फाइनलको एक स्थानका लागि लुम्बिनी र विराटनगरको दाबेदारी

फाइनलको एक स्थानका लागि लुम्बिनी र विराटनगरको दाबेदारी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा अब फाइनलसहित दुई खेल बाँकी छन्। पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्समाथि जित हात गर्दै फाइनलमा स्थान सुरक्षित पारिसकेको छ। 

बुधबार त्रिवि क्रिकेट रंगशालामा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटर खेले। यसमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा आफ्नो स्थान पक्का गर्‍यो।

दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सले बिहीबार एकअर्काको सामना गर्नेछन्। दुईमध्ये जित निकाल्ने टिमले फाइनलमा सुदूरपश्चिम रोयलसँग खेल्नेछ। विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचको खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ।

 
लुम्बिनी लगातारको चार जितसहित जितको लयमा छ। विराटनगर भने अन्तिम खेलमा सुदूरपश्चिमसँग गरेको गल्ती नदोहोराएर दोस्रो क्वालिफायर खेल्ने तयारीमा छ। राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा लुम्बिनी लायन्स रहेको छ भने विराटनगर किंग्स नेपालका पूर्वकप्तान सन्दीप लामिछानेको नेतृत्व रहनेछ। 

लुम्बिनी लायन्समा भारतीय प्रशिक्षक चिनु योहानन् प्रमुख प्रशिक्षक छन् भने विराटनगरमा धमिका प्रसादले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन्। प्रमुख प्रशिक्षकमा विराटनगर किंग्सले पुबुदु दासानायके नियुक्त गरेको थियो। तर उनको अनुपस्थितिमा हाल धमिकाले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। 

शीर्षक्रमको ब्याटिङमा निर्भर विराटनगरको जित 
विराटनगर किंग्सले हालसम्म निकालेको जितहरूमा प्रदर्शन महत्त्वपूर्ण रहेको छ। शीर्षक्रमको ब्याटरमा फाफ् डु पेल्सिस, साम हिजलेट, मार्टिन गप्टेल र जर्ज मुन्से जस्ता खेलाडीको प्रदर्शनमा विराटनगरको जित निर्भर रहेको देखिन्छ। पहिलो क्वालिफायरको खेलमा शीर्षक्रमका ब्याटर सहजै पतन हुँदा विराटनगर समस्यामा देखिएको थियो। 

शीर्षक्रममा रहेका विदेशी खेलाडीको प्रदर्शनमा निर्भर रहेको विराटनगरका लागि मध्यक्रममा लोकेश बम, बसिर अहमद र बलिङ अलराउन्डरको भूमिकामा रहेका प्रतिश जिसी र नरेन्द्र भट्टको प्रदर्शन पनि महत्त्वपूर्ण हुन्छ। कप्तान सन्दीप लामिछाने तल्लो क्रममा आएर केही आक्रामक ब्याटिङ खेल्न सक्छन् तर त्यसका लागि विराटनगरको शीर्षक्रम भने मजबुत हुनुपर्ने हुन्छ। 

पहिलो क्वालिफायरमा गरेको गल्ती दोहोर्याएको खण्डमा विराटनगर लुम्बिनीसँग पराजित हुन सक्छ। बलिङमा राम्रो प्रदर्शन गर्दै आएको विराटनगरको ब्याटिङ प्रतियोगिता अवधिभर भरपर्दो भइरहेको छैन। फाफ डु पेल्सिस आइसकेपछि टिमको ब्याटिङ अझ बलियो भएको हो। तर पहिलो क्वालिफायरको खेलमा विराटनगरले सस्तैमा आफ्नो विकेट गुमायो। जसको कारण विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयलसँग हार व्यहोर्यो। लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट जित निकालेको विराटनगरले सोही टिमसँग पहिलो क्वालिफायरमा हार्न पुग्यो। 

टिमको बलिङ भने सन्तोषजनक छ। विराटनगरको बलिङमा कप्तान सन्दीप लामिछानेसहित मार्चेन्ट डे लाङ्गे, प्रतिश जिसी, सूर्य तामाङ, सुवास भण्डारी, नरेन भट्ट जस्ता खेलाडी रहेका छन्। पिचको अवस्था र टसका आधारमा कप्तानले टिम सही छनोट गर्नुपर्ने हुन्छ। यो खेल नकआउटको खेल हो। यसमा विराटनगरले अर्को मौका पाउने छैन। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयलसँग पराजित भएपनि विराटनगरले दोस्रो मौकाको रूपमा दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो। 

लगातारको चार जितसहित लयमा लुम्बिनी
लुम्बिनी लायन्स पछिल्लो चार खेलमा चार जितसहित जितको लयमा छ। लिग चरणको अन्तिम तीन खेलमा जित दर्ता गर्दै लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो। बलिङमा शेर मल्लको उत्कृष्ट प्रदर्शन आइरहँदा लुम्बिनी लायन्स बलियो देखिएको छ। नेपाली खेलाडीबाट निस्किरहेको म्याच विनिङ प्रदर्शनबाट लुम्बिनी लायन्स निकै खुसी छ। एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले भने, ‘शेर हाम्रो टिममा निकै महत्त्वपूर्ण खेलाडी हो। विशेषतः बलिङमा उसले जतिबेला बल समाइदिए पनि विकेट निकालिरहेको छ।’

एलिमिनेटरको खेलपछि लुम्बिनीले आराम पाउँदैन। भोलिपल्टै दोस्रो क्वालिफायरको खेल खेल्ने भएकाले लुम्बिनी केही थकित भने हुनेछ। तर यसलाई कुनै बहानाको रूपमा बनाउन नमिल्ने भन्दै कप्तान पौडेलले भने,‘यसलाई कुनै पनि बहानाको रूपमा बनाउन मिल्दैन हामीले यसरी नै धेरै खेलहरू खेलिरहेका छौँ। प्रतियोगिताको तालिका यसै अनुसार बनेको थियो। त्यसैले भोलिको खेलका लागि हामी तयार छौँ।’ लुम्बिनी लायन्समा शेर मल्लसहित रुबेन ट्रम्पलमेनको बलिङ प्रदर्शनमा निरन्तरता छ। यसले टिमलाई निकै राम्रो सहयोग मिल्नेछ। 

लुम्बिनी लायन्सको पछिल्लो समय देखिएको सबैभन्दा ठुलो तनावको विषय शीर्षक्रममा कुनै पनि ब्याटस्म्यान नचल्नु हो। विशेषतः ओपनिङमा डार्सी सर्टसँग कुनै पनि ओपनरले साझेदारी बनाउन सकेका छैनन्। जुन टिमले सुधार्नुपर्ने पक्ष रहेको कप्तान रोहित आफै पनि स्वीकार गर्छन्। ‘हाम्रो विशेषतः ओपनिङमा डार्सी सर्टसँग कुनै पनि साझेदारी बन्न सकेको छैन। मलाई लाग्छ आउने दुई (दोस्रो क्वालिफायर र फाइनल) खेलमा यो पक्ष सुधार्न सक्छौँ।’ 

लिग चरणमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई हराइसकेको छ। लिगमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको थियो। विराटनगरसँगको खेल अघि कप्तान रोहित भन्छन्,‘यो खेल दुवै टोलीका लागि नकआउट खेल हो। पछिल्लो लिग चरणको खेलको नतिजाले महत्त्व राख्दैन। दोस्रो क्वालिफायरमा जसले राम्रो खेल प्रदर्शन गर्छ र प्रेसर ह्यान्डल (सम्हालिन) सक्छ सोही टिमले जित्नेछ।’  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.