कांग्रेसको आन्तरिक जीवनमा मध्यमार्ग
‘भोलि के गर्ने ?’ भन्ने प्रश्नको जवाफ दिन नसक्ने नेतृत्व आजको कांग्रेसको पहिलो असफलता हो।
नेपालको राजनीति एउटा रोचक तर कठिन मोडमा छ। राष्ट्र नै अनिश्चितता माथि हिँडिरहेको छ भने राजनीतिक दलहरू पनि मार्ग परिवर्तनको खोजीमा छन्। तर यी सबैमध्ये अहिले सबैभन्दा महत्त्वपूर्ण निर्णायक मोड नेपाली कांग्रेसको छ। किनकि कांग्रेसको नेतृत्व चयन केवल एउटा संगठनको आन्तरिक प्रक्रिया होइन, यो मुलुकको लोकतान्त्रिक दिशाको संकेत पनि हो।
नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक परम्परा बोकेको पार्टी अहिले आत्मसमीक्षाको क्षणमा छ। आन्तरिक द्वन्द्व, एकता अभाव, नीतिगत अस्पष्टता र संगठनात्मक छरपष्टताजस्ता समस्या कसैले नकार्न सक्दैन। यही कारण आज कांग्रेसले आज ‘को’ होइन, ‘कस्तो’ नेतृत्व रोज्ने भन्ने प्रश्न अधिक महत्त्वपूर्ण छ। कांग्रेस अहिले संगठन होइन, आफ्नै छायासँग लडिरहेको पार्टी बनेको छ। गुटगत सौदाबाजीमा डुबेको, निर्णय प्रक्रियामा अस्पष्ट, कार्यकर्तासँग दूर र जनतासँग झनै दूर। समस्या कतै बाहिर छैन, पार्टीकै भित्री चेतनामा छ। यही कारण, कांग्रेसको नेतृत्व चयन आज अवसर होइन, बाध्यता बनेको छ।
आगामी महाधिवेशनमा हुने चुनाव पद बाँडफाँटको रुटिन प्रक्रिया होइन, यो कांग्रेस कतातिर जाने ? भन्ने युगीन प्रश्नको उत्तर हो। कांग्रेसभित्र गएको दशक भरको मुख्य रोग हो– निर्णय बन्द कोठामा, संवाद सीमित घेरामा, सुधारको भाषा मात्र तर व्यवहार छैन, गुटका शक्ति समीकरणमा संगठनको भविष्य बेचिनु, नीति एक दिन एउटा, भोलि अर्को। यस्तो पार्टीले कसरी जनता समक्ष विश्वसनीयता स्थापित गर्छ ? कांग्रेस एक ठूला नामहरूको पार्टी होइन, कांग्रेस ठूला मूल्यहरूको पार्टी भएर बाँचेको छ। तर अहिले मूल्य ओझेल पर्दैछ, व्यक्ति अघि सर्दैछन्। यही संकटको मुटु हो। अहिले कांग्रेसलाई नेता होइन, संस्थागत चिकित्सक चाहिन्छ।
कांग्रेससँग नेता धेरै छन्, तर नेतृत्वशैली कम छ। देशको राजनीतिक संस्कृति बदलिँदै छ। आजको माग छ– संवाद गर्ने, सुन्ने, जोड्ने, संस्थागत अनुशासन लागू गर्ने, नीति स्पष्ट गर्ने, पारदर्शिता कायम गर्ने। यस्तो नेतृत्व शैली नै आधुनिक दलको आधार हो। नेतृत्व छनोटमा कांग्रेसले केही आधारभूत प्रश्नहरू आफैंलाई सोध्नुपर्ने बेला आएको छ। के त्यो नेतृत्वले संगठन पुनर्निर्माण गर्न सक्छ ? के त्यो नेतृत्वले गुटलाई मिलाउन सक्छ ? के त्यो नेतृत्व नीति बोलीमात्र होइन, नीतिमा स्पष्ट छ ? के त्यो नेतृत्वले जवाफदेही र नैतिक छवि उच्च राख्छ ? के त्यो नेतृत्व नयाँ पुस्तासँग संवाद गर्छ ? कांग्रेसको रोग यही हो– सबैलाई खुसी राख्ने तर पार्टी बिर्सने नेतृत्व। ‘भोलि के गर्ने ?’ भन्ने प्रश्नको जवाफ दिन नसक्ने नेतृत्व आजको कांग्रेसको पहिलो असफलता हो। नैतिक छवि अस्पष्ट छ भने पार्टीको भविष्य झनै अन्धकार हुन्छ। कांग्रेसले अब ‘छवि राम्रो होस् तर व्यवहार कस्तो छ ?’ भन्ने प्रश्न सोध्नैपर्छ। किनकि देश र राजनीति बदलिएको छ। कांग्रेस बदलिएको छैन। यही अन्तरपार्टीको ‘डाउनफाल’को प्रमुख कारण हो।
नैतिक छवि अस्पष्ट छ भने पार्टीको भविष्य झनै अन्धकार हुन्छ। कांग्रेसले अब ‘छवि राम्रो होस् तर व्यवहार कस्तो छ ?’ भन्ने प्रश्न सोध्नैपर्छ। किनकि देश र राजनीति बदलिएको छ। कांग्रेस बदलिएको छैन।
संगठन छरिएको छ, जिम्मेवारीहरू अस्पष्ट छन्। निर्णय प्रक्रिया पारदर्शी छैन। नेतृत्वको पहिलो परीक्षण यही हो। गुट बुझ्न सक्ने तर गुटहरूको बन्धक नबन्ने नेतृत्व कांग्रेसको जीवन रेखा हो। आर्थिक संकट, संघीयता, सामाजिक न्याय, वैदेशिक नीति यो सबैमा ठोस दृष्टि आवश्यक छ। युवा केवल नारा होइन, भूमिका खोज्छन्। भूमिकाको भाषा बुझ्ने नेतृत्व जरुरी छ।
कांग्रेसले अघिल्ला वर्षमा अवसरहरू गुमाएको तथ्य गम्भीर छ। देशको बदलिँदो राजनीति, वैकल्पिक शक्तिहरूको उदय, स्थानीय र प्रदेश तहमा पार्टीको कमजोर समन्वय– यी सबैले पार्टीलाई ‘दिशा संकट’मा पारेको छ। यही कारण नेतृत्व चयन यसपटक सामान्य निर्वाचन होइन, एक प्रकारको संगठनात्मक उपचार हो। कांग्रेसले अब गुट समन गर्ने, कार्यकर्तालाई सुन्ने, जनतासँग नयाँ ढंगले संवाद गर्ने, निर्णयमा स्पष्टता ल्याउने र संगठनलाई आधुनिक बनाउने नेतृत्व रोज्नु आवश्यक छ। यो केवल परिवर्तनको सवाल होइन, पार्टीको अस्तित्व बाँच्ने सवाल हो। सुधारहरूको रोडम्याप बोकेको नेतृत्व मोडल नै कांग्रेसको उत्तर हो।
कांग्रेस आज यस्तो मोडमा छ, जहाँ नेतृत्व मात्र होइन, नीतिगत दिशा र संगठनात्मक पुनः संरचना दुवै आवश्यक छ। आज कांग्रेसले जो कसैलाई नेतृत्व देओस्, त्यो व्यक्तिभन्दा ठूलो कुरा, कसरी नेतृत्व गर्छ भन्ने हो। जो नेतृत्व संवाद, सुधार र संस्थागत संस्कार बोकेर आउँछ, उसले नै आगतको हाँक र हौसला दिने सार्थकता बोक्छ। नेतृत्वको मूल्यांकन गुटका आधारमा होइन, पार्टीको आवश्यकताको आधारमा हुनुपर्छ। आजको कांग्रेसले परिवर्तनयोग्य नेतृत्व रोजेन भने भोलिको कांग्रेसले अवसर गुमाउनेछ।
नेतृत्व छनोटका मापदण्ड यी हुन्– संस्थागत सुधार पुर्याउने क्षमता, आन्तरिक एकता कायम गर्ने योग्यता, जनतामा पार्टीको विश्वसनीयता पुनस्र्थापना गर्ने सम्भावना, निरन्तर संवाद गर्ने संस्कार, भ्रष्टाचारमाथि स्पष्ट धारणा, संघीयता, समावेशिता, लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता। कुनै पनि सभापतिमा व्यक्तिभन्दा महत्त्वपूर्ण उनको दृष्टि र संस्थागत क्षमताको मूल्यांकन हो। कांग्रेस अहिले मार्गदर्शनको संकटमा छ। संगठन छरिएको, नीति अस्पष्ट, नेतृत्व– विश्वास कमजोर छ। युवा कार्यकर्ता र सामान्य सदस्यहरूको आकांक्षा नेतृत्वले सुन्न सकेको छैन। आन्तरिक लोकतन्त्र कागजमा छ, अभ्यासमा कम छ। यस्तोमा पार्टी सुधारलाई प्राथमिकता दिने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने नेतृत्व खोजिएको छ।
कांग्रेसले आज गर्ने नेतृत्व छनोट नै पार्टीको भविष्यको पहिलो अध्याय हो। कांग्रेसको आन्तरिक जीवनमा मध्यमार्गको बाटो भनेको डा. शेखर कोइरालाको उदय हुनु नै हो।
कांग्रेसले अब ‘सत्ता व्यवस्थापक’ होइन, संगठन– पुनर्निर्माता नेतृत्व रोज्नुपर्ने बेला आएको छ। मूल्यभित्र बस्ने व्यक्ति नेतृत्व गर्न योग्य हुन्छ। आगामी पाँच वर्ष कांग्रेसका लागि अस्तित्वबोधको परीक्षा हो अनि यस्तो परीक्षामा नेतृत्व एक प्रणाली हो, एक व्यक्ति होइन। सुधार एजेन्डाबिना नेतृत्व चयन भनेको कम्पासबिना समुद्र पार गर्ने जस्तै हो। कांग्रेसलाई अहिले नेताभन्दा बढी नेतृत्वको चरित्र चाहिएको छ। गुटलाई चलाउने होइन, गुटलाई मिलाएर अघि बढाउने नेतृत्व नै आजको आवश्यकता हो। सत्ता चलाउन सजिलो हुन्छ तर संगठन चलाउन दूरदृष्टि चाहिन्छ। कांग्रेसभित्र अहिले विवाद होइन, संवाद अभाव छ। जसले संस्थालाई ठीक पार्छ, ऊ स्वतः पार्टीलाई ठीकै मार्गमा लैजान्छ।
सुधारको भाषा बोल्ने होइन, अभ्यास गर्ने नेतृत्वको समय आएको छ। नेता ठूलो तब हुन्छ, जब ऊ आफ्नो वरिपरि ठूलो वातावरण बनाइदिन्छ। कांग्रेसको पुनर्जागरण व्यक्तिको लोकप्रियताले होइन, संस्थाको पुनर्निर्माणले हुन्छ। आवाज धेरै छन् तर सुन्ने कान कम छन्। कांग्रेसलाई अहिले कान भएको नेतृत्व चाहिन्छ। जसले सुन्छ, त्यो नेता जोड्छ, जसले जोड्छ त्यही नेता रूपान्तरण गर्छ। निर्णय लिँदा शान्त तर नीतिमा दृढ यही नेतृत्व शैलीले पार्टी पुनर्जीवित हुन्छ। जो नेता संगठनको समस्या सुन्छ, समाधान स्वतः त्यो नेतृत्वतिर फर्किन्छ।
लोकतान्त्रिक पार्टीको चिह्न उच्च आवाज होइन, उच्च पारदर्शिता हो। आफ्नो पार्टीभित्र लोकतन्त्र सुरक्षित हुन सकेन भने देशमा कसरी सुरक्षित हुन्छ ? संगठनका घाउहरूमा मलम चाहिएको छ। भविष्य चुनावले होइन, आजको संस्थागत निर्णयले तय हुन्छ। देशसँग संवाद गर्नुअघि पार्टीसँग संवाद गर्न सक्ने नेतृत्व नै टिकाउ हुन्छ। विश्वसनीयता कागजबाट आउँदैन, नैतिक इतिहासबाट आउँछ। युवालाई भाषणले होइन, अवसरले विश्वास दिलाउन सकिन्छ। जेनेरेसन ग्याप हटाउने नेतृत्व होइन, जेनरेसन जोड्ने नेतृत्व यही भविष्य हो। निजी फाइदा होइन, संस्थागत अनुशासन महत्त्व दिने नेतृत्व नै दीर्घकालीक हुन्छ।
कांग्रेसलाई धोका नदिने जनतालाई पहिले कांग्रेसले नै धोका दिनु हुँदैन। नीति स्पष्ट नभए, नेतृत्व कति लोकप्रिय भए पनि पार्टी स्पष्ट हुँदैन। राजनीतिमा ठूलो कुरा लक्ष्य होइन, लक्ष्य पुर्याउने शैली हो। आजको नेतृत्वले भोलिको कांग्रेस बनाउँछ, आजको सम्झौता होइन। कांग्रेसलाई अहिले अनुभव र इमानको संयोजन भएको नेतृत्व चाहिन्छ, एक्लै हिँड्ने होइन, सबैलाई लिएर हिँड्न सक्ने।
नेतृत्व छनोटले पार्टीको भविष्य कसरी निर्धारण गर्छ ? आगामी निर्वाचनको तैयारी, वैकल्पिक शक्ति बन्ने क्षमता, जनताबीच ‘नयाँ कांग्रेस’को छवि। गुटगत राजनीतिमा कमी। नीति निश्चितता तथा कूटनीतिक सम्मान। कांग्रेसको नेतृत्व चयन आज व्यक्ति होइन, पार्टीको भविष्यको परीक्षण हो। कांग्रेस आज निर्णायक मोडमा छ। विगतको अनुभव बोकेको, वर्तमानलाई बुझ्ने र भविष्यसँग संवाद गर्न सक्ने नेतृत्व, यही आजको पार्टीको खोजी हो।
नेतृत्व ठूलो तब हुन्छ जब ऊ संवाद बढाउँछ, पारदर्शिता ल्याउँछ, सुधार सुरु गर्छ र संगठनलाई व्यक्तिमा होइन, प्रक्रियामा टिकाउँछ। कांग्रेसले अब कसैको लोकप्रियता होइन, सुधार र संस्थागत संस्कार बोकेको नेतृत्व रोज्न सक्यो भने पार्टीमात्र होइन, देशको लोकतान्त्रिक यात्रा पनि नया लयमा फर्किन सक्छ। अन्ततः कांग्रेसले आज गर्ने नेतृत्व छनोट नै पार्टीको भविष्यको पहिलो अध्याय हो। कांग्रेसको आन्तरिक जीवनमा मध्यमार्गको बाटो भनेको डा. शेखर कोइरालाको उदय हुनु नै हो।
प्रतिक्रिया दिनुहोस !