लुम्बिनीको कमब्याक फाइनल यात्रा
काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सका लागि सम्झन लायक थिएन। लिग चरणबाट सबैभन्दा पहिले बाहिरिने टिम थियो लुम्बिनी लायन्स। दोस्रो संस्करणमा जुन तरिकाले लुम्बिनीले पुनरागमन गर्यो त्यो तारिफ योग्य छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले बोर्डमा १३४ रन बनाएको थियो। लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई हराउँदै दोस्रो संस्करणको एनपीएलको फाइनलमा स्थान बनाएको छ।
विराटनगर किंग्सको शीर्ष क्रमका तीन ब्याटर नचल्दा विराटनगर किंग्स खेलबाट पछि परेको हो। मार्टिन गप्टेल २ रन, फाफ डु प्लेसिस ३ र लोकेश बम डकआउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको थियो। यसैको फाइदा लुम्बिनीले उठायो। लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १७.५ ओभरमा ९४ रनमा प्याक(अलआउट) गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गर्यो।
लगातारको जितले मजबुत लुम्बिनीको मानसिकता
कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर समेत गरी लगातार पाँच जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको छ। लिग चरणको खेल सकिँदा सात खेलमा चार जित दर्ता गर्दै प्लेअफमा पुगेको लुम्बिनी लायन्सले एलिमिनेटर र दोस्रो क्वालिफायर चरण पार गर्दै फाइनलमा स्थान बनाउँछ भनेर निकै कमले सोचेका थिए।
एनपीएलका समर्थकहरूले पनि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको लिग चरणको खेल हेरेर यी दुईको फाइनल हुने अड्कलबाजी गरेका थिए। तर हरेक अड्कल र अपेक्षा विपरीत लुम्बिनी लायन्सले फाइनलमा स्थान बनायो। फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। काठमान्डु गोर्खाज र विराटनगर किंग्सलाई पाखा लगाउँदै लुम्बिनी लायन्सले फाइनलको यात्रा तय गरेको हो।
दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई हराएपछि लुम्बिनी लायन्सका ओपनिङ ब्याटर डार्सी सर्टले भन्छन्, ‘हाम्रो लागि गुमाउनु केही पनि छैन। प्रेसर सुदूरपश्चिम रोयल्सलाई हुनेछ।’ उनले लुम्बिनी लायन्सलाई ‘अन्डरडग’को रूपमा आएको टिम भएकाले प्रेसर नहुने बताए। ‘हामीलाई अन्डरडगको रुपमा हेरिएको थियो। हामी जसरी खेल्यौं, त्यस हिसाबले कुनै पनि प्रेसर हुने छैन। आशा छ हामीले यस्तै खेल्छौ र ट्रफी पनि जित्नेछौँ।’
लुम्बिनी लायन्सले विदेशी खेलाडीहरूमा प्रायः बलिङलाई प्राथमिकतामा राखेर खेलाडी अनुबन्ध गरेको थियो। जसमा नामिबियाका बायाँ हाते तीव्र गतिका बलर रुबेन ट्रम्पलमेन एक थिए। उनको उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि मिनी अक्सनबाट अनुबन्ध गरेको नेपाली बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताको परीक्षण हुन पाएन।
अब फाइनल खेलमा भने लुम्बिनीले रुबेनको ठाउँमा दुर्गेशलाई परीक्षण गर्ने खतरा लिने छैन। उनी प्रतियोगिता अवधिभर नै बेन्चमा रहे। दोस्रो कवालिफायरमा विराटनगर किंग्ससँगको खेलमा बेन्चबाट आउँदै उनले साम हेजलेटको उत्कृष्ट क्याच लिएका थिए।
लुम्बिनी लायन्सले बलियो मानिएको सुदूरपश्चिम रोयलसँग फाइनल खेल्दैछ। जसका कारण लुम्बिनीले सबैभन्दा ध्यान दिनुपर्ने पक्ष भनेको ओपनिङ ब्याटर हो। ओपनिङमा डार्सी सर्टसँग लुम्बिनीले दुईजना नेपाली ब्याटरलाई परीक्षण गर्यो। सुमित महर्जन र दिनेश अधिकारीलाई लुम्बिनीले परीक्षण गरेको थियो तर दुवै नेपाली ओपनरले डार्सीसँग साझेदारी बनाउन सकेका छैनन्। यो फाइनल अगाडि लुम्बिनी लायन्सले सुधार्नुपर्ने पक्ष हो।
फाइनल खेलमा पनि लुम्बिनी लायन्सको प्रमुख हतियार शेर मल्ल हुनेछन्। स्पिनमा जुन तरिकाले उनले बलिङ गरिरहेका छन् उनको विकल्प लुम्बिनीसँग छैन। उनलाई साथ दिन विशेष गौतम र तिलक राज भण्डारी पनि हुनेछन्। त्यस्तै रोहित पौडेलले पनि स्पिनमा आफ्नो कौशल देखाउन सक्छन्।
तर्फ लुम्बिनीका लागि ब्याटिङमा विकेटकिपर ब्याटर निरोशन डिकवेला, सन्दीप जोरा, जेजे स्मिथले स्टेप अप गर्नुपर्ने हुन्छ। तल्लो क्रममा आएर शेर मल्ल पनि आक्रमक ब्याटिङ गर्ने क्षमता राख्छन् तर सुदूरपश्चिमको बलिङ अट्याक पनि उत्तिकै राम्रो भएका कारण लुम्बिनीले फाइनल खेलमा सम्हालिएर खेल्नुपर्ने हुन्छ।
लिग चरणको उतारचढाव र त्यसपछि लगातारको जितसँगै लुम्बिनीको मानसिकता भने बलियो रहेको छ। लिग चरणको तालिकामा आफूभन्दा माथि रहेका दुई टोलीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएकाले लुम्बिनी फाइनल खेलमा पनि उपाधिमै आफ्नो नजर राख्नेछ।
प्रतिक्रिया दिनुहोस !