कम्युनिस्ट महाधिवेशन, श्यामबजारदेखि सल्लाघारीसम्म
काठमाडौं : निरंकुश जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्ने क्रममा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो। पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कलकत्तास्थित श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तलामा नेकपाको स्थापना गरिएको थियो।
कम्युनिस्ट घोषणापत्र जारी भएको १ सय २ वर्ष र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो। सन् १८४७ मा कम्युनिस्ट घोषणापत्र जारी भएको थियो। एंगेल्सको सहयोगमा कालमाक्र्सले कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए। यो घोषणापत्रको आधारमा सोभियत संघमा पहिलो क्रान्ति भएको थियो। सन् १९१७ मा भएको यो क्रान्तिलाई अक्टोबर क्रान्ति भनेर चिनिन्छ।
१ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्तिको संघर्ष भइरहेकै बेला नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो। नेकपा स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणापत्र जारी भएको थियो।
पहिलो महाधिवेशन
नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन ०१० माघ १० गते (३० जनवरी १९५४) मा भूमिगत रूपमा पाटन, ललितपुरमा उद्घाटन भई ९ दिनसम्म काठमाडौंमा चलेको थियो। पहिलो महाधिवेशनले २००७ सालको आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्ने महत्त्वपूर्ण निर्णय गरेको थियो।
पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई पार्टीको महासचिव चयन गरेको थियो। अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री पनि हुन्। उनीसहित पुष्पलाल, शम्भुराम श्रेष्ठ, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय पोलिटब्युरो सदस्य भए। यहीबीच चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन महासचिव अधिकारी चीन गए।
कार्यवाहक महासचिवको जिम्मेवारी केन्द्रीय सदस्य केशरजंग रायमाझीले पाए। त्यसपछि पार्टीमा गुटबन्दीको सुरुआत भयो। नेपाली कम्युनिस्ट आन्दोलनमा दुई धार भयो। एउटा धारको नेतृत्व पुष्पलालले गरे भने अर्को धारको नेतृत्व केशरजंग रायमाझीले गरे। यो बेलासम्म नेपालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै थियो। टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि मात्रै प्रतिबन्ध हटेको थियो।
दोस्रो महाधिवेशन
२०१४ जेठ १५ देखि २५ सम्म काठमाडौंको दरबारमार्गस्थित फोहरादरबारमा नेकपाको दोस्रो महाधिवेशन खुला रूपमा गरियो। महाधिवेशनमा डा. केशरजंग रायमाझीद्वारा प्रस्तुत ‘पार्टीको कार्यक्रममा परिवर्तन किन ? ’ नामक दस्तावेज अस्वीकृत भएको थियो भने पुष्पलालले पेस गरेको संविधानसभा र गणतन्त्रको कार्यक्रमिक नारासहितको दस्तावेज पारित भयो। तर, नेतृत्वमा चाहिँ केशरजंग रायमाझी आए। यो महाधिवेशनमा महासचिव मनमोहन अधिकारी नै अनुपस्थित थिए। दोस्रो महाधिवेशनले रायमाझीलाई महासचिव बनायो। पुष्पलाल र तुलसीलाल अमात्यसहितको केन्द्रीय कमिटी चयन गरियो।
२०१७ पुस १ गते राजा महेन्द्रले सैनिक ‘कु’ गरे। महासचिव डा. केशरजंग रायमाझीले ‘प्रगतिशील कदम’ भनेर राजाको ‘कु’ लाई स्वागत गरे। रायमाझीको कदमपछि पार्टीमा दुई धार देखा परे। त्यहीँबाट पार्टीमा विचलन पनि सुरु भयो। पुष्पलालको नेतृत्वले राजाको कदमलाई ‘सैनिक आतंक’को संज्ञा दिँदै विरोध गर्यो। राजाको कदमविरुद्ध पुष्पलालले संघर्षमा जानुपर्ने मत राखे। पुष्पलालको यो निर्णयले कम्युनिस्ट पार्टीको क्रान्तिकारी चरित्र जोगिएको थियो। महासचिव रायमाझीले कम्युनिस्ट पार्टीलाई राजाका पाउमा चढाउने घोर दक्षिणपन्थी र राजावादी चरित्र प्रदर्शन गरे।
त्यसपछि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, जनमुखी र परिवर्तनकारी आन्दोलनका रूपमा विकास गर्न कठिन संघर्ष गर्नुपरेको थियो। महेन्द्रको कुपछि २०१७ साल फागुनमा भारतको दरभंगामा नेकपा केन्द्रीय समितिको विस्तारित बैठक (प्लेनम) बस्यो। यो बैठक एक महिना चलेको थियो। नेपाली कम्युनिस्ट आन्दोलनमा यसलाई दरभंगा प्लेनम भनेर चिनिन्छ। यो प्लेनमा पार्टीमा तीन लाइन देखियो। महासचिव, सचिवसहित बहुमत सदस्य वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रमा रहे। विघटित संसद्को पुनस्र्थापना र संयुक्त जनआन्दोलनका पक्षमा पुष्पलाल रहे।
उता संविधानको चुनावको पक्षमा भने बहुमत नै रह्यो। त्यसको नेतृत्व मोहनविक्रम सिंहले गरे। दरभंगा प्लेनमले राजावादीको लाइनमा महासचिव लागेको भन्दै रायमाझीलाई हटाउने निर्णय गर्यो। तीन जनाको सचिवालय बनाउने निर्णय गरियो। जसमा रायमाझी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारीलाई राखियो। रायमाझीले निर्णय अस्वीकार गरे।
तेस्रो महाधिवेशन
डा.केशरजंग रायमाझीको नेतृत्व दरभंगा प्लेनमको निर्णयविपरीत दक्षिणपन्थी लाइनमा अघि बढ्न थालेपछि दरभंगा प्लेनमद्वारा निर्धारित पाँचवटै ‘जोन’ अर्थात् क्षेत्रका प्रतिनिधिहरूसमेत भई २०१८ भदौमा अन्तरजोन सामञ्जस्य समितिको गठन भएको थियो। जसको सचिव तुलसीलाल अमात्यलाई बनाइयो। तुलसीलालले भारतमा रहेका पुष्पलालसँग समन्वय गर्नुका साथै जेलमा रहेका मनमोहन अधिकारीलाई सकेसम्म जेलबाट भारतमा पुर्याई दुवै जना नेतालाई मिलाएर अघि बढ्ने कोसिस गरे। अन्तरजोन सामञ्जस्य समितिको आयोजना २०१९ वैशाख ४ देखि १५ सम्म नेकपाको तेस्रो महाधिवेशन भारतको वाराणसीमा गरियो। तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गर्यो। महासचिव पनि अमात्य नै चयन भए।
तेस्रो महाधिवेशनपछिको परिवेशमा सिंगो विश्व कम्युनिस्ट आन्दोलनमा रुसी र चिनियाँ धारको प्रभाव बढ्दै गयो। दुवैले आ–आफ्नो प्रभाव बढाउँदै लाने प्रवृत्तिले नेपाल कम्युनिस्ट पार्टीमा विवाद सिर्जना गर्न थाल्यो। त्यसलाई महाविवादका रूपमा चर्काउने कोसिसहरू भएपछि कम्युनिस्ट पार्टी त्यसबाट थप प्रभावित हुन पुग्यो। त्यही क्रममा नेपालमा तुलसीलालले ‘कुन बाटो ? ’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका प्रकाशन गरे।
नेकपा विभाजन
तेस्रो महाधिवेशनपछि त अझ विवाद उग्र हुन थाल्यो। नेपालमा तुलसीलालले ‘कुन बाटो ? ’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका प्रकाशनपछि विवाद चर्किंदै गयो। फलस्वरूप २०२५ सालमा पुष्पलालले आफ्नो अगुवाइमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी अलग समूह घोषणा गरे। यसरी तेस्रो महाधिवशेनको धारमा पनि विभाजनको सुरुआत हुन पुग्यो र नेकपा एक रहन सकेन।
चौथो महाधिवेशन
कम्युनिस्ट आन्दोलन छरिएर रहेको र कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा त्यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० गते मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायत नेताहरूको सक्रियता र सहभागितामा केन्द्रीय न्युक्लियस गठन भयो। र, एकताका लागि कोसिस आरम्भ भएको थियो। एकताका लागि उक्त न्युक्लियसले पुष्पलालसँग पनि वार्ता र छलफल गर्यो। सहमति बन्न सकेन।
अन्ततः २०३१ भदौ ३० देखि असोज ७ सम्म भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवेशन आयोजना गरियो। त्यसले एकता कायम गर्नेभन्दा थप नयाँ समूह बनाएर नेकपामा अर्को विभाजन ल्याउने काम गर्यो, जुन मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (चौथो महाधिवेशन)का नामले चिनिन थाल्यो। यो मोहनविक्रम सिंहको नेतृत्वमा रहेका पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन्। दाहालले २०४२ को सेक्टर काण्ड हुँदै नेतृत्व आप्mनो हातमा लिएका थिए। उनले नेकपा माओवादी हुँदै अहिलेको अवस्थामा छन्। सिंहको नेतृत्वको नेकपा (मसाल) अझै पनि छ।
२०२८ सालमा पूर्वकोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णय गरेको थियो र झापामा त्यसका केही झिल्काहरू देखिएका थिए। जसले नेपालको कम्युनिस्ट आन्दोलनमा हलचल ल्यायो। त्यही झापा विद्रोहकै धारअन्तर्गत २०३२ साल जेठमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माले) को गठन गरियो। जेठ २४ देखि २५ सम्म विराटनगरमा भूमिगत रूपमा गठन गरिएको मालेले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई अघि बढाउने कोसिस गर्यो। २०३५ पुस ११ गते मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) को स्थापना गरियो, जुन कालान्तरमा नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा स्थापित भयो। जुन एमालेको रूपमा परिचित छ।
यो धारले कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने मोहनविक्रमसिंहको नेतृत्वमा भएको चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले)ले २०४६ भदौ ९ देखि १४ सम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गर्यो। यो महाधिवेशनले संयुक्त जनआन्दोलनसम्बन्धी सुस्पष्ट दृष्टिकोण अघि सार्नुका साथै नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सार्यो। त्यस महाधिवेशनले २०३९ सालमा सीपी मैनालीलाई बिदा गरी महासचिव बनेका झलनाथ खनाललाई पनि बिदा गर्यो। मदनकुमार भण्डारीलाई नयाँ महासचिवका रूपमा चयन गर्यो।
पार्टी नेतृत्वमा मदन भण्डारी आएपछि माघमा संयुक्त वाममोर्चा गठन भयो। र, नेपाली कांग्रेससँग सहकार्य गरी २०४६ फागुन ७ देखि संयुक्त जनआन्दोलनको थालनी नै गरियो। जनआन्दोलनबाट बहुदलीय व्यवस्थाको स्थापना भयो। २०४७ पुस २२ गते भण्डारीले नेतृत्व गरेको नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी)बीच एकता भई नेकपा (एमाले) को गठन भयो। त्यो नै नेकपाको मूलप्रवाहका रूपमा स्थापित छ।
पाँचौं महाधिवेशन
एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन ०४९ माघ १४ देखि २० सम्म काठमाडौंमा सम्पन्न भयो। ०४६ को संयुक्त जनआन्दोलनपछि अन्तरिम सरकार, नयाँ संविधान निर्माण र ०४८ को आमनिर्वाचन सम्पन्न भएर प्रतिनिधिसभामा ६९ सिट प्राप्त गरी प्रमुख विपक्षी दलको हैसियतमा स्थापित भइसकेको हुनाले नेकपा (एमाले) को उक्त महाधिवेशन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेको थियो। बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी दुई निर्वाचन क्षेत्रबाट जितेका कारण पार्टी बाहिरका लागि पनि मदन भण्डारी आकर्षणको केन्द्रमा थिए।
महाधिवेशनले भण्डारीद्वारा अघि सारिएको जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गरेको थियो। जुन नेपाली क्रान्तिको नवीनतम विचार र मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित भएको छ। जबजलाई अहिलेसम्म पनि एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा अख्तियार गर्दै आएको छ।
पाँचौं राष्ट्रिय महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्दै नयाँ नेतृत्व निर्माण गरेको थियो। हालका पार्टी अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी सदस्यमा निर्वाचित भएका थिए। २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी महासचिव भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई महासचिव चयन गरेको थियो। जबज पाँचौं महाधिवशेनबाट अत्यधिक बहुमतका साथ पारित भएको थियो।
के हो जबज ?
जबज तत्कालीन महासचिव भण्डारीले अघि सारेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो। जनताको बहुदलीय जनवाद भनेको यस्तो जनवादी राज्यसत्ता (अधिनायकत्व) हो जसको शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ। अर्थात् यसमा क्रान्तिपछि स्थापना हुने राज्यसत्ता (अधिनायकत्व) जनवादी (लोकतान्त्रिक) हुने र त्यो पुरानो जनवाद जस्तो पुँजीपति वर्गको एकलौटी नभई जनताको समेत संयुक्त राज्यसत्ता हुने भएकाले बहुवर्गबीच प्रतिस्पर्धालाई यसले स्वीकार गर्दछ। वर्गीय समाजमा दलहरूले वर्गहरूको राजनीतिक प्रतिनिधित्व गर्ने भएकाले त्यस्तो प्रतिस्पर्धा दलीय हुनेसमेत यसले स्वीकार गरेको छ। यही तथ्यहरू र थप केही विशेषतासमेत अंगीकार गरिएको यो (अर्थात् जबज) नयाँ जनवाद नै हो।
छैटौं महाधिवेशन
२०५४ माघ १२ देखि १८ सम्म बाँकेको नेपालगन्जमा छैटौं राष्ट्रिय महाधिवेशन भएको थियो। जनताको बहुदलीय जनवादको कार्यनीति प्रस्तुत गर्ने सम्बन्धमा फरक मत देखा पर्दा केपी शर्मा ओलीद्वारा लिखित र प्रस्तुत कार्यनीतिलाई अत्याधिक बहुमतले पारित गरेको थियो। विकृति र विसंगतिविरुद्ध संघर्ष गरौं, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौं भन्ने मूल नारासाथ भएको उक्त महाधिवेशनको समापनलगत्तै वामदेव गौतमको नेतृत्वमा पार्टीलाई विभाजित गरिए पनि नेकपा (एमाले) लाई एकताबद्ध र बलियो शक्ति राखिरहन सफल भएका कारण २०५८ सालमा विभाजित पार्टी नेकपा (एमाले)मै समाहित भएको थियो। उक्त महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र माधवकुमार नेपाललाई महासचिव चयन गर्दै नयाँ नेतृत्व निर्माण गरेको थियो।
सातौं महाधिवेशन
एमालेको सातौं राष्ट्रिय महाधिवेशन २०५९ माघ १८–२२ सम्म जनकपुरमा सम्पन्न भएको थियो। एकातिर राजाले शासन आफ्नो हातमा लिएको र अर्कातिर माओवादीले जनयुद्धका नाममा उग्रवामपन्थी क्रियाकलाप अघि बढाएर पार्टीमाथि प्रहार केन्द्रित गरिरहेको बेला प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास भन्ने मूलनाराका महाधिवेशन आयोजना भएको थियो।
महाधिवेशनमा ओलीद्वारा प्रस्तुत पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी अवधारणा सामयिक भए पनि तत्कालीन नेतृत्वको अरुचिका कारण स्थगन गर्नुपरेको थियो भने शंकर पोखरेलद्वारा प्रस्तुत संविधानसभाको निर्वाचनसम्बन्धी अवधारणलाई पनि पारित गरिएन।
२०५६ वैशाख १३ गते अध्यक्ष मनमोहन अधिकारीको चुनाव प्रचार अभियानका क्रममै दुःखद निधन भएपछि स्थगनमा रहेको अध्यक्ष पद महाधिवेशनबाट खारेज गरिएको थियो र सातौं महाधिवेशनले माधवकुमार नेपाललाई पार्टीको एक मात्र पदाधिकारीका रूपमा महासचिवमा निर्वाचित गरेको थियो।
- पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक
- भारतको कलकत्तास्थित श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तलामा नेकपाको स्थापना
- पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई पार्टीको महासचिव चयन गरेको थियो
- पाँचौं राष्ट्रिय महाधिवेशनद्धारा मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव चयन
- २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित
- एमालेको ११ औं राष्ट्रिय महााधिवेशन शनिबारबाट सुरु हुँदै। नेतृत्वमा केपी शर्मा ओली र ईश्वर पोखरेलको दाबी
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रतिगामी कदम चाल्दै सम्पूर्ण शासन आफ्नो हातमा लिएपछि पार्टीको ध्यान जनआन्दोलन उठाउनमा केन्द्रित रह्यो र २०६३ वैशाख ११ गते राजाले आन्दोलनसामु घुँडा टेके। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अन्तरिम संविधान निर्माण र संविधानसभाको निर्वाचनजस्ता विषयमा पार्टीको नेतृत्वदायी भूमिका रह्यो।
२०६४ चैत २८ गते नेपालमा पहिलो पटक आयोजित संविधानसभाको निर्वाचनमा एमालेले अपेक्षित सफलता हासिल गर्न सकेन र तत्कालीन महासचिव माधवकुमार नेपालले आफ्नो पदबाट राजीनामा दिए। केन्द्रीय कमिटीको बैठकले रिक्त महासचिव पदमा झलनाथ खनाललाई चयन गर्यो।
आठौं महाधिवेशन
एमालेको आठौं राष्ट्रिय महाधिवेशन २०६५ फागुन ५ देखि १४ सम्म रूपन्देहीको बुटवलमा भएको थियो। यस महाधिवेशनले सातौं महाधिवेशनमा केपी शर्मा ओलीद्वारा प्रस्तुत भई स्थगन गरिएको पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्तावलाई पारित गरी पार्टीलाई बहुपदीय सामूहिक नेतृत्वमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।
महाधिवेशनमा पहिलो पटक प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको थियो, जसमा झलनाथ खनालको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको थियो। महासचिवमा ईश्वर पोखरेल निर्वाचित भए। यो महाविधेशनमा खनालसँग केपी ओली पराजित भएका थिए।
नवौं महाधिवेशन
२०७१ असार १९ देखि साउन १ सम्म भृकुटीमण्डपमा शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं ! भन्ने मूलनाराका साथ एमालेको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो।
महाधिवेशनले नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको निष्कर्ष निकालेर समाजवाद निर्माणतर्फ पार्टीलाई अघि लैजाने निर्णय गरेको थियो। लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको थियो।
ओली नेतृत्वमा आएपछि एमाले सुस्पष्ट दृष्टिकोण र वजनदार नेतृत्वसहित राष्ट्रिय राजनीतिको मियो पार्टीका रूपमा स्थापित भएको थियो। उनकै पहल र दृढ नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान बन्न सकेको थियो भने नयाँ संविधान बनेपछि ओली प्रधानमन्त्री निर्वाचित भए।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले एक्लैले ४५ प्रतिशत हाराहारीमा स्थानीय तहको नेतृत्वमा विजय हासिल गर्यो। २०७४ असोज १४ गते एमाले र माओवादी केन्द्रका अध्यक्षबीच वाम गठबन्धन गरी आमनिर्वाचनमा जाने र निर्वाचनलगत्तै पार्टी एकता गर्ने ७ बुँदे सहमति भयो। मंसिर १० र २१ गते सम्पन्न आमनिर्वाचनमा वाम गठबन्धनले दुईतिहाइ हाराहारी स्थानमा विजय हासिल गर्यो र २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन भयो। पार्टीभित्र मूल नेतृत्वका विरुद्ध तीव्र गुटबन्दी भएका कारण अवस्था अस्वस्थ बन्दै गएको बेला २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट अर्कै पार्टीसँग नाम मिलेका आधारमा २०७५ जेठ ३ को एकता बदर भएको फैसला भएपछि नेकपा (एमाले) पुर्नस्थापित भयो।
१० औं महाधिवेशन
२०७८ मंसिर १० देखि १४ सम्म चितवनको नारायणगढ र सौराहामा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ एमालेको १० औं राष्ट्रिय महाधिवशेन सम्पन्न भएको थियो।
महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। नयाँ अभ्यासका रूपमा एमालेले पहिलो पटक २०७८ असोज १५–१७ मा विधान महाधिवेशन आयोजना गरी रानजीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन टुंग्याएको थियो। 
११ औं महाधिवेशनको सरगर्मी
एमालेको ११ औं राष्ट्रिय महााधिवेशन शनिवारबाट सुरु हुँदैछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुँदैछ। त्यसका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि धमाधम काठमाडौं आइरहेका छन्।
११ औं महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि हुनेछन्। वैधानिक व्यवस्थबमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने भएकाले १०८ जना मनोनीत हुनेछन्। यससँगै ३०९ जना केन्द्रीय सल्लाहकार समेत गरी कुल प्रतिनिधि सहभागी संख्या २ हजार ५ सय ७१ हुनेछ।
प्रतिक्रिया दिनुहोस !