गोरखामा चियासिडको परीक्षण उत्पादन सफल
गोरखा : गोरखामा चिया सिड खेतीको सफल परीक्षण उत्पादन गरिएको छ । गोरखा नगरपालिका १४ गर्बुङको एक फर्ममा चिया सिडको सफल परीक्षण उत्पादन गरिएको हो ।
गोरखा अर्गानिक हर्बल फर्मको २८ रोपनी जग्गामा चिया सिड खेती गरिएको फर्मका सञ्चालक खेमराज भट्टराईले जानकारी दिए । ‘यो खेती गर्न थालेको त २०७५ सालदेखि हो’, उनले भने, ‘तर यस वर्षचाहिँ अलिक धेरै उत्पादन भयो । १० मुरी उत्पादन गर्ने लक्ष्य थियो । लक्ष्यजति उत्पादन गर्न भने सकिएन ।’
चियासिड तुलसी वा बाबरी जस्तै देखिने बुट्यान हो । यसको बियाँ बाबरीजस्तै पानीमा भिजाएर खाने सुपरफुड हो । ‘यसको मूल्य बजारमा एक हजार रुपैयाँ प्रतिकिलो छ । अर्थात चामलभन्दा पाँच गुनाले बढि मूल्यमा बिक्री हुन्छ । कम पानी हुने सुख्खा ठाउँमा लगाइने हुनाले यसको खेती गर्न पनि सजिलो छ’, उनले भने, ‘चिया सिड ल्याटिन भाषाबाट बनेको शब्द हो । यसको बिउ पनि मैले क्यालिफोर्नियाबाट ल्याएको हुँ ।’ मानव स्वास्थ्यलाई अत्यन्त राम्रो हुने भएकाले विश्व बजारमा यसको माग बढिरहेको उनको भनाइ छ ।
नेपाली पहाडको भिरालो, बाँझो जमिन पनि लगाउन सकिने र राम्रो मूल्य लिन सकिने भएकाले चिया सिडको खेती जो कोहीले गर्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !