परिवेशमा विभिन्न मानवीय आवश्यकता परिपूति गर्न भूस्वरूपको कस्ता लक्षण हुनुपर्छ, यसबाट पशुपक्षीलाई कस्ता तत्त्वको आवश्यकता पर्छ सोको अध्ययन अनुसन्धान गरी व्यवहारमा उतार्न आवश्यक छ। यसो गर्न सकेमा भूस्वरूपको संरक्षणमा टेवा पुग्नेछ र सम्पूर्ण मानव जातिको कल्याण हुने कुरामा दुई मत नहोला।
प्रतिक्रिया दिनुहोस !