सुनसरी : सुनसरी कांग्रेसले आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि तयारी तीव्र पारेको छ । निर्वाचनको तयारीस्वरुप जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरी केन्द्रीय समितिमा पठाइएको कांग्रेस सुनसरीका सचिव माधव घिसिङले जानकारी दिएका छन् ।
उनले चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्दै कांग्रेसले आगामी निर्वाचनका लागि आन्तरिक तयारी थालिएको बताए ।
जेनजी आन्दोलनपश्चात् कांग्रेस पार्टीमा युवा पुस्ताको माग बढिरहेको भएपनि यसपटक पनि सुनसरीमा पुरानै जेष्ठ नागरिक र टुरिष्ट उम्मेदवारलाई प्राथमिकता राखेर नाम सिफारिस गरेको छ । कांग्रेसले यस वर्ष विशेषरूपमा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, अग्रज नेताहरूको योगदान र स्थानीय राजनीतिक समीकरणलाई जोड दिँदै नेताको नाम सिफारिस गरिएको जिल्ला सचिव घिसिङले बताए ।
सुनसरी- १ बाट उमेश थापा, माधव घिसिङ, बिनोद राई, चन्द्रशेखर लामा र सन्दिप श्रेष्ठको नाम सिफारिस गरिएको छ । सुनसरी- २ बाट राजिव कोईराला, राजिव ढुंगाना र सिताराम मेहताको नाम सिफारिस गरिएको छ । सुनसरी- ३ बाट पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, दुहबीका मेयर बेद गच्छदार र ओम कुमार थापाको नाम सिफारिस गरिएको छ । सुनसरी- ४ मा ज्ञानेन्द्र बहादुर कार्की र हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीको नाम सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवार मध्य राई, लामा, मेहता, कोईराला, गच्छदार र कार्की जेष्ठ नागरिक नेता हुन् । नेविसंघकी केन्द्रीय सदस्य संगीता बाहिङ राईले कांग्रेसले युवाहरूलाई उम्मेदवार सिफारिसमा विभेद गरेको आरोप लगाइन् ।
सुनसरी- ३ मा विवादित नेताको रुपमा रहेका गच्छदार र क्षेत्र नम्बर -४ मा पनि विवादित छविका आगन्तुक उम्मेदवार कार्कीलाई उम्मेदवार सिफारिस गरिएपछि पार्टीभित्र नै असन्तुष्टि बढेको छ । पटक-पटक भ्रष्टाचार मुद्दा लागेका विवादित छविका कार्की र गच्छदारलगायतको नाम सिफारिस भएपछि कांग्रेसले युवाहरूलाई बेवास्ता गरिएको महाधिवेशन प्रतिनिधि डा. अबुल अन्सारीले बताए । उनले कांग्रेस सुनसरीले गरेका जेष्ठ नागरिक र विवादित छविका उम्मेदवारलाई भन्दा युवा पुस्तालाई निर्वाचनमा टिकट दिए मात्र चुनाव जित्ने बताएका छन् ।
सुनसरी जिल्ला नेपाली राजनीतिमा विशेष मानिन्छ । यहाँबाट पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनाव जितेको इतिहास छ । यी दुवै नेताको राजनीतिक संघर्ष, असाधारण व्यक्तित्व र नेतृत्वले सुनसरीलाई राष्ट्रिय राजनीतिमा विशेष पहिचान दिलाएको छ । यही कारण कांग्रेसभित्र पनि सुनसरी परम्परागत शक्ति–केन्द्रका रूपमा उत्प्रेरित रहेको छ ।
सुनसरीमा कांग्रेस चुनावी तयारीमा लागेको भएपनि अन्य दलहरू भने चुनावी तयारीम सुस्त देखिएका छन्। एमाले हाल ११ औं महाधिवेशनमा केन्द्रित भएकोले जिल्ला तहमा निर्वाचन तयारी दोस्रो प्राथमिकतामा परेको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी ले जिल्लास्तरमा एकीकरण प्रक्रिया अझै टुंग्याउन सकेको छैन । जसका कारण उम्मेदवार छान्न समस्या भएको छ । राप्रपा, रास्वपा तथा मधेशवादी दलहरूले समेत सुनसरीमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस !