क्यान्सर सर्भैभरशिप र पेडियाट्रीक प्यालेटिव केअरसम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न
काठमाडौं : क्यान्सर सर्भाइभरशिप र पेडियाट्रीक प्यालेटिव कियर (बालिय प्रशामक सेवा) विषयमा सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। कान्ति बाल अस्पतालद्वारा आयोजना गरिएका कार्यक्रम नेपाल चाइल्डहुड क्यांसार एलायन्सको सहयोगमा सम्पन्न साथै रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा संचालित परियोजनाअन्तर्गत सम्पन्न गरिएको हो।
यसले सर्भाइभरशिप अनुभव बोकेका बालबालिका, अभिभावक, स्वास्थ्य क्षेत्रका प्रमुख व्यक्तिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसहित सबैलाई एकै स्थानमा ल्याएर कथा साझा गर्ने, चुनौतीहरू उठाउने र सहकार्यको नयाँ बाटो तय गर्ने अवसर प्रदान गरेको छ।
यस कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, नेपकियर, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुगेदर एगेन्स्ट चाइल्डहुड क्यान्सर, लियाेनार्दाे एडवार्ड श्रेष्ठ फाउण्डेसन जस्ता संस्थाहरू उपस्थिति थिए।
कार्यक्रमको पहिलो सत्र सर्भाइभरशिपमा केन्द्रित थियो भने दुई जना क्यान्सर विजेताहरूले आफ्नो जीवनयात्रा सुनाउँदै कार्यक्रमको सुरुवात गरे, जसले प्रेरणा, दृढता र आशाको वातावरण सिर्जना गर्यो। यसपछि डा. सानी सिपाइ (कान्ति बाल अस्पताल) द्वारा सञ्चालित एक अन्तरंग तथा प्रभावशाली प्यानल छलफल भयो, जहाँ बाल क्यान्सरबाट बचेका बालबालिकाका अभिभावकहरूले आफ्ना संघर्ष, यात्रा, र विजयका कुरा हृदयस्पर्शी रूपमा प्रस्तुत गरिन्।
“बाँचाइ केवल क्यान्सर निको हुनु मात्र होइन, त्यसपछिको निरन्तर यात्रासँग पनि जोडिएको हुन्छ”, डा. सानी सिपाइले भनिन्। यस सत्रले खुला संवाद र साझा सिकाइका लागि महत्वपूर्ण मञ्च प्रदान गर्यो, जसले स्वास्थ्यकर्मीहरूलाई कगचखष्खयच तथा उपचार भइरहेका बालबालिका र उनीहरूको परिवारको अनुभव नजिकबाट सुन्ने अवसर दियो।
दोस्रो सत्र बालीय प्रशामक सेवामा केन्द्रित थियो, जुन क्यान्सर व्यवस्थापनको एक अत्यन्त महत्वपूर्ण पाटो हो। डा. निशा ज्योति श्रेष्ठले नेपालको विद्यमान प्यालेटिव केअर सेवाहरू, संरचना र आवश्यकताहरूबारे प्रस्तुति दिइन्। त्यसपछि डा. अलीना देवी भण्डारी र हिमानी बिष्ट सहितका स्वास्थ्यकर्मीहरूले पीआईपसीयू र एनआईसीयूमा प्यालेटिव केअर तालिम प्राप्त गरेपछि देखिएका महत्वपूर्ण परिवर्तन र प्रभावहरूबारे आफ्ना प्रत्यक्ष अनुभवहरू साझा गरे।
कार्यक्रमको अन्त्यमा विशेषज्ञहरू र सरोकारवालाहरूले खुला छलफलमार्फत नेपालमा क्यान्सर भएका तथा जीवन सीमित अवस्थाका बालबालिकाका लागि सहयोगी संरचनालाई अझ सुदृढ बनाउन के–कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा सामूहिक विचार विनिमय गरे।
प्रतिक्रिया दिनुहोस !