पार्टी–स्वार्थ समूहका निर्विकल्प!

समाजका अपेक्षा, राज्यका नीति र नेताहरूका व्यवहारले पनि देशका क्षतिहरूमा ‘आगोमा घिउ’ थपिरहेको छ।

पार्टी–स्वार्थ समूहका निर्विकल्प!

सबै प्रकारका षड्यन्त्रलाई परास्त गरेर गठन गरिएको’ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार नवयुवाहरूको सुशासनको माग सम्बोधन गर्न नसक्दा एक वर्ष नाघ्दा–ननाघ्दै ढल्यो। यसभन्दा पहिले पनि सरकार ढल्ने, ढाल्ने र उठ्ने हुन्थे। पहिले यस कर्मका कलाकारहरू देखिन्थे र चिनिन्थे। उनीहरू कहिले कलाविहीन त कहिले कलायुक्त नाटक मञ्चन गर्थे। सरकारमा चढ्नेहरूको उद्घोष हुन्थ्यो– देशी–विदेशी शक्तिको षड्यन्त्र परास्त गरियो। ढालिनेहरूको स्पष्टीकरण हुन्थ्यो– राष्ट्रवादी र विकासप्रेमी सरकारलाई देशको भू–राजनीतिक संवेदनशीलता, देशी–विदेशी शक्ति र षड्यन्त्रले ढाल्यो!

तर यो पटक सरकार ढल्दाको रहस्य के हो ? को थिए यसका निर्देशक र कलाकार ? यसभन्दा पहिले सरकार ढल्दा केही व्यक्तिका पद र तिनका स्वार्थ ढल्ने गरेकोमा यो पटक देशका दर्जनौं नवयुवाको जीवन ढल्यो। तिनका भविष्य, अभिभावकको भरोसा र सन्तानका सपना ढले। यसरी ढलेको मानवीय क्षतिसँगै राज्यका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाजस्ता धरोहरहरूको भौतिक संरचना ढले। प्रहरी कार्यालय, निजी क्षेत्रका पेसा व्यवसाय र राजनीतिक पार्टीका नेता–कार्यकर्ताका अर्बौं मूल्यका सम्पत्ति जलाइए। यो सन्दर्भ हो, २०८२ भदौ २३–२४ मा ‘जेन–जी’को सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताका माध्यम ‘सोसल मिडिया’को प्रतिबन्ध हटाइनुपर्ने मागका विषयमा गरिएको विरोध र प्रतिरोधको परिणामको।

अकल्पनीय र रहस्यमय यी घटनाको पृष्ठभूमि, परिणाम र कारणका बारेमा भइरहेका अनुमान र विश्लेषणमा एकरूपता छैन। अहिले सामाजिक सञ्जालमा नेपालको सामयिक राजनीतिकका बारेमा व्यंग्य कसेर उडाइको सन्दर्भ हो– सडकमा खुट्टा खुम्चाउँदै हिँडिरहेको कुनै मानिसलाई चिया पसलमा भेला भएका फुर्सदिला डाक्टरहरूले अनुमान गरेर रोगको पहिचान गर्दै समस्याको बारेमा यसरी गफ दिन्छन्– क्रोनिक अर्थराइटिस रहेछ, घुँडामा समस्या छ। प्लान्टर फ्यासाइटिस रहेछ, पैंतालामा समस्या छ। एंकल स्प्रेन हो, गोलीगाँठामा समस्या छ। लोअर मोटर न्यरोन हो, स्नायुमा समस्या छ। प्यारालाइसिस हो, हर नै चल्न सकेको छैन। आदि आदि।

खुट्टा खुम्चाउँदै हिँडिरहेको मानिस एउटा चप्पलको फिता चुँडिएकाले मर्मत गर्ने पसल खोज्दै भौंतारिएको हुन्छ। यसले संकेत गर्छ, सामयिक नेपाली राजनीतिका बारेमा हाम्रो विज्ञता र विश्लेषणको अवस्था कस्तो छ ! विज्ञहरूमा उनीहरूले हासिल गरेको किताबी ज्ञान र रोगहरूको समाधान छ तर उनीहरूको विश्लेषण समाजको यथार्थसँग मेल खाँदैनन्। नेपाली जनबोली छ, पेटको ओखती टाउकामा। खुट्टा खुम्च्याउँदै भौंतारिने मानिस हाम्रो समाजको औसत प्रतिनिधि हो, जसको निजी सवारीसाधन छैन र सार्वजनिक यातायातमा यात्रा गर्न सक्दैन। गरिबीको कारण राम्रो जुत्ता चप्पल लगाउन असमर्थ छ। ऊ फिता चुँडिएकै चप्पल घिसार्दै मर्मत गर्ने पसल खोज्दैछ। उसमा देखिएको शारीरिक लक्षण गरिबीले उत्पन्न समस्या हो।

रामराज्यको सपना र चक्रवर्ती सम्राट्को अहम् पालेर प्रमुख राजनीतिक पार्टीहरूको सता गठबन्धनले वैकल्पिक सरकारको विकल्पका बाटाहरू बन्द गरेकै परिणाम देशले सरकारविहीनताको अवस्था सामना र अकल्पनीय क्षति बेहोर्नु पर्यो। यस्तो किन भयो र यसको जिम्मेवार को हुन् ? राम्रोको जस लिन हतार तर खराब अरूका षड्यन्त्र हुन् भनेर पन्छिने प्रवृत्ति यस्ता घटनाका कारण हुन्। जवाफदेही र दोषी कोही नहुने र सजाय पनि कसैलाई हुन नसक्ने। राम्रो गर्न सम्भावित खतरा र खराब आकलन तथा नियन्त्रण महत्त्वपूर्ण हुन्छ। सबैतिरका ढोका र विकल्प बन्द नहुँदो हो त ‘प्लान ए, बी’ले परिस्थितिको आकलन र नियन्त्रणमा लिन सक्थे। ‘प्लान ए’ले नसके ‘बी’ र ‘सी’ काम लाग्थ्यो। तर ‘ए’ र ‘बी’ दुवै एउटै जहाजमा यात्रा गर्दा डुबेको परिणाम भोगिरहेको छ, देशले।

उदाहरण अनेक छन्, एउटा हो– नेपाली कांग्रेस। पार्टी सभापति शेरबहादुर देउवाले भदौ २३–२४ को घटनापछि राजनीतिमा विशेषतः पार्टीमा आफ्नो भूमिका र भविष्य नदेखेर उपाध्यक्ष पूर्णबहादुर खड्कलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। तर कार्यवाहक सभापति खड्काको नेतृत्वमा कांग्रेसले दुई महिनामा एउटा त्यस्तो कुनै निर्णय गर्न सकेन जुन पार्टीको अन्तरिक राजनीतिक गतिविधि र देशको भविष्यसँग जोडिएका विषयसँग सम्बन्धित थिए ! देउवा दाइले आफ्नो सान्दर्भिकता नदेखेको पार्टीमा उनको उपस्थितिमा मात्र आफ्नो सान्दर्भिकता देख्ने कांग्रेसका धेरै भाइले महाभारतको यो राम गाथा गाएरै समय बिताए –
ख्वामित् ! हजुरको म त दास पो हुँ।
यो राज्य गर्ना कन योग्य को हुँ।।
यो गादि ता याहिँ हजुरको हो।
मैले त सेवा गरी बस्नु पो हो।।
देउवा दम्पतीको वियोगमा खराउ परिक्रमामा दुई महिना बिताएका कांग्रेसका भाइहरूले अन्ततः देउवा वन–विहारबाट फर्केपछि आपसी विवाद मिलाए। हिजो जुन गठबन्धनका कारण देउवाको गालामा थप्पड लागेको थियो, त्यही गठबन्धनका नायक ओली दम्पती पनि दशकौं पुरानो मित्रताको कोसेली बोकेर सहानुभूति प्रकट गर्न देउवा आश्रममा पुगे। आफ्नो कुटी शिलान्यास गरेर मित्रलापमा पुगेका ओलीले पराइघरमा आश्रित देउवालाई नयाँ आश्रम निर्माणका लागि आँट भरे। आफ्नो राजनीतिक सान्दर्भिकता सकिएकाले विश्राम लिन र विकल्प खुला गर्न अग्रसर देखिएका देउवा दाइमा नयाँ ‘आँट’ भरिएका दृष्टान्तहरू सतहमा देखिन थालेका छन्।

प्रजातान्त्रिक शक्तिहरू एक हुनपर्ने, कम्युनिस्ट पार्टीहरूको एकता हुनपर्ने, नेकपा एमालेको एकमना सरकार गठन हुनुपर्ने, राजा फर्काउने र नयाँ राजनीतिक शक्तिहरूको उदय हुनुपर्ने बहसका बीच फागुन २१ मा घोषणा गरिएको निर्वाचन तयारीमा पनि छन्, राजनीतिक पार्टीहरू। संसद् विघटन, नयाँ सरकार गठन र निर्वाचन घोषणाको विरोधमा रहेको नेकपा एमाले संसद् पुनस्र्थापनाको पक्षमा हुँदा नेपाली कांग्रेसले भदौ २३ र २४ पछिको परिस्थितिमा निर्वाचनलाई प्राथमिकतमा राखेको थियो। तर ‘भाइ’हरूको रामभक्तिबाट आल्हादित सभापति देउवालाई एमालेका अध्यक्ष ओलीले मित्रताको पुनःस्मरण गराएपछि संसद् पुनस्र्थापनाको ‘ढोक्सा’ खुला भएको छ। नवगठित सरकारका राजदूतहरू फिर्ता, भूमि आयोग विघटन र अन्य नियुक्तिका निर्णयहरू अदालतले खारेज गरिदिएको हेरेर यो ढोक्सा खोलिएको हो। एकपछि अर्को ढोका र ढोक्सा खोलिने क्रममा ८० वर्षीय सभापति देउवाको फेरि प्रधानमन्त्री हुने भाग्य पनि आगामी निर्वाचनमा डडेलधुराबाट खोलिँदैछ।

कांग्रेसमा विकल्पहरू निर्विकल्प हुँदैछन्। एमालेमा निर्विकल्पको स्वघोषणा गरेका पदच्युत प्रधानमन्त्री ओलीको मूच्र्छना फर्किसकेको छ। राष्ट्रिय राजनीतिका चुनौती सामना, पार्टीको प्रतिष्ठा र भविष्य सुरक्षित गर्न एमालेमा ‘बा’को विकल्प नभएको महेश बस्नेतको भनाइले फरक पर्दैन थियो तर महासचिव शंकर पोखरेलका दाह्री–जुँगा कहिले काला हुने ? यसले फरक पर्छ ! चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउन खोजिएकाले ओली नै पार्टीको आगामी नेतृत्वको निर्विकल्प भएको सार्वजनिक मञ्चहरूमा उक्लेर बोल्न बाध्य महासचिव पोखरेल कुन ‘नुनको सोझो’ गर्दैछन् भनेर अनुमान गर्न कठिन छ। भू–राजनीतिक जटिलता र षड्यन्त्रको भूत देखाएर नेपाली राजनीतिमा कहिलेसम्म आफ्नो औचित्य साबित गर्ने ? भू–राजनीतिक जटिलताहरू के के हुन् ? ती कति समाधान भए र कति थपिँदैछन् ? जटिलता थिए भने समाधान किन भएनन् ? थपिएका भए कसका कारण ? आफ्नो असक्षमता ढाकछोप र सिन्डिकेट कायम गर्ने भूराजनीतिक जटिलता र षड्यन्त्रको मुर्कुट्टा मन्साउने कुन ‘धामी–झाँक्री’ले हो ?
नेपालको सामाजिक अवस्था र कतिपय आन्तरिक समस्याका जरा हामीसँग छैनन्। 

प्रविधिको विकास र प्रयोगबाट हुने परिणामका बारे पर्याप्त होसियार नहुँदा, नियन्त्रण, नियमन–अनुगमन नहुँदा, व्यक्ति, समाज र राष्ट्रले अकल्पनीय क्षति बेहोर्न परेका धेरै उदाहरण छन्। समाजका अपेक्षा, राज्यका नीति र नेताहरूका व्यवहारले पनि यस्ता क्षतिहरूमा ‘आगोमा घिउ’ थपिरहेको छ। कति ठूलो छ अनुमान गर्नै नसकिने यो पृथ्वीलाई सूचना र प्रविधिको विकासले ‘ग्लोबल भिलेज’का रूपमा जति साँघुरो बनाउँदैछ, मानवीय भावना र व्यवहारहरू टाढिँदै छन्। ‘सोसल मिडिया’का ‘अनसोसल कन्टेन्ट’को दबाबमा छौं हामी। सोसल मिडियाका सूचनाको आधिकारिकता र विश्वसनीयताको अभाव एक प्रकारको मन्द विष, कुलत वा लागुऔषध सेवन हो। यसको लत एउटा समस्या हो, यसमा प्रेषित सामग्रीको सन्देश र प्रभाव अर्को। यसका प्रयोगकर्ताको सचेतता, नियमन र नियन्त्रणका विधिहरू आवश्यक छ।

अबका दिनमा राज्य, नागरिक समाज र राजनीतिक पार्टीका प्राथमिकता सत्ता–शक्तिको खपत तथा ठूला भौतिक विकासका प्रतिस्पर्धामा मात्र होइन, व्यक्तिका ज्ञान, तिनका रुचि, तिनका भावना र तिनको ज्ञानको प्रयोग वा दुरुपयोगबाट हुने नकारात्मक परिणामप्रति सचेत हुनुपर्छ। विज्ञान र विधिले सबै विषयको विकल्प खोजिरहेको र दिइरहेको समयमा कुनै पनि व्यक्ति विचारको केन्द्रलाई निर्विकल्प मानेर नयाँ घाम जुन उदाएको हेर्न कसरी सकिन्छ ? अबको राम राज्य यो भरत भक्तिले चल्दैन–
हे नाथ् ! तत्त्व सुन्याँ म फिर्छु अब ता जान्छु अयोध्या महाँ।
पूजा गर्न दिनू हवस् हजुरका एक् जोर् खराऊ यहाँ।।
यस्तो बिन्ती गरी प्रणाम् वरिपरि घुम्दै भरत्ले गर्या।
आफ्ना साफी खराउ दी प्रभुजीले सब् ताप् भरत्को हर्या।।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.