अमेजनले आगामी पाँच वर्षमा भारतमा ३५ अर्ब डलर लगानी गर्ने
काठमाडौं : विश्वको अग्रणी ई-कमर्स कम्पनी अमेजनले आगामी पाँच वर्षमा भारतमा ३५ अर्ब डलर लगानी गर्ने बताएको छ। बुधबार एक कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट्स) अमित अग्रवालले कम्पनीले ३५ अर्ब डलरभन्दा बढीको लगानीमार्फत सञ्चालन विस्तार गर्ने बताए। कृत्रिम वुद्धिमत्ता क्षमताहरूलाई बलियो बनाउने योजना रहेको उनको भनाइ छ।
यो वर्ष ठूला अमेरिकी प्रविधि कम्पनीहरूले भारतमा अर्बौं डलर लगानी गर्ने घोषणा गरेका छन्। एक दिनअघि मात्र माइक्रोसफ्टले २०३० सम्ममा एआई र क्लाउड पूर्वाधारमा १७.५ अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो जुन एसियामा यसको सबैभन्दा ठूलो लगानी हुनेछ।
गुगलले आगामी पाँच वर्षमा एआई डाटा सेन्टरहरू निर्माण गर्न १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। अमेजनले एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन आफ्नो लगानी रहेको बताएको छ।
अमेजनले विगत दश वर्षमा भारतीय विक्रेताहरूका लागि २० अर्ब डलरभन्दा बढीको निर्यात उत्पन्न गर्न मद्दत गरेको बताएको छ। जसलाई २०३० सम्ममा ८० अर्ब डलर पुर्याउने योजना छ। कम्पनीले २०३० सम्ममा देशमा थप १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पनि राखेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी ई-कमर्स दिग्गजले २०१० देखि भारतमा ४० अर्ब डलर लगानी गरिसकेको छ। २०२३ सम्ममा, यसले देशमा आफ्नो उपस्थिति विस्तार गर्न २६ अर्ब डलर लगानीको घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस !