‘लेड’ले निम्त्याउँदै स्वास्थ्य संकट

‘लेड’ले निम्त्याउँदै स्वास्थ्य संकट

- डा. केयूर गौतम

‘लेड’लाई नेपालीमा सिसा भनिन्छ। यो संसारको सबैभन्दा पहिलो धातुमध्ये एक हो। धेरै काममा उपयोगी देखिएपछि यसको उत्खनन गरियो। आजभन्दा आठ हजार वर्षअघि पहिलोपटक एनाटोलियामा यसको उत्खनन गरिएको थियो, जुन अहिले टर्कीको भू–भागभित्र पर्छ।

‘लेड’ किन लोकप्रिय भयो ? 

घनत्वसँग काम गर्न सजिलो छ र खिया नलाग्ने विशेषता भएकाले यो धेरै काममा आयो। १८ सय वर्षअघि ग्रिक वनस्पति विज्ञले ‘लेड’को मात्रा बढी भएमा पेट दुख्ने र प्यारालाइसिस पनि हुन सक्छ भनेर सचेत गराएका थिए। धेरैले १५ सय वर्षअघिको रोम साम्राज्यको पत्तनको कारण पनि ‘लेड’लाई भन्छन्। रोमन साम्राज्यमा धेरैजसो पानीका पाइपमा लेडकै प्रयोग गरिन्थ्यो, जसका कारण रोमन इम्पायरमा गाउट (बाथ), इनफर्टिलिटी (बाँझोपन)लगायतका समस्या पनि देखिएको मानिन्छ।

दुई सय वर्षअघि वाइन र रमहरूमा ‘लेड’ हालिएका कारण पेट दुख्ने समस्या पहिचान गरिएको थियो। संसारमा सन् १८९७ मा पहिलोपटक अस्ट्रेलियाले बच्चाहरूका लागि ‘लेड’ हानिकारक छ भन्ने पत्ता लगायो। त्यस उप्रान्त अस्ट्रेलियाले ह्वाइट लेड इन्टेरियर पेन्ट्सहरू नै प्रतिबन्धित गर्‍यो। सन् १९०९ अर्थात् आजभन्दा झन्डै एक सय वर्षअगाडि फ्रान्स, बेल्जियम र अस्ट्रियाले पनि ‘लेड’माथि प्रतिबन्ध घोषणा गर्‍यो। सन् १९७८ मा संयुक्त राज्य अमेरिकाले ह्वाइट लेड इन्टेरियर पेन्ट्सलाई प्रतिबन्ध लगायो।

सन् १९५०–१९७० सम्म ‘लेड’ले गर्दा मानिसमा विषाक्तताका प्रभावहरू (टक्सिटी इफेक्ट्स) हुन्छ भनेर अनुसन्धान भए। अहिले मानिसमात्र होइन, बोटविरुवा र जनावरहरू लेड पोइजनिङबाट पीडित हुन सक्छन् भनेर आइसकेको छ। तथ्य जाँच गर्दा अहिले के भनिन्छ भने रगतमा कुनै पनि लेडको ‘स्तर’ सुरक्षित हुँदैन्। सबैभन्दा जोखिम समूहमा ६ वर्षमुनिका बालबालिकाहरू छन् किनभने उनीहरूको एकातिर मस्तिष्क विकास भइरहेको हुन्छ भने अर्कोतिर हातमुखमा लैजाने बानी धेरै हुन्छ।

‘लेड’का मुख्य स्रोतहरूमा दूषित माटो, लेड दूषित पेन्ट्स, लेड भएका ब्याट्रीहरू, ब्याट्री रिसाइक्लिङ प्लान्टहरू, कुनैकुनै मसला, ट्रेडिसनल कुक वेयर र सौन्दर्य प्रशाधनहरू हुन्। तथ्यांकअनुसार संसारभर बर्सेनि १५ लाख मानिसको मृत्यु लेडका कारण हुन्छ भने बर्सेनि ३.४ ट्रिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति हुने गरेको छ। ‘टक्सिक ट्रूथ’ नामक युनिसेफ र प्योर अर्थको एउटा रिपोर्टले संसारभर तीन जना बालबालिकामध्ये एक जनामा सिसा विषाक्तता हुन सक्ने देखाएको छ। विषाक्तता (टक्सिसिटी) भन्नाले कुनै बालबालिकाको रगतमा ५ माइक्रोग्राम पर डेसिलिटरभन्दा बढी लेड देखिनु हो। आठ सय मिलियन बालबालिकामा यो समस्या देखिएको छ, जसमध्ये आधाभन्दा बढी दक्षिण एसियामा बस्छन्।

कहाँ बढी हुन्छ ‘लेड’को जोखिम ?
लेडका स्रोतलाई प्रकृतिका आधारमा चार भागमा विभाजन गर्न सकिन्छ–पेसागत, घर वा भवनमा भएको, आफ्नो सौख र गतिविधि (रिक्रेसनल एक्टिभिटिज)हरू र अन्य स्रोतहरूबाट। पेसागत आउने स्रोतमा प्लम्बरहरू, जो पुरानो लेडवाला पाइपहरूसँग चलिरहन्छन्, लेडको उत्खनन र रिफाइन गर्ने ठाउँहरूमा, पेन्टरहरूमा, ग्लास म्यानिफ्याक्चरिङ कम्पनीमा काम गर्ने मानिसहरू, अटोमोबाइल उद्योगमा काम गर्नेहरू, समुद्री जहाज निर्माताहरू (जहाजमा लेड हुन्छ किनभने नत्र पानीमा खियाँ लाग्छ), प्लास्टिक म्यानिफ्याक्चरहरूमा, प्रहरीहरूमा (हावामा लेड रहेछ भने ड्युटीका क्रममा श्वास लिँदा भित्र जान सक्छ), रबर उत्पादनमा काम गर्नेहरू, ब्याट्री निर्माताहरू र रिलाइकलरहरूमा पनि देख्न सकिन्छ।

यसैगरी, घरहरूमा ‘लेड सेफ पेन्ट्स’ प्रयोग गर्नुपर्छ किनभने पेन्ट्समा ९० पीपीएमभन्दा कम हुनुपर्छ तर लेडको मात्रा धेरै भएको पेन्ट्सहरू प्रयोग गर्दा बालबालिकाले हात र मुखको सम्पर्क गराए भने मुखमा पर्न सक्ने हुन्छ। घरमा भएका पेन्ट, घर भत्काएर नयाँ बनाउँदा पुराना घरहरूमा लेड हुन सक्छ, त्यो लेड धुलो भएर हावामा गएर त्यसबाट शरीरभित्र पस्न सक्छ। औद्योगिक एरिया र सडकको वरपर घर भएका मानिसहरू, सेरामिक भाँडाकुँडामा पनि लेड हुन सक्छ किनभने टल्काउन र फरक बुट्टाहरू बनाउन पनि लेड प्रयोग भएको हुन सक्छ। लेड मिसिएको पेट्रोल नेपालमा छैन किनभने भारतमा लेड फ्रि पेट्रोल आउन थालेपछि नेपालमा पनि लेड फ्रि नै आएको छ।

तेस्रो, सौख र अन्य गतिविधिहरूमार्फत पनि लेड संक्रमण हुन सक्छ। माटोको सामाग्री बनाउँदा त्यसमा चमक निकाल्न लेडको प्रयोग भएको हुन सक्छ। प्रदूषणबाट लेड पोइजनिङ हुन सक्छ। प्रहरी, सेना र विदेशतिर सुटिङ गर्ने फायर रेन्जिङ वा टार्गेट सुटिङ क्रियाकलाप गर्ने मानिसहरूलाई पनि लेड पोइजनिङ हुन सक्छ किनभने बुलेटहरूमा लेड पनि प्रयोग गरिएको हुन्छ।

अर्को, विद्युतीयलगायतका सोल्डरिङका कामहरूमा लेड हुन्छ। प्रायः सोल्डरिङमा लेड नै प्रयोग गरिन्छ। अर्को स्रोत भनेको पुराना मेडिसिनहरूमा पनि कन्टामिनेसन हुन सक्छ। पुराना खालका औषधिहरूमा जानेर होइन्, नबुझीकन कन्टामिनेसनका हिसाबले लेडका मात्राहरू धेरै पाइएको छ। यसो भन्दै गर्दा आयुर्वेद मेडिसिन नराम्रो भन्न खोजिएको होइन्, कुनै–कुनैमा त्यो समस्या देखिएको छ। आयुर्वेद मेडिसिनमा मात्रै होइन्, केही मोर्डन मेडिसिनमा पनि लेड देखिएको छ।

केही समयअघि तौल घटाउने औषधिमा लेडको मात्रा उच्च देखियो। काठमाडौंमा केही मानिसहरू यसकै कारण पेट दुःखेर इमर्जेन्सी उपचारमा गएका घटनाहरू भेट्टाइयो र रगतमा लेडको मात्रा चेक गर्दा उच्च पाइएको थियो। त्यसैगरी, टोबाकोमा पनि लेड हुन्छ। अन्तर्राष्ट्रियस्तरमा सौन्दर्य प्रसाधन (कस्मेटिक्स)मा १० पीपीएमभन्दा कम लेड हुनुपर्ने मान्यता छ। तर, कति वटा प्रडक्टहरूमा त्योभन्दा बढी लेडको मात्रा हुन्छ। त्यसले छाला वा मुखमा लगाइने लिपिस्टिकबाट पनि पोइजनिङ हुने हुन्छ। यस्तै, कुनैकुनै गाजलमा लेडको लेभल उच्च पाइएको छ, बालबालिकालाई लगाइदिने गाँजल घरमै बनाएको प्रयोग गर्दा सुरक्षित हुन सक्छ। ज्वलेरी अर्थात् सुनको ज्वाइन्टहरूमा पनि कहिलेकाहीँ लेड प्रयोग हुन सक्छ भने आर्टिफिसियल ज्वेलरीहरूमा लेडको मात्रा उच्च पाइएको छ।

दैनिक प्रयोग हुने सामानहरूमध्ये कुनै हेयर डाई, जसमा सामान्यतयाः मेहन्दीको कलर हुन्छ तर विभिन्न रङहरू बनाउनका लागि लेडको केही मात्रा हालिएको हुन्छ। त्यसको प्रयोग गर्दा टाउकोको छालाबाट शरीरमा छिरेर पोइजनिङ हुन सक्छ। रंगीन समाचारपत्रमा पनि केही न केही मात्रामा लेड हुन सक्छ। स्ट्रिट फुड खाँदा समाचारपत्रमा राखेको नखाँदा राम्रो हुन्छ भने घरमा पत्रपत्रिकाहरूमा खाना नराख्नु उत्तम हुन्छ। अर्को, हामीले ध्यान दिनुपर्ने कुरा होलीमा खेलिने रङहरूमा कहिलेकाहीँ लेडको मात्रा उच्च हुन सक्छ। त्यसकारण होलीमा सुरक्षित रङ खेल्नुपर्छ।

स्कुल बसहरूमा पनि हामीले पहेंलो रङ लगाएको देख्छौं। पहेलो रङ अरू रङभन्दा १.२५ टाइम बढी चहकिलो हुन्छ। झट्ट हेर्दा आँखा पर्ने पहेलो रङमै हो। नेपालमा देखासिकी गरेर पहेलो रङ लगाइयो। त्योबाट विस्तारै पेन्ट्सहरू निस्क्यो भने पनि बालबालिकामा पोइजनिङ हुन सक्छ।

‘लेड’को साम्राज्य
अब लाग्छ–सबैतिर लेडको साम्राज्य छ, कसरी बाँच्ने ? लेडको प्रयोगबिना जीविकोपार्जन सम्भव छैन। तसर्थ, हामीले ‘लेड फ्रि’ वातावरण होइन, लेडबाट सुरक्षित वातावरण सिर्जना गर्न सक्नुपर्छ। लेड हाम्रो शरीरमा तीन वटा माध्यमबाट सर्छ–मुखबाट, श्वासबाट र छालाबाट। तीनवटा बाटोबाट शरीर छिरेपछि लेड धेरैजसो हड्डीमा गएर बस्छ। रगतमा पाइने लेड २ देखि ५ प्रतिशतमात्रै हो।

कसैलाई पोइजनिङ भएजस्तो लागेर आउँदा रगतमा आएको मात्रै प्रयोगशालामा पत्ता लगाउने हो। हड्डीमा हुने भएकाले कतिपय अवस्थामा रगतबाट पत्ता लाग्दैनन्। ५०–६० वर्ष कटिसकेको व्यक्तिलाई बच्चा हुँदा पोइजनिङ भएको रहेछ भने अहिले रगत परीक्षण गर्दा लेड थाहा हुँदैन। लक्षण छ वा शरीरलाई तनाव भएमा त्यो हड्डीबाट निस्केर रगतमा जान्छ र त्यतिबेला रगतमा उच्च मात्रामा लेड पत्ता लगाउन सकिन्छ।

आईक्यू घटाउनेदेखि मृत्युको कारकसम्म
बालबालिकामा लेड पोइजनिङको सवाल महत्त्वपूर्ण छ किनभने उनीहरूको पेटमा वयस्क मानिसको तुलनामा चारदेखि पाँच गुणा सोस्न सक्ने शक्ति धेरै हुन्छ। बालबालिकाले आफ्नो शारीरिक तौलको तुलनामा बढी खाना खाने, श्वास फेर्ने र पानी पिउने गरिरहेका हुन्छन्। बालकले एक दिनमा १०० देखि ४०० मिलिग्राम धुलो वा घरको डस्ट मुखभित्र लिइरहेको हुन्छ, जुन निकै धेरै हो। नियमित हात मुखमा लिइरहने भएकाले पनि उनीहरू धेरै जोखिममा छन्।

बालबालिकाको ‘ब्लड ब्रेन ब्यारियर’ राम्रोसँग विकास नभएकाले पनि बढी समस्या छ। नराम्रो पक्ष के भने बालबालिकालाई अहिले समस्या भयो भने दीर्घकालमा उनीहरूको सामाजिक–आर्थिक प्रभाव हुन जान्छ। यही कारण उनीहरू पढाइमा, काममा राम्रो गर्न सक्दैनन्। जीविकोपार्जनका लागि आर्थिक समस्याहरू पर्न थाल्छन्। लेडले बच्चामा विस्तारै आईक्यू घटाउने, रगतको कमी हुने, १३ वर्ष जतिमा हुने हर्मोनल विकास ढिलो हुने, हेमोग्लोबिन कमी हुने, हातखुट्टा झमझमाउने लगायतका समस्या देखिन्छन्। लेडको मात्रा बढ्दै गएमा पछि पेट दुख्ने, टाउको दुख्ने हुन्छ। लेडको मात्रा शरीरमा १५० डेसिलिटर पुग्यो भने मृत्यु पनि हुन सक्छ।

यस्कमा लेडको मात्रा बढ्दै गएमा रगतको कमी हुने, उच्च रक्तचाप हुने, मुटुका समस्याहरू देखिने, पटकपटक गर्भपतन हुने र बच्चा छिटो जन्मने (प्रि–टर्म बेबी)जस्ता समस्या देखा पर्छन्। लेडको मात्रा बढ्दै गएपछि पेट दुख्ने, न्युरोलोजिकल समस्या हुने हुन्छ र अन्तमा धेरै उच्च भएमा मृत्युसम्म हुन सक्छ। गर्भवती महिलाको शरीर तनावमा ग्रुजिरहेको हुन्छ। त्यो बेलामा लेड उच्च तहमा छ भने बच्चामा जन्मनुभन्दा अगाडि नै लेडको टक्सिसिटी देख्न सकिन्छ। अन्य देशहरूमा प्रजनन उमेरका महिलालाई वा गर्भवतीलाई लेडको परीक्षण गर्ने चलन छ।

लेडले कुनै पनि अंगलाई असर गर्न छोड्दैन् तसर्थ यो ‘साइलेन्ट किलर’ हो। यो अन्य रोगहरूसँग मिल्दोजुल्दो देखिन्छ किनभने लेड क्याल्सियम र आइरनजस्तै देखिने हुन्छ। तसर्थ, यो जहाँजहाँ क्याल्सियम र आइरन जान्छन्, त्यहाँत्यहाँ गइदिन्छ। शरीरले अर्को धातु हो भनेर रोक्न सक्दैन। यसले दिमाग, मुटु, मिर्गौला, पेट रोगदेखि यौन शक्ति घटने, वीर्य संख्या घट्ने, गर्भ तुहिने, शरीर दुख्नेसहित हरेक प्रणालीमा केही न केही समस्या सिर्जना गर्छ।

लेडलाई ‘साइलेन्ट किलर’ किन भनिएको हो भने यसको लक्षण नदेखिन पनि सक्छ। लक्षण देखिए पनि अरू समस्यालाई नक्कल गर्छ जस्तोः कसैलाई पेट दुख्यो भने डायरिया भएको वा कब्जियत वा अरू केही भएको भनेर खोजिन्छ तर लेडले गर्दा हुन सक्छ भनेर धेरैले सोच्दैनन्। वयस्क वा ठूला मान्छेमा एक्युट एक्स्पोजर भयो भने सर्वप्रथम लेडको ‘लेड एबडोमिनल कोलिक पेन’ (लेड कोलिक) भएर एकदमै पेट दुख्ने, कब्जियत हुने, वाकवाकी आउने, हड्डी र मांसपेशीहरू दुख्ने, जिउमा थकान महसुस हुने, निद्रा राम्रो नहुने र यौनशक्ति घट्ने हुन्छ भने कतिलाई इरिटेबल हुने, सर्टटर्म मेमोरी लस हुने, डिप्रेसन हुनेजस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पनि हुन सक्छन्। 

अत्यधिक उच्च तहमा भएमा ‘इन्सिफेलोपेथी’ भएर कोमामा जान सक्छ, ‘सिजर’ र ‘डेलिरेम’ पनि हुन सक्छ। कतिपय केसहरूमा हामी आइरन कम भएर एनिमिया भएको भन्दै आइरन खुवाइरहेका हुन्छौं तर लेडले एनिमिया वा रगतको कमी हुने रोग भएको हुन सक्छ। क्रोनिक एक्स्पोजर, विस्तारै थोरैथोरै मात्रामा एक्स्पोजर भइरहेको रहेछ भने त्यस्ता व्यक्तिमा मिर्गौलाको समस्या, मुटुको समस्या र न्युरोलोजिकल समस्या देख्न सकिन्छ। साथसाथै, रगत कम हुने, प्रेसर बढ्ने, वीर्यमा समस्या आउने, लिं ग नउठ्ने समस्या पनि धेरै देखिएको छ।

निदान र उपचार
गर्भावस्थाको बेला गरिने जाँचमा लेड जाँच गराउनु उपयोगी हुन्छ। डाइग्नोसिस गर्नका लागि चिकित्सकले राम्रोसँग हिस्ट्री लिनुपर्छ, हिस्ट्री लिइसकेपछि त्यसमा कुनै कुरा शंकास्पद छ भने रगत परीक्षण गराउनुपर्छ। यसलाई पत्ता लगाउन गाह्रो किन छ भने यो अरु रोग जस्तै–जस्तै लाग्छ। त्यसकारण एकदमै उच्चस्तरको शंका चाहिन्छ। नेपालमा १० वर्षयता सम्यक डाइग्नोस्टिकले लेडबारे वकालत र सचेतनासँगै परीक्षण सुविधा उपलब्ध गराइरहेको छ। बैग्लोरस्थित नेसनल रेफरल सेन्टर फर लेड प्रोजेक्ट इन्डिया (एनआरसीएलपीआई) सँगको सहकार्यमा सम्यकले नेपालको पहिलो लेड रेफरल सेन्टर स्थापना गरेको हो।

लेड पत्ता लगाउन लेड लेभल जाँच्नुपर्छ, लेडको रिपोर्ट एक दिनमै आउँछ। यससँगै सिबिसी जाँच पनि गराउनुपर्छ। यो परीक्षण किन महत्त्वपूर्ण छ भने सन् १९९१ तिर ६० माइक्रोग्राम पर डेसिलिटरसम्म हानिकारक मानिँदैन्थ्यो भने त्यसलाई घटाउँदै जाँदा अहिले सन् २०२५ मा ‘नो लेभल अफ लेड इज सेफ’को मान्यता आइसकेको छ। सन् २०२१ देखि २०२४ सम्म ३.५ माइक्रोग्राम पर डेसिलिटरसम्म ठीक मानिन्थ्यो र त्योभन्दा बढीलाई मात्रै समस्याका रूपमा हेरिन्थ्यो। अहिले लेडको कुनै पनि लेभल ठीक होइन भन्ने मान्यता छ।

उपचारका लागि ३.५ देखि ४९ माइक्रोग्राम परडेसिलिटर भएमा कति महिनामा जाँच गर्ने, के–के जाँच गर्ने निश्चित परीक्षण प्रोटोकलहरू पूरा गर्नुपर्छ। लेड पोइजनिङबाट टाढा राख्न प्रयास गरिन्छ। लेडको लेभल ५० कटेपछि ‘चिलेसन थेरापी’ गरिन्छ। नेपालमा ‘डि पेनिसेलामिन’ भनेर ५०० देखि १००० एमजीको प्रतिदिन दिइन्छ। यो एकदेखि ६ महिनासम्म दिइन्छ। यसमा पुनः परीक्षण र मोनिटरिङ प्रोटोकलहरू छन्, जुन चिकित्सकहरूलाई थाहा भइहाल्छ। नेपालमा लेडको उपचार भएन भने सम्यकले किङ जर्ज मेडिकल कलेजसँग रिफर गर्न सक्ने गरी एमओयू पनि गरेको छ।

अनुसन्धान र सचेतनाको जरुरी
नेपालमा लेडसम्बन्धी धेरै अनुसन्धानहरू भएका छन्। तीन वटा अनुसन्धानमा मेटा एनालाइसिस गर्दा लगभग ६० प्रतिशत बालबालिकाहरूमा लेडको मात्रा १० माइक्रोग्राम परडेसिलिटरभन्दा धेरै पाइयो। यो औद्योगिक क्षेत्र र काठमाडौंमा गरिएको अनुसन्धानका आधारमा हो। 

डरलाग्दो परिस्थिति आइसक्दा सरकार र सरोकारवालाहरूको चासो देखिँदैन। पेन्ट्स, कस्मेटिकलगायत कन्जुमर प्रडक्टमा सचेतनामा सेफिडलगायतका दुई, चारवटा संस्थाले धेरै काम गरिरहेका छन्। तर, मान्छेमा परीक्षण गरेर यसको के प्रभाव छ भन्ने कुरा बढी महत्त्वपूर्ण हो। त्यो नगरिकन यसको प्रभाव थाहा हुँदैन। जस्तोः हामीले प्रयोग गर्ने कुनै वस्तुमा यति लेड रहेछ भने र’छ त ठीकै छ भन्याजस्तो हुन्छ तर मान्छेको स्वास्थ्य प्रभाव पारेपछि त्यसको प्रभाव अझ बढी हुन्छ भनेर व्यक्तिगत खर्चमै यस्ता अनुसन्धानहरू गरिरहेका छौं।

१० वर्षअघि बालबालिकामा देखिएको त्यो आँकडालाई सरकारले त्यति ध्यान दिएको देखिएन। काठमाडौंमा प्रजनन उमेरका मानिसमा हेर्दा लगभग २५ देखि २८ प्रतिशतमा रगतमा लेड देखिएको थियो। त्यस्तै, ब्युटिसियनमा गरिएको अनुसन्धानमा २० प्रतिशतमा लेडको मात्रा पाइयो। लगभग ४० प्रतिशत पेन्टरहरूको रगतमा लेडको मात्रा देखिएको थियो।

लेडबारेको सचेतना एकदमै महत्त्वपूर्ण छ सचेतना भिडियो, सर्ट रिल्स, अन्तर्वार्ता, पोस्टर, म्याग्जिन, स्कुले विद्यार्थीमा सचेतना कार्यक्रम, स्थानीय अनुसन्धानलगायत काम गरिरहेका छौं। तर, प्राइभेट कम्पनीका धेरै सीमितता छन्, त्यसकारण सरकारले एउटा ठूलो रिसर्च, जनेचतना अभियान सञ्चालन गर्नुपर्छ। किनभने, ६० प्रतिशतमा सचेतना जगाउने कामले नै प्रभाव पार्छ। स्कुल र गर्भवतीलाई सचेतना, रगत परीक्षण सुविधा हरेक जिल्लामा पुर्‍याउन सक्नुपर्छ र उपभोग्य पदार्थलाई लेड मुक्त बनाउन अझै कडाइका साथ अनुगमन गर्नुपर्छ। कडा नीति र नियमनले मात्रै भावी पुस्तालाई लेड पोइजनिङ हुनबाट जोगाउन सक्छ। लेड पोइजनिङले आईक्यू घट्यो भने त्यो एक व्यक्तिले गर्नुपर्ने कामका लागि पाँच जना व्यक्ति आवश्यक पर्छ, यसले हाम्रो उर्वराशक्ति नष्ट गरिदिन्छ। अहिले नै गएगुज्रेको अवस्थामा रहेको अर्थतन्त्रमा यसको असर भयावह हुनेछ।

संसारकै कम आईक्यू भएका देशहरूमा नेपाल पर्छ। मलाई लाग्छ, यो हुनुका पछाडि लेड पोइजनिङ पनि कारण हुन सक्छ, एउटा मेटा एनालाइसिसले कुनै पनि मानिसलाई विशेषतः बालबालिकालाई १० माइक्रोग्राम परडेसिलिटर रगतमा लेडको मात्रा रहेछ भने उनीहरूको आईक्यू २.५ देखि ३.५ प्रतिशतले घट्ने देखाएको छ। ३०, ४० वा त्योभन्दा माथि रहेछ भने उनीहरूको त ५–६ प्वाइन्टले आईक्यू घट्छ। उसै त औसतभन्दा कम आईक्यू भएको नेपालमा लेडले अझ तल झर्न सक्ने खतरा छ। तसर्थ, यो सबै मध्यनजर गरेर राज्यले उचित कदम चाल्नुपर्छ। नभए हाम्रो देश ‘द ल्यान्ड अझ बुद्धबाट द ल्यान्ड अफ बुद्धु’ हुन धेरै बेर नलाग्ला।

-लेखक वरिष्ठ प्याथोलोजिस्ट एवं  अध्यक्ष सम्यक डाइग्नोस्टिक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.