३ बालबालिकाको ‘शंकास्पद हत्या’, ८ वर्षदेखि रहस्यमै

३ बालबालिकाको ‘शंकास्पद हत्या’, ८ वर्षदेखि रहस्यमै
अरुण गाउँपालिका—३, प्याउलीमा २०७४ असार १२ गते मृत भेटिएका तीन बालबालिका। तस्बिर : प्रदीपचन्द्र राई

भोजपुर : खेतबारीमा घरगर्जो टर्ने अन्नपात फल्थ्यो। फेन्सी पसलको कमाइले छोराछोरी पढाउने खर्च जसोतसो धान्थ्यो। अरुण गाउँपालिका–३, प्याउलीका चेतनाथ फुयाँल र उनको परिवार यसैमा रमाउँथ्यो। भोजपुर सदरमुकामलाई तराई जोड्ने मुख्य सडक भोजपुर–लेगुवा नारदमुनि थुलुङ राजमार्गको छेवैमा फेन्सी पसल थियो। तर अकस्मात चेतनाथका तीनमध्ये दुई सन्तानको रहस्यमयी ‘मृत्यु’ले उनको परिवार पुख्र्याैली थलो छाड्न बाध्य भयो।

दुई छोराछोरीसहित अर्का छिमेकी रवीन्द्र सापकोटाका छोराको पनि एकैचोटी एकै ठाउँमा शव भेटियो।यसपछि चेतनाथले पाक्न लागेका अन्नबाली खेतबारीमै छाडे। भएको फेन्सी पसल पनि बेचे। अनि घरमा ताला लगाए। घटना भएको तीन महिना नबित्दै २०७४ असोज ९ गते राति सदाका लागि गाउँ छाडे। गाउँबाटै विस्थापित भए।

‘१३ वर्षसम्म हुर्काएको छोरी र ८ वर्षको छोराको मृत्युले गाउँ बस्न सकिएन’ उनी भक्कानिँदै सम्झन्छन्, ‘एकातिर बालबच्चाको याद अर्कोतिर न कतैबाट कसैको हारगुहार, या भनौं नानीहरूको मृत्युको कारण पत्ता लागेन, न्याय पनि मिलेन। कसरी बस्नु र ? त्यै भएर गाउँ छाडेँ।’

चेतनाथको परिवार हाल इटहरीको हलगडामा बस्छ। नयाँ ठाउँ र परिवेशमा शून्यबाट गुजारा थाल्नु जस्तो दुःख खेप्नु खेपे। दिनभर ज्याला मजदुरी गरे, कहिले सामान ओसारे त कहिले अरूका घरका भित्ताभित्तामा रंग भरे। ४५ वर्षीय फुयाँल ६ वर्षदेखि भने इटहरीमै एक हार्डवेयर पसलमा काम गरेर परिवारको गर्जो टार्दै आएका छन्।

‘त्योबेला सम्झिँदा जिन्दगी राम्रै चल्याथ्यो, गाउँ भए पनि आफ्नै सानोतिनो व्यापार व्यवसाय थियो, घरपरिवार र जीवनचर्या चलेकै थियो, अचानक कहाँबाट खोइ यो बज्रपात मैमाथि पर्‍यो’, उनले भने। घरजग्गा छोडेर इटहरी हलगडा झरेका उनीहरू अहिले पाँचधुरको टुक्रो जग्गामा घर बनाएर बस्दै आएका छन्। छोराछोरीको त्यो घटनादेखि उनकी श्रीमती निर्मला मानसिक स्वास्थ्य समस्या खेपिरहेकी छिन्। बालखा छोराछोरीको मृत्युको कारण र घटनाको दोषी अझै पत्ता लागेको छैन।

कस्तो थियो शंकास्पद मृत्यु ? 
२०७४ सालको स्थानीय तह निर्वाचनको संघारमै चेतनाथ फुयाँलकी छोरी सुष्मा, छोरा प्रदीप र रवीन्द्र सापकोटाका छोरा १४ वर्षीय रञ्जितको रहस्यमयी मृत्यु भयो। खेल्न निस्किएका तीनैजना असार १० गते साँझदेखि हराइरहेका थिए। परिवार र गाउँलेले हराएको राति र भोलिपल्ट खोलाखोल्सी, पोखरी, झाडी, भिरपाखा सबैतिर खोजे तर उनीहरू भेटिएनन्। यसबारे स्थानीय प्रहरीलाई समेत जानकारी गराए।

तर, तीनैजनाको शव दुई दिन (असार १२ गते) पछि घरदेखि करिब १५ सय मिटर पर मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको पोखरीमा तैरिएको अवस्थामा फेला पर्‍यो। स्थानीयले पोखरीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरे। शव फेला पर्दा प्रदीप र रञ्जितको खुट्टामा चप्पल भए पनि सुष्माको थिएन। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा, सुष्मा र रञ्जितको घाँटीमा चुइगम अडकएको उल्लेख थियो। शवमा कुनै चोटपटक, दाग र विषादी फेला नपरेको रिपोर्टमा उल्लेख थियो।

नसुल्झिएको अनुसन्धान
घटना घटेको झन्डै साढे आठ वर्ष बित्न लाग्दा पनि त्यो शंकास्पद मृत्युको कारण र दोषी अझै पत्ता लागेको छैन। स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटकपटक टोली पुगेर अनुसन्धान गरे पनि छानबिन निचोडमा पुगेको छैन। यस घटना अनुसन्धानबारे जानकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा तत्कालीन प्रमुख पुष्कर कार्कीले भने, ‘त्यतिखेर ल्याब टेस्टहरू गर्दा केही आएको थिएन, थप केही प्रमाण भेटियो भने अनुसन्धान अघि बढ्ने भनिएको थियो, म पनि रिटायर्ड भएको सात वर्ष बढी भइसक्यो।’

सीआईबीको प्रमुखमा कार्कीपछि ११ जना फेरिइसकेका छन्। घटनाबारे २०७६ साल मंसिरमा फलोअप गर्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका तत्कालीन डीएसपी नरबहादुर सलामीले आफू जिल्लामा आउनुअघि नै तत्कालीन क्षेत्रीय अनुसन्धान ब्युरोले ‘डाइटम टेस्ट’का लागि प्रमाण नष्ट भइसकेको पत्राचार गरिसकेको खुलाएका थिए। भोजपुर प्रहरीलाई क्षेत्रीय अनुसन्धानबाट आएको पत्रमा लेखिएको थियो, ‘भिसेरा टेस्टका प्रमाण तीन महिनापश्चात् स्वतः नष्ट हुने भएकाले डाइटम टेस्ट गर्न नसकिने।’ घटना अनुसन्धान भइरहेका बेला शव पोस्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘डाइटम टेस्ट’ गर्ने प्रविधि नहुँदा अनुसन्धान जटिल बनेको बतायो। प्रहरीले उक्त टेस्ट गर्न भारतमा सम्भव हुने पत्ता लगाएपछि भोजपुर प्रहरीले क्षेत्रीय अनुसन्धान ब्युरोलाई पत्र पठाएको थियो।

निष्कर्षविहीन अनुसन्धानले पीडितलाई पीडैपीडा
सुरुदेखि नै घटनालाई प्रहरी, प्रशासन तथा अनुसन्धानमा संलग्न अधिकारीहरू गम्भीर नदेखिएकाले निष्कर्षविहीन बनेको पीडित परिवारको गुनासो छ । चुनावको मुखैमा घटना भएकाले राजनीतिक र गाउँका अगुवाहरूले आफुहरूलाई ललाइफकाइ मुचुल्का उठाएदेखि नै अनुसन्धान फितलो बनेको चेतनाथको भनाइ छ । पोखरीलाई उक्त घटना भएको एक वर्षपछि पुरेर बारी बनाइएको थियो ।

पीडित पक्षले घटनाको कारण र दोषी पत्ता लगाउन माग गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, प्रदेश १ (हाल कोशी प्रदेश) का मुख्यमन्त्री शेरधन राईलगायत सुरक्षा प्रमुख तथा सरोकारवालालाई काठमाडौं तथा विराटनगर पुगेर याचना गरेका थिए । प्याउलीमा संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन भए । आन्दोलनले स्थानीय शान्ति सुरक्षामा खलल पुर्‍याउने तथा अनुसन्धानमा प्रभावित पार्ने भन्दै स्थानीय प्रशासनले दबाएका थिए । आन्दोलन गर्ने केहीले झन्डा जलाएकाले देशद्रोहको मुद्दा लगाउन लागेपछि पीडित परिवार तथा स्थानीयलाई सामसुम पार्न प्रहरी प्रशासनले आफूखसी सहीछाप लाउन लगाएको पीडित परिवारको आरोप छ ।

पीडित परिवारले पोस्टमार्टम तथा अन्य रिपोर्टको लिखित जानकारी केही नपाएको गुनासो छ । ‘एउटा पोस्टमार्टम रिपोर्टसमेत पाइएन, सोधखोज गर्न जाँदा चुइँमग, खानेकुरा घाँटीमा अड्केर मरेका हुन् भने । पत्याउने कसरी ? ’ चेतनाथले भने, ‘अघिल्लो दिनसम्म खोजेको पोखरी, वरिपरिमा केही भेटिएन, भोलिपल्ट त्यही ठाउँ, त्यही पोखरीमा एक्कासि शव भेटिनु, बच्चाको घडीमा पानी नपस्नु, पेटमा पानी नभेटिनु, घोप्टो परेर डुब्नु, पछाडिको केश नभिज्नु सबै शंकास्पद थियो, हाम्रा छोराछोरीको भ्यागुतो मराई भयो ।’

स्थानीय तहको निर्वाचन मतदान असार १४ गतेलाई तोकिएको थियो । गाउँपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्रसमेत भएकाले प्याउलीमा त्यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिइएका थिए । स्थानीय निर्वाचन सुरक्षाका लागि त्यसबेला प्याउलीको रेडक्रस भवनमा सेनाको अस्थायी ब्यारेक राखिएको थियो । स्थानीयका अनुसार प्रदीप र रञ्जित अन्तिम पटक ब्यारेक नजिकै देखिएका थिए ।

मृतक रञ्जितका बावु रवीन्द्रले पनि छोराको मृत्युको यथोचित कारण र दोषी पत्ता लगाइनुपर्ने बताए । उनी हाल अरुण गाउँपालिकामा कृषि प्रसार अधिकृत छन् । घरमा श्रीमती र उनी बस्छन् । ‘आशा त अझै मरेको छैन, केही न्याय पाइएला कि भन्ने पनि छ, सबैले घच्घच्याइदिए हुन्थ्यो,’ रवीन्द्रले भने । चेतनाथलाई त विस्थापित भएर गाउँ छोडेदेखि प्रहरी प्रशासन र सरोकारवालाले खोजखबरसमेत नगरेको उनले दुःखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.