एमाले महाधिवेशनको मञ्च निर्माण अन्तिम चरणमा, १० हजार स्वयंसेवक खटिने
काठमाडौं : नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।
महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए।
भट्टराईले कोटेश्वरतर्फबाट आउने गाडीलाई गठ्ठाघरमा रोकिने र त्यहाबाट र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको र पूर्वतर्फबाट आउने गाडीलाई जगातीमा रोकेर र्यालीसहित महाधिवेशनस्थलमा आउने व्यवस्था गरिएको जानकारी दिए।
मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताए। उनले आज साँझसम्म सम्पूर्ण काम सकिने बताए। महाधिवेशनका लागि उपयुक्त ठाउँ भएकाले सल्लाघारी क्षेत्र रोजेको उनले बताए। मञ्चको पृष्ठभूमीमा विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर राखिएको छ।
जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले महाधिवेशनका लागि नयाँ कलात्मक शैलीको मञ्च निर्माण गरिएको बताए। झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने उनले दावी गरे। कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको उनले जानकारी दिए।
नेता भट्टराईका अनुसार दुई सय बढी नेपाली संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुनेछ। यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको जानकारी दिए।
जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने उनले जानकारी दिए। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलि महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस !